शुक्रबार , मंग्सिर २३, २०७९

दशैं संस्मरणः म सानो छँदाको दशैं

image

– दिव्य गिरी

नेपालमा हिन्दूधर्मावलम्बीहरूले मनाउने धेरै चाडपर्वहरू मध्य सबैभन्दा ठूलो चाडपर्व हो दशैं र तिहार । त्यसैले पनि यी दुबैलाई महान चाडपर्व पनि भनिन्छ र अरू चाडपर्वहरूभन्दा विशेष छन् । विशेष यस अर्थमा पौराणिक कथनानुसार तेत्रायुगमा भगवान श्रीरामले आफ्नो पत्नी सीतालाई हरण गर्ने लङ्काको राजा रावण बध गर्नको निम्ति शक्ति प्राप्त हेतु नौ दिन नौ रातसम्म शक्तिस्वरुपिणी दुर्गामाताहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र्घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी र सिद्धिरात्रीसमेत गरी नवदुर्गाको पूजा–आधारणा गरेका थिए र रावणलाई युद्धमा हराई उनको बध गर्न सफल भएका थिए । दसैँमा रामले रावण बध गरेको दिनलाई विजयादशमीको रुपमा लिइन्छ । त्यस दिन घरपरिवारको सबैभन्दा जेष्ठ नागरिकबाट आफ्ना र आफन्तलाई टिका लगाई आशिर्वाद दिने र लिने गरी विजयोत्सवको रुपमा  मनाईन्छ । अतः दशैं धेरै दिनसम्म धुमधामसँग मनाइे चाडपर्वमा पर्दछ ।  प्रायःजसो शरद ऋतूको प्रारम्भिक महिना असोजमा दशैँ पर्दछ । घटस्थपनाको दिनदेखि पूर्णिमासम्म पन्ध्रदिन दशैं र कागतिहारको दिनदेखी भाइटिकाको दिनसम्म पाँचदिन लगातार तिहार मनाइन्छ । विद्यालय, सरकारी तथा गैह्रसरकारी कार्यालय, निजि उद्योग व्यवसाय, बैंक तथा अन्य कलकारखाना समेत दशैं र तिहारको समयमा बन्द हुन्छ । धनीदेखि गरिबसम्मले आ–आफ्नो गच्छेअनुसार दशैं र तिहार मनाउने परम्परा भएकोले ऋण काढेर भए पनि दशैं मनाउने चलन छ । यो महान चाडको विशेषता र महत्त्व धेरै छ । प्रस्तुत लेखमा दशैंबारे म सानो छँदाको आफ्नो संस्मरण र अनुभवलाई समेटने कोशिश गरेको छु ।

जीवनको उत्तरार्धतिर हिँडिरहेको मलाई हरेक वर्ष मनाइने दशैंको बारेमा सोच्दा अहिले अनौठो र आश्चर्य लाग्छ । आफू सानो छँँदा मनाएको दशैं र अहिले आपैmले जिम्मेवारीपूवर्क दशै मनाउनुपर्दाको अनुभव र अनुभूतिमा आकाश जमिनको फरक छ । समयले ल्याएको यस परिवर्तनलाई आत्मसात गरेर अघि बढ्नु हरेकको कर्तव्य हो भन्ने ठान्दछु ।

त्यतिबेला जब दशैंका दिनहरू सुरू हुन्थे म आपूmलाई एक प्रकारले स्वतन्त्र अनुभव गर्थें । स्वतन्त्र किनभने मुख्यतः पढ्नु पर्दैनथ्यो । केवल खाने र खेल्ने मात्र । घरको कुनै काम गर्नु नपरेपछि जहाँ गए पनि भयो, जति खेले पनि भयो । न कसैको बाधा न त कसैको रोकावट । त्यसबखत केटाकेटीको मनोरञ्जनको मुख्य साधन भनेको गुच्चा, डन्डिबियो, खोपी (आँगन, पिँढी वा बाटोमा लामो धर्का तानेर धर्कोभन्दा ठीक माथि सानो एउटा खोपिल्टो बनाएर पैसाको सिक्काले खेल्ने खेल), गेम (घ्याम्पो, गाग्रो वा घैंटो फुटेपछि त्यसको टुक्रालाई खपटाहरू बनाई एकमाथि अर्को खप्टिँदै राखेर अग्लो पार्ने र त्यसलाई सानो सावरको बलले टाढाबाट हिर्काएर एकै पटकमा ढलाउनु पर्ने खेल) आदि खेलिन्थ्यो । यो खेलमा एकजना खपटाहरूको चाङ् नजिकै उभिन्छ र अर्को एकजनाले अलिक टाढाबाट खपटाको चाङ्मा हिर्काउँछ । त्यसरी हिर्काएको बलले खपटाको चाङलाई ढाल्यो भने जीत भयो यदि चाङ् ढलेन भने त्यही बल टिपेर उसैलाई हानिन्छ । यदि बल उसलाई लाग्यो भने उसले हार्छ । यस प्रकारको खेल आफ्नै घर अघिल्तिरको ठूलो बारीको पाटामा खेलिन्थ्यो । मेरो घर अगाडिको त्यो बारीको पाटो खड्काहरूको थियो । प्रायः हिउँदका दिनहरूमा जे जस्तो खेल खेलिन्थ्यो त्यही बारीको पाटोमा खेलिन्थ्यो ।

वर्षा सकिएपछि शरद ऋतुको आगमनपूर्व हिउँदका सुरूवाती दिनहरूको वातावरण यसै पनि रमाइलो हुने नै भयो । खेतमा लहलह हरियो धान झुलेकोे दृश्य निकै रमणीय हुन्थ्यो । घर गोठको पाली, छानो, सानासाना रूख र थाँक्रोमा पनि काँक्रो, फर्सी, लौका, स्कूस, घिरौंला, चिचिन्डो, बोडी, सिमी आदि अनेक फलेका हुन्थे । त्यतिबेला गाउँलेहरूलाई खेतीपातीबाट अलिकति फुर्सदको समय मिलेको हुन्थ्यो । धुलो र धुवाँ छँँदैथिएन । चारैतिर हरियाली र शान्त वातावरण अनि खुला नीलो आकाशले मानिसलाई एक किसिमले अदृष्य आनन्द प्रदान गरिरहेको हुन्थ्यो । बारीमा पनि मकै भाँचेर तोरी छरिसकिएको हुन्थ्यो भने कतैकतै तोरी फुलिसकेका र कतै फुल्न थालेका देखिन्थ्ये । विशेषतः दशैं सुरू भएपछि हामी केटाकेटीहरूको निम्ति खुसीको सीमा हुन्नथ्यो ।

दशैंमा मुख्यतया घरको सरसफाईको काम धेरै गर्नुपर्ने भएकोले मानिसहरू तेसैमा व्यस्त हुन्थे । गाउँमा धेरैजसो घरहरू कच्ची थिए । घरमा काँचो ईंटाको गारो, पराल वा छ्वालीले छाएको  छानो हुन्थ्यो । सबैजसोको घर उस्तैउस्तै आकार प्रकारका थिए । कोहीकोहीको मात्र पक्की घर (बाहिर पोलेको ईंटा र भित्र काँचो इँटाले बनेको) टायल वा झिँगटीको छानो भएको हुन्थ्यो । अहिलेको जस्तो जस्तापाताको चलन थिएन । प्रायः धनी मानिसहरूको मात्र पक्की घर हुन्थ्यो । त्यसैले पनि ऊनीहरू गाउँघरमा धनी कहलिन्थे । गाउँमा धनी र गरिबको पहिचान धरको आकार–प्रकार र छानोले नै दिन्थ्यो ।

