बुधबार , जेठ १३, २०८३

श्रीकृष्ण लुइँटेलदेखि ‘बोके दारी’सम्मको यात्रा (अन्तर्वार्ता)

अहिले सुन्न नसकिने, दोहोरो अर्थ बोकेका गीतहरू आउने गरेका छन्, जसलाई म हास्यव्यङ्ग्य गीत मान्दिनँ ।

image

‘ए बा किन्देऊ न भट्भटे’ बोलको गीतबाट चौतर्फी लोकप्रियता कमाएका गायक श्रीकृष्ण लुइँटेल (बोके दारी) को पुर्ख्यौली थलो तेह्रथुमको सोलमा, कालीमाटी रहेको छ । त्यसपछि उनको परिवार बसाई सरेर भारतको आसाम पुग्यो, त्यहीँ उनको जन्म पनि भयो । वि.सं. २०३३ साल भदौ ११ गते बुवा लक्ष्मी प्रसाद लुइँटेल र आमा अम्बिकादेवी लुइँटेलको जेठो छोराको रूपमा उनको जन्म भएको थियो । बालापन आसाममै बिताएका गायक बाल्यकालमा निकै सोझा थिए । शैक्षिक यात्रा आसाममै सुरु गरेका गायक अन्ततः बुवाआमासँग नेपालको मोरङको अमरदहमा बसोबास गर्न आइपुगेका हुन् । राजनैतिक कारणले उनको परिवार त्यसपछि सुनसरीको तरहरामा बसाई सर्‍यो । एउटा शैक्षिक संस्थाबाट बि.ए. पढेका उनले अर्को शैक्षिक संस्थाबाट बि.एड. पढे ।

स्कुले समयदेखि नै गीततिर तानिएका उनले अभिनयको लागि पनि धरै मिहिनेत गरेको सम्झिन्छन् । तुलसी घिमिरेको ‘साइत’ नामक चलचित्रमा छोटो अभिनय गर्न पाएका उनी काठमाडौँ बसेर मिहिनेत गर्न थाले र, केही चलचित्रहरूमा सहायक निर्देशनको काम सम्हाले । सङ्घर्षको समयमा ‘इटहरीको बजारैमा ओ माया र्याक नगर’ बोलको गीत लेखेका उनले उक्त गीत बेचिदिएका थिए । उनको औपचारिक रूपमा रेकर्ड भएको पहिलो गीत ‘सुन है साथी मेरो कहानी’ रहेको छ । उनको पहिलो एल्बम सफल नभएपछि उनले दोस्रो एल्बम ‘म त मर्छु कि क्या हो’ ल्याउने निर्णय लिए । उक्त एल्बमले पनि उनलाई सोचेको सफलता भने दिन सकेन । त्यसपछि उनले तेस्रो एल्बम ल्याए, सो एल्बमले पनि उनलाई सफलता दिलाउन सकेन । अन्ततः उनको चौथो एल्बम ‘बोके दाह्री’ आयो र उक्त एल्बमले निकै तहल्का पिट्यो । सँगसँगै, उक्त गीतले उनलाई हास्यव्यङ्ग्य गायकको रूपमा स्थापित गरिदियो । हालसम्म २०० बढी गीत गाइसकेका गायकले वि.सं. २०६४ सालमा दार्जिलिङकी रिङ्कु शर्मासँग विवाह गरेका हुन् ।

प्रस्तुत छ,  श्रीकृष्ण लुइँटेल (बोके दारी)सँगको कुराकानीको संक्षिप्त अंश:

तपाईँले करियर सुरु गर्दा ताकाको हास्यव्यङ्ग्य गीतको बजार र अहिलेको बजारमा के फरक महसुस गरिरहनु भएको छ? त्यो कसरी भयो होला?

हास्यव्यङ्ग्य गीत सदियौँदेखि चलेको विधा हो । पहिलापहिला सभ्य किसिमका हास्यव्यङ्ग्य आउँथे भने अहिले अलिक उच्छृङ्खल किसिमका आउँछन् । अहिले सुन्न नसकिने, दोहोरो अर्थ बोकेका गीतहरू आउने गरेका छन्, जसलाई म हास्यव्यङ्ग्य गीत मान्दिनँ । कुनै पनि हास्य शैलीका गीत जसमा व्यङ्ग्य हुन्छ, जसले समाजमा भएका विकृति-विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्छ, त्यस्ता गीतलाई म हास्यव्यङ्ग्य गीत मान्छु । चाँडै खोजिने लोकप्रियताको लालसाले त्यसो भएको मलाई लाग्छ ।

पहिला हास्यव्यङ्ग्य गीतहरू निकै सुनिन्थे अचेल कम सुनिन्छन् किन होला? किन कम मात्रामा गायकले यो बाटो रोजेका छन्?

