शुक्रबार , अषोज १४, २०७९

जनतालाई जाम, सरकारी निकायमा कहिले लाग्ला घाम

image

  • सुरेस तिमल्सिना

डेङ्गु सङ्क्रमणको कारण करीब १३ दिनको घर बसाइँ पश्चात् गत सोमबार देखी आफ्नो काममा फर्किएको थिएँ । अत्याधिक शरीर दुख्ने, बेलाबेलामा सहनै नसक्ने गरि टाउको दुख्ने भए पश्चात् नयाँ बानेश्वर बाट करीब ४ बजे घरतर्फ निस्किएँ । धन्न अलि समयमा नै घर निस्किएछु । कोटेश्वर, जडिबुटीमा केही समय जाममा परे सँगै करीब ४:४५ मा घर पुगेँ ।

घर पुगेर सिटामोल खाएर सुतेको थिए उठ्दा लगभग ६:३० भएछ । अफिसबाट दिदी कति बेला आइपुग्ने हो भनेर दिदीलाई कल गरेँ । दिदीले भन्नुभयो, “चिनबाट को नेता आएको रे म त जाममा छु ।” दिदीको प्रतीक्षामा बसेको नि धेरै समय बित्यो । दिदी आइपुग्नु भएन । बारम्बार फोन गरिरहेँ तर उठेन । यसो फेसबुक हेर्दै थिएँ- सुन्धारामा भक्तपुर आउन नपाएर छट्पटाइरहेका दिदी सँगै अन्य यात्रुहरू नारा लगाउँदै गरेको भिडियो देखेँ ।

भिडियोमा सबैले आफ्नो आक्रोश पोखिरहेका थिए । त्यहाँ देखिएको भिड अफिस छुटेर आफ्नो निवास तर्फ जानबाट बन्चित भएकाहरूको थियो । कोही भक्तपुरको त कोही ललितपुरको साधन कुरिरहेका थिए ।  रातको करिब ८ बजेको थियो । भिडियो हेरेपछि अनलाइन तिर प्रवेश गरे- ‘किन जाम भएछ ? किन यसरी कयौं जनताको बिल्लिबाठ बनाईएको छ ?’ मेरो मनमा अनेकौं प्रश्न खेल्न थाल्यो । जुन स्वभाविक थियो ।

अनलाइन तिर समाचार हेर्दैगर्दा देखेँ, धेरैजसो समाचारका हेडलाईन थिए- ” चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको विभिन्न स्थानमा जाम ।” यो समाचार सामाजिक संजालभरी थियो । कोही जाममा परेको फोटो हाल्दै आफ्नो आक्रोश पोखिरहेका थिए । करीब सवा नौ भएको थियो दिदी घर आइपुग्नु भयो । दिदी आएसँगै खाना खाएर सोमबार सुतियो ।

मंगलबार बिहान उठेर यसो मोबाइल हेर्दै थिएँ । सेतोपाटीमा “लि’को नेपाल भ्रमण : ९ बजेपछि काठमाडौंमा सवारी आगमन प्रभावित हुने” हेडलाईन भएको समाचार देख्ने बित्तिकै म समाचार भित्र प्रवेश गरें । समाचार हेर्दा लाग्थ्यो आज घरबाट कतै ननिस्कनु नै उत्तम तर नयाँ बानेश्वर नपुगी नहुने काम पनि थियो ।

हत्तार हत्तार दुई गाँस खाएर म घरबाट करीब ९ बजे निस्किएँ । भक्तपुरको नयाँ ठिमी देखि नयाँ बानेश्वरको यात्रा करीब २५ मिनेटको छ । नयाँ ठिमीबाट अगाडि बढे सँगै गठ्ठाघर नआईपुग्दै जाम शुरु भयो । जाम हत्तपत्त खुल्ने सम्भावना थिएन । ट्राफिकहरू सडकभरी थिए । भएर नि के गर्नु ? मुख्य चोक अगाडि पछाडि जाम छ । खोलौँ जाने ठाउँ छैन । उनीहरूलाई दोष दिनु बेकार छ ।

