सोमबार , जेठ १४, २०८१

विपतमा पनि देखिएन मानवीय संवेदना, कता हरायो ?

एउटा नेपालीको पीडामा अर्को नेपालीले मह्लम लगाउनुको साटो सस्तो पपुलारिटीका बाटाहरू खोज्दै गरेका दृश्य देखेर आज आफैलाई 'नेपाली हुँ' भन्न पनि दुःख लागिरहेको छ ।

image

काठमाडौँ । ढाकाबाट उडेको बङ्गलादेशको ‘ड्यास – ८ एयर बङ्गला’ विमान  वि.स. २०७४ फाल्गुन २७ गते २ बजेर २० मिनेटमा काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेबाहिर पुगेर दुर्घटनाग्रस्त भएको थियो ।

त्यस दुर्घटनामा विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिदसहित टोलीका अन्य सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविला सिहत लगायत २३ जना  ब‌ंगलादेशी नागरिक थिए भने अन्यमा ३३ नेपाली, एक चिनियाँ र मालदिभ्सका एकजना गरी जम्मा ७१ जना परेका थिए ।

६७ यात्रुमध्ये २२ जना घाइते भए पनि विविध तरीकाले जीवितै बाहिर निस्किन भने सफल भएका थिए । उनीहरूले बाँच्नुपर्छ भनेर मन दह्रो बनाए । जहाजका झ्याल-ढोका लात्ताले र मुक्काले हानेर, सिसा फोडेर र ज्यानको बाजी थापेर उनीहरू हाम फालेर बाहिर निस्किए । जहाजबाट तल हाम फालेपछि त कसै न कसैले बचाउँछन् भन्ने ठानेका थिए ।

विमान दुर्घटनाको आवाज सुनेर सर्वसाधारणहरू दुर्घटनास्थलमा जम्मा भए । उद्धारका लागि आएका सुरक्षाकर्मी विमानभित्रका र बाहिर निस्केकाहरूलाई स्ट्रेचर र एम्बुलेन्सतिर राख्दै पनि थिए । विमानबाट विमानभित्रका यात्रु खुला चौरमा घिँस्रदै बाँच्ने आशाले सहयोग र सहारा मागिरहेका अवस्था सामाजिक सञ्जाल मार्फत लाइभ र भिडियो सामाजिक सञ्जालमार्फत् छ्यापछ्याप्ति देखिरहेको थियो । विपत्ति परेको बेला यस्तो दृश्यको छायांकन गर्ने अधिकार सायद मिडियालाई मात्रै हुन्छ होला । त्योपनि विपत्तिसँग सम्बन्धित निकायको अनुमति लिएर । त्यो विपत्तिको अवस्थामा उद्धार कार्यप्रति भन्दा सुरक्षा पोशाक लगाएका व्यक्तिहरूसमेत अधिकांश रमिते सर्वसाधारणसँगै उक्त दृश्यलाई लाइभ देखाउन वा त्यसको भिडियो बनाउनमा प्रतिस्पर्धा गरेझैँ  देखिन्थे ।

दुर्घटना विपत्ति हो । विमान दुर्घटना अझै ठूलो विपत्ति हो । त्यस्तो विपत्ति थाहा पाएर पनि उद्धारमा नलाग्नु अमानवीय आचरण वा अपराध हो । अझै सुरक्षाकर्मी भईकन पनि सेल्फीमा अल्झिनु त महाअपराध !

विपतको अवस्थामा घिस्रिएर सहयोग मागिरहेको अवस्थालाई महत्त्व नदिई दुर्घटना र दुर्घटनाले आपत परेको दृश्य छायाँकन गर्न आतुर देख्दा पनि त्यस्ता गतिविधिलाई सम्बन्धित निकायले गम्भीरतापूर्व नलिनु राज्यको हेलचक्र्याइको उपज वा उदाहरण हो । यस्तो बेला, घाइतेलाई जतिसक्दो छिटो सहयोग गर्नुको सट्टा भिडियो खिचेर बसेको त्यतिबेलाको जस्तै दृश्य त आइतबार पोखरा विमानस्थलनजिकै भएको यती एयर दुर्घटनामा समेत देखियो ।

दुर्घटनास्थलमा जम्मा भएका अधिकांश मानिसहरू मानिस नभएर खाली रमिते मात्र भएका देखिन्थे । अझै, ती मानिसहरूको दुर्घटना र घाइतेहरूप्रति प्रतिक्रिया देखाउने तौरतरिका हेर्दा बङ्गला एयर दुर्घटना हुँदा अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा भएको भन्दा चर्को अमानवीयता देखिन्थ्यो । एउटा नेपालीको पीडामा अर्को नेपालीले मह्लम लगाउनुको साटो सस्तो पपुलारिटीका बाटाहरू खोज्दै गरेका दृश्य देखेर आज आफैलाई ‘नेपाली हुँ’ भन्न पनि दुःख लागिरहेको छ ।

