शुक्रबार , अषोज १४, २०७९

अफ सिजनमा पनि चलायमान सिन्धुपाल्चोकका होमस्टे

आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा सुविधा भएका ठाउँहरू भन्दा फरक तरीकाले बस्न मन लाग्दा दुई दशक देखि पर्यटनमा नयाँ स्वाद थपिरहेको होमस्टेलाई रोज्न सकिन्छ ।

image

होमस्टे अंग्रेजी शब्द हो । यसलाई नेपालीमा घरवास भनिन्छ । जुन शब्दमा भनिए पनि होमस्टेले ग्रामीण क्षेत्रमा भ्रमणमा जाने पर्यटकहरूका लागि घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । ‘होमस्टे’ अवधारण नेपालमा मात्रै हैन, अमेरिकालगायतका मुलुकमा पनि अघि बढेको छ । अमेरिका, अष्ट्रेलिया, यूरोपलगायत शक्तिशाली देशमा व्यापार र मनोरञ्जनको उद्देश्यले ग्रामीण पर्यटनका गतिविधि भएका देखिन्छन् भने विकासोन्मुख मुलुकहरू मलेसिया र केन्याजस्ता देशमा व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि ‘होमस्टे’ शुरु गरिएका छन् । हाम्रै देशको छिमेकी मुलुक भारत र चीनमा पनि होमस्टे सञ्चालनमा छन् ।

नेपालको सन्दर्भमा स्याङ्गजा सिरूवारीको घलेगाउँ पुरानो र मोडल होमस्टे हो । २०५४ सालमा नेपालमा पहिलो पटक होमस्टे सञ्चालन गरिएको थियो ।  यसको अभियान्ता रूद्रमान गुरूङ थिए । नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यता आफैंमा लुकेको देखिन्छ । मुलुकमा अनगिन्ती पर्यटकीय सम्भावना भएका भर्जिन गन्तव्यहरू पनि अझै प्रचारप्रसारको पर्खाइमा छन् । अनेकौँ धार्मिक स‌ंरचना लगायतका अन्य पर्यटकीय क्षेत्र अझै पर्यटकको अभावमा लोपोन्मुख हुने अवस्थामा छन् ।

तर अहिले मुलुक नयाँ परिवेशमा पुगेको छ । स्थानिय तह, प्रदेश र संघले जनप्रतिनिधी पाएका छन् । शहर बजार गाउँघर, टोल छिमेक जहाँ भएपनि विकासका कुरा उठ्ने बित्तिकै अचेल पर्यटनका कुराहरू उठ्ने गर्दछन् । पर्यटनको विकासले आर्थिक आर्जन गराउँछ, रोजगारीको अवसर दिन्छ र गाउँघरमा उत्पादित वस्तुको खपत हुन्छ । यस अन्तर्गत होमस्टेले पर्यटकलाई आवास प्रदान गर्ने काम मात्र गर्दैन यसले  सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खलेको हुन्छ ।

सहरी जीवन सधैं हतारोमा बाँच्छ । जता हेरे पनि मान्छे मात्र देखिन्छ, कोलाहल, प्रदुषण, गाडि र घरैघर मात्र हुन्छन् । सास फेर्न समेत कठीन लाग्ने यो शहर र यो व्यस्त दैनिकीबाट केही समय निकालेर यात्रामा निस्कन सके तन र मन दुबैलाई आराम दिन सकिन्छ । घुमफिरले ऊर्जा बढाउँछ । जसको निम्ति स्वदेशमै अनुपम गन्तव्यहरू थुप्रै छन् । आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा सुविधा भएका ठाउँहरू भन्दा फरक तरीकाले बस्न मन लाग्दा दुई दशक देखि पर्यटनमा नयाँ स्वाद थपिरहेको होमस्टेलाई रोज्न सकिन्छ ।

