बिहिबार , मंग्सिर १४, २०८०

संरक्षण नहुँदा लोप हुँदै गिद्ध

image

काठमाडौं । प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध बैतडीसहित सुदूर पहाडका पहाडी जिल्लामा संरक्षण नहुँदा सङ्कटमा परेका छन् । वासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् ।

यहाँको पाटन नगरपालिका–८ स्थित सिद्धनाथधाम क्षेत्र, वडा नं ३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्रलाई गिद्धको मुख्य तथा उपयुक्त वासस्थानका रूपमा लिइन्छ ।

मुख्य वासस्थान क्षेत्रमै पछिल्लो समय गिद्ध देखिन छोडेको नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौरा बताउँछन् । विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समयदेखि गिद्ध मुख्य वासस्थानमै देखिने छाडेका छन् । उनले भने, ‘अतिसंकटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा सङ्कटमा परेका छन्, केही वर्षयता गिद्ध कम सङ्ख्यामा देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध सङ्कटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो ।’

फागुनदेखि जेठसम्म प्रजनन गराउने समय रहेको र यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हुँदै गएका हुन् । उनले भने, ‘प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध  सङ्कटमा परेका छन्, आहार र वासस्थान कमी भएपछि पलायन हुने गर्दछन् ।’ प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रूख नभएकाले लोप हुँदै गएको बताइन्छ ।

यसका साथै पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने औषधि) जस्ता औषधिको प्रयोगले पनि गिद्धको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने गरेको र गिद्ध संरक्षणमा चुनौती थपिएको चरा विज्ञको भनाइ छ । साथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेका विज्ञ डगौरा बताउँछन् ।

चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे (सेतो गिद्ध), राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गरी आधा दर्जन बढी गिद्ध बस्ने गरेका छन् । गिद्ध आफैँले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन् । फोहर तथा हानिकारक मासुजन्य सिनोलाई खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन् । गिद्धमा हानिकारक तत्वलाई पनि पचाउन सक्ने क्षमता हुने भएकाले वातावरणलाई पनि स्वच्छ राख्ने काम गर्दछ ।

तीनवटै तहका सरकारले गिद्ध संरक्षणका लागि ठोस रूपमा आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको छ । सरकारबाट गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम नभएकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जनाए । उनले भने, ‘इकोसिस्टम जोगाउन गिद्धको ठुलो भूमिका छ, गिद्ध संरक्षणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।’

गिद्ध संरक्षणका लागि कुनै पहल नभएको र यसका लागि सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीको भनाइ छ । उनले भने , ‘गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ ।’ गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा कुरामा गिरी जोड दिन्छन् ।

चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठुलै भूमिका भएको पक्षी हो । यसको धार्मिक महत्व पनि ठुलो छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ ।

गिद्ध पर्यावरणको शुद्धिका साथै प्राणी मात्रका लागि पूजनीय रहेको उनको भनाइ छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ ।

 

रासस

सम्बन्धित समाचार