विमान दुर्घटनाको आवाजले आसपासका नागरिकहरूलाई  पनि आतंकित पर्यो । दुर्घटनाग्रस्त विमानको आवाजबाट झस्कँदै सबै घरबाहिर निस्किए ।  के भएको हो ?  भनेर चारैतिरको दृश्य अवलोकन गरे । हेर्दाहेर्दै सेतीको खोँचमा यती एयर झरेको देखियो । विमान दुर्घटना भएको देखेर चारैतिरबाट मानिसहरू दौडिएर दुर्घटनास्थल पुगे । विपतको समयमा यसरी दौडादौड गरेर घटनास्थल जानु सारै राम्रो कुरा हो ।

यसरी दौडादौड गरेर मानिस पुग्नु भनेको धेरै मानिस जम्मा हुनु हो । तर, त्यसरी आत्तिएर दुर्घटनास्थल पुगेको त्यही भिड घाइतेहरूलाई देखेर त्यति किन आत्तिँदैन जति अल्लिअघि आवाज सुन्दा मात्र पनि आत्तिएको थियो ? के त्यो भिड आत्तिएर पुगेको थिएन ? हौसिएर पुगेको थियो ? होइन भने, जीवन र मृत्युको दोसाँधमा आगोले जलेर काला-निला हुँदै गरेका, चोटपटकले रगताम्मे भएका घाइतेहरूलाई देखेर उद्धार गर्नुको साटो दृश्यावलोकन गर्दै, भिडियो बनाउँदै किन बसे मानिसहरू ? सबैभन्दा पहिले पुगेका एक युवाबाहेक अन्यले उद्धार गरेको दृश्य योपटक कहिँकतै देखिएन ।

ती युवाले दौडिँदै दुर्घटनास्थल पुगेर डिलमा झरेकी एक महिलाको सकीनसकी उद्धार गरे । तर, त्यहाँ पुग्ने अरूहरू  मद्दत  गर्नुको सट्टा आफ्नो मोबाइल निकालेर आरामले हाँस्दै सेल्फी र भिडियो खिच्न थाले । सुरक्षाकर्मीले भिड हटाएर उद्धार गर्न खोजिरहेको अवस्थामा सुरक्षाकर्मीसँगै  झगडा गरेर काम गर्न नदिएको दृश्य पनि देखियो ।

ती युवा भन्दै थिए,

“विमान दुर्घटनाको दृश्य मैले प्रत्यक्ष देखेँ । सुरूमै  विमान सुरुमा  ठोक्किएर तल खसेको थियो । बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरूलाई मैले निकालेँ ।  नजिकै झरेका दुईजनाको त सास चलिराखेको थियो । पछि उनीहरूलाई गण्डकी अस्पाल लगिएको छ भन्ने सुनेँ । अहिले उनीहरूको अवस्था कस्तो छ त्यो त मलाई थाहा छैन । मैले एक महिलालाई डिलबाट जिउँदै निकालेको हुँ । उनलाई निकाल्दा बाहिर अरू मानिस पनि खसेको देखेको थिएँ । बाहिर छरिएका सबैलाई उद्धार गरौँभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे । मैले, ‘तपाईंका बाबुआमा, दाजुभाइ अथवा अन्य आफन्त पनि परेको हुनसक्छ ! त्यो नाताले पनि सहयोग गर्नुस् न !’, भनेँ । मेरा कुरा कसैले सुनेनन् । म एक्लैले सातजनालाई बाहिर निकालेँ ।”

“मैले तानेको महिलालाई पानी नखुवाउनु भन्दाभन्दै एकजना बुढो मानिसले जबर्जस्ती गरेर परैबाट पानी मुखमा पर्ने गरी पानी छ्यापिदिए । मैले उनलाई तान्दा उनको सास चलिरहेको थियो । अलिकति पर तर नजिकै अरू चौध पन्ध्रजना मानिस खसेका थिए । सबैलाई अस्पताल लगेको भए बाँच्थे होला ! मैले कराएर बोलाएँ तर कोही आएनन् , मैले एक्लै सकिनँ !”

आधुनिक पुस्तामा मानवीय समवेदना भन्ने कुरा विपत्ति अथवा मानिसको जीवनभन्दा सामाजिक सञ्जाल र हातमा भएको मोबाइल प्यारो भयो । विपतको अवस्थामा मानवीय समवेदनशीलताको ह्रासका यस्ता  घटना बढेको देखेर अहिलेसम्म कसैले कुनै प्रतिक्रिया जनाएको नभेट्दा दुःख लागेको छ । अब पर्ने विपतमा पनि यस्तै गर्ने कि सुधारिने ? यो प्रश्न हरेकले आफैसँग सोध्ने कि ?

