शुक्रबार , अषोज १४, २०७९

पर्यटकीय गन्तव्यको सम्भावना बोकेको तारकेश्वर नगरपालिका

सरकारले गोलढुङ्गा, जितपुरफेदी, धर्मस्थली, काभ्रेस्थली, साङला, मनमैजु र फुटुङ गाविस मिलाएर वि.सं. २०७१ मा तारकेश्वर नगरपालिका बनाएको हो । यस नगरपालिकामा रहेको भुवनेश्वरी मन्दिर, पाँचमाने र तारकेश्वर महादेव मन्दिर यहाँका चर्चित गन्तव्य हुन् ।

image

  • सिर्जना लामिछाने

तारकेश्वर नगरपालिका पर्यटकीय गन्तव्यको सम्भावना बोकेको स्थान हो । सरकारले गोलढुङ्गा, जितपुरफेदी, धर्मस्थली, काभ्रेस्थली, साङला, मनमैजु र फुटुङ गाविस मिलाएर वि.सं. २०७१ मा तारकेश्वर नगरपालिका बनाएको हो । यस नगरपालिकामा रहेको भुवनेश्वरी मन्दिर, पाँचमाने र तारकेश्वर महादेव मन्दिर यहाँका चर्चित गन्तव्य हुन् ।

भुवनेश्वरी मन्दिर

काठमाडौं  उपत्यकाको उत्तर-पश्चिम कोणमा तारकेश्वर नगरपालिका अन्तर्गत तिनपिप्लेबाट नजिकै रहेको भुवनेश्वरी मन्दिरले बेग्लै पहिचान र स्वरुप देखाइरहेको छ । रमणीय उच्च स्थानमा रहेको यस मन्दिर परिसरको विभिन्न कोणबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । यस मन्दिर पुग्नलाई उपत्यकाको बाइपासबाट  लगभग ११ किलोमिटर अगाडि जानुपर्दछ । यस मन्दिरमा पुग्नका छोटो बाटोका लागि तीनपिप्लेबाट सिँढी चढेर उकालो चढ्नुपर्दछ ।

तारकेश्वर धार्मिक पर्यटनका लागि पनि सम्भावना भएको नगर हो भन्ने कुरा यस मन्दिरले सहजै बोध गराउँछ । तीनपिप्ले नजिकै माथि डाँडा रहेको यस मन्दिर अति नै सुन्दर र आकर्षक रहेको छ । २७ ओटा गजुर रहेको यस मन्दिरलाई संसारको सबैभन्दा ठूलो देवीको मन्दिर भनेर पनि चिनिन्छ । कलात्मक तरिकाले बनाइएको यस मन्दिर निर्माणको श्रेय श्यामबाबालाई जान्छ ।

भुवनेश्ववरी मन्दिरलाई मानिसले हाल (भाइरल मन्दिर) नामले चिनिन्छ । यस मन्दिरभित्र प्रवेश गर्न अघि पानीमा खुट्टा डुबाएर जाने प्रचलन रहेको छ । भुवनेश्वरी मन्दिरलाई आधुनिक भएर पनि ज्यादै महत्वपूर्ण शक्तिपीठका रूपमा लिन सकिन्छ ।

पाँचमाने

भुवनेश्वरी मन्दिरबाट करीब २ किलोमिटर यात्रा गरेपछि पाँचमाने पुग्न सकिन्छ । पाँचमाने शिवपुरी जंगलको फेद र जितपुरफेदीको माथिल्लो भागमा पर्दछ । करीब २,५५२ वर्ष पहिले जन्मेका गौतमबुद्धले बताएअनुसार पञ्चध्यानी बुद्धहरू बैरोचन, अक्षोम्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको स्मरणार्थ पाँचवटा स्तूप स्थापना भएको र पछि यिनै पाँचवटा स्तूपका कारण पाँचमाने नाम रहन गएको हो ।

काठमाडौंको उत्तर पश्चिमतिर अवस्थित पाँचमाने पञ्चबुद्धसंग सम्बन्धित स्थान हो । केही समय अघि पाँचमानेमा मानाङ्क मुद्रा भेटिएको थियो, जसले यो ठाउँको अस्तित्त्व लिच्छविकालदेखि नै रहेको बुझ्न सकिन्छ । तिब्बती युद्ध आक्रमणको मिथक गाँसिएको ऐतिहासिक पाँचमानेको चर्चा अतीस दीपङ्करको जीवनीग्रन्थमा छ । जहाँ भोट यात्रा क्रममा भगवान् बहालको रक्षाका लागि बनाइएको पाँच स्तूप उल्लेख गरिएको छ । उनले १०४१-१०५५ ई.मा भोटयात्रा गरेका थिए । पाँचमाने भोट र तिब्बतसंग व्यापारको प्रमुख मार्ग रहेको पाइन्छ ।

तारकेश्वर महादेव मन्दिर 

पाँचमानेबाट करिब ५० मिनेट जति हिँडेपछि तारकेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । स्वच्छ हापापानी, सुन्दर, शान्त, हरियाली र रमणीय शिवपुरी निकुञ्जभित्र रहेको तारकेश्वर महादेवको दर्शन गर्न छिँडीको बाटो हुँदै जान सकिन्छ । जहाँ चराचुरुङ्गीको मिठो आवाजमा रमाउँदै र वनजङ्गलको शीतल छहारीहरूको आन्नद लिई हिँड्न पाइन्छ । यस मन्दिर जानको लागि अन्य बाटोभन्दा यो बाटो उत्तम रहेको छ । हाइकिङ गर्नेहरूको लागि तारकेश्वर मन्दिर उत्कृष्ट गन्तव्य रहेको छ ।

विशेषतः यस मन्दिर काभ्रेस्थली र जितपुरफेदीको शिरमा रहेको छ । यस मन्दिर नजिकै झरना, गुफा, पाटी र पोखरी पनि रहेका छन् । तारकेश्वर महादेवको दर्शन गर्नका लागि मानिसहरूको भीड नै हुन्छ । यहाँ स-साना मन्दिरहरू र श्रीनाथ बाबाको आश्रम रहेको छ । किंवदन्तीमा स्वस्थानी व्रतकथाअनुसार सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर पातालमा जाँदै गर्दा शिवपुरी निकुञ्जमा पुगेपछि सतीदेवीको दाइने तिघ्रा पतन भई तारकेश्वर महादेव उत्पन्न भएको जनविश्वास रहेको छ ।  यस मन्दिरमा हाल १ जना बाबा रहेका छन् । उनी लगभग २० वर्षदेखि यहाँ बस्दै आएका छन् । उनी बस्नुभन्दा पहिले त्यहाँ कालीबाबा बस्दै आएका थिए । कालीबाबाको २०५६ सालमा निधन भयो ।

काठमाडौंको उत्तरी भेगमा रहको यस क्षेत्रलाई धार्मिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । काठमाडौंकै अत्यन्त सुन्दर, शान्त, रमणीय, चारैतर्फ हरियाली र मनोरम तारकेश्वर मन्दिरहरूको विकासका लागि तारकेश्वर नगरपालिका मात्र नभई नेपाल सरकारकै ध्यान जान अति आवश्यक रहेको छ । पर्यटकीय गन्तव्यको सम्भावना रहेको प्रकृतिको अनुपम रमणीयता र ऐतिहासिक विशेषता बोकेको स्थल तारकेश्वर नगरपालिका एकचोटि पुग्नै पर्ने पर्यटकीय स्थलमध्ये एक हो ।

सम्बन्धित समाचार