'बालविवाह गर्न बाध्य बालिकाहरू सबै मानव अधिकारको उल्लङ्घनमा परेका गर्भवतीहरू हुन्' भन्न हामी सकिरहेका छैनौँ । विकासोन्मुख देशहरूमा १० किशोर-किशोरीहरू मध्ये ९ जनाको जन्म बाल विवाह र यौनजन्य मिलनका कारण हुने गरेको देखिन्छ ।
विकासोन्मुख विश्वका धेरै देशहरूमा किशोरावस्थामा गर्भधारणको गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको देखिन्छ । यस्तो गर्भधारणले किशोर किशोरीहरूको स्वास्थ्य, शिक्षा र आर्थिक सम्भावनाहरूमा चुनौती थपिएको देखिन्छ । कानुनी व्यवस्था भएको उमेर नपुगि विवाह गर्नु र गर्भाधारण गर्नु बालपनमा हुने गर्भाधारण हो । यस्तो गर्भाधारण र मातृत्वले बालविवाहलाई प्रोत्साहन गर्छ ।
किशोरावस्थाको गर्भधारणको प्रमुख माध्यम विवाह र यौनसम्बन्धि धारण/बुझाइमा राज्यले स्वास्थ्य र शिक्षा सम्बन्धि जीवनोपयोगी र समयसापेक्ष नयाँ धारण बनाउन नसक्नु नै नीतिगत दृष्टिकोणको खालीपन हो । यो राज्यको नीतिगत समस्या पनि हो । यस्तो दृष्टिकोणको खालीपनको प्रभाव क्षेत्रमा दक्षिण एसिया र केही अफ्रिकन देशका बालिकाहरू परेको देखिन्छ ।
किशोरावस्थामा हुने गर्भाधारण अन्त्य गर्न अभिभावकहरूले केटीहरूको दैनिक व्यवहारमा ध्यान दिनु पर्दछ साथै, किशोरावस्था चुनौतीपूर्ण अवस्था र उमेर हो भनेर थाहा पाउनै पर्छ । त्यसपछि किशोरावस्थामा हुने गर्भधारण, गर्भावस्थाका आधारभूत कारणहरूलाई केलाउनु पर्दछ।
यस्तो विषय सम्बन्धित मुलुकको लैङ्गिक असमानता, गरिबी, यौन हिंसा, सामाजिक दबाब, नकारात्मक मनोवृत्तिले समुदाय, महिला र केटीहरूलाई कसरी प्रभाव पारेको छ ? यस्ता सामाजिक र आर्थिक विषयको प्रकृति र प्रवृत्तिहरू पहिचान गरी छुट्याउन सक्नुपर्दछ । यो कार्य राज्यको हो । राज्यले यी मुद्दासँग काम गर्ने संघसंस्थाहरूसँग समन्वय गरी सूक्ष्म योजना बनाई कार्य सम्पन्न गर्नुपर्ने र दायित्व कसको कति छ ? कसरी कार्यान्वयन गर्ने भनेर निर्देशन या समन्वय गर्नु पर्ने हो । तर, यहाँ यसरी मुद्दा पहिचान गर्ने र समन्वय गर्ने प्रचलनको विकास भइसकेको छैन ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसमुदायमा विवाहको विषयमा निश्चित बनिबनाउ धारण छ । त्यसभित्र जोडिएका केही विशेषताहरू सांस्कृतिक, आर्थिक ढाँचाहरूसँग जोडिएका छन् । यी आर्थिक सामाजिक धारण र संवेदनशीलता बुझ्न फरक दृष्टिकोण र बुझाइ चाहिन्छ । विकसित देशहरूमा यस्तो समस्या हल गर्न ‘बाल वकालत केन्द्र’ व्यवस्था गरिएको हुन्छ । यस्ता मुद्दाको सुनुवाइको समयमा बालबालिकाहरूलाई ‘बाल वकालत केन्द्र’मा ल्याई बालबालिकामाथि भएको यौनजन्य दुर्व्यवहार जाँच, सुनुवाइ र समाधान गर्न सम्बन्धित क्षेत्रकै विशेषज्ञ राखी बालबालिका र अभिभावकहरू सहित मनोवैज्ञानिक परामर्श गरिन्छ/गर्न लगाइन्छ ।