दशै नजिकिन थाल्दा घरघरमा सरसफाईको काम सुरू हुनथालेपछि गाउँघरको वातावरण नै अर्कै हुन्थ्यो । कच्ची घरलाई रातो र सेतो माटोले पोतिन्थ्यो । दशैंमा प्रायः सबैले घरको बाहिरी र भित्री भागमा लिपपोत गर्नु अनिवार्यजस्तै थियो । घरभित्रका सबैजसो सामानलाई बाहिर ल्याएर आँगनमा राख्थे र घरभित्र सेतो र रातो माटोले लिपपोत गर्दथे । हाम्रो गाउँमा रातो माटो ललितपुरको झरुवारासी भन्ने ठाउँबाट र सेतो माटो भक्तपुरको कमेरेटार (जो अहिले नयाँ ठिमीभन्दा पूर्वतर्पmको गाउँँ) बाट ल्याउनु पर्दथ्यो । रातो मोटो गाउँका आईमाईहरू झरुवारासीमा आपैm गएर ल्याउँथे भने सेतो माटो ठिमीका नेवारहरू खर्पनमा ल्याएर बेच्थे । रातो माटो लिनजाँदा कहिलेकाहीँ रातो माटोको सुरुङ् भत्केर कोहीकोही महिलाको ज्यान गएको खबर पानि सुनिन्थ्यो । सेतो माटो भने डल्लो र चक्का चक्का परेको हुन्थयो । रातो र सेतो माटोबाट एक प्रकारको अलग्गै मीठो गन्ध आउँथ्यो । कुनैकुनै गर्भवती महिलाले सेतो माटो खान्थे पनि । रातो र सेतो माटोलाई पानीमा भिजाएर झोल बनाई बाबियाको सानो कुचोले घरको भित्र र बाहिरको भित्तामा पोतिन्थ्यो ।  घरको बाहिरतर्पm माथिल्लो भाग सेतो कमेरो माटोले र त्यसभन्दा तलको भागलाई रातो माटोले पोत्ने चलन थियो । घर बनाउँदा घरको तला छुट्टिने गरी ईंटाको सानो घेराजस्तो बनाएको हुन्थ्यो । घरको भित्तालाई पोतेपछि पुरानो घर पनि नयाँजस्तै देखिन्थ्यो । घरमा लिपपोत नगरी कसैले पनि दशैं मनाउँदैनथे । कसैको घरमा त्यो वर्ष मान्छे मरेको छ भने मात्र दशैंमा घर लिपपोत गर्दैनथे । हाम्रो हिन्दु धर्म परम्परा अनुसार मान्छे मरेको घरमा एक वर्षसम्म जुठो बार्ने र कुनै पनि शुभकार्य गर्नुहुँदैन भन्ने परम्परागत चलन र मान्यता छ ।

दशैँ जतिजति नजिक आउँथ्यो मानिसहरू त्यति नै व्यस्त हुन्थे । दशैँमा च्यूरा कुट्ने काम हुन्थ्यो । त्यो च्यूरा प्रायः रातो धान (गहुँकोजस्तो झुस भएको धान) जसलाई गाउँघरमा चिनियाँ धान भन्थे । रातो चिनियाँ धानलाई  खेतको छेउतर्पm दुई तीन फिटसम्म मात्र छुट्याएर रोपिन्थ्यो । किनभने त्यो धान अरू धानभन्दा पहिले नै पाक्थ्यो । त्यतिबेला मार्सी, तोली, थापाचिनिया, वासमती, मसिनो आदि जातका धान लगाउँथे । दशैंको निम्ति पहिले नै पाकेको रातो धान काटेर त्यसैको च्यूरा कुटिन्थ्यो । हाम्रो गाउँमा एक दुई घरमा च्यूरा कुट्ने ओखल (ठूलो काठको अन्दाजी तीन फिट अग्लो ठूलो मुढाको माथितिर खाल्डो भएको) र लुसी (लामो गोलाकारको अन्दाजी चारफिट अग्लो काठ, जसको बीच भागमा अलिकति मसिनो पारिएको) थियो । पिँढीमा रातो धानलाई माटाको हाँडीमा भुटेर ओखलमा राखिन्थ्यो र दुई जना आईमाई मिलेर ओखलमा लुसीले च्यूरा कुट्थे । त्यो च्यूराको वास्ना अति मिठो हुन्थ्यो । तातो च्यूरा खाँदा झन स्वादिलो हुन्थ्यो । प्रविधिले अहिले आधुनिक मिलमा च्यूरा कुट्ने चलन आयो । ललितपुर, काठमाडौं र भक्तपुरका नेवारहरू सबै यसरी नै च्यूरा कुटेर खान्थे । भक्तपुरको चित्रपुर (पहिले चोरपुर भनिन्थ्यो्) च्यूराको निम्ति प्रसिद्ध थियो ।

दशैंमा जब अरूको घरमा खसी, बोका, भेडा वा च््याड्ग्रा ल्याउँथे अनि म हाम्रो घरमा पनि कहिले खसी ल्याउने भनेर सोधिरहन्थें । कहिलेकाहीँ के हुन्थ्यो भने दशैंको निम्ति किनेर ल्याएको खसी वा बोका अकस्मात मर्ने घटना पनि घट्थ्यो । त्यसैले चाँडै नै खसी किनेर ल्याउनु हुन्न भन्ने सोच थियो हाम्रो घरमा । प्रायः दशैंको अष्टमीको दिन खसी, भेडा वा च््याड्ग्रा किनेर ल्याउँथे । हाम्रोमा जमरामा बोका पूजा गर्ने चलन नभएकोले खसी, भेडा र च्याड्ग्रामध्य कुनै एउटा किनेर ल्याउँथे । खसीभन्दा भेडा सस्तो र मासु पनि धेरै हुने भएकोले प्रायः भेडा ल्याउने गर्दथे ।

दशैँको निम्ति जब गाउँघरमा खसी, बोका, भेडा र च्याङ्ग्रा ल्याउँथे तब रातभर खसी बोका कराएर सुत्नै पाइन्थेन । जता पनि उनीहरू कराएको आवाज मात्र सुनिन्थ्यो । प्रायजसो सबैको घरमा  एउटा न एउटा खसी, बोका, भेडा वा च्याङ्ग्रा किनेकै हुन्थ्यो । गरिबले ऋण लिएर भए पनि दशैं मनाउने गर्दथे । त्यसैले दशैं सकिएपछि गाउँघरमा भन्ने गर्दथे, ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई ।’

