acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकमाझ परिचित छ । बन्दीपुर भन्ने बित्तिकै मौलिक कला र संस्कृतिले पोतिएको सुन्दर अनि शान्त बजारको चित्र पर्यटकहरूको मानसपटलमा बन्ने गरेको छ । बन्दीपुरको मुख्य आकर्षण नै बन्दीपुर बजार बनेको छ । बन्दीपुर बजार र यसका परिसर मात्रै पर्यटकमाझ चिनिएको छ । तर, बन्दीपुरमा बन्दीपुर बजार बाहेक थुप्रै पर्यटकीय आकर्षणहरू रहेका छन् । ती बन्दीपुरको छायाँमा परेका छन् । यस गाउँपालिकाको वडा नम्बर तीनमा अवस्थित रामकोट बन्दीपुरको छायाँमा परेको एक सुन्दर पर्यटकीय गन्तव्य हो ।

मगर समुदायको बसोबास रहेको एक सुन्दर गाउँ हो, रामकोट । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा रामकोट गाउँ लमजुङको घले गाउँ भन्दा पनि सुन्दर रहेको बताउँछन् । “बन्दीपुरमा बन्दीपुर बजार बाहेक अन्य थुप्रै सुन्दर गाउँहरू पनि छन् । उदाहरणको लागि भन्नुपर्दा रामकोट गाउँलाई लिन सकिन्छ । हाम्रो वडा नम्बर तीनमा पर्ने रामकोट गाउँ साँच्चै भन्ने हो भने लमजुङको घले गाउँभन्दा पनि सुन्दर छ, तर प्रचारमा आउन सकेको छैन,” अध्यक्ष थापाले भने ।

बन्दीपुर बजारस्थित मतिना चेन हाेटलका सञ्चालक एवम् स्थानीय अनिल प्रजापतिले रामकाेटमा हाेमस्टे (घरबास) पर्यटनकाे अथाहा सम्भावना भएपनि पर्याप्त प्रचारमा ल्याउन नसकेकाे बताए । बन्दीपुर बजार बाहेक गाउँपालिकाभित्रका अन्य थुप्रै पर्यटकीय गन्तव्यहरूलाई प्रचारमा ल्याउन बन्दीपुरकाे रि-ब्राण्डिङ गर्न जुरुरी रहेकाे प्रजापतिकाे भनाइ छ । “अहिलेसम्म बन्दीपुर भनेर बन्दीपुर बजार मात्रै चिनिएकाे छ । यसका वरिपरि गाउँपालिकाभित्र अन्य पर्यटकीय गन्तव्यहरू पनि छन् । तिनलाई प्रचारमा ल्याउन जरुरी छ। नयाँ गन्तव्यहरू थपिँदा पर्यटकहरूकाे बसाइ पनि लम्बिने छ ।”

करिब एकसय घरधुरी रहेको रामकोट गाउँ मौलिक मगर संस्कृतिको खानी हो । यस गाउँमा मगर समुदायको भाषा, संस्कृति, भेषभुषा, रहनसहन तथा जीवनशैलीको अवलोकन गर्न सकिन्छ । ढुङ्गाको छानो, काष्ठकलाको अत्यधिक प्रयोग गरेर बनाइएका शताब्दी भन्दा पुराना चिटिक्क परेका घरहरू एकै थुम्कामा झुप्प भएर बसेका छन् । घरहरू एक आपसमा जोडिएर बसेका छन् । थुप्रै घरहरूको एउटै आँगन, एउटै धारा, जोडिएको पिँडी । जसले मगर समुदायमा एकता र मेलमिलापयुक्त समाजको प्रतिबिम्बित गरेको छ । गल्लीहरूमा ढुङ्गा बिछ्याइएको छ । छेउछेउमा ढुङ्गाको गाह्रो लगाइएको छ । गाउँ चहार्दा गल्लीहरूले नै रोमाञ्चकता थपिदिन्छ ।

