शुक्रबार , अषोज १४, २०७९

आफ्नै खोजीमा आफैँबाट भाग्दै गर्दा…

सिरसिर चलेको चिसो बतासले म नुहाइरहेको थिएँ । यत्तिकैमा झ्याउँकिरीहरूले 'ओइ तँ किन हाम्रो जङ्गल आएको?' भन्दै रोक्न खोजे । मैले उनीहरूलाई अघि काटेको टिकट देखाइदिएँ ।

image

अचेल कहिले काहीँ हनुमानले जस्तो खर्लप्पै सूर्यलाई निलेर अन्धकार बनाइदिऊँ कि संसार जस्तो लाग्छ । थोरै भए पनि शीतल हुने थियो कि पृथ्वी । उज्यालोमा बसेर पनि के नै पो नापिएको छ र ? तर हनुमान परिएन, त्यसमाथि यो कङ्क्रिटको जङ्गल तातिएर भतभती पोल्ने । आफ्नो लागि समय ननिकालेको पनि धेरै भइसकेको थियो । धेरै पहिलादेखि कतै लुक्न मन भइरहेको थियो । जङ्गल – जङ्गल  दौडिन मन लागिरहेको थियो, बगिरहेको खोलामा बगाएर पुरानो आफूलाई नयाँ जन्म लिऊँ, चराहरूसँग दिल खोलेर बाझूँ, झ्याउँकिरीलाई झ्याउ लाग्नेगरि झ्याउँ-झ्याउँ गरूँ, रुखहरूको नाम सोध्दै हिँडु भन्ने भइरहेको थियो । प्राइभेट जागिरको फन्दामा परेको जिन्दगी सोचे जस्तो कहाँ हुन्छ र  ?

एकदिन अचानक ६ बजेको अलार्म बजाएर परिवारलाई ‘म हिँडे’ भनेर म हिँडे । चक्रपथ हुँदै मेरो फ्रस्टेसन बूढानीलकण्ठबाट उकालो लाग्यो । कुहिरोभित्र लुकिरहेको शिवपुरी डाँडा कुनै चलचित्रको मुख्य अभिनेताले बडो शानसँग चुरोट पिए झैँ देखिइरहेको थियो । मैले तलैबाट उसलाई थर्काएँ, उ अझ अग्लिएर उल्टै मेरो सास बढाउन थाल्यो । शान्तिको खोजीमा हिँडेको यात्री शिवपुरी जङ्गलको फेदमा पुग्दा तर्सिएँ । कुनै काउन्सिलरको ढोका बाहिर आफ्नो पालो पर्खिरहेका मानसिक रोगी झैँ त्यहाँ त म जस्ता सयौँ थिए, मनमनै सोचेँ यो फ्रस्टेड भिडले आज शिवपुरीको सातो खाने भयो ।

जङ्गलबाट यहाँसम्म आइपुगेका मान्छेहरू टिकट काटेर पुनः जङ्गल छिर्ने अनुमति लिइरहेका थिए । टिकट लिएर भित्र प्रवेश गर्नासाथ सैनिकहरूले झोला चेकजाँच गरे । तर, मैले झोलामा होइन मनभित्र लुकाएर लागेको थिएँ पाथीका पाथी अवैध फ्रस्टेसन र एन्जाइटी । त्यहाँबाट आफ्नो पुरानो अस्तित्व पखालेर नयाँ स्वरूप ग्रहण गर्न विष्णुमती खोला तिर लागेँ । उसको छातीबाट एक अँजुली पानी झिकेर तिर्खाइरहेको आकाशतिर हुत्त्याएँ । आफूलाई भिजाएँ, मन भिजाएँ, आत्मा भिजाएँ….निथ्रुक्क !! म आफ्नै दुखेसो बोकेर गएको थिएँ । त्यसैले उसको गन्थनमन्थन धेरै नसुनी म अघि बढेँ । कहाँसम्म पुग्ने भन्ने निधो थिएन तर कहीँ न कहीँ पुग्नै थियो ।