गाउँमा धेरै बच्चाहरू विद्यालय जान्दैनन्, जान बाध्य परिँदैन । गइहाले भने पनि उनीहरूले प्राथमिक विद्यालय शिक्षा पूरा गर्नु अघि नै छाड्छन् । बालिकाहरू विद्यालयमा उपस्थिति नहुनु/हुन नसक्नु भनेको यौनिक जोखिममा पर्नु हो । त्यो औपचारिक वैवाहिक प्रक्रिया होस् या अनौपचारिक यौनिक सम्बन्धको कारण गर्भावस्थामा पुग्ने गर्दछन् । यस्तो अवस्थामा अधिकांश जनसङ्ख्या पढ्न वा लेख्न असक्षम हुन्छन् ।यसको प्रमुख कारण शिक्षाको आवश्यकताको बारेमा अज्ञानता र गाउँमा कम नगद आम्दानी भएको कारण शिक्षा आर्जन गर्ने विषयमा जोडिन नसक्नु नै हो ।
शिक्षाको चेतना यस्तो चेतना हो, जसको महत्त्व बुझेकाले आफ्ना छोराछोरीको शिक्षाको लागि अनेकौँ प्रयासहरू गर्छन् । यस्तो बेला उनीहरूलाई पर्ने कठिनाइ विद्यालय शूल्क, पोसाक र शैक्षिक क्रियाकलापसँग जोडिएका सामग्रीहरू उपलब्ध हुन या गराउन नसक्नु नै हो । यस्तो बेला ती र त्यस्ता बालबालिकाका अभिभावकलाई आफूले गर्ने काम तरकारी उब्जाउने, पशुपालन वा अन्य व्यापार/व्यवसाय गर्ने जस्ता आम्दानी गर्ने गतिविधि सुरु गर्नका लागि श्रोतको अभाव हुन्छ । श्रोतको अभाव र कठिनाइले तिनै बालबालिकालाई काममा लगाउन बाध्य पारिन्छ । त्यो बाध्यताले व्यवहार सक्ने नाममा बालविवाह गर्ने वातावरण बन्छ । यस्तो बेला राज्यले उनीहरूलाई उनीहरूको कृषि कार्य या व्यवसायको लागि सानो रकम सहयोग गर्ने, कामको निरन्तर अनुगमन र आवश्यक परामर्श दिने, सहयोगी साथ जस्तो कार्य गर्नुपर्ने हुन्छ ।यस्तो गर्न सक्यो भने ती परिवारहरूले आफ्नो सानो कृषि व्यवसाय या व्यापार व्यवस्थापन गर्न सक्छ, जसले उनीहरूलाई आफ्ना छोराछोरीको विद्यालय शिक्षाको लागि वित्तपोषण गर्न सहयोग गर्दछ ।
बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न तथा महिला, बालबालिकाको अधिकार, असमानता र गरिबीको अन्त्यको लागि ग्रामीण व्यवसायजन्य नीतिहरू बदल्नु पर्दछ । नयाँ प्रविधिहरू अँगाल्न र विश्वव्यापी बजारहरूमा पहुँच वृद्धि गर्न विशेष सेवा र सुविधाहरूको नयाँ तरिकाले व्यवस्थापन र परिचालन गर्न विशेष कार्यक्रम ल्याउनु पर्दछ । यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रमा स्व:रोजगार र रोजगारी सृजना गर्दछ ।