दशैं आउनुभन्दा पहिलेदेखि नै दशैं आउँदैछ भन्ने चर्चा हुन्थ्यो र दशैं मनाउनको निम्ति गरिने तयारीका काम पनि सुरु हुन थाल्थे । घरबाट टाढाटाढा गएका मानिसहरू पनि दशैंमा घर आउँथे । दशैंमा सबैभन्दा ठूलो रहर हुन्थ्यो नयाँ लुगा लगाउने, मासु–भात खाने, टिका लाउने र मामाघरमा जाने । नयाँ लुगा र जुत्ता लगाउने रहरले छिटै दशैं आइदिएजस्तो हुन्थ्यो । किनभने त्यस बखतमा सबैले नयाँ लुगा लगाएर दशैंमा टीका लगाउनु पर्छ भन्ने परम्परा नै थियो । अरू बखत पुरानो र फाटेको, ठाउँठाउँमा टालेको लुगा लगाए पनि दशैंमा भने नयाँ लुगा लगाउन पाउने हुँदा खुसी नहुने कुरै भएन । तेसैले दशैंमा नयाँ लुगा लगाउन पाउने भन्ने कुरा नै हामी केटाकेटीको निम्ति सबैभन्दा खुसीको कुरा हुन्थ्यो ।

सोह्रश्राद्ध सुरू भएपछि नै गाउँमा दशैंको चहलपहल हुन्थ्यो । कहिले नयाँ लुगा किनेर ल्याइदिन्छन् भन्ने मनमा खुल्दुली भईरहन्थ्यो । तयारी लुगाको चलन नै थिएन । आपूmले लगाउने लुगा पसलबाट कपडा किनेर ल्याएर दमाईलाई सिउन दिनु पर्दथ्यो । हामीहरूको घरभन्दा केही पर दक्षिणतर्पm एउटा अग्लो ढिस्कोमा बिष्ट गाउँ थियो । त्यहाँ बिष्ट र के.सी. थरका मानिसहरूको ७÷८ वटा घर थियो । त्यही गाउँको उत्तरतर्पm तलतिर दमाईको दुईवटा मात्र एकतले घर थियो । दमाईको नाम ध्वाँसे थियो । दमाई गहुँगोरो वर्णकै भए पनि उसको नाम ध्वाँसे राखिएको थियो । ध्वाँसेको अर्थ हो धेरै नै कालो । एउटा घर ध्वाँसे दमाईको र अर्को घर उसकै फुपूको थियो, जसलाई ठूली दमिनी भन्थे । ऊ लोग्नेसँगै माइतीमा नै बसेकी थिई ।

दशैं लाग्नुभन्दा पहिले नै जतिसक्यो चाँडो कपडा ल्याएर दमाईलाई सिलाउन दिनुपथ्र्यो । किनभने कपडा ढिला दियो भने दमाइले पनि ढिला नै सिइदिन्थ्यो । उसको घर हाम्रो घरबाट प्रष्ट देखिन्थ्यो । उसैले दशैंमा लुगा सिलाउन मेरो लगायत अरूहरूको पनि शरिरको नापो लिएर जान्थ्यो । मलाई भने दमाईले नापो लिएर गएपछि कहिले लुगा सिइदिन्छ भन्ने खुलदुली लागिरहन्थ्यो । कहिलेकाहीँ लुगा सिएको छ कि छैन भनेर दमाईको घरमा जान्थें म । उसलाई लुगा सिउन भ्याई नभ्याई देख्थें । दमाई मलाई देखर ‘ऊ त्यहाँ छ तिम्रो लुगा सिएकै छैन । पालो आएपछि सि’दिन्छु जाऊ’ भनेपछि म खुरुक्क फर्केर घर आउँथे ।

जुत्ताको कथा पनि त्यस्तै थियो । घरभन्दा अलिक टाढा टिकाथलीमा सार्कीढिक भन्ने अग्लो बस्ती थियो । जहाँ सार्कीका मात्र चार पाँचवटा घरहरू थिए । एकजना च्यामे सार्की भन्ने थिए जसले हामीलाई छालाका जुत्ता सिइदिन्थे । मोटोमोटो, गोरो हँसिलो अनुहार र डम्म परेको शरिर थियो उसको । जुत्ता सिउनको लागि एउटा सादा कागजमा मलाई उभिन लगाउँथे र सिसा कलमले गोडाको वरिपरि धर्को कोरेर नापो लिन्थे । त्यो नापो गोडाको चित्र नै हुन्थ्यो । तर धेरै दिन बितिसक्दा पनि घरमा जुत्ता नल्याएपछि म आपैm जान्थें । उनको घर पुग्नुभन्दा पहिले नै कुहेको छालाको गन्ध मेरो नाकमा ठोकिन आउँथ्यो । पिँढीमा बसेर जुत्ता सिइरहेका च्यामे सार्की मलाई देखेपछि खिसिक्क हाँसेजस्तो गरी भन्थे ‘जुत्ता त सिईसकियो तर साँचोबाट झिक्न अभैm पाँच सात दिन लाग्छ’ भनेर जुत्ता देखाउँथे । छालाको जुत्ता सिउँदा एउटा काठको साँचो हुन्थ्यो र तसैमा वरिपरि जुत्ता आकारको छाला बेरेर तलुवातिर मसिना किलाहरू ठोकेर राखेको हुन्थ्यो । त्यो देखेपछि घर फर्किनु सिवाय अरू उपाए हुन्थेन । भन्नुको अर्थ नयाँ लुगा र जुत्ता सजिलै लगाउन पाइन्थेन । त्यसको निम्ति कुर्नु पर्ने, सार्की र दमाईको घरमा पटकपटक धाउनु पर्ने हुन्थ्यो । तर त्यसरी कुरेर र धाएर लुगा र जुत्ता लगाउन पाएपछिको खुसीको भने सीमा नै हुन्थेन । तर दुःखको कुरा जुत्ताले गोली गाँठानिर वा पछाडितिर छाला नै निकालिदिन्थ्यो र हिँड्नै नसक्ने गरी दुःख्थ्यो । जुत्ताको भित्रपट्टि राखेको काँचो छाला सुक्दै आएपछि साह्रो भएर घाउ नै बनाईदिन्थ्यो । दशैंमा नयाँ जुत्ता र नयाँ लुगा लगाएर मामाघर जान पाउँदाको खुसी सबै जुत्ताको दुःखाईले खाईदिन्थ्यो ।

मलाई दशैंमा लड्गुरबुर्जा र ओखर खेल्न मन लाग्थ्यो । लड्गुरबुर्जाको खेल त अहिलेसम्म पनि चलनमा छ । तर ओखरको खेल भने अहिले प्रायः देखिन छोडियो । पहाडतिर अभैm पनि ओखर खेल्ने चलन छ होला तर मेरो गाउँघरतिर भने अब ओखरको खेल खेल्न छोडेको धेरै वर्ष भईसक्यो । ओखर खेल्ने भनेको चाहीँ पाँच वा सात वटा सानासाना ओखरलाई भुईंमा पारेको एउटा सानो खाल्डोमा टाढाबाट खसाल्ने । यदी खाल्डोमा जोर ओखर पर्यो भने जीत भयो नत्र भने हार । ओखर खेलमा जति पैसा बाजि राख्यो त्यति नै पैसा लिन पाइन्थ्यो र हारेको खण्डमा पनि त्यति नै पैसा तिर्नु पर्दथ्यो । कुनै पनि जीत र हारको खेल भनेको अनौठो हुन्छ । कहिले जीत मात्र भईरहने कहिले हार मात्र । खेल जीतेको दिन मन फुरुङ्ग हुन्थ्यो र हारियो भने निन्याउरो अनुहार पारेर अरूले खेलेको हेरेर बसिन्थ्यो ।

