शनिबार , फागुण १९, २०८०

स्वस्थानी व्रत कथाको महत्व एवम् पूजा विधि जानीराखौं

image

वैदिक सभ्यताको विकासकै क्रममा हिन्दू सनातन धर्म–संस्कृतिको पनि विकास भएको पाइन्छ । विभिन्न पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार सँगै सभ्यता सुहाउँदा विभिन्न चाडपर्वको पनि विकास भयो । ती चाडपर्व चान्द्रमास र सौर्यमासमा आधारित छन् । जसमध्ये चन्द्रमासका आधारमा लिइने श्रीस्वस्थानी व्रतलाई पनि विशेष रूपमा लिइएको पाइन्छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दू महिलाद्वारा लिइने व्रत हो, श्रीस्वस्थानी । सत्य युगमा भगवान् विष्णुको सल्लाहमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भन्दै सो व्रत बसेकी र उनको मनोकामना पूर्ण भएको मान्यताअनुसार श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको पाइन्छ । सो अवधिमा व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै सौभाग्यवती तथा पुत्रवती हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघमाहात्म्यमा उल्लेख छ ।

धार्मिक मान्यता
स्कन्द पुराणमा उल्लेख भएअनुसार महादेव पत्नी सतीदेवीले बाबुले आफ्ना पतिलाई गरेको गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन् । पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीका रूपमा उनको जन्म भयो । पार्वतीले सानैदेखि ‘महादेव पति पाऊँ’ भनी कामना गरेको शास्त्रमा उल्लेख छ । तर, विवाह गर्ने बेला भएपछि हिमालयले भगवान् विष्णुसँग पार्वतीको विवाह गरिदिने भए । त्यसैले पार्वती भागेर एकान्त वनमा गई महादेवको ध्यान गर्न थालिन् । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएका र पार्वतीले विधिपूर्वक एक महिनासम्म सो व्रत गरी महादेव पति पाएको उल्लेख छ । तसर्थ व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको चर्चा पौराणिक धर्मग्रन्थमा भएकाले परम्परागत रूपमै स्वस्थानी व्रतकथा लोकजीवनमा चलेको पाइन्छ ।

व्रतविधि र नियम
श्रीस्वस्थानी व्रत पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने भए पनि व्रत गर्ने पुरुष वा महिलाले ‘पौष शुक्ल चतुर्दशीका दिन बिहान सबेरै उठी हातखुट्टाका नङ काट्नू, स्नान गर्नू र शुद्ध वस्त्र लगाएर एक छाक हविष्यान्न (दूध, दही, जौ, गहुँ, चामल, तिल, घिउ, सक्खर आदि सात्विक पदार्थ) भोजन गर्नू, ब्रह्मचर्य पालन गर्नू र सो दिनदेखि भूमिमा शयन गर्नू’ भनिएको छ । व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्नमा श्रीमहादेवको पूजाआराधना र अघ्र्य दिने चलन छ। त्यस्तै बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ ।

पहिलो दिन श्रीस्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ लिपपोत गर्नुपर्छ । एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्छ । व्रत नसकिएसम्म पुरुष व्रतालुले केश र दाह्री काट्न नहुने मान्यता छ । शौच गएका कपडा नधोई पूजापाठ तथा खानपानमा सरिक नहुनू, सकारात्मक सोच राख्नू लगायत व्रतका अनिवार्य नियम हुन् । सो दिन स्नानपछि शुद्घ वस्त्र लगाएर कुशासन, नभए ऊन त्यो पनि नभए कम्बलको आसनमा बसी नित्यकर्म गर्ने विधान छ ।

पूजा गर्ने स्थानमा तामाको कटौरामा पञ्चगव्य (गोबर, गोमूत्र, दूध, दही र घिउ), तिल, सस्र्यूं र जौ हाली वेद मन्त्रले मन्त्रिएर ‘ॐ अपवित्रः पवित्रो वा…’ भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूलाई अभिषेक गर्नुपर्छ । सँगै ‘मन, वचन र कर्मले जानीनजानी गरेका सम्पूर्ण पाप नाश हुन् र मलाई जन्मजन्मान्तर सौभाग्य, सुख–सम्पत्ति प्राप्त होस् र मृत्युपछि पनि शिवलोक प्राप्ति होस्, जसका लागि म एक महिनासम्म श्रीस्वस्थानी माताको व्रत बस्नेछु’ भनी संकल्प गरेर व्रत सुरु गर्नुपर्ने मान्यता छ । त्यसपछि प्रायश्चितस्वरूप गो (गाई) दान गर्नुपर्छ। गाई सम्भव नभए गोबरमा भेटी राख्ने परम्परा छ । त्यसपछि दियो, कलश र गणेशको पूजा गरी तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई सो कमलको बीचमा श्रीस्वस्थानी मातालाई सम्झेर सुनको प्रतिमा स्थापना गर्नुपर्छ । सुन नभए यथाशक्ति भेटी राखी श्रीस्वस्थानी देवीको स्थापना गर्नुपर्छ ।