गठ्ठाघरबाट जसोतसो अगाडि बढियो, कौशलटार नआईपुग्दै फेरि जाम भयो । यो प्रक्रिया क्रमश: दोहोरिरहेको थियो । बल्लतल्ल लोकन्थली पुगेँ । जाम उस्तै । पछाडी २ वटा एम्बुलेन्स साईरन बजाउदै इरहेका थिए । जाने बाटो कतै छैन । सायद बिरामीको आफन्त होलान्, एम्बुलेन्सको झ्यालबाट हातको भाउ लगाउँदै अगाडि बढ्न बाटो मागिरहेको थिए । एम्बुलेन्स अगाडि बढ्नसक्ने अवस्था थिएन ।  न पछाडि गएर नै अर्को लेनबाट जान सक्ने अवस्था थियो ।

एम्बुलेन्स भित्रबाट दुई जना झरेर अगाडि ट्राफिकलाई बिन्ती गरेपछि लोकन्थलिको जाम खुल्यो । लोकन्थली देखि जडिबुटी पुग्न करीब २५ मिनेट लाग्यो । त्यो एम्बुलेन्स भित्रको बिरामीको आँखा कति रसाएको होलान् अनि ती बिरामी बचाउन बाटो खोज्दै त्यो घाममा सेकिएका आफन्तको पीडा कस्तो थियो होला ? यो भगवानले मात्रै बुझ्लान् ! यदि अरु कसैले बुज्थ्यो भने यसरी जीवन र मृत्यु सँग सामना गरिरहेको बिरामी बीच बाटोमा अलपत्र परेर जाममा बस्न पर्दैनथ्यो होला ।

कोही कसैको आगमनले गर्दा कयौं जनता आफ्नो काममा जानबाट बन्चित, भविष्यको यात्रा अगाडि लम्काइरहेका विद्यार्थीहरू समयमा बिद्यालय पुग्नबाट बन्चित हुन पर्दैनथ्यो होला । यसरी म भक्तपुरबाट नयाँ बानेश्वर पुग्दा यस्ता दृश्य धेरै देखिए । कयौं यात्रु सवारी साधनबाट ओर्किएर आफ्नो आक्रोश पोखिरहेका थिए । कोटेश्वरमा त झन् कति एम्बुलेन्स जामा साईरन बजाउँदै जाममा बसिरहेका थिए कुरै छैन ।

तीनकुने आइपुगेका सवारी साधन आफ्नो बाटो तर्फ जान पाएनन् । नयाँ बानेश्वर पुग्नुपर्ने म तीनकुनेबाट गौशाला हुँदै करीब सवा बाह्र बजे नयाँ बानेश्वर आईपुगेँ । मैले जस्तो यस्तो समस्या भोग्ने सोमबार धेरै थिए । सोमबार दिनभरी जसो काठमाडौं, भक्तपुर र ललितपुरमा जाम थियो । बेलुका नयाँ बानेश्वरको काम सकेर भक्तपुर पुग्नपर्ने मलाई आँट आएन, म सोमबार बेलुकी पुरानो बानेश्वर बसेँ । आज मङलवार पनि प्राय: दिनभरी जसो जाम नै छ ।

अहिले यो लेख लेखिरहँदा पनि म बालुवाटारको “नेपाल हाउस” मा बसेर लेखिरहेको छु । भक्तपुर पुग्नुछ बाहिरको जाम देख्दा निस्कनै मन छैन । यसरी कुनै एउटा देशको कुनै पदको नेता भ्रमणमा आउँदा जनतालाई जाममा पारेर, अनेकौं समस्यामा पारेर उनीहरूलाई सुविधा प्रदान गर्नु कत्तिको औचित्यपूर्ण होला ? कतै बस स्टपमा यात्रु झर्न सवारीसाधन रोक्दा चिट काटेर जरिवाना लिने अनि अहिले यसरी कयौं जनतालाई सास्ती हुनेगरी जाम गराउँदा कसले कसलाई कारवाही गर्ने ?

जडिबुटी, थापाथली, बिजुलिबजार जस्ता क्षेत्रका पक्की पुलको क्षमता कति छ ? अनि घन्टौं सम्म कयौं सवारीसाधन ती पुलमाथी जाममा पर्दा ती पुर्वाधारहरू कतिको कमजोर होलान् । यस्ता कयौं समस्या उत्पन्न हुन्छन् । कोही कसैको आगमन देशको लागि फलदायी बनोस् । पूर्व तयारीका साथ आगमनको लागि निमन्त्रणा गरियोस् । सरकार, बिन्ती अब कोही VIP को आगमनमा जनताले कयौं सास्ती बेहोर्न नपरोस् ।

सम्बन्धित समाचार