शुक्रबार , फागुण १८, २०८०

पञ्चकोशीमा स्वागत

image

दैलेखको ‘पञ्चकोशी’ दर्शनले आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ । प्रकृति र अध्यात्मको दोभानमा पुगेको अनुभूति हुन्छ । सनातनदेखि पितृ उद्धार र मनोकांक्षा पूरा हुने विश्वासमा पञ्चकोशी परिक्रमा गर्ने चलन छ । त्यसो त मधुमास जोडीलाई पनि पञ्चकोशी दर्शन फलिफाप बन्न सक्छ ।

कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेख इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधाम मानिन्छ । नेपाली भाषामा लेखिएका प्राचीन शिलालेख र कीर्तिखम्बाजस्ता स्तम्भहरू भएको दुल्लु क्षेत्र होस् कि शीतल डाँडो महाबु लेक सबैतिर इतिहासका गौरव गाथा भेटिन्छ । राम्रो मार्केटिङ गर्न सके नेपाली र भारतीय तीर्थालुको भीड लगाउन सक्ने तीर्थ हो–पञ्चकोशी ।

वैश्नावरपुराण अनुसार दैलेखका शिरस्थान, नाभिस्थान, पादुकास्थान, धुलेश्वर र कोटिलास्थान पञ्चकोशी तीर्थ हुन् । पाँचवटै ठाउँमा मन्दिर छन् । शिरस्थानमा तीन र नाभिस्थानमा दुईटा अखण्ड ज्वाला छन् । स्थानीयहरू ज्वालालाई पनि देवताका रुपमा पुज्छन् । केही वर्ष अघिसम्म पादुकास्थानमा पनि ज्वाला बल्थ्यो ।

डाँडामा छ धुलेश्वर मन्दिर, अरु चार मन्दिर चाहिँ खोला किनारमा छन् । तीर्थस्थलहरूका बारेमा अनेकौं किंवदन्ती छन् । श्रीस्वस्थानी व्रतकथासँग पनि जोडिएका छन् । कथाअनुसार महादेवले सतिदेवीको मृत शरीर बोकेर हिँड्दा शिर पतन भएको ठाउँलाई शिरस्थान भनिन्छ । शिरस्थानमा ज्वाला मन्दिर छ । त्यहाँ अखण्ड ज्वाला बल्छ । त्यहाँ काल भैरवको मन्दिर पनि छ ।

सतिदेवीको नाभी पतन भएको ठाउँलाई नाभिस्थान भनिन्छ । त्यहाँ इन्द्र ज्वाला र बडिज्वाला मन्दिर छन् । कालभैरव पनि छन् । कालभैरवलाई कसैले हेर्नु हुँदैन भनिन्छ । पुजारीले पनि मुख छोपेर पूजा गर्छन् ।
नदी किनारमा अवस्थित नाभिस्थान मनमोहक छ । त्यहाँ सयौं वर्ष पुरानो समीको रुख र विभिन्न देवदेवीका मूर्ति छन् । मन्दिर पूर्वतर्फको नाभिखोला किनारमा ज्वालाजीको आगो लगेर दाहसंस्कार गर्ने चलन कायमै छ ।

महादेवले सतीदेवीको मृत शरीर बोकेर घुम्नेक्रममा पाउ पतन भएको ठाउँलाई पादुकास्थान भनिन्छ । त्यहाँ भगवान् विष्णुको पाउको आकृति भएको शिला छ । ०३४ माघ १६ गते पादुका नदीमा आएको बाढीले मन्दिरमा क्षति पु-याएपछि त्यहाँको ज्वाला बल्न छाडेको छ ।

मन्दिर क्षेत्रमा सयौं मूर्ति असरल्ल छन् । भगवान् बुद्धका मूर्ति पनि छन् । त्यहाँ नाथ सम्प्रदायका पुजारीले पूजा गर्छन् ।

डाँडामा छ धुलेश्वर मन्दिर । धुलेश्वर तीर्थस्थल वैश्वानर ज्वाला क्षेत्रको मध्य भागमा छ । त्यहाँ सबै देवताको बास रहेको विश्वास गरिन्छ । महादेवले सतिदेवीको मृत शरीर बोकेर घुम्ने क्रममा यहाँ आइपुग्दा उनका अंगको धुलो पतन भएकाले धूलेश्वर भनिएको हो । औंसी, पूर्णिमा र संक्रान्तिहरुमा मन्दिरबाट धुलो उड्थ्यो विगतमा ।

छामगाड खोला किनारमा अवस्थित कोटी लामा सतिदेवीको कोठी पतन भएको विश्वास गरिन्छ । यहाँ देवताले कोटी यज्ञ समेत गरेका थिए । उक्त यज्ञमा आमन्त्रित देवराज इन्द्रले होम गर्ने चरु स्वर्गबाटै ल्याएका थिए रे । होम गर्दा चरु उछिट्टिएकाले मन्दिर क्षेत्रमा त्यो उम्रिएको छ । मन्दिरमा माताजीहरु बसोबास गर्छन् ।

मन्दिर क्षेत्रमा सामान्य पसल छन् । खाने/बस्ने सुविधा छैन । त्यसैले दैलेख बजारमा बसेर पञ्चकोशी तीर्थ भ्रमण गर्नुपर्छ । सबैतिर मोटर बाटो पुगेको छ ।

मन्दिर क्षेत्रमा असरल्ल मूर्ति देख्दा दैलेखीले माल पाएर पनि चाल नपाएझैं लाग्छ । मन्दिर व्यवस्थापनका लागि समितिहरू त बनेका छन् । ती आ–आफ्नै ढंगले क्रियाशील छन् । प्रदेश सरकारले समग्र पञ्चकोशी क्षेत्रको प्रवद्र्धनका लागि ‘पञ्चकोशी क्षेत्र विकास समिति’ गठन गर्नुपर्छ ।

दैलेख बजारका होटलमा बसेर जीपमा घुम्ने हो भने दिनभरिमा पञ्चकोशी घुम्न भ्याइन्छ । त्यसैले रारातालको यात्रामा निस्कने आन्तरिक पर्यटकले पनि कम्तीमा एक दिन दैलेखलाई छुट्टयाउन सके धेरै कुरा हेर्न, सिक्न र बुझ्न पाउँछन् ।

सबैभन्दा महत्वपूर्ण कुरा दैलेखीले पञ्चकोशीका सम्पदा संरक्षण गरेर सबैतिर छिटोभन्दा छिटो पक्की सडक पु-याउनु पर्छ । अनि कोहलपुरदेखि नै ‘पञ्चकोशीमा स्वागत’ भनेर ठाउँ ठाउँमा आकर्षक होर्डिङ बोर्ड राखेर मार्केटिङ गर्नुपर्छ । पञ्चकोशीको राम्रो प्रचार हुन सक्यो भने त्यो आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्नेमा शंका छैन ।

कसरी पुग्ने : काठमाडौं–सुर्खेत–दैलेख ६५० किमि बसमा अथवा काठमाडौं–सुर्खेत १ घण्टा हवाई यात्रा । सुर्खेत–दैलेख ६७ किमि ।

सम्बन्धित समाचार