शास्त्रमा ‘श्रीस्वस्थानी–अष्टदल यन्त्र’को उल्लेख गरी उनको स्वरूप बताइएको छ–
‘अष्टासु च दलेष्वेषु मातृकाष्टथितास्तथा
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम्
चतुर्भुजा त्रिनेत्रा च सर्वालंकारभूषिता
सुवर्णवद्विका साभा स्वस्थानी परमेश्वरी।’

अर्थात् अष्टदलमा अष्टमातृकाहरू बसेका छन् । माझमा बसेकी श्रीस्वस्थानी माता आफ्ना चार हातमा क्रमशः त्रिशूल, तरबार, चक्र र कमल धारण गरेकी हुन्छिन् । सुनजस्तै पहेलो वर्ण भएकी विविध आभूषणयुक्त श्रीस्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुन्छिन् । यिनी आदि शक्तिस्वरूपा भएकीले आफ्ना भक्तजनलाई मनले चिताएको फल तुरुन्तै दिन्छिन् ।’

सो अष्टदल कमलवरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना गरी ती सबै देवीहरूको पूजा गर्ने चलन छ । प्रत्येक दिन बिहान दियो, कलश र गणेशको पूजापछि अष्टमातृका र श्रीस्वस्थानी माताको आवाहन, आसन, पाद्य, अघ्र्य, आचमनीय, पञ्चामृत, पुनराचमनीय, पुनःशुद्धोदक, चन्दन, अक्षता, फूलले पूजा गरी वस्त्र, भेटी, सुपारी, सिन्दूर, अबिर, सौभाग्यद्रव्य आदि चढाउने र धूपदीप गरी नैवेद्य चढाउनुपर्छ । दुवै हातमा फूल लिई श्रीस्वस्थानी माताको निम्न मन्त्रले ध्यान गरी साष्टांग दण्डवत् गर्नुपर्ने विधान छ ।

‘सुवर्णवर्णदीप्ताभ्यां त्रिनेत्रां कमलासनाम्
सिंहासनसमासीनां सर्वालंकारभूषिताम्
नीलोत्पल–धरां वामे दक्षिणे वरदां शुभाम्
खड्ग–चर्मधराञ्चोध्र्वं वामदक्षिणयोः क्रमात्
चतुर्भुजां च मां तत्र पूजयेत् वृषकेतुनाम्
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदीश्वरीम्’

अर्थात्  सुनजस्तै पहेलो वर्ण भएकी, त्रिनेत्रधारी, कमल पुष्पझैँ प्रशन्न मुखमण्डल भएकी, विविध आभूषणले शोभायमान भई सिंहासनमा विराजमान, खड्गचर्म र नीलोत्पल धारण गरेकी, चतुर्बाहु भएकी यस्ती श्रीस्वस्थानी माताको हृदयले ध्यान गर्दछु ।

मध्याह्न कालमा श्रीमहादेवको पनि स्वस्थानी मातासँगै पूजा अर्चना गर्नुपर्छ । माघमाहात्म्यमा भगवान् शिवकै वचनमा भनिएको छ, ‘माघस्य पूर्णिमायां तु स्वस्थानी व्रतमाचरेत्, आवयोः पूजयेत्तत्र प्रतिमां मण्डले शुभे’ अर्थात् माघ शुक्लमा स्वस्थानीको व्रत गर्नू र थालीमा प्रतिमा राखी हाम्रो (पार्वती र मेरो) पूजा गर्नू । पूजापछि आफूले जुन काम चिताएर व्रत लिएकोे हो, त्यहीअनुसार कामना गर्दै ‘स्वस्थानि देवदेवशि पूर्णर्थं मम तारकम्। गृहाणाघ्र्यं मया दत्तं प्रसीद परमेश्वरि’ मन्त्रले श्रीस्वस्थानी मातालाई अघ्र्य दिनुपर्ने विधान छ।