उत्पादित वस्तुको निर्यातको व्यवस्थापनले ग्रामीण बजारको विश्वव्यापी करण गर्न सजिलो बनाउँछ र नवीन पुँजीको श्रोत निर्माण हुन्छ । यो नयाँ तथा ग्रामीण भूगोलका मानिसहरूका लागि उदाहरणीय कार्य बन्दछ । यस्तो कार्यले ग्रामीण समुदायलाई गाउँमै बस्न, काम गर्न, व्यवसाय चलाउन, परिवार सुरु गर्न र बुढ्यौली उमेरको व्यवस्थापन गर्न सजिलो बनाउँछ । विद्यालय र स्वास्थ्य सेवा जस्ता सेवाहरूको गुणस्तर, पहुँच, प्राकृतिक स्रोतहरू, श्रोतहरूको व्यवस्थापन, सामाजिक विश्वास र सामुदायिक नेतृत्व स्वीकार गर्दै अगाडि बढ्न वातावरण बन्दछ ।
ग्रामीण क्षेत्रहरूमा नयाँ र उदीयमान प्रविधिहरूको अधिकतम प्रयोग गर्दै, ग्रामीण कामको नवीनता बढाउने, व्यवसाय, रोजगारीका अवसरहरू सिर्जना गर्दै जनसांख्यिकीय चुनौतीहरूलाई सम्बोधन गर्ने र ग्रामीण समुदायहरू (युवा, महिला, ज्येष्ठ नागरिक, फरक क्षमता), जो विकासको मूलधार बाहिर छन्, तिनका लागि आकर्षण हुने कार्यक्रमको सुनिश्चितता गरे ग्रामीण क्षेत्रहरू बस्न लायक स्थान बनिरहन्थे । शहरी क्षेत्रमा हुने कार्बनको उत्सर्जन र कार्बन अर्थतन्त्रको उत्सर्जनको न्यूनीकरणमा रूपान्तरण गर्न सकिन्थ्यो । यस्तो कार्यले ग्रामीण रोजगारी सिर्जना गरी स्वास्थ्य जीवन जिउने परम्पराको शुभारम्भ हुने अवसर मिल्थ्यो । साथसाथै, ग्रामीण क्षेत्रमा मानिसहरूलाई विश्वव्यापीकरण, जलवायु परिवर्तन, व्यापारिक ढाँचा परिवर्तन र बढ्दो असमानताका चुनौतीहरूको सामना गर्न मद्दत गर्न सहयोग गर्थ्यो ।
विकासोन्मुख भूगोलका ग्रामीण क्षेत्रहरूका लागि साना-साना तर, विशेष प्रकारका नीतिहरू बनाउने, छलफल गर्ने, कार्यान्वयन सजिलो बनाउने, रोजगारी सृजना गर्ने, पारिवारिक आर्थिक वृद्धिको अवस्था बन्ने र सेवा प्रवाहको लागि ग्रामीण नवप्रवर्तनका अवसरहरूको बारेमा व्यापक छलफल गरी बनेका कार्यक्रमको अधिकतम उपयोग कसरी गर्ने भन्नेबारे सरोकारवालाहरूको दायरालाई बढाइ एकसाथ छलफल र कार्य सम्पन्न गर्न सक्ने बनाउनु पर्दछ ।
बालिका गर्भाधारण र मानवअधिकार
प्रारम्भिक गर्भावस्था र मातृत्वको विषय मानव अधिकारको मुद्दाहरूसँग जोडिएको विषय हो । जस्तै: आफूखुसी या कसैको दबाबमा विद्यालय छोड्न बाध्य भएकी बालिका विद्यालय छोडेको केही समयपश्चात् गर्भवती हुनु भनेको जोखिममा पर्नु हो । योजना अवधारणाको विकास विद्यालयसँग जोडिएका सबैले गम्भीररूपले बुझ्नु पर्दछ । यसरी बालिकालाई शिक्षाको अधिकारबाट वञ्चित