शुक्रबार , मंग्सिर २३, २०७९

तारकेश्वर: उहिले उहिले भोजभतेर हुँदा बुढा महादेवले गाउँलाई भाँडावर्तन दिन्थे

image

श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले मृत सतिदेवी च्यापेर हिँड्दा उनको दाहिने तिघ्रा पतन भएको ठाउँ तारकेश्वर  (१,७१८ मिटर) हो । त्यहीँ पछि महादेव उत्पन्न भए । लक्ष्मीले पनि त्यही ठाउँमा तपस्या गरेको विश्वास गरिन्छ । जुन ठाउँ काठमाडौंको शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जभित्र पर्छ ।

पहरे ओढारमा बसेका छन्, तारकेश्वर । ओढारका बुढा महादेव त्यहाँका सबै भन्दा पुराना देवता । किँवदन्ती अनुसार उहिले उहिले गाउँमा कुनै भोजभतेर वा शुभकार्य हुँदा बुढा महादेवले गाउँलाई भाँडावर्तन दिन्थे । एकपटक एक जनाले पन्यु चोरेर लगे पछि फिर्ता दिएनछ । त्यही दिनदेखि महादेव रिसाएर भाँडा दिन छाडेछन् ।

बुढा महादेव बसेको ठाउँ भन्दा माथि पनि भिरमा महादेव छन् । तिनको दर्शन गर्न भर्याङ चढ्नु पर्छ । ती महादेव नजिकै अर्को ओढार छ, जहाँ गणेश, महादेव, त्रिशुल, घन्ट आदि छन् । ओढार छेउबाट हेर्दा काठमाडौं शहर छ्याङ्गै देखिन्छ ।

तारकेश्वर शक्ति पिठ हो । त्यहाँ शिवरात्री, जनैपूर्णिमा, स्वस्थानी ब्रतकथाको समय, बाला चर्तुदशी र सोमबार मेला लाग्छ । खडेरी पर्यो भने वरपरका गाउँले बाजागाजासाथ तारकेश्वर पुगेर महादेवसँग पानी पर्ने जनविश्वास छ ।

तारकेश्वरबाट माथि धौलेश्वर महादेव छन् । त्यहाँसम्म पुग्न डेढ घन्टा हिँड्नु पर्छ । कोलाहाल र प्रदूषणबाट मुक्त छ तारकेश्वर । वर्षैभरि शितल हुन्छ । जंगल भएकाले चिरबिर सुनिन्छ । बँदेल, मृग, चितुवा, बाघ आदि जनावर डुल्छन् ।

तारकेश्वरमा श्रीनाथ बाबा बस्छन् । उनी बस्न थालेको २०५९ सालदेखि हो । उनी बस्नु भन्दा पहिल्यैदेखि त्यो ठाउँमा कालीबाबा बस्दै आएका थिए । कालीबाबाको ०५६ सालमा निधन भयो । बझाङ, चैनपुरका श्रीनाथ वैराग्य चलेर सन्यासी भएका हुन् ।

सरकारले गोलढुंगा, जितपुरफेदी, धर्मस्थली, काभ्रेस्थली, साङला, मनमैजु र फुटुङ गाविस मिलाएर वि.सं. २०७१ मा तारकेश्वर नगरपालिका बनाएको छ । विशेषतः जितपुरफेदि र काभ्रेस्थली शिरमा तारकेश्वर पर्ने भएकाले त्यहाँका गाउँले महादेवलाई इष्ट देव मान्छन् ।

ध्यान र योग साधना गर्नेका लागि तारकेश्वर पूण्यभूमि हो । त्यहाँ कविर आश्रम पनि छ । मन र इन्द्रियलाई वशमा राख्न सक्ने, बोली र व्यवहारमा एकरुपता ल्याउन मान्छे नै कविर हो ।

भारत, उत्तरप्रदेशका विशालदेवको इच्छाले त्यहाँ वि.सं २००४ मा आश्रम बनाइएको हो । उनी जिवित छँदा बेलाबेला तारकेश्वर आएर योग तथा ध्यान गर्थे । पहिला पहिला आश्रमले त्यहाँ शिविर चलाउँथ्यो । अचेल चलाउँदैन ।

तारकेश्वर मुन्तिर पाँच माने भञ्ज्याङ छ । भञ्ज्याङबाट आधा घन्टामा उत्तर तारकेश्वर, दक्षिण आधा घन्टा ओरालोमा तीनपिप्ले, पश्चिम दुई घन्टामा ककनी र पूर्व सभा घन्टामा काभ्रेस्थली पुगिन्छ । पाँच मानेबाट जंगलको बाटो, हरियाली, चिरबिर, किरा फटयाङग्राको आवाजले मोहित पार्छ ।

पहिला पाँच वटा माने थिए, अहिले ४ वटा मात्र छन् । एउटा पहिरोले खायो । पुराना मानेलाई घेरेर ठूलो माने बनाइएको छ ।

पासाङ ल्हामु राजमार्गको तीनपिप्लेबाट सोझै उकालो चढ्दा ५ किमिमा तारकेश्वर महादेव पुगिन्छ । उकालो चढ्ने वित्तिकै भुवनेश्वरी मन्दिर आउँछ । श्याम बाबाले दक्षिण एशियाकै अग्लो देवीको मूर्ति सहित भुवनेश्वरी बनाएका थिए । १२ वैशाख ०७२ को भुकम्पले त्यो मन्दिर ढाल्यो र त्यसको पुनः निर्माण हुँदैछ ।

तीनपिप्लेबाट तारकेश्वर उक्लेर अल्ले हुँदै गुर्जे भञ्ज्याङ हाइकिङ गर्न सकिन्छ । तीनपिप्ले तारकेश्वर ५ किमि । तारकेश्वरबाट गुर्जे भञ्ज्याङसम्म मोटरबाटो छ । साइकल र मोटरबाइक चलाउन मिल्छ। तारकेश्वरबाट गुर्जे जाँदा बीचमा निकुञ्जको चेकपोष्ट छ । त्यहाँ प्रवेश टिकट काट्नु पर्छ ।

पाँच मानेमा सामान्य खाजा पसल छन् । बस्ने सुविधा छैन । खाजा आफैंले बोक्नु पर्छ । तारकेश्वरमा बसेर खाजा खान सकिन्छ ।

कसरी पुग्ने ?

काटमाडौंको बालाजु बाइपासबाट पासाङ ल्हामु राजमार्गको तीनपिप्लेसम्म ९ किमि । तीनपिप्लेबाट २ किमि पर ठूलो खोलाबाट उकालो चढे १.५ किमि पाँचमानेसम्म मोटर बाटो छ । पाँचमानेबाट १ घन्टा पदयात्रा तारकेश्वर । हाइकिङ गर्दा तीनपिप्लेबाट ५ किमि उकालोमा तारकेश्वर । तारकेश्वरबाट ५.५ किमिमा गुर्जे भञ्जयाङ । पदयात्रा दुरी १०.५ किमि । समय ५ घन्टा ।

रुट: तीनपिप्ले- पाँचमाने- तारकेश्वर- गुर्जे भञ्ज्याङ
सुरु: तीनपिप्ले १,४३० मिटर
अन्त्य: गुर्जे भञ्ज्याङ २,००० मिटर
दुरी : १०.५ किमि
समय : ५ घन्टा
अधिक उचाई : गुर्जे भञ्ज्याङ २,००० मिटर

स्रोत: (हाइकिङ काठमाडौं, रामदेवी मर्हजन)

सम्बन्धित समाचार