साँझमा पूजापछि श्रीस्वस्थानी देवीको कथावाचन गर्नुपर्छ । कथा भन्ने वक्ता र सुन्ने श्रोता नभए आफैँ वाचन गर्दै र आफैँ सुन्नुुपर्छ भनिएको छ । कथावाचकले कुनै अखाद्य खानुहुँदैन । कथाको सुरुमा र कथाको अन्त्यमा चन्दन, अक्षता, फूल र भेटी चढाई पुस्तकको पनि पूजा गर्नुपर्छ र आरती गर्नुपर्छ । त्यसपछि सबैलाई प्रसाद वितरण गर्नुपर्ने मान्यता छ ।

यो क्रम माघ शुक्ल पूर्णिमाको दिनसम्म गरिन्छ । अन्तमा सो दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजा (साङ्गे) गरिन्छ। तामाको थालीमा ॐ कार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्रीस्वस्थानी मातासँगै मेरो पनि पूजा गर्नु भनी श्री महादेवबाट आज्ञा भएको छ । पूजामा सेलरोटी, सुपारी, फलफूल, बेलीपुष्प, पान, जनाई, अक्षता, आरतीबत्ती, भेटी, जौ, तिल आदि पदार्थ १०८ का दरले चढाई पूजास्थललाई १०८ फेरा नै घुमेर ढोग्नुपर्ने परम्परा छ । यसरी व्रत प्रतिष्ठा गरिसकेपछि ‘हे श्रीस्वस्थानी देवी, हजुरको कृपाले मेरो व्रत पूरा होस् र मेरो मनोकामना पनि पूर्ण होस्’ भनी अघ्र्य दिई ती १०८ प्रसादमध्येबाट ८/८ वटा प्रसाद (आठ रोटी, आठ पान, आठ अक्षता, आठ कुड्का सुपारी आदि सगुनसहित) आफ्ना पतिलाई दिनू, पति नभए पुत्रलाई, पुत्र नभए मीतका छोरालाई, मीतको पनि छोरा नभए आफूले जुन कामना गरी व्रत गरेको हो, त्यो पूरा होस् भनेर जलाशयमा बगाइदिनू र सय/सय भाग प्रसाद ग्रहण गर्नू र सो दिन रातभर आफन्तजनसहित भजन कीर्तन गर्दै जाग्राम बस्नू भनेर श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यस्तो विधिले व्रतपूजा गरिसकेपछि उनै माताको कृपाले समस्त दुःखको अन्त्य हुने र मनोकामना समेत पूर्ण हुनेछ भनेर बताइएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । स्वस्थानी देवीको व्रतका प्रभावले बिछोडिएका जोडीको पुनर्मिलन हुने, रुग्ण भए ठीक हुने र बिहे नभएकाको इच्छा गरे अनुरूप पति वा पत्नी पाइने, बिहे भएकाले सौभाग्य प्राप्त गर्ने, विधवा वा विधुर भइसकेकाले अर्को जन्ममा दाम्पत्य जीवनको सुखभोग प्राप्त गर्ने स्वस्थानी महात्म्यमा बताइएको छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशन अनुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा छ । व्रतपछि बिछोडिएका नाग–नागिनी, पुनर्मिलन भएको, चन्द्रावतीले अहंकार गरी स्वस्थानीको प्रसादको अपमान गरेकी र कुष्ठरोगले पीडित भएकी अनि स्वस्थानी व्रतकै प्रभावले उनको र नवराजको पुनर्मिलन भएको कथामा उल्लेख छ । त्यस्तै गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार स्वस्थानी व्रत गर्दा छोरा नवराज फर्किएर आएका, उनी लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथा समेत वर्णन गरिएको छ ।

शालिनदी मेला
श्रीस्वस्थानी व्रत अवधिभर काठमाडौंको साँखुस्थित शालीनदी परिसरमा माघ स्नानसहित माधवनारायण मेला लाग्ने गरेको छ । साथै पशुपति क्षेत्रअन्तर्गत गौरीघाट, गुह्येश्वरी र सतीदेवीका अंग पतन भएका विभिन्न शक्तिपीठका साथै महादेव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । स्कन्द पुराणमा उल्लेख भएका मृगस्थली, शालीनदी, लावण्य देश लगायत स्थल व्रतकथामा उल्लेख गरिएको र विषयवस्तु तथा घटना पनि नेपालकै सेरोफेरोमा घटेको भनी स्कन्द पुराणमा उल्लेख छ ।

माघ महिनाभर शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरे अनन्य पुण्य मिल्ने धार्मिक विश्वास छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शास्त्रोक्त मन्त्रोच्चारण गरी नित्यपूजा गर्नुपर्ने परम्परा छ ।

हेमराज भट्टराई ‘शास्त्री’

सम्बन्धित समाचार