लङ्गुरबुर्जा र ओखर खेल्दा धेरैजसो विवाद हुन्थ्यो र त्यो विवादले झगडाको रूप लिएर कुटाकुटमा परिणत हुन्थ्यो । कहिलेकाहीँ लङ्गुरबुर्जाको गोटी एकमाथि अर्को खप्टिएर बसिदिने र ओखर पनि केहीभाग खाल्डोमा केही भाग डीलमा बसेकोजस्तो देखिने । त्यसरी गोटी खप्टिएपछि र ओखर पनि खाल्डोमा हो कि डीलमा भन्ने प्रश्न उठेपछि विवाद सुरू हुन्थ्यो । आपसी समझदारीमा दोहराएर खेल्ने सहमती भयो भने झगडा पनि हुन्थेन नत्र भने जीत र हारको कुरा उठेपछि बबाल भैहाल्ने । यदाकदा घट्ने तेस्ता घटनाले नरमाइलो लाग्थ्यो ।

दशैंको समयलाई सम्झँदा सबैभन्दा खुसीको क्षण भनेकै टिका लगाउँदा दक्षिणा बापत पैसा पाउनु हो । त्यती धेरै पैसा अरूबेला पाइन्नथ्यो र कसैले दिँदैनथ्यो पनि । त्यो पैसाले आपूmलाई मनपरेको चिज खान र किन्न पाइने र कसैलाई दिनु पनि नपर्ने । आपूmसँग एकै पटक त्यती धेरै पैसा हुनु भनेको ठूलै कुरा थियो । टिका लगाएर पाएको पैसा जसलाई ढ्याक पनि भनिन्थ्यो पटकपटक गनिरहन्थें म । एक र पाँच पैसा तामाको दुई र चारपैसा चाहीँ पित्तलको थियो । बीस, पच्चीस, पचास र सय पैसा भने आल्मुनियमको हुन्थ्यो । आल्मुनियमलाई हामी सिलावरको भन्थ्यौं । चार पैसा भने बीचमा प्वाल परेको गोलाकार हुन्थ्यो । चार पैसालाई प्वाल परेको पैसा पनि भन्थे । दशैंमा केटाकेटीले दक्षिणामा पाउने भनेको बढीमा दस पैसा हो नत्र भने दुई, चार र पाँच पैसा मात्र । दक्षिणा जमा गरेर सय पैसा अर्थात एक रुपैयाँ भयो भने मेरो पनि खुट्टा भुईंमा हुन्थेन । अनि सबैलाई देखाएर यी मेरो त सय पैसा भयो भन्दै दङ्ग परिन्थ्यो । एक पैसाको पनि ठूलो महत्त्व थियो तेसबेला । सिक्कालाई खल्तीमा लिएर हिँड्दा छर्लङ्छर्लङ् बज्थ्यो । कोसँग पैसा छ छैन भन्ने कुरा त्यही आवाजबाट थाहा हुन्थ्यो । आपूmसँग भएको पैसा लुकाएर राख्ने ठाउँ भनेको सुरुवालको नेफा हो । नेफा शब्दको अर्थ धेरैले अब बुझ्दैनन् । नेफा भनेको सुरुवालको माथितिर सुरुवाल कम्मरमा बाँध्नको निम्ति ईंजार राख्ने ठाउँ हो ।

गाउँघरमा पसल थिएन । तेसैले आपूmसँग पैसा भए पनि किनेर खान पाइन्नथ्यो । जब स्कूल गइन्थ्यो अनि स्कूलसँगैको पसलमा पिप्लामेन्ट भन्ने (पिपरमेन्ट) किनेर खाइन्थ्यो । पसलमा चुरोट, बिँडी, तितौरा, पिप्लामेन्ट, नरिवल, पुष्टकारी र तिलौरा आदि पाइन्थ्यो । पिप्लामेन्टका आकार प्रकार दुई थरिका थिए । एकथरि गुच्चाजस्तो  गोलाकार, जसलाई गेडा पिप्लामेन्ट र अर्कोथरी माछा आकारको, जसलाई सुन्तला पिप्लामेन्ट भन्ने गरिन्थ्यो । अर्को गरी गोलो आकारको सेतो पिप्लामेन्ट जसलाई सोडा पिप्लामेन्ट भनिन्थ्यो, त्यो खाएपछि भने घाँटीमा चीसो अर्थात शितल अनुभव हुन्थ्यो । गेडा पिप्लामेन्ट चाहीँ मुखमा हालेर चुसिरहँदा अन्त्यमा रायो वा सस्र्यूको गेडा बाँकी रहन्थ्यो । बरफ बेच्नेले दुइ हातमा दुइवटा थर्मस झुन्डाएर ल्याउँथ्यो र ‘लौ आयो खुवा बरफ’ भन्दै कराएर हिँड्थ्यो । सिङ्गो बरफको ढिक्कालाई टुक्रा पारेर दुई पैसा, पाँच पैसा र दस पैसा जतिको माग्यो त्यही अनुसार बरफ दिन्थ्यो । त्यो बरफ साँच्चै नै शुद्ध खुवाबाट नै बनेको हुन्थ्यो । मुखभित्र राखेर धेरै बेरसम्म चुसेर खाइन्थ्यो ।

दशैंमा खेलेर नै दिन बित्थे । बिहान साथीभाइ जम्मा भएर गुच्चा खेल्ने र दिउँसो चङ्गा उडाउने । चङ्गा उडाउने रहर पनि अचम्मकै थियो । हावा नलागी चङ्गा उड्दैन भन्ने थाहा हुँदाहुँदै पनि बिहान भात खाईसकेपछि घरबाट लट्टाई र चङ्गा लिएर निस्कन्थें । चङ्गा उडाउनको निम्ति बाटोमा घरिघरि दौडिरहन्थें । भदौ–असोजको चर्को घाममा चङ्गा उडाउन दौडिदादौडिता जिउ पसिनाले निथु्रक्क भिज्थ्यो । अनुहार पनि रातोरातो हुन्थ्यो । जब दिउँसोको एक डेढ बज्न थाल्थ्यो अनि अलिअिलि हावा चल्न सुरू हुन्थ्यो । तर त्यति हल्का हावामा चङ्गा उड्दैनथ्यो । सानो चङ्गा यतिकै नउड्ने र अलिकति माथि आकाशमा पुगेपछि फनफनी घुम्ने मात्र । त्यसरी फनफनी घुमेको चङ्गामा पुच्छर गाँस्नु पर्दथ्यो । कागजको पुच्छर वा धानको पातकै पुच्चर हालेर भए पनि चङ्गा उडाउनै पर्दथ्यो । एउटा चङ्गा च्यातिएपछि वा कसैले काटेर पठाईदिएपछि भने चङ्गा हुँदैनथ्यो । आफूसँग पैसा नहुने र घरिघरि चङ्गा किन्न पैसा नपाइने ।  त्यसैले उडाउँदा उडाउँदा ठाउँठाउँमा च्यातिएको चङ्गालाई कागजले टालेर पनि उडाउनु पर्दथ्यो ।

