शुक्रबार , फागुण १८, २०८०

टुँडिखेलमा तमु ल्होसारको रौनक: एकातिर झाँकी, अर्कोतिर पोलेको बुंगुर

image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पानसमा बत्ती बालेर र बेलुन उडाएर तमु ल्होसारको उद्घाटन गरेका छन् । तमु ल्होसारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा गुरूङ समुदायका व्यक्तिले प्रचण्डलाई गुरूङ पहिरन पहिराएर सम्मान गरेका हुन् ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडिखेलमा भेला भएका छन् । आज बिहानैदेखि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंद्वारा आयोजित कार्यक्रमको रौनकतामा काठमाडौंको टुँडिखेल झुमेको छ  ।

तमु ल्होसारका अवसरमा शुक्रबार राजधानीमा विभिन्न झाँकीसहित र्‍याली निकालिएको छ । गुरूङ समुदायले परम्परागत  भेषभुसा लगाएर र्‍यालीमा सहभागी भएका छन् । कार्यक्रमथलोमा गुरुङ समुदायसहित विभिन्न जातजातिका मौलिक परिकार प्रदर्शनीमा राखिएका छन् ।  सिङ्गै बँदेलको बार्बीक्यू, चुकाउनी, सेल रोटी, सुकुटी, घुँगी, दुधपुवा, लोकल रक्सी, तुम्बा, वन तरुल लगायतका खानाका  प्रदर्शनीमा छन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसपटक बाघ वर्षको बिदाइ र बिरालो वर्षको स्वागत गर्दै तमु ल्होसार मनाइएको हो ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, धादिङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

Tags:

सम्बन्धित समाचार