हास्यव्यङ्ग्यसँग सम्बन्धित त्यहीसँग चासो राखेर त्यस्ता गीत अहिले खोज्नु पर्ने जमाना आएको छ । नखोजिएर पनि हो खोज्ने हो भने युट्युबमा भेटिन्छ । अहिले के कुरा भाइरल हुन्छ त्यही सुन्ने/हेर्ने गरिने हुनाले पनि हो । हास्यव्यङ्ग्य गीतहरू लगातार आइरहेका छन् । पुराना स्रष्टाका गीतहरू पनि आइरहेका हुन्छन्, हामीले ध्यान नदिएर हो । आदरणीय दाइ कुमार बस्नेतका गीतहरू पनि हाँस्यव्यङ्यले भरिपूर्ण हुन्छन् । वहाँहरुले त्यतिबेलादेखि गाउँ समाजका विकृति-विसङ्गतिमाथि व्यङ्ग्य गर्दै आउनुभएको छ । तर, अहिलेका मान्छेहरूलाई क्षणिक लोकप्रियता चाहिएको छ, त्यसैले पनि त्यता लाग्नेहरू अलिक कम देखिएको होला । हामीजस्ता गर्ने मान्छेहरूले निरन्तर गरिरहेका छौँ ।

हास्यव्यङ्ग्य नै रोज्नुको कारण के हो ? यसले समाजमा कसरी काम गर्छ?

गीत धेरै प्रकारका हुन्छन्, म तपाईँलाई नै प्रश्न गर्छु । अहिलेका जति पनि चलेका गायक/गायिकाका गीतहरू छन्, त्यसबाट तपाईँले के सन्देश पाउनुहुन्छ? ‘म मरिहाले’, ‘तैँले मलाई छोडेर गइस्’, ‘तैँले मलाई धोका दिइस्’, ‘मेरो भाग्यमा तैँ रैछेस्’ या ‘तेरो भाग्यमा मै रहिछु’, तँ निष्ठुरी, तँ अपराधी’ भन्ने बाहेक कुनै गीत सुन्नु भएको छ ? कसको गीतमा के सन्देश हुन्छ भनेर कुनै खोज्ने कमिटी छ ? यदि टोली भएको भए श्रीकृष्णको गीतमा चाहिँ यो हुँदो रहेछ भनेर पक्कै पनि भन्थे । कुनै दिन टोली गठन भयो भने पक्कै पनि भन्लान् कि ‘यो मान्छेको गीतमा पहिलादेखि नै यस्तो यस्तो कुरा हुने रहेछ भनेर ।’

गीत भनेको माया पिरतीका मात्र हुँदैनन्, दाजुभाइका गीत हुन्छन्, आमाबुवाका गीत हुन्छन्, प्रकृतिका गीत हुन्छन् । चर्चा बटुल्ने ‘तैँले मलाई छोडेर गइस्’ भन्ने किसिमका गीतहरूको आयु क्षणिक हुन्छ । गीत सङ्गीत भनेको हामीले देखेका कुरा जो ठिक छैनन्, त्यसलाई गीतको माध्यमबाट हामीले भन्यौ र केही मान्छेले सुनेर ‘ए राम्रो कुरा उठाएछ’ भन्ने हुने हो । गीतले समाजमा भएको विकृतिप्रति सचेतना जगाउने काम गर्नुपर्छ ।

‘बोके दारी !’ यो नाम पछाडिको कथा के छ?  नामको कारणले  समस्या भोग्नु परेको अनुभव भए सेयर गर्नुस् न । भोलि तपाईँको दाह्री नरहेको खण्डमा तपाईँ आफूलाई के भनेर चिनाउनुहुन्छ?

एल्बमको नाम के राख्ने के राख्ने भएको त्योबेला अलिअलि छुस्स दारी पनि थियो अनि ‘खायो ढिँडो हल्लियो हिँड्यो, पाल्यो बोके दारी’ बोलको टाइटल गीत पनि एल्बममा रहेकाले सोही नाम राखेको हुँ । खासै केही कथा भने छैन । यो नामले केही समस्या भोग्नु परेको छैन । दारी नरहेको खण्डमा पनि बोके दारी भनेको श्रीकृष्ण लुइँटेल हो भनेर धेरैले चिनिसक्नु भएकाले सोही नामले चिन्नु होला । कृतिहरू क्रिएसनहरूले असर गर्ने हो, तिनीहरू नै नभए गाह्रो होला, दारी नभएर के गाह्रो होला र?