चङ्गा दुई थरि कागजबाट बनेको हुन्थ्यो । एउटा नेपाली कागजबाट र अर्को देशी कागज, जो अत्यन्त पातलो हुन्थ्यो र उडाउँदा उडाउँदै हावाको जोडमा पनि च्यातिन्थ्यो । अहिले नेपाली कागजबाट चङ्गा बन्न छोडिसक्यो । ललितपुरको पाटनपूर्व मुसे गणेशको मन्दिरभन्दा केही अगाडि चङ्गा बनाउने एक जना नेवार थिए । उनी नेपाली कागजबाट साना र ठूला चङ्गाहरू बनाउँथे । त्यो घरमा मेरो साहिँला काकाले दुध लैजाने गर्दथे । कहिलेकाहीँ त्यस घरमा म पनि चङ्गा किन्न जान्थें ।  चङ्गा पाँच पैसा र दस पैसामा पाइन्थ्यो । सानो पाँच पैसा र ठूलो दश पैसाको ।

त्यो बेला धागो पनि दुई किसिमका थिए । एउटा (कपडा सिउने धागो) जसको बाहिर खोलमा साबेलको चित्र छापेको हुन्थ्यो, त्यसलाई हामी बेल्चामार धागो र एक डेढ इन्चजतिको काठको पाङ्गामा बेरिएको धागो जसलाई हामी हात्तीमार धागो भन्ने गरेका थियौं । हात्तिमार धागोको एक रुपैयाँ पच्चिस पैसा पर्दथ्यो भने बेल्चामारको पचास पैसा मात्र । हात्तीमार धागो भने मोटो र बलियो हुन्थ्यो । बेल्चामार धागो मसिनो र कमजोर भएकोहुँदा ठूलो चङ्गा उडाउन सकिन्थेन । किनभने चङ्गाको जोड यति हुन्थ्यो कि त्यसले धागोलाई नै चुँडालिदिन्थ्यो । त्यसैले चङ्गा उडाउन र लडाउनकोे निम्ति पनि हात्तीमार धागो निकै प्रख्यात थियो । त्यो धागोमा माजा लगाएपछि झन् दह्रो र बलियो हुन्थ्यो । चङ्गा लडाउनको निम्ति धागोमा माजा (भात र सिसाको धुलो राखेर बनाएको) लगाएपछि धागो दह्रो हुन्थ्यो । माजा बनाउनको निम्ति जलेको बिजुलीको चीम फुटाउने र त्यसलाई ढुँगामा एकदम मसिनो हुने गरी पिँधेपछि त्यसैलाई मुछेको भातमा मिसाएर धागोमा लगाउने गरिन्थ्यो ।

म पाँच पैसाको चङ्गा र पचास पैसाको बेल्चामार धागो किनेर चङ्गा उडाउँथे । किनकि आपूmसँग हात्तीमार धागो र ठूलो चङ्गा किन्ने पैसा हुँदैनथ्यो । चङ्गा पनि विभिन्न थरिका हुन्थे । ती चङ्गाको नाम पनि बेग्लाबेग्लै राखिएको थियो । जस्तो कि डिबडिबे (सेतो र कालो चारपाटे चेस बोर्डजस्तो), अम्बे (चङ्गाको माथितिर अलग रङको पान आकारको कागज राखेको), एकपाखे र दुईपाखे (चङ्गाको एकतर्पm ठाडो अलग रङको र दुईपाखे चाहीँ दुबैतर्पm ठाडो एउटै रङकोे कागज भएको), पेटारे (छड्के आकारका एक, वा तीन रङको कागजले बनेको) टाउके (चङ्गाको माथिको एक चौथाई भागमा त्रीभूज आकारको अलग रङको कागज भएको) आदि आदि । त्यसैले चङ्गा लडाउने क्रममा चङ्गा लडाउन आउने अर्को प्रतिद्वन्दिलाई भन्ने गरिन्थ्यो कि ‘अम्बेले धागै छोडेन, टाउकेले लडाउनै सकेन, डिबडिबे चेट …’ आदि आदि । यसरी चङ्गाकै नामबाट चङ्गा उडाउनेलाई सम्बोधन गर्ने गरिन्थ्यो । काठको लट्टाई जति ठूलो भयो त्यति चङ्गा उडाउन सजिलो हुन्थ्यो । विशेषगरी चङ्गा उडाउनुको मज्जा अर्कै थियो । तर लट्टाई, धागो र चङ्गा किन्नको लागि बा’सँग लिएको पैसाले मात्र पुग्दैनथ्यो र घरिघरि पैसा पनि दिँदैनथे ।

दशैंमा पूmलपातीको दिन काठमाडौंको टुँडिखेलमा सिपाहीरूले बन्दुक पड्काएर पूलपातीको बढाईं हान्ने गर्दथे । मलाई पनि पूmलपातीको बढाई हानेको हेर्ने रहर लागेर बा’सँगै जान्थें ।  पूmलपातीको बढाईं हेर्न राजारानी पनि आउने हुनाले टुँडिखेल वरिपरि मान्छेको भीड लाग्थ्यो । राजारानीको सवारी भएपछि सिपाहीहरू पहिले बन्दुक पड्काउँथे र केहीबेरपछि सबैले एकैसाथ लहरै बन्दुक पड्काउँथे । यसरी लहरै बन्दुक पड्काउनेलाई लहरे बढाईं भनिन्थ्यो । टुँडिखेलमा बढाईं हानेपछि मात्र हाम्रो गाउँतिर जमरामा लगेर पूmलपाती भित्राउने चलन थियो । कन्यकेटीलाई रातो अक्षताको टिका लगाई दिएर पूmलपाती भित्र्याउन लगाउँथे । उतीबेला टुँडिखेलमा बढाईं हानेको आवाज हाम्रो गाउँघरसम्म प्रष्टै सुनिन्थ्यो । कतैबाट कुनै होहल्ला र ध्वनी प्रदुषण शून्य भएको अवस्थामा झन्डै पाँच छ किलोमिटर टाढाको आवाज सुन्नु कुनै आश्चर्य थिएन । त्यति मात्र होईन जावलाखेलको चिडियाखानामा सिंह कराएको आवाज पनि कहिलेकाहीँ सुनिन्थ्यो । अनि पाटनको अशोक सिनेमा हलमा बिहानै बजाएको सिनेमाको गीत विशेष गरी हमराज सिनेमाको निम्ति महेन्द्र कपुरले गाएको गीत …ए, नील गगन के तले, धरती का प्यार पले…ऐसे ही जग मे आती हे सुबहें ऐेसे ही साम ढले…. भन्ने बोलके गीत बजेको पनि सुनिन्थ्यो । यो गीत अशोक सिनेमा हालमा प्रत्येक शनिवारको बिहान र सिनेमाको हाफटाईममा बज्ने गर्दथ्यो । त्यति शान्त र सुनसान अवस्था थियो त्यो दिनमा । अब गीत बजेको र सिंह गर्जे आवाजको कुरै नगरुँ, टुँडिखेलमा बन्दुक पड्काएको आवाज समेत सुनिदैन । त्यसै कारण अहिले दशैंमा पूलपातीको दिन प्रायः बेलुकाको ४ वा ४ः३० को समयमा पूmलपाती भित्राउने गरिन्छ ।

