शुक्रबार , अषोज १४, २०७९

किन छ देशमा स्वतन्त्र उम्मेदवारहरूको चर्चा ?

image

यतिवेला केही स्वतन्त्र उम्मेदवारहरूको चर्चा हाम्रो देशमा छ । खासगरी काठमाडौँका बालेन शाह र धरानका हर्क राई चर्चाको शिखरमा छन् । यी स्वतन्त्र उम्मेदवारहरूको जितले अहिले राजनीतिक दलको मुटुमा ढ्यांग्रो ठोकेको छ । देशको राजधानीमा मात्र स्वतन्त्र उम्मेदवारको जित भएको छैन । यी लगायत ७५३ स्थानीय तहमा ३१ पालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यमा ३८५ ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यसरी सबैतिर स्वतन्त्र उम्मेदवारको चर्चा भइरहँदा केही भन्छन्, स्वतन्त्र उम्मेदवार आउनु भनेको दलहरूहरुलाई खबरदारी गर्नु मात्र हो । मतदाताले दललाई विश्वास नगर्दा रहेछन् भन्ने त बुझिन्छ । तर यो नै विकल्प होइन । मतदाताले अहिले निराशा देखाएका मात्र हुन् । तर देशैभरि स्वतन्त्र उम्मेदवारले मात्र जितेको अवस्था त पक्कै होइन । एकाध ठाउँमा बाहेक अधिकांश क्षेत्रको भोट दलकै पक्षमा छ । केही ठाउँमा जित्दैमा अब स्वतन्त्र उम्मेदवार नै दलहरूको विकल्प हुन् भन्ने हुँदैन । स्वतन्त्र उम्मेद्वार व्यक्ति नै हुन् उनीहरु दल होइनन् । यी लगायत यस्ता टिकाटिप्पणी कत्तिको सान्दर्भिक हुन् हामी आफैं पनि विचार गर्न सक्छौँ ।

तर जे होस् स्वतन्त्र उम्मेद्वारको देशमा अहिले राम्रै चर्चा छ । उदारणकै रूपमा लिने हो भने हिजो एक व्यक्ति रक्सि पिएर बस चढेका थिए । संयोगले म उनी चढेकै बसमा चढेकी थिए । हामी एउटै सीटमा थियौँ । उनले बालेन शाह र हर्क राईको गुनगान गाउँदै बसमा सबैलाई अब स्वतन्त्रलाई नै भोट हाल्नु पर्छ भन्दै थर्काइ रहेका थिए । कत्तिले उनको गफलाई हाँसेर उडाई रहेका थिए भने म भने उनलाई ध्यान दिएर सुनिरहेकी थिए ।

चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण सँगै भएको जाम र उनको गफ म रोचक ढंगले सुनिरहेकी थिए । उनले बेला बेला गोपी हमाल, बालेन र हर्क राईको नाम बिर्सन्थे म उनलाई तिनको नाम सम्झाउने गर्थे । यही सम्झाए वापत् उनले म पनि स्वतन्त्र उम्मेद्वारको समर्थक भन्थानेछन् कि मेरो भाडा नै तिरिदिएँ । मैले दिनु पर्दैन भन्दा पनि उनले मलाई थर्काएका थिए । त्यसपछि म उनीसँग डराएकी थिएँ ।

व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिएको अवस्थामा किन बढिरहेका छन् स्वतन्त्र उम्मेद्वार भन्दा एक राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, भन्छन्, ‘पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा बागी उम्मेदवारको संख्या बढेको छ। स्थानीय आवश्यकता एउटा हुने तर केन्द्रले अर्को निर्णय गरेका कारण पनि यस्तो अवस्था आएको हो। स्थानीय तहमा आफ्नो बहुमत हुँदा हुँदै पनि गठबन्धनका कारण बहुमतलाई गुमाउने अवस्थालाई अस्वीकार गर्दै उम्मेदवारी दिएको हुनसक्छ। वास्तविकताभन्दा पर गएर केन्द्रले निर्णय गरेका कारण हक र अधिकार खोसिएकाले यस्तो हुन गएको छ ।’

राजनीतिक विश्लेषक भोगेन्द्र झा भन्छन्, ‘नेपालमा पछिल्लो समय राजनीतिक संस्कार विकसित नभएको अवस्था छ । हाल नेपालमा कुनै दल तथा सिद्धान्त नभएको अवस्था छ । नामधारी लोकतन्त्रवादी तथा नामधारी कम्युनिस्ट भएका कारण यो अवस्था आयो । कम्युनिस्टहरु बढि शोशक तथा सामन्ती भए लोकतन्त्रवादी भनिनेहरु अलोकतान्त्रिक चरित्रका पृष्ठपोषक भएका कारणले गर्दा यो अवस्था आएको हो ।’

दलीय व्यवस्थाप्रति जनताको वितृष्णा र अविश्वास पैदा भइरहेको अवस्थामा आमनागरिकमा प्रतिशोधको भावना जाग्यो भने ? राजनितिक दलका नेताहरूले देशका लागि भन्दा परिवारका लागि र व्यक्तिगत फाइदाकै निम्ति काम गरेको देखिनु, राजनीतिक भाषण र आश्वासनले मात्र जनताको कान भर्न खोज्नु अब यस्ता गफलाई जनताले पत्याउन छाडे भने ? संघ र प्रदेशमा पनि स्वतन्त्र उमेदवारको चर्चा र परिचर्चा चल्न थाल्दा कतै यसले दलिय व्यवस्था माथि डडेलो त लगाउने होइन ?

सम्बन्धित समाचार