मेला सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शङ्करापुर नगरपालिकाले जनाएको हो ।
काठमाडौँ । काठमाडौँको साँखुस्थित शालिनदीमा भोलि बिहीबारबाट मेला लाग्ने भएको छ । मेला सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शङ्करापुर नगरपालिकाले जनाएको हो ।
काठमाडौँको शङ्करापुर नगरपालिकास्थित धार्मिक ऐतिहासिक नदी ‘शालिदनी’मा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ । यस वर्ष पनि यही पुस २२ गतेदेखि आगामी माघ २२ गतेसम्म एक महिने धार्मिक मेला सञ्चालन गर्ने तयारी आज पूरा भएको छ ।
शालिनदीमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि एक महिनाका लागि माधवनारायण तथा स्वस्थानी व्रत मेला लाग्ने गरेको छ । आयोजक श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अनुसार यस वर्ष आन्तरिक एवं बाह्य गरी अन्दाजी ३५ लाखको सङ्ख्यामा पर्यटकहरूको अपेक्षा गरी सोही अनुसारको तयारी गरिएको छ । समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार मेलामा आउने भक्तजनका लागि सहज रूपमा सार्वजनिक यातायातको व्यवस्था गर्न शालिनदी यातायात प्रा.लि. र बाबा गोकर्णेश्वर यातायात प्रा.लि. सँग समन्वय गरिएको छ ।
करिब तीन हजार तीन सय वर्ष पुरानो मानिने धार्मिक सहर साँखुमा लाग्ने यस मेलामा बजार अनुगनको जिम्मेवारी शङ्करापुर नगरपालिकाले लिएको छ । समितिले मेलामा सञ्चालनमा आउने पसल र सार्वजनिक यातायातका लागि मूल्यसूची एवं भाडादर तोकिदिएको छ । उक्त मूल्यसूचीअनुरूप कारोबार हुने नहुने नगरपालिकाले अनुगमन गर्ने भएको हो ।
सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिएको पाइएमा वा तोकिएको मूल्यभन्दा बढीमा सामग्री बिक्री गर्ने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको दायरामा ल्याउने समितिका पूर्वअध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठको भनाइ छ ।
साथै, मेलामा शान्तिसुरक्षा कायम गरी स्वास्थ्य सेवाको समेत व्यवस्थापन गर्ने गरी तयारी भएको अध्यक्ष श्रेष्ठले बताए । मेलामा निःशुल्क खाने पानी र कोरोना संक्रमण सतर्कताका लागि निःशुल्क मास्क एवं स्यानिटाइजरको समेत व्यवस्था हुने उनले जानकारी दिए ।