गर्नु, हुनु र गरिनुको पछि विभिन्न उद्देश्य र पारिवारिक बाध्यताहरू जोडिएको हुनसक्छ । यसले ऊ र उसको परिवारको सामाजिक आर्थिक प्रतिष्ठामा ठेस लागेको हुनसक्छ । यस्तो बेलामा विभिन्न सम्बन्ध र सम्पर्कबाट हुने यौन सम्बन्धको अवस्थामा गर्भनिरोधक वा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारीको नभएको अवस्था या पहुँच बाहिर भएको/थाहा भए पनि उपयोग गर्न संकोच लाग्ने/थाहा नै नभएको पनि हुनसक्छ ।
अझै, समाजमा यौन र प्रजननसँग जोडिएका विषयहरू छलफल हुन सकेका छैनन्/हुँदैनन् । कसैले छलफल गरिहाल्यो भने पनि छलफल गर्ने व्यक्ति छाडा कहलिन्छ । विद्यालयमा दिइने यौनशिक्षा पढाउनेले छिटोछिटो, एकै सासमा पढेर पढ्नेले राताराता गाला बनाएर, शिर नुहाएर सुनेर सक्ने परम्परा अझै छ । खास घरपरिवार र विद्यालयमा बालिकालाई यौनशिक्षा दिइँदैन/दिनु आवश्यक ठानिँदैन र बालिकालाई स्वास्थ्य सूचनाको अधिकारबाट वञ्चित गरिन्छ । यही कारण प्रजननको लागि उमेर नपुगेका, कमजोर शारीरिक अवस्था भएका बालिकाहरू गर्भवती हुने सम्भावना बढी हुन्छ।
विश्वका उच्च आय भएका देशहरू सहित गरिब, कम शिक्षित वा ग्रामीण क्षेत्रमा बस्ने केटीहरू धनी, शिक्षित सहरियाहरू भन्दा बढी गर्भवती हुने जोखिममा देखिन्छन् । यो भनेको विकासोन्मुख देश हुन भनेको हो । विभिन्न अनुसन्धानहरूको प्रतिवेदनको अध्ययन गर्दा विश्वको ९५ प्रतिशत किशोर किशोरीहरू (१५-१९ वर्षका केटीहरू) कम र मध्यम आय भएका देशहरूमा जन्मिन्छन् । प्रत्येक वर्ष, यो उमेर समूहका करिब ३० लाख केटीहरूले आफ्नो जीवन र स्वास्थ्यलाई जोखिममा राखेर असुरक्षित गर्भपतन गर्ने गर्छन् । यिनीहरूसँग जीवन कस्तो जिउने भन्ने धारण र छनोटको अवसरहरू हुँदैनन् । यस्तो अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवामा ज्ञान नभएका वा पहुँच नभएका किशोरीहरू गर्भवती हुने सम्भावना बढी हुन्छ।
‘बालविवाह गर्न बाध्य बालिकाहरू सबै मानव अधिकारको उल्लङ्घनमा परेका गर्भवतीहरू हुन्’ भन्न हामी सकिरहेका छैनौँ । विकासोन्मुख देशहरूमा १० किशोर-किशोरीहरू मध्ये ९ जनाको जन्म बाल विवाह र यौनजन्य मिलनका कारण हुने गरेको देखिन्छ ।
स्वास्थ्य परिणामहरू सम्बन्धि प्रतिवेदन पढ्दा