यसैमा आधारित रहेर सिन्धुपाल्चोकका केही होमस्टे सँग हामीले कुरा गरेका छौँ । जसअन्तर्गत सिन्धुपाल्चोकको सदरमुकाममै रहेको चौतारा होमस्टेका स‌ंचालक कमल कक्षपति भन्छन्, ‘हामीले असार देखि यो हाेमिस्टे स‌ंचालन गरेका हौँ । जे होस् पाहुनाको कमी छैन । यहाँ विभिन्न कार्यक्रम पनि भइरहने गर्दछ । हाेटेलहरू थुप्रै रहेको यस चौतारामा हाेमस्टे पनि छ है भन्ने उदेश्य बोकेर पनि हामीले संचालन गरेका हौँ ।’

उनी थप भन्छन्, ‘हामीले पाहुना आफैंले पकाएर खाने हो भने पनि त्यसको व्यवस्था गरेका छौँ । स्थानिय बाजा पनि हामी सँग छ । कार्यक्रम गर्ने हल पनि रहेको छ । यहाँ माैलिक नेवारी खाजा पाइन्छ जसलाई हामी टपरी दुनामा खान दिने गर्छौँ । जसरी हुन्छ पाहुनालाई पारिवारिक वातावरण दिन हामीले प्रयास गरिरहेका हुन्छौँ तर सोचे अनुरूप पाहुना नआएका हुन् कि भन्ने पनि लाग्दछ ।’

यस सँगै चिम्टी पाँचपोखरीका अर्जुन शंकर हाेमस्टेका संचालक भिम तामाङ भन्छन्, हामीले पाहुनाको रूचि अनुसार सेवा दिन खोजिरहेका छौँ । त्यही भएर पनि हो कि हामीमा पाहुनाको कमी छैन । हामीले तामाङ परिकार, गुन्द्रुक ढिँडो पाहुनाको स्वाद अनुसार नै खानपिनको व्यवस्था गरेका छौँ ।  दिनमा कम्तिमा ५ जना पाहुना त हुन्छन् नै । अझ गुप्रमा आउनु हुने २०, २५ जना नै हामीले राखिरहेका छौँ । जे होस् हामी होमस्टे बाट सन्तुष्ट छौँ ।

यस सँगै अर्का मम्स होलिडे होमस्टेका संचालक सुनिल सिंह बस्नेत भन्छन्, ‘हामीले कोभिड पछि होमस्टे स‌ंचालक गरेका हौँ । होमस्टेका निम्ति आउने पाहुनाहरूलाई त्यही अनुसारको सुविधा दिन सकियो भने होमस्टे मार्फत् नै राम्रो कमाई गर्न सकिन्छ । जसको निम्ति होमस्टे अवधा्रणा थाहा हुन जरूरी छ साथै स्थानिय तवरबाट पनि होमस्टे योजना, विकास, विस्तारको निम्ति योजना बनाउन आवश्यक देखिन्छ ।

उनी थप भन्छन्, हामीले गाउँघरकै परिकारलाई नै प्राथमिकतामा राखेका छौँ । नजिक-नजिक हाइकिङको सुविधा पनि हामीले दिई रहेका छौँ । होमस्टेलाई नै निरन्तरता दिने हो भने यसले घरबाटै आम्दानीको स्रोत निर्माण गर्न मद्दत गर्दछ तर पाहुनालाई खुशी पार्न र खटिन भने सक्नुहुन्छ । सिन्धुपाल्चोकको भूबनोटले गर्दा पनि हो कि बर्खायाममा बाढिपहिरोले गर्दा यो व्यवसायलाई असर त गरेको छ नै तर ठप्प भने पारेको छेन । मलाई लाग्छ सिन्धुपाल्चोकमा प्रसस्त मात्रामा होमस्टे सन्चालन गर्न सके यसले आन्तरिक पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।


(पछिल्लो समय  नेपालमा यी बाहेक अन्य थुप्रै होमस्टेहरू पनि स‌ंचालनमा छन् । जसले आन्तरिक पर्यटनलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यो अंक देशको विभिन्न क्षेत्रमा संचालनमा रहेका होमस्टेको अवस्था एवम् मुल्याङ्कन , तिनका समस्या र समाधानका पाटाहरू केलाउने हेतुले सुरुवात गरिएको हो – सम्पादक) 

सम्बन्धित समाचार