विमान दुर्घटनापछि सरकारले निर्णय गर्यो :

-यती एअरलाइन्सको विमान दुर्घटना भएको शोकमा माघ २ गते, सोमबार सार्वजनिक बिदा घोषणा,

-पोखरामा भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच-सदस्यीय जाँच आयोग गठन,

-हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन, अनुगमनको जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई !

यस्तो निर्णय त अघिल्ला सरकारले पनि गरेका थिए । घटना घटेको बेला घटनास्थल पुग्न नसक्ने सरकारको मन्त्री र सरकारी कर्मचारी भएको देशमा यस्तो निर्णयले केही परिवर्तन होला भनेर कसरी विश्वास गर्न सकिएला र ? सरकार, सरकारका संयन्त्र र निजी सेवा-सुविधामाथि विश्वस्त भई सुरक्षित यात्रा गर्ने दिन कहिले आउला ?

 नेपाली आकाशमा टेकेपछि भएका विमान दुर्घटनाहरू ! 

  • मे २०२२ – पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
  • एप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीनजनाको मृत्यु
  • फेब्रुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु
  • सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाडौँ आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँचजनाको मृत्यु
  • मार्च २०१८ – बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोट नजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चारजनाको मृत्यु
  • मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ – काठमाडौँबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थल नजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाडौँनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाण्डौँ उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • अगस्ट २०१० – काठमाडौँबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एकजना घाइते
  • सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद्  डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के लगायतको मृत्यु !

माथिको तथ्यांकले वर्षमा दुईपटक विमान दुर्घटना नभए हवाई उडानको महत्त्व नै हुन्न जस्तो झल्कन्छ । दुर्घटनामा नागरिक मात्रै होइन सरकारको प्रतिनिधि  र विभागिय मन्त्री नै परिसक्दा पनि सरकार र प्राधिकरण जिम्मेवार देखिँदैन, किन ?

पूर्विय समाजको मानव चेतना – दया, करूणा, कल्याण र उद्धारमा जोडिएको मानसिकताको उपज हो । हिजोको समाजमा विकास भएको मानवीय संवेदनशीलता तिनै दया, करूणा, कल्याण र उद्धारको भावनाले प्रेरित भएकोले त्यही भाव जोडिएर इश्वरीय अस्तित्वको स्वरूपलाई समाजमा स्थापित गर्न खोजेको देखिन्छ । तर, अब त्यो चेतना ह्रास भएर शुन्यतातिर लम्किएको जस्तो देखिन्छ । यस्तो किन भइरहेको छ। विद्यालयदेखि विश्व विद्यालयसम्मै पाठ्यक्रममा विपतसम्बन्धी शिक्षाका लागि केही घण्टा छुट्याइएको देखिन्छ । तर, मानिसमा विपतका बेला सहयोगमा जुट्ने चेत भेटिएन । हाम्रो सिकाइ र व्यवहारमा फरक पर्यो कि ? अब कसले अनुगमन गर्ने ?

घटना हुँदाहुँदै सरकारका मन्त्रीहरू घटनास्थल पुग्न सक्दैनन् । सायद, यस्तो बेला खर्च गर्ने बजेट नभएर हो कि ? तत्काल  घटनास्थलको अवलोकन अथवा निरीक्षण हुँदैन । विपत व्यवस्थापनसँग जोडिएको माथिल्लो संरचनाले त्यहाँ पुग्नु अनिवार्य ठान्दैन र ठाडो आदेश दिने काम गर्छ, परैबाट । जिल्ला प्रशासनका प्रमुख र प्रहरी प्रमुख पनि घटनास्थलमा जटिलता सृजना भयो भने मात्रै पुग्छन् । दुर्घटना भएको अवस्था बाहेक  दुर्घटना हुन नदिन नियमित  सावधानीका विषयमा चर्चा चल्दै चल्दैन । संवेदनशील हुनुपर्ने विषय नै पूर्व तयारी हो । त्यो विषयमा सम्बन्धित मन्त्रालयको ध्यानै पुग्दैन । चासो बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुको सट्टा सरकार विदा दिएर दुर्घटनालाई छोप्ने प्रयास गर्दै सहानुभूति बटुल्न खोज्छ ।

दुर्घटनाले मानवीय जीवनमा पार्ने र पर्ने क्षति स्वयंलाई नपरेसम्म राज्यका निकायहरू संवेदनशील नहुने यो अवस्थाको अन्त्य कहिले हुन्छ होला ?

पोखरा विमानस्थलनजिकै दुर्घटनामा परेका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा संवेदना !

सम्बन्धित समाचार