दशैंमा विजया दसमीको दिन टिका लगाएपछि गाउँका सारा केटाकेटी र ठिटाहरू पनि चङ्गा उडाउन र लडाउन गाउँबाट पूर्वतर्पmको गोदावरी खोलाको डीलमा भेला हुन्थे । गोदावरी खोलापुग्न दस मिनेट लाग्थ्यो । वारि हामीहरू चङ्गा उडाउँथ्यौ भने पारितर्पm धान खेत र केही घरहरू थिए । काटिएको चङ्गा छोप्न (लिन) जाने केटाकेटीहरू पाक्नै लागेको धान खेतमा दौडिँदा धानको नोक्सान हुन्थ्यो । खेत धनीले जति कराए पनि र गाली गरे पनि कोही टेर्दैनथे । अर्काको धान बालि नोक्सान भएकोमा न कसैलाई वास्ता हुन्थ्यो न त कसैको चित्त दुःखाई । जसको जे जति हानिनोक्सानी भए पनि त्यसतर्पm विचार गर्ने कोही हुँदैनथे । मैले एक वर्ष यति धेरै चङ्गा छोपेछु कि त्यसलाई जम्मा गरेर राखेपछि अर्को वर्ष मलाई चङ्गा नै किन्नु परेन । त्यही अघिल्लो वर्षको चङ्गाले नै पुग्यो । चङ्गा छोप्ने क्रममै एक दिन धागोले मेरो दाहिने हातको कान्छी औँलामा घाउ नै पारिदियो । त्यो रात घाउ दुःखेर सुत्नै सकिन । माझा लगाएको धागोले गहिरो गरी काटिदिएको थियो । त्यसको सम्झना प्रायःजसो आइरहन्छ ।

दशैंको बेला विशेषगरी विजयादशमीको दिन अत्यधिक चङ्गा उडाउने र लडाउने गरिन्थ्यो । घरबाट दक्षिण–पश्चिमतर्पmको आकाशमा हेर्दा आकाश नै रङ्गीविरङ्गी चङ्गाले ढाकेको देखिन्थ्यो । त्यहाँ चङ्गा लडाएर काटिएपछि कहिलेकाहीँ दुई, तीन वा चार पाँच वटा चङ्गासमेत आपसमा जेलिएर आकाशमा टिलपिल टिलपिल गर्दै हाम्रै गाउँ घरतिर आएर खेतबारीमा बस्थे भने कुनैकुनै चङ्गा यति धेरै माथि उडेको हुन्थ्यो कि त्यसलाई देख्न पनि मुस्किल हुन्थ्यो । मानिसहरू त्यसरी माथिमाथि अकासिएर उड्दै गएको चङ्गा चीनको भोट (तिब्बत) सम्म पनि पुग्छ भन्थे ।

पीङ् खेल्ने प्रसंग झन रमाइलो छ । मलाई पनि दशैंमा पीङ् खेल्ने ठूलो रहर हुन्थ्यो । मेरो गाउँभन्दा पश्चिमतर्फको बाटोको डिलमा एउटा विशाल खरीको रूख थियो । तल झन्डै बीस पच्चीस फिट जति गहिरो बारी र खेत थियो । त्यहाँ गोदार थापाहरूको चार पाँचवटा घर थियो । तेसैले पनि त्यस ठाउँलाई गोदारको ढिक भन्ने गर्दथे । अहिले त त्यस ठाउँमा धेरै घरहरू बनिसके । गोदार थापाहरूभन्दा पनि अन्यत्र जिल्लाबाट आएका विभिन्न जातका मानिसहरू धेरै भईसके । त्यही थापा गाउँभन्दा पूर्वतर्पm रहेको विविध थरका मानिसहरूको बसोसाबको थलो हो बाक्लागाउँ जहाँ न्यौपाने क्षत्री, खड्का, बोगटी, थापा, बस्नेत र गोदार थापा अनि हामी गिरीहरूको घर थियो ।

जब दशैं आउँथ्यो त्यही खरीको रूखमा पिङ हालेको हुन्थ्यो । पिङ कसले हाल्थ्यो त्यो हामी केटाकेटीलाई थाहा हुन्थेन । पिङ् खेल्न केटाकेटीदेखि ठूला ठूला लोग्नेमान्छे र आइमाई भेला भएपछि ठूलै भीड हुन्थ्यो । पिङ् खेल्नकोलागि घन्टौं पालो कुर्नुपर्र्दथ्यो । आफ्नो पालो आए पनि अरूले नै पालो मिचिदिन्थे । कोही एक्लै पिङ् खेल्थे भने कोहीकोही दुईजना सँगै आमनेसामने उभिएर खेल्थे । त्यसरी पिङ् खेल्नुलाई दोहरी खेल्ने भन्थे । पिङ मच्चाएर यति माथिसम्म पुग्थे कि हेर्नेलाई नै कहाली लाग्थ्यो । एक्लै खेल्नेहरूबीच खरीको पात टिप्टे बाजी पनि हुन्थ्यो । मच्चिएको पिङ्बाट रूखको पात टिप्न सक्नु त्यति सहज र सजिलो थिएन । वर्षिनै त्यही मात्र एउटा ठाउँमा पिङ खेलिन्थ्यो । किनकि अन्त पिङ् खेल्न हुने ठाउँ र रूख पनि थिएन । अहिले अब त्यो गोदारको ढिक भन्ने ठाउँ पनि इतिहास भैसक्यो । गाउँ शहरमा परिणत हुँदै गएपछि घर र बाटोले ढाक्दै गयो । बाटोलाई सडक र सडकलाई अझ ठूलो सडक बनाउने क्रममा त्यो गोदारको ढिकको खरीको रूख पनि सडकको बीचमा पर्न गयो । रूख बीचमा परे पनि वरिपरि ईंटाको गोलाकारको पर्खाल लगाएर चौतारी बनाइएको थियो । अन्ततः चार वर्ष पहिले चौतारी बनाएर राखेको त्यो विशाल खरीको रूखलाई काटेर त्यसको अस्तित्व नै समाप्त पारियो र त्यहाँ ढलान गरेर मोटरचल्ने बाटो बनाइयो । गोदारको ढिक भन्ने गाउँको एउटा चिनारी नै सदाको निम्ति मेटियो । त्यही बाटो भएर पुगिने बोजोपोखरी (बोजेपोखरी)  अहिले पनि छ । विशाल पोखरीको एक चौथाईभन्दा बढी भागमा मन्दिर र खानेपानीको टावर ट्याँकी निर्माण गरेर पोखरीको आकार प्रकार नै बेरुप पारिएको छ । पोखरीको दुबैतिर (उत्तर र पूर्वतर्पm) सडक निर्माण गर्दा पोखरीको जग्गालाई नै अतिक्रमण गरिएपछि अहिले पोखरीको आकार निकै सानो देखिन्छ । पहिलेको भन्दा तीन खण्डको दुई खण्ड मात्र पोखरी बाँकी भएको छ । वरिपरि बार लगाएर राखिएकोले अब भने त्यसको अस्तित्वमा घटबढ नहोला भन्ने आशा छ ।

