शुक्रबार , जेठ ८, २०८३

संङ्कुचनले राष्ट्रियता झल्कन्छ र ?

विश्वका हरेक नागरिकले आफ्नु राष्ट्र र राष्ट्र भाषालाई देशको मान र पहिचान बनाएका छन् । तर, नेपालमा जननिर्वाचित भएपछि पदबहाली र शपथग्रहणमा राष्ट्र भाषाप्रति उपेक्षा र अविश्वास गरेको कुराले त्यो समुदायलाई हेलाहोचो र अपमान गरेको देखियो ।

image

आजकाल मानिसहरूले राष्ट्र र राष्ट्रियताको विषयमा चर्चा गरेको सुन्दा मन चसक्क दुख्ने गर्छ । आफू र अपनत्व बुझाउने भूगोलको बारेमा पनि हामी एकमत हुन सकिरहेका छैनौँ । यस्तो  दरिद्रता मानसिकताले कसरी देश बनाउन सकिन्छ ? सम्झँदा मनै खुम्चिएर आउँछ ।

राष्ट्र शब्दको परिभाषा नेपाली बृहत् शब्दकोशले यसरी गरिदिएको छ । राष्ट्रको अर्थ ‘जनता, सरकार तथा सार्वभौमसत्ता सम्पन्न कुनै देश, मुलुक, देशमा भएको संस्कृति र अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक, जनता सहितको भूगोल’लाई जनाएको छ । अक्सफोर्ड एड्भान्स्ड लर्नर्स डिक्सनरीले राष्ट्रको अर्थ ‘साझा भाषा, संस्कृति र इतिहास भएका मानिसको समूहसँग जोडिएको  भूगोललाई एउटा देश मानिन्छ । जुन, एउटा सरकारअन्तर्गत निश्चित भूगोलमा बसोबास गर्ने मुलुकका सम्पूर्ण जनता’ भनेर लगाइएको छ।

राष्ट्र भनेको देशमात्रै होइन, राष्ट्रको संविधान, नियम-कानुन, सरकार, अदालत, संवैधानिक अङ्गहरू, सुरक्षा व्यवस्था, शिक्षालयहरू, अस्पताल, देशको भूगोल, खेतबारी, नहर-कुलो नदी, खोला, पहाड, पुल, देशको व्यापार, उद्योग, कलकारखाना, पशुपतिनाथ, स्वयम्भू, मुक्तिनाथ, खप्तड, जनकपुर, लुम्बिनी, निकुञ्जहरू; यहाँका नागरिकको सबै जातीय, क्षेत्रीय, लैङ्गिक समूह र ती समूहले मान्ने धर्म जस्तै: हिन्दू, बौद्ध, इस्लाम, क्रिश्चियन पनि राष्ट्र नै हो ।

राष्ट्र निर्माणको सन्दर्भमा नीति बनाउने, नेतृत्व गर्ने, सङ्घर्ष गर्ने, बलिदान हुने जस्तै: पृथ्वीनारायण शाह, कालु पाण्डे, झागल गुरुङ, बिसे नगर्ची, भानुभक्त, पारिजात, शैव, बुद्ध, कौशिक, नेवारी र मिथिला सभ्यता र संस्कृति पनि हाम्रो  राष्ट्रको पहिचान हो । हामीले मान्ने गरेका राम नवमी, कृष्णाष्टमी, तीज, पञ्चमी, दसैँ–तिहार, ल्होसार, इद, क्रिसमस, लाखे नाच, देउडा नाच, विभिन्न जाति, भाषा र संस्कृति पनि राष्ट्र चिन्ने पहिचान हुन् । तिनीलाई प्रतिनिधित्व गराउन र जनता चिनाउन  बनेको देशको मुल कानुन ७२ को संविधान र त्यो भन्दा अघिका संविधानहरू पनि हाम्रो पहिचान हो ।

‘राष्ट्र’ शब्दको उत्पत्ति ल्याटिन भाषाको नेसियोबाट भएको रहेछ । यसको अर्थ- जन्म हुँदो रहेछ । मूलतः राष्ट्रको अर्थ मानव समुदाय वा सांस्कृतिक तथा जातीय एकाइ भन्ने लाग्छ ।  साझा भाषा, संस्कृति, इतिहास, आर्थिक जीवन पद्धति र मनोविज्ञानका साथै साझा भूगोल पनि हुन्छ भन्ने रहेछ । तर सार्वभौमसत्ता, सरकार, सेना, प्रहरी आदि त्यसमा उल्लेख पाइन्न । राज्य विशेषताभित्र  एउटा राजनीतिक, प्रशासनिक र भूराजनीतिक एकाइ रहन्छ भनिएको छ । जहाँ जनताका साथै राज्यसत्ता, सरकार, सेना, प्रहरी, अड्डा–अदालत पनि जोडिन्छन् । देश  भनेको मूलतः भूगोल हो, जहाँ मानव समुदाय वा राज्य र सार्वभौमसत्ता  हुन्छ ।

वास्तवमा राष्ट्रको अवधारणाको सुरुवात पश्चिमी देशहरूबाट भएको हो । राष्ट्र (नेसन) वा समुदाय (त्यहाँ जाति भन्ने हुँदैन) वा राज्य जे भने पनि एउटै बुझिन्थ्यो ।  उदाहरणार्थ, स्कटल्यान्ड भन्दा स्कटवासी बुझिन्थ्यो । स्कटवासी भन्दा स्कटल्यान्ड बुझिन्थ्यो । त्यहाँ साझा धर्म, भाषा, संस्कृति, समान जीवन पद्धति भएको एउटै समुदाय मात्र बसोबास गर्थ्यो । अर्थात्, त्यो देश एकल राष्ट्रिय देश थियो ।

नेपाल, भारतजस्ता देशका सन्दर्भ केही फरक छन् । नेपाल भन्दा नेपाली, नेपाली भन्दा नेपाल र भारत भन्दा भारतीय र भारतीय भन्दा भारत भन्ने त यहाँ पनि बुझिन्छ । तर, राष्ट्र र राष्ट्रियताको चर्चा र पदभारको जिम्मा लिने विषय चाहिँ यहाँभित्रको कुनै एउटा मात्र जाति/समुदाय या व्यक्तिको हुँदै हुँदैन । त्यसो गर्नु उच्च राष्ट्रियता पटक्कै होइन । एउटा जाति वा समुदाय विशेषको नाम होइन । समग्र नगरबासी/देशवासीको समूह हो ।

विश्वका हरेक नागरिकले आफ्नु राष्ट्र र राष्ट्र भाषालाई देशको मान र पहिचान बनाएका छन् । तर, नेपालमा जननिर्वाचित भएपछि पदबहाली र शपथग्रहणमा राष्ट्र भाषाप्रति उपेक्षा र अविश्वास गरेको कुराले त्यो समुदायलाई हेलाहोचो र अपमान गरेको  देखियो । यस्तो संङकुचनले देश बनाउने कि आफ्नु समुदाय/ वंशको हित गर्ने ? शंका लाग्न थाल्यो । दलीय व्यवस्थामा यस्ता विषयमा दलहरू गम्भीर हुनुपर्ने हो । तर, सम्बन्धित दलको राष्ट्रियता सम्बन्धि नीति पनि बदलिएछ जस्तो लाग्यो ।

( नेकपा एमालेको राष्ट्रियता सम्बन्धि नीति बदलिएछ । कामनपा उप- प्रमुखको हिजोको सपथग्रहण )

Tags:

सम्बन्धित समाचार