सोमबार , फागुण १४, २०८०

०७ सालअघि नेपाल प्रवेशका लागि शिवरात्रि पर्खिन्थे भारतीय

त्यसताका शिवरात्रिकै अवसरमा मात्र सात दिनका लागि भारतीयलाई नेपाल प्रवेशमा छुट दिइने गरिन्थ्यो भने आठौँ दिनमा सीमा कटिसक्नु पर्थ्याे ।

image

काठमाडौँ । वि.सं. २००७ साल अघिसम्म नेपालमा भारतीयहरूलाई शिवरात्रिमा मात्र प्रवेश छुट थियो ।

वि.सं. २००७ सालअघि शिवरात्रिका बेलाबाहेक भारतीयले नेपाल प्रवेश गर्न पाउँदैनथिए । शिवरात्रिकै अवसरमा मात्र सात दिनका लागि उनीहरूलाई प्रवेश छुट दिइने गरिन्थ्यो भने आठौँ दिनमा सीमा कटिसक्नु पर्थ्याे । यसै कारणले पनि त्यससमय  महाशिवरात्रिको अवसर पारेर साधु, सन्त तथा राजा, रजौटा, विद्वान, नटुवा, जोगी, चटके तथा सर्वसाधारणहरू पनि ठूलो संख्यामा आउने गर्थे ।

त्यस अवधिमा वेदान्तको चर्चा चल्थ्यो । ठाउँठाउँमा भजनकीर्तनको आयोजना हुन्थ्यो । महाशिवरात्रि पर्व भनेको राष्ट्रिय प्रतिष्ठासँग जोडिएको पर्व मानिन्थ्यो । श्रध्दालु भक्तजन, दर्शनार्थीहरूको सुविधाका लागि ठाउँठाउँमा आवासभोजन, सदावर्तको विशेष व्यवस्था गरिएको हुन्थ्यो । त्यसबेला महाशिवरात्रिको दुई-तीन दिन अगाडिदेखि नै वीरगञ्ज, अमलेखगञ्ज, भीमफेदी, मार्खु आदि गाउँहरूमा आवासको निमित्त पाल, भरिया र डोलेहरूको व्यवस्था हुन्थ्यो । साथै, उनीहरूको निमित्त आवश्यक पर्ने औषधि एवं कम्पनी र भारु सटहीको व्यवस्था पनि हुन्थ्यो । ठाउँठाउँमा रेखदेख गर्ने व्यवस्थासमेत हुने गर्थ्यो ।

साधुसन्त, महात्मा एवं सर्वसाधारणले कुनै किसिमको दुःख नपाऊन् भनी सतर्कता अपनाइएको हुन्थ्यो । विभिन्न गूठीहरू राजगूठी, छुटगूठी, निजी गूठीहरूको तर्फबाट पनि स्वागतसत्कारका लागि तथा आवासभोजनका लागि व्यवस्था मिलाइएको हुन्थ्यो । समग्रमा भन्दा राष्ट्रको पूरै दृष्टि महाशिवरात्रि पर्वलाई कसरी भव्य रूपमा सम्पन्न गर्ने भन्ने हुन्थ्यो ।

प्रजातन्त्रपछि भने भारतीयहरूलाई नेपाल आउन महाशिवरात्रि पर्खिनुपर्ने अवस्था रहेन । जुनसुकैबेला भारतीयहरू नेपाल आउनजान सक्ने गरियो । यस्तै, वि.सं. २०११ मा राजा त्रिभुवनको नाममा त्रिभुवन राजपथको निर्माणले भारतीयको नेपाल प्रवेशमा सुगमतासमेत थपिदियो ।

त्यसपछि, हवाइ यातायातलगायत अरू बाटोघाटोहरूको निर्माणले महाशिवरात्रिमा हुने भीड केही होलो हुँदै गयो । सरसुविधाका लागि पहिले गरिने व्यवस्था पनि खुकुलो हुँदै गयो । वास्तवमै, आजसम्म श्रीपशुपतिनाथको मन्दिरमा सबैभन्दा भीड वा घुँइचो लाग्ने पर्वहरूमा महाशिवरात्रि नै पर्दछ । यसबेला विभिन्न सामाजिक, धार्मिक सङ्घ संस्थाहरू सेवाकार्य एवं स्वयंसेवामा जुटेका हुन्छन् ।

पशुपतिक्षेत्र विकास कोषको स्थापना वि.सं. २०४४ मा भएपछि पशुपतिक्षेत्रको संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धनको जिम्मेवारी कोषमा आएकोले महाशिवरात्रिलगायत यहाँ मनाइने यात्रापर्वहरूको व्यवस्थापन गर्ने जिम्मेवारी यसले पाएको छ तर जेजस्ता सुविधा विकास गर्दै जानु पर्ने हो त्यो हुन नसक्नु दुःखद् छ ।

[साभार : काठमाण्डौँ खबर]

सम्बन्धित समाचार