मलाई पनि दशैंमा मामाघर जाने ठूलो रहर हुन्थ्यो । मामाघर टाढा भएकोले गइरहन पनि सकिन्थेन अहिलेको जस्तो यातायातको साधन पनि थिएन । प्रत्येक दशैंमा म पनि आमासँगै मामा घर जान्थें । साथमा बहिनी र भाईहरू पनि हुन्थे । काठमाडौंको पश्चिमस्थित रामकोट गाविसको कुमाईटी डाँडामा थियो मामाघर । मामाघर डाँडाको सबैभन्दा माथि थियो । अन्तिम घर नै मेरो मामाघर थियो । त्यहाँ सात–आठ वटा घर मात्र थिए् । सबैभन्दा सिरानमा मामाघर ठूलो थियो । उत्तर–दक्षिण लम्बाई भएको सेतो चुनोटले पोतेको घर भीमढुङ्गा जाने मूलबाटोबाट नै प्रष्ट देखिन्थ्यो । मामाघरबाट हेर्दा पनि मूलबाटोमा मानिसहरू हिँडेको देखिन्थ्यो । मामाघर जाँदा पनि हिँडेर नै जानुपर्दथ्यो । भीमढुङ्गा जानेबाटो ठूलो भए पनि अहिलेकोजस्तो सार्वजनिक यातायात थिएन । सबै मानिसहरू हिँडेर नै जानु पर्दथ्यो । देउरालीतिरबाट तरकारी र दाउरा बेच्न आउनेहरू राति नै घरबाट हिँडेर काठमाडौंको स्वयम्भुमा आएका हुन्थे । तिनीहरूको हातमा मट्टितेलले बल्ने टुकी हुन्थ्यो । किनकि तिनीहरू अँध्यारोमा नै घरबाट निस्केर शहरतिर हिँडेका हुन्थे । कुनैकुनै आईमाईको पिठ्यूँमा भारि र अघिल्तिर सानो दुधे बच्चा पनि हुन्थ्यो । सायद गरिबीको कारण र घरमा बच्चा हेरिदिने मान्छे नभएर होला सानो बालकलाई समेत आपैmसँग लिएर हिँड्नु पर्ने वाध्यतामा जीवन बिताइरहेका आईमाईलाई देख्दा म सानै उमेरको भए पनि अचम्म लाग्थ्यो । अनि कम्यूनिष्टहरूमा धनी र गरिब हुँदैन भन्ने सुनेकोले हामीकहाँ पनि त्यस्तै भए हुनेजस्तो लाग्थ्यो ।

मामाघर जाँदा हामी घरदेखि ललितपुरको पाटकढोकासम्म हिँडेर जान्थ्यौं र त्यहाँबाट बस चढेर रत्नपार्क ओर्लेपछि हिँडेर नै मामाघरसम्म जान्थ्यौं । रत्नपार्क, भोटाहिटी, नरदेवी, स्वयम्भु, सीतापाईला, हरिसिद्धी हुँदै जानुपर्दथ्यो । कहिलेकाहीँ छाउनी व्यारेकका सिपाहीले तारो हान्ने समयमा भने घुमेर राष्ट्रिय सङ्ग्रालय भएर जानुपर्दथ्यो । झन्डै एक घन्टा लाग्थ्यो घुमेर सीतापाईला पुग्दा । छाउनीको ब्यारेकको उत्तरतर्पm बाँसको ठूलो झाङ थियो । तेहाँ अग्लो पर्खाल थियो । त्यही पर्खालमा सिपाहीले निसाना लगाउने अर्थात तारो हान्ने गर्दथे ।

सीतापाइलादेखि पश्चिमतर्पmको बाटोमा दायाँबायाँ नील काँडाको ठूलो झाँङ थियो । त्यो नील काँडाको माथिमाथि पहेंलो लहराले पूरै ढाकेको हुन्थ्यो । त्यो लहराको नाम मलाई अभैmसम्म पनि थाहा छैन । तर हिजोआज सुनेको छु कि त्यो लहरा कमलपित्त रोगको निम्ति औषधी हो रे । त्यो बाटोको बीचबीचमा गँड्यौला यति हुन्थे कि भनेर साध्यै नहुने । स्याउँस्याउँती गड््यौला माथिमाथि कुल्चेर हिँडिरहेका हुन्थे मान्छेहरू । कोही घामले सुकिसकेका, कोही आलै त कोही मानिसहरूले कुल्चेर अधकल्चो गँड्यौला देख्दा घिन पनि लाग्थ्यो ।

त्यो बाटोको अन्तिम ठाडो उकालो पुग्नुभन्दा अलिक वर जस्तापाताले छाएको लामो पाटी थियो । तर त्यो पाटी सधैँ रित्तो देखिन्थ्यो । त्यो पाटी राणा कालमा बनेको हुनुपर्दछ । कुनै उद्देश्यले बनाएको त्यो पाटी प्रायः उपयोगहीन अवस्थामा देखिन्थ्यो । बाटोको उकालोमा वर पिपलको चौतारी र सानो देवस्थल थियो र अभैm पनि छ । त्यहाँ एउटा सानो कच्ची घरमा नेवालरको पसल थियो । त्यहाँ दही, च्यूरा, अचार, भुटेको चना, भट्मास, पिप्लामेन्ट (पिपरमेन्ट), चुरोट आदि पाइन्थ्यो । कहिलेकाहीँ हामी पनि त्यस पसलमा चना र भट्मास किनेर खाँदै पनि जान्थ्यौं । बाटोमा मानिसहरू निकै कम मात्र भेटिन्थ्यो । दशैंको बेला भने अलिक बढी मान्छेहरूको आवत–जावत हुन्थ्यो । हरिसिद्धीको उकालोमा पुग्नुभन्दा वर उत्तरतर्पm बाटोछेवैको पाखोमा ढुङ्गा पोलेर सेतोचुन बनाएको हुन्थ्यो । त्यहाँबाट गएपछि हरिसिद्धीको उकालो आउँथ्यो । अग्लो पिपलका रूखहरू र एउटा पोखरी पनि थियो । पोखरीमा केही माछा पनि हुन्थे । त्यहाँ पनि बाटोको छेवैमा खाजा पसलमा चही र च्यूरा खाजा खाएर एकछिन थकाई मेटेपछि हिँडिन्थ्यो । तेसबेला प्रायः पसलहरूमा दही च्यूरा हुन्थ्यो । काठको सानो ठेकीमा राखेको दही निकै मीठो हुन्थ्यो ।