किशोरी अवस्थाको गर्भावस्था केटीहरूको जीवनको विकासको लागि विनाशकारी हुन सक्छ । यो उमेरमा धेरै किशोर-किशोरीहरू गर्भावस्था वा प्रसवको लागि शारीरिक रूपमा तयार भएका हुन्नन । यो नै शारीरिक जटिलता र जोखिम हो । अझ गर्भवती हुने किशोर-किशोरीहरू न्यून आय भएका घरपरिवारका रहेछन् भने उनीहरूको शरीरमा पोषणको कमी हुन्छ, जसले उनीहरूको गर्भावस्था र बच्चा जन्माउने शक्तिको जोखिमलाई अझै बढाउँछ । गर्भावस्था-गर्भाधारण गर्ने र हुने अवस्था र बच्चा जन्माउने कारणले गर्दा बर्सेनि दसौँ हजार किशोरहरूको मृत्यु भइरहेको तथ्य तथ्याङ्कले देखाउँछ ।
विश्वभर १५-१९ वर्षका किशोर किशोरीहरूमा मृत्युको प्रमुख कारण यो उमेरमा गर्भधारण र बच्चा जन्माउनु पर्ने बाध्यता र त्यसपछिको आर्थिक कठिनाइ नै हो । किशोरावस्थामा पुग्ने बित्तिकै गर्भवती भएमा स्वास्थ्य झनै समस्या बढ्ने गर्छ । यो कुराको ज्ञान भएका अभिभावक र किशोरीहरू कति छन् ? तथ्याङ्क छैन । कम र मध्यम आय भएका देशहरूमा १५ वर्ष मुनिका केटीहरूको लागि मातृ मृत्युको जोखिम बीस वर्षका महिलाहरूको तुलनामा बढी छ । यी केटीहरूले स्वास्थ्य जोखिमहरू जस्तै प्रसूति फिस्टुला जस्ता अनेकौँ रोगहरूको सिकार हुनु परेको तथ्याङ्क पनि देखिन्छ ।
शिक्षा र आम्दानीमा प्रत्यक्ष असर पर्ने उमेर पनि यही हो । किशोरावस्थामा हुने गर्भधारणले केटीहरूको शिक्षा र आम्दानी गर्ने क्षमतामा ठुलो असर पार्छ । गर्भवती भएका धेरै केटीहरूलाई विद्यालय छोड्न दबाब दिइन्छ वा बाध्य पारिन्छ । विद्यालय नजाने या छोडेका केटीहरू उमेरगत विशेषता, सामाजिक सम्पर्क र सम्बन्धको कारण गर्भवती हुने सम्भावना बढी हुन्छ । विद्यालय छोड्दा केटीको भविष्यको आर्थिक सम्भावना खतरामा पर्छ साथै, जीवनका अन्य अवसरहरूबाट वञ्चित हुने अवस्था बन्छ ।
विद्यालय जाने र नियमित हुने केटीहरू जागिर, जीविकोपार्जन र जीवनको अन्य सङ्क्रमणका लागि राम्रोसँग तयार हुन्छन् । शिक्षाले उनीहरूको घरपरिवार र समुदायमा हैसियत बढाउँछ । यस्तो कुराले उनीहरूको जीवनमा असर पार्ने निर्णयहरू हुन रोक लाग्छ । शिक्षित किशोरीहरूको बालविवाह हुने सम्भावना न्यून हुन्छ । उनीहरूले बच्चा जन्माउन पनि ढिलाइ गर्न सक्छन् । भविष्यका उनीहरूका बच्चाहरूको शिक्षा र स्वास्थ्यको लागि योजना बनाउन सक्ने हुन्छन् ।
बालबालिकाको सहभागिता र पूर्ण विकासको लागि सहयोग र समर्थन
बालबालिकालाई जन्मदेखि नै सहभागिताको अधिकार दिनुपर्दछ । उनीहरूले कसरी, कहिले, कहाँ र कससँग यी अधिकारहरू व्यक्त गर्नुपर्दछ ? सकाउनु र सिक्नु आवश्यक छ । बालबालिकाको सामाजिक योग्यतामा भएको अनुसन्धानले सामान्यतया उनीहरूको क्षमतालाई घर, समुदाय र विद्यालयमा नै कम आँकलन गरिएको देखाएको छ । उनीहरूले उनीहरूका हरेक आवश्यकताहरू छनोट गर्न सक्छन् ! विचार व्यक्त गर्न सक्छन् र कम उमेरमा सान्दर्भिक जानकारी बुझ्न सक्छन् साथै दीर्घकालीन, व्यापक क्षेत्रको आवश्यकता जान्न जरुरी ठानिरहेका हुन सक्छन् । यस्तो जानकारी विद्यालय सुरु गर्नुअघि नै देखि थाहा पाउन जरुरी हुन्छ ।