यति लामो समयदेखि निरन्तर सिर्जनामा लागिरहनु भएको छ, निरन्तरताको लागि के कुराले प्रोत्साहन गरिरहेको छ?

लागिरहनेको लागि प्रोत्साहन भनेको ‘मेरो क्षेत्रै यही हो, मैले यही क्षेत्रमा केही गर्नु पर्छ’ भन्ने भावना नै हो । र, जे जति मैले कमाएको लोकप्रियता छ, त्यो मेरै गीतको कारणले हो । मैले यो निरन्तर गरिरहनुपर्छ किनभने मेरो अर्को कुनै उपाय छैन । किराना पसल छैन, डेरी छैन, साइकल पसल छैन । केही पनि छैन । मेरो सबै थोक गीत नै भएकाले म सक्रिय रहनुपर्छ भन्ने ऊर्जाबोध भएको छ । बिचमा भड्किएर गोरु बेच्न हटिया जान्छु, सागसब्जी बेच्न थाल्छु भन्यो भने यता पनि हुँदैन उता पनि हुँदैन । आफ्नो कामको जिम्मेवारीबोधले पनि हो ।

तपाईँले हास्यव्यङ्ग्य सम्बन्धी के कति खोज अनुसन्धान गर्नुभएको छ? आउने पिँढीलाई यसमा लाग्नुपर्ने के कारण देखाउन सक्नु हुन्छ?

अनुसन्धान खोज त केही गरिएको छैन तर आफ्ना गीतका लागि भने एकदम सचेत रहन्छु, अनुसन्धान गरेर, होमवर्क गरेर उक्त कुरा सही गलत रहेको पत्ता लगाएर मात्र शब्द प्रयोग गर्छु । भोलि कुनै कुराले लाञ्छना नलागोस् भन्ने कुरामा म सजग रहन्छु । समाजमा केही गर्ने हो, समाजमा भएका र समाजमा रहने व्यक्तिहरूबिच भएका थिचोमिचो/विसङ्गतिका कुरालाई हास्यव्यङ्ग्य गीतका माध्यमले उठाउन सकिन्छ भने सुन्ने मान्छे पनि रिसाउँदैन, सही तरिकाले सुन्छ । सिधै तैँले यसो गरिस् भन्नु र गीतको माध्यमबाट भन्नुमा फरक पर्छ । ज्ञान पनि हुन्छ । यही नै यता लग्नुपर्ने प्रमुख कारण देखाउँछु म ।  

यो क्षेत्रमा लाग्दाको सबैभन्दा पीडाको क्षण कुन हो तपाईँको? के कुराले बढी दुख दिएको छ?

त्यस्तो केही छैन । दु:ख के कुरालाई मान्ने भन्ने कुरा पनि हुन्छ । कामलाई नै दु:ख मानेर पनि हुँदैन, न त आफ्नो दिनचर्यालाई मानेर हुन्छ ।

हास्यव्यङ्ग्यको अरू क्षेत्र स्ट्यान्ड अप कमेडी लगायतका अरू कुराले राम्रै लोकप्रियता कमाई रहँदा गीत चाहिँ किन कम चलेको होला?

अहिले युट्युब धेरै खुलेका छन्, कसैले स्ट्यान्ड अप कमेडी कसैले के चलाइरहनू भएको छ । फुलबुट्टा भरिएका छन् युट्युबका भित्ताहरूमा । धेरै थरिका मान्छेमा धेरै थरिका विचार र स्वाद छन् । तर ती कुनै कुराले हामीलाई असर गर्दैन हामी लागिरहन्छौँ । समय फेरिनेमा आशावादी छु । याद गर्ने मान्छेले याद गरिरहेका हुन्छन् । बजारमा धेरै चिज हुन्छन्, एउटा पसलबाट अर्को ठाउँमा राम्रो दिन्छ रे भनेर मान्छेहरू त्यता लाग्छन् । तर, चिन्ने मान्छे खोजी खोजी आउँछन् ।

समाजमा भएका स-साना कुरालाई केलाउनु हुन्छ, पछिल्लो गीत ‘एक्का ट्रायल’मा पनि मान्छे मरेको घरमा तास खेल्ने परम्परा माथि व्यङ्ग्य गर्नुभएको छ, अब आगामी दिनमा दर्शक श्रोतामाझ कस्तो कोसेली ल्याउँदै हुनुहुन्छ?

अब महिना दिनभित्र सन्देश मूलक एउटा कोसेली आउँदैछ । हामीले गाउँघरमा देखिरहेका, घटिरहेका आपराधिक घट्नासँग सम्बन्धित सो कोसेली ज्ञानवर्धक पनि रहनेछ । उक्त गीतको बोल ‘कान तान्दे’ रहेको छ ।

सम्बन्धित समाचार