बुधबार , जेठ ३०, २०८१

खास्ति चैत्य (बौद्ध)को ऐतिहासिक तस्बिरहरू

यस स्तूपाभित्र कसप्पा बुद्ध (Kassapa Buddha) को अवशेष रहेको मानिन्छ ।

image

नेपालीमा ‘बौद्धनाथ’, नेवारीमा ‘खास्ति चैत्य (पुलांगु किपा)’ तथा ‘खासा चैत्य’ को नामले चिनिने बौद्ध स्तूपा (Bouddha Stupa) काठमाडाैंकाे मापन केन्द्रदेखि उत्तर-पूर्वी दिशामा करिब ११ किलोमिटर (६.८ माइल) बाैद्धसडक, काठमाडाैंकाे ४४,६०० मा चौबिसै घण्टा खुला रहने एउटा विश्वप्रसिद्ध बौद्ध दर्शनार्थीहरूकाे पवित्र तीर्थस्थल मण्डला हो ।

युनेस्काे (UNESCO) ले यस धार्मिक बौद्ध स्तूपालाई विश्व सम्पदा शुचि (World Heritage Site) मा “सांस्कृतिक” धरोहर भनी क्राईटेरिया नम्बर iii, iv र vi अन्तर्गत सूचीकृत गरेकोमा डिजाईनेटेड सन् १९७९ मा र रिभाईज्ड भने सन् २००६ मा भएको पाइन्छ ।

यस स्तूपाभित्र कसप्पा बुद्ध (Kassapa Buddha) को अवशेष रहेको मानिन्छ । यस सम्बन्धि प्राय: दुई वटा उपाख्यान (myths) रहेको पढ्न र सुन्न पाइन्छ : नेवा उपाख्यान र तिब्बती बाैद्धमार्गी उपाख्यान ।

नेवा उपाख्यान (Newa Myth):
यस उपाख्यान अनुसार काठमाडाैंकाे हाल नारायणहिटी दरबार (सङ्ग्रहालय) रहेको ठाउँमा लिच्छवि वंशका राजा विक्रमादित्य बस्थे जसले नगरको खडेरी हटाउन दक्षिणतिर ढुङ्गेधारा निर्माण गराए तर पानी आएन अनि ज्योतिषीको सल्लाह अनुसार ३२ लक्षण सम्पन्न एकजना पुरुष मान्छेको बली दिनुपर्ने हुँदा उक्त लक्षणयुक्त कोही नभई स्वयं राजा विक्रमादित्य तथा उनका छोराहरू रहेकामा जनताको सुखको लागि आफ्नै छोराको हातले आफैँलाई राजा विक्रमादित्यले बली चढाउन लगाएका थिए ।

बलिको बेला राजा विक्रमादित्यकाे टाउको उडेर संखु बज्रयोगिनी मन्दिरनेर खसेको थियो र सो ठाउँमा कुखुरीले चल्ला कोरल्न जहाँ बसिन्, त्यहीँ बौद्धनाथ स्तूपा (Boudhanatha Stupa) निर्मित हो । सो बेला सुक्खापन/खडेरीबाट बच्न शीतको थोपा (dew droplets) सङ्कलन ठाउँ त्यहीँ रहेकोले त्यसको नाउँ “खास्ति (Khasti)” पनि पर्न गयो किनकि नेवार भाषामा शीतलाई “खास khas” र थोपाहरूलाई “ती drops” भनिन्छन् । पछि तत्कालीन श्री ५ को सरकारले उक्त ठाउँको नामाकरण हिन्दुत्व झल्कने किसिमको बाैतद्धनाथ (Boudhanath) गरेको हो ।

तिब्बती बाैद्धमार्गी उपाख्यान (Tibbetan Buddhist Myth):
यस उपाख्यान अनुसार कश्यपा वा कस्सपा (Kasyapa or, Kassapa) स्तूपालाई घेर्ने गाउँ/क्षेत्रलाई बौद्ध (Bauddha/Boudha) भनिन्छ भने तिब्बती भाषामा याम्बु चाेर्टन् चेम्पाे (Yambu Chorten Chenpo) । Jya Rung Khashor Chorten Chenpo अर्थात्, Chorten of poultry fallen promise को आफ्नै रोचक कथा छ । वास्तवमा २९ बुद्धहरूमध्ये २७ औँ बुद्ध (The Buddha) भनेर चिनिने कश्यपा वा कस्सपा (Kasyapa or, Kassapa) लाई २९ औँ बुद्ध (The Buddha) शाक्यमुनि बुद्ध (Sakyanuni Buddha) भन्दा अघिल्लो मर्यादाक्रममा राखिन्छ ।

यस उपाख्यानमा भनिन्छ कि कश्यपा वा कस्सपा बुद्धको देहावसानपछि एउटी वृद्धा कुखुरा पालक महिला “माझाजिमा, Ma-jha-zi-ma”ले आफ्ना चार जना छोरासहित यस बौद्ध स्तूपा भन्ने ठाउँमा पुगिन् र स्तूपा निर्माण गराएकी थिइन् । उनले स्तूपा अघि राजासँग जमिन माग्दा राजाले राँगाको छालाजति क्षेत्रफल जमिनमात्र दिने भने तर त्यतिले स्तूपा निर्माण असम्भव रहेकोले ती वृद्धाले विवेक प्रयोग गरिकन राँगाको छालालाई पात्लो धागो जस्तो चिरेर गोलो पारिकन ठूलाे क्षेत्रफलकाे गोलाकार पारिन् र राजाले वचन बमोजिम जमिन उपलब्ध गराए ।

उनी अति निर्धन गरिब र वृद्धा महिला र उनका चार छोराहरूले त्यति जमिनमा बनाएकी बौद्ध स्तूपालाई पछि दरबारमा ठाँट-बाट गरि विकास कार्य नगरिकन बस्ने दरबारियाहरूले निर्माण गरिरहेको देख्दा लाजले भुतुक्कै भएर तर ईर्ष्याले जल्दै त्यस बौद्ध स्तूपालाई राजाले भत्काउने र आफूहरूले पहाडजत्राे बनाउने बिन्ती राजा कहाँ बिसाए तर राजाले वचन नफेर्ने (Kha-Shor) घोषणा गरेर उनै महिलालाई नै स्तूपा निर्माण गर्ने सहमति दिए ।  तसर्थ त्यसलाई “ज्या रङ्ग खशाेर चाेर्टन् चेन्पाे अर्थात्, Jya Rung Kha Shor Chorten Chenpo” भनिन्छ ।

समयक्रममा पछि चिनियाँ प्रथम लामा नेपाल आएर नेपालका शासकलाई तिब्बतसँगको युद्धमा वार्तालापमा सघाएकोले निज लामालाई विहार (monastery) को लागि तथा स्तूपानेर उनको निवासको लागि पनि उपहार स्वरूप जमिन प्रदान गरियो भने जङ्गबहादुर राणाकी तामाङ्गपट्टीकी श्रीमतीबाट जन्मेकी छोरीसँग उनी लामाको बिहे गराइँदा एकसाथ राणा तथा तामाङ समुदायसँग जोडिन पुगे ।


लेख स्रोत:मनोज कुमार कर्ण,उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर
तस्बिर स्रोत: बौद्धनाथ क्षेत्र विकास समिति

* यस लेखको शीर्षक ‘खास्ति चैत्य (बौद्ध)को पौराणिक  तस्बिरहरू’ हुन् गएकोमा सच्याएर ‘खास्ति चैत्य (बौद्ध)को पौराणिक  तस्बिरहरू’ बनाइएको छ- सम्पादक ।

सम्बन्धित समाचार