यस्तो गर्नु लोकतान्त्रिक सिद्धान्त र अभ्यासहरूभित्रको रमाइलो सिकाइ हो भनेर बालबालिका, अभिभावक र शिक्षक सबैले बुझ्न, बुझाउन अति आवश्यक छ । तीन/चार वर्षको उमेरदेखि बच्चाहरूको लागि आधारभूत लोकतान्त्रिक निर्णय सिद्धान्तहरू स्थापित गर्ने धारण बसाउन सुरुवात गर्यौँ भने उनीहरू २० वर्षको हुँदासम्ममा समाजमा हुने गरेका हिंसा, बलात्कार, गरिबी र अनेकौँ प्रकारका असमानताको अन्त्यको चेतनाको विकास परिवारसम्म पुगिसकेको हुन्छ ।
साना केटाकेटीहरूको औपचारिक र अनौपचारिक दुवै सिकाइ सकारात्मक, सहभागितामूलक र जिम्मेवार बनाउन सक्नुपर्छ । यो नै उनीहरूको जीवनको असल सिकाइको सार्थकता हो । नत्र बच्चाहरू १० वर्षको पुग्दासम्म अभिभावक बालबालिकाको आवश्यकता र आवश्यकताको पूर्तिसँग जोडिएर आफैँभित्र हराउन पर्ने हुनसक्छ । अभिभावकलाई बालबालिका उन्नत तरीकाले शिक्षा लिन सक्ने (प्राथमिक /माध्यमिक विद्यालयहरूमा ) प्रणालीहरूमा उनीहरूको व्यापारसँग प्रयोग हुँदैनन् भन्ने खतरा पनि घट्छ ।
पूर्व-विद्यालय शिक्षकहरूले सामान्यतया बच्चाहरूको चौतर्फी विकासको बारेमा सिक्न र सिकाउन जोड दिएका हुन्छन्/हुनुपर्दछ । यो प्रक्रिया माध्यमिक विद्यालयका शिक्षकहरूले सिकाउने विषयहरूको र उनीहरूलाई कसरी सिकाउने भन्ने बारे धारण बनाउन र थप वातावरण बनाउन सजिलो हुने प्रक्रिया पनि हो ।
उत्पीडन, पीछा र धम्कीबाट पीडितहरूलाई ग्रामीण परिवेशले पार्ने प्रभाव
घरेलु हिंसाका घटनाहरूमा नागरिक सुरक्षा धारणले ग्रामीण र शहरी क्षेत्र भनेर विभाजन गरेको छ । यो नै असमानता अथवा विभेद हो । यस्तो विभेद हटाउन सक्यो भने भविष्यमा ग्रामीण महिलाहरूलाई उनीहरूको सहरी समकक्षीहरू भन्दा उन्नत बनाउन सकिन्छ । यस्तो विभेदभित्र अहिले र भविष्यमा हुने उत्पीडन वा हानिको डर हुने सम्भावना बढी हुन्छ । त्यसैले अब फरकधार र धारण बनाउन सक्नुपर्छ । भौगोलिक पृथकताले सामुदायिक सेवाहरूको अभाव, सुरक्षा व्यवस्थामा असहजता हुने अवस्था रहेको छ । यसको सम्बोधन गर्न सबै लागि पर्नुपर्छ ।
शहरी महिलाहरू र गाउँले महिलाहरूबिच दुर्व्यवहार सहने चरित्र पनि फरक हुनसक्छ । यही कारण ग्रामीण क्षेत्रमा लामो समयसम्म यौनजन्