दशैंमा मामा घर गएपछिको रमाइलो बेग्लै हुने नै भयो । मामाघरमा सबैले माया गर्ने हुनाले त्यसैत्यसै मन दङ्ग हुन्थ्यो । सबैजना रमाइलो गर्ने भएकोले खेल्ने र खानेकाममा कसैले बाधा हाल्दैनथे । जे मन लाग्यो त्यही खायो, जहाँ मन लाग्यो त्यहीँ गयो । कामधाम पनि गर्नु नपर्ने पढु्नु पनि नपर्ने भएपछि क्या मज्जा भनेजस्तो भैहाल्यो । म मामाका दुई छोराहरू हरिसरण र रामसरणसँग मामाघरभन्दा माथिको वनमा गाई भैँसी चराउन पनि जान्थें । सानो सानो बुट्यान र झाडी भएको वनमा खेल्दा निकै रमाइलो हुन्थ्यो । बाँसको सुकेको खपटामा चिप्लेटी खेलिन्थ्यो । खपटाको पछाडीको झुस जिउमा लाग्यो भने चिलाउँथ्यो । कहिलेकाहीँ वनमा जुका लागेर खुट्टाका औंलाको काप र पिँडुलाबाट रगत बगेपछि मात्र थाहा हुन्थ्यो । अनि निकै डर लाग्थ्यो । जुकाले टोकेको ठाउँमा धेरैपछिसम्म पनि चिलाउँथ्यो । ती दिनको सम्झनाले मात्र पनि रोमाञ्चित हुन्छ अहिले । तर बितेको समय फर्केर आउँदैन । समयले बिस्तारै बिस्तारै आफन्तबाट टाढा पारिरहेछ । अब मामाघर पनि सम्झनामा मात्र रहेको छ । मामा छउन्जेल मामाघर र बाबुआमा हुन्जेलसम्म माइतीघर भनेजस्तै भएको छ ।

समय धेरै पछाडि गईसक्यो । अब मेरो गाउँ पनि कङ्क्रिटको जङ्गलमा परिणत हुँदै गएको छ । पहिलेको पुराना घरहरू भत्काएर र  नयाँ बनाउँदा फलामे छड, सिमेन्ट, ईंटा, बालुवा र गिटीको प्रयोग अत्यधिक बढेर गएको छ । घर सिमेन्टबाट ढलान गरेर बन्न थालेका छन् । कङ्क्रिटको जङगलमा परिणत भइसक्यो बस्ती । अब घरलाई उहिलेकोजस्तो हरेक दशैं तिहारमा रङ्गाईरहनु पर्दैन । प्रायः धेरैको घर पक्की बनिसके । गाउँ पनि शहर भईसक्यो । गाउँका प्रायःजसो खेतबारीमा घर बनिसके । हाम्रो संस्कृति र परम्परालाई आधुनिकीकरणले विस्तारै पाखा लगाउँदै गईसक्यो । पछिल्लो पुस्तालाई पहिलेका कुरा अब कथाजस्तै लाग्छ । रात बसेर विहे गर्ने, विहेमा खेत वा बारीको पाटोमा बसेर जन्तीबाख्रो खाने, विहेको जग्गेमा सिलोक (श्लोक) भन्ने कुरा त झनै दन्त्यकथाजस्तै भईसक्यो । कुनैबेला एउटा रेडियो देख्न नपाउने ठाउँमा अहिले टेलिभिजन, कम्पुटर र मोबाईलको प्रयोग सर्वत्र बढिरहेछ । हातहातमा मोबाईल छ । संसार हत्केलामा अटाईसकेको अबको यो युगमा त्ये पुरानो चलन र परम्परा यसै पनि ओझेलमा पर्ने नै भयो । हामीलेजस्तो हिजोआजका केटाकेटीलाई मीठो खान र राम्रो लगाउन अब दशैँ कुर्नु पदैन । सँधै दशैंजस्तै छ । नयाँ लुगा लगाउन न दमाईको घरमा धाउनु परोस् न त जुत्ता सिलाउन सार्कीको घर जानु परोस् । उनीहरूलाई दशैं एकै दिनमा आउँछ । बजारमा सबै कुरा तयारी नै किन्न पाउने भएपछि केको चिन्ता । पैसा हुनुपर्छ नुनदेखि सुनसम्म अर अघिल्तिरै पाइन्छ । टाढा धाएर जानै पर्दैन । अब मैले जसरी नै अहिले मेरा नाति नातिनीहरूलाइै दशैं आउँदैछ भनेर मैलेजस्तै पर्खिरहनु पर्दैन । दशैँमा नयाँ लुगा र जुत्ता लगाउन पाइन्छ भनेर दङग पर्नु पनि पर्दैन । न मैलेजस्तो पुरानो र फाटेको लुगा लगाउनु पर्छ न त मैलेजस्तै दमाई र सार्कीको घरमा धाइरहनु पर्छ । सबै कुरा भनेकै दिनमा घरमा आइपुग्छ ।

आफू सानो छँदाको अनुभव अहिले लेख्दा आपैmलाई कस्तोकस्तो लाग्दोरहेछ । त्यो बखतको सोच र अहिलेको सोच दाँजेर हेर्ने हो भने त्यस्ता दिनहरू पनि बिताईयो जस्तो लाग्नु स्वभाविकै हो । हुन त शारिरिक बृद्धिसँगै मानिसको विचार पनि बदलिँदै जान्छ, यो प्राकृतिक नियम नै हो । जीवनमा सिक्दै गएका कुरा, अध्ययनबाट प्राप्त ज्ञान, व्यवहारबाट प्राप्त अनुभव र अरूहरूसँगको संगतबाट पाएको अनुभूतिले मानिसलाई सक्षम र सबल बनाउँछ भन्ने मेरो धारणा छ । मेरो यो सोचाई अरूको सोचाईसँग मेल नखान पनि सक्छ । आपूmले बिताएको समयलाई फर्केर हेर्दा ती दिनहरू अवश्य पनि मूल्यवान थिए भन्ने लाग्छ । बाल्यकालमा बिताएका ती दिनहरू जसरी बिताईयो अब आजका दिनहरू पनि त्यसरी नै बिताउन सकिन्न यो पक्कै हो । धेरै कुरामा परिवर्तन आईसक्यो । विज्ञान र प्रविधिले मानिसलाई धेरै सुविधा दिइसक्यो ।

समय उस्तै हो तर आफू बाँचेको समय सधैँ उस्तै हुँदैन रहेछ । अब मेरो दैनिकी र व्यवहार नै अर्कै भइसक्यो । विद्यालयमा पढ्दै गरेका दिन र चार दसकभन्दा बढीको जागीरबाट अवकास प्राप्त जीवनको दिन उस्तै कसरी हुन्छ र ? निर्धारित समय तालिकामा बिताएका दिनहरू र फुर्सदमा बिताउने दिनहरू नितान्त फरक हुन्छन् । जिम्मेवारी र दायित्वपूर्ण जीवन बिताउनु भनेको एक प्रकारले आफ्नो पारिवारिक कर्तव्य पूरागर्नु हो । जो मेरा बाबु–बाजेले गरेका थिए । त्यसैले लाग्छ म पनि बाबु–बाजेले गरेकै कार्यलाई निरन्तरता दिईरहेछु ।

सबैलाई विजयादसमीको मँगलमय शुभकामना !

Tags:

सम्बन्धित समाचार