घुमाउने/गोलो घर रामकोटको एक आकर्षण हो । स्थानीयका अनुसार उहिले रामकोटमा थुप्रै घरहरू गोलाकारका थिए । तर, अहिले पनि एउटा मात्रै गोलो घर बाँकी रहेको छ । गाउँपालिकाको सहयोगमा संरक्षण गरिएको यो घर करिब एक सय पचास वर्षअघि बनेको हुनसक्ने घरधनी चन्द्र बहादुर आले मगरले बताए । आलेको चार जनाको परिवार सानो चिटिक्क परेको घुमाउने घरमै बस्दै आएका छन् । रामकोटमा पुग्ने पर्यटकहरू आफ्नो घरमा आउने गरेको र सबैले रुचिपूर्वक हेर्ने, सोध्ने गरेको उनले बताए । गाउँको एक पर्यटकीय आकर्षण भएकाले संरक्षण गर्न जरुरी रहेको तर संरक्षण गर्न भने कठिनाइ भइरहेको उनले सुनाए । घर वर्षैपिच्छे खर खोजेर छाउनुपर्ने, नजिकै खर नपाइने, डाँडाबाटाको लागि बाँस तथा काठ किन्नुपर्ने भएकाले झन्झटिलो भएको उनले बताए ।

गाेलाेघर । घरधनी चन्द्र बहादुर मगर ।
रामकोटमा सामुदायिक होमस्टे सञ्चालनमा छ । त्यहाँको लोकल अर्ग्यानिक खानाको स्वाद लिन सकिन्छ । गाउँमै उत्पादित धान, मकै, कोदो, दाल, गेडागुडी, तरकारी, सागसब्जी, फलफूलहरूको स्वाद पाहुनालाई चखाउने गरेका छन् । त्यसैगरी मकै र कोदोबाट बनेको पेय पदार्थहरू पनि पाइन्छ । लोकल कुखुरा, सुँगुर/बुङ्गुरका विभिन्न परिकार पनि उपलब्ध रहेको छ । साँझको खाना, बास अनि बिहानको खाजासहित प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । तर, परिकार र परिमाण अनुसार खर्च मात्र तलमाथि हुन सक्छ ।
गाउँमा पर्यटनको अथाह सम्भावना भए पनि स्थानीय बासिन्दामा पर्यटनप्रतिको बुझाइ र आकर्षण कम भएको बन्दीपुर–३ का वडा सदस्य समेत रहेका स्थानीय नीरकाजी मगरले बताए ।
“बन्दीपुर आउने थुप्रै पर्यटकहरू रामकोटमा आउने गरेका छन्, तर हामीले सेवा दिन नै सकिरहेका छैनौँ । कतिपय पाहुना नआउनुस् भन्नुपरेको छ ।” उनले भने ।
होमस्टे सञ्चालनमा ल्याइए पनि सञ्चालकहरू सेवा दिन तयार नभएपछि समस्या सिर्जना हुने गरेको उनले बताए । अहिले ६० जनासम्म पाहुनालाई सेवा दिन सकिने उनले बताए । गाउँका ३० घरपरिवारले होमस्टे सञ्चालन गर्ने भनेपनि सेवा दिन तयार नभएको उनले बताए । गाउँका बासिन्दालाई पर्यटनबारे जनचेतना बढाउने खालका कार्यक्रमहरू आवश्यक रहेको नीरकाजीको भनाइ छ ।

बन्दीपुरको पश्चिममा रहेको रामकोट गाउँ समुन्द्री सतहबाट करिब एक हजार मिटरको उचाइमा अवस्थित छ । सवारी साधनमा जाँदा बन्दीपुरबाट ३० मिनेटमा पुग्न सकिन्छ । तर पैदलयात्रा गर्न रुचाउनेहरू मुकुन्देश्वरी डाँडा हुँदै करिब दुई घण्टाको यात्रा गरेर पनि रामकोट पुग्न सकिन्छ । पैदलयात्रा गरेर जाँदा थुप्रै बोटबिरुवा तथा वनस्पतिहरू, जीवजन्तु तथा किराफट्याङ्ग्राहरूसँग भलाकुसारी गर्दै यात्रा गर्न गर्न पाइन्छ ।
त्यसैगरी मनोरम हिमशृङ्खला, हरियाली पहाड र उपत्यकाको दृश्यावलोकन गरेर पनि आनन्द लिँदै यात्रा गर्न सकिन्छ । पहाडी संस्कृति, गाउँले जीवनशैली, रहनसहन, खानपान, मगर समुदायको विशिष्ट संस्कृतिको अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो, रामकोट । बन्दीपुर पुगेपछि रामकोटमा पाइला नटेकी फर्किनुभयो भने तपाईँको बन्दीपुर यात्रा अधुरो हुने छ ।