बाटोमा उत्तिसको रुखसँग हात मिलाएँ, झिँगानेको रुखलाई उसको हालखबर सोधेँ, भकीअमिलोको रुखलाई सहरमा डेंगु फैलिरहेको कुरा बताए, ढाल्ने कटुसको रुखले मलाई जङ्गलमा प्लास्टिक फ्याके कारबाही गर्ने धम्की दियो । पैयुँको रुख, सौरको रुख, गुराँसको बोटसँग अगाडीको बाटो सोध्दै हिँड्दै गएँ । सहरको हावा खाएको फोक्सोलाई सास फेर्न निकै कसरत गर्नु पर्‍यो । हिँड्दै जाँदा बाटोमा भेटिएका खोल्सा र झरनासँग उनीहरू कहाँ जान लागेको भनी सोधेँ । उनीहरूले तैँ जस्तो यात्री त हो भनी जवाफ फर्काए ।

सिरसिर चलेको चिसो बतासले म नुहाइरहेको थिएँ । यत्तिकैमा झ्याउँकिरीहरूले ‘ओइ तँ किन हाम्रो जङ्गल आएको?’ भन्दै रोक्न खोजे । मैले उनीहरूलाई अघि काटेको टिकट देखाइदिएँ । केही अघि बढेपछि एउटा ढुङ्गा मस्त सुतेको रहेछ, म उसको काखमाथि गएर सुतिदिएँ र केहीबेर ऊसँग कुराकानी गरेँ । सहरमा भए त तँलाई मान्छेहरूले आफ्नो स्वादको लागि मसला पिस्ने सिलौटो, आफ्नो घर बनाउनका लागि गिटी, कुनै मिथकीय भगवानकाे मूर्ति या सालिक बनाइसक्थे भन्दै उसलाई बुझाएँ । मान्छेले जङ्गल छोडेदेखि नै हो उनीहरू अझ जङ्गली भएको उसले मलाई भन्यो । वर्षौँ वनको शीतलता पिएर उ लट्ठिएको थियो, मात्तिएको थियो । उसको मात अलिकति सापटी मागेर म पनि अराजक बन्न चाहन्थे । तर, ‘तँलाई मताउने उतै पाइन्छ उतै जा’ भन्दै उसले हप्कायो । म थेत्तरो भएर केहीबेर ऊसँग टाँसिरहेँ । एक हिँडाई थकाइ मरेपछि उसलाई सुमसुम्याएर म अघि बढेँ ।

त्यसै-त्यसै न्यागी गुम्बातिर खुट्टाहरू लम्किए । हिँडेरै स्वर्ग जाने सिँढीको बाटो बिचमा मैले थकाइ मारेँ । एकछिन चराहरूसँग बाझाबाझ पर्‍यो । उनीहरू ठूँगुला जसरि चर्किएँ, म पनि के कम जङ्गलको शान्ति भङ्ग गर्दै चर्किएँ । चिरबिर-चिरबिर-शब्दहरूको थुप्रो, चिरबिर-चिरबिर-शब्दहरूको थुप्रो । धेरै पछि हृदयदेखि नै कसैसँग बाझ्न पाउँदा मन हलुका भयो, उनीहरूको भरियो होला ।

न्यागी गुम्बामा रहेको चौतारामा बसेर केहिबेर शान्तिको आनन्द लिनुपर्‍यो भनेको घाँस काट्न थालेका रहेछन् । घाँस काट्ने मेसिनको चर्को आवाजले मलाई धेरैबेर त्यहाँ टिक्न दिएन, जुरुक्क उठेर म हिँडिहाले । एकछिनको हल्लाले मेरो त्यो हालत भएको थियो, उपत्यकावासीले वर्षौँदेखि गरेको यो हल्ला जङ्गलले कसरी सहेको होला है ?

अब फेरी उही दिनचर्या र रात चर्या । दिनभरि कार्यालय, रातभरि औँला र आँखा मोबाइलमा चल्ने नै छन् । आफ्नै खोजीमा आफैँबाट भाग्दै गर्दा यसपाली शिवपुरीको जङ्गलले मलाई स्विकारीदियो हेरौँ अर्को पटक कता पुगिन्छ ।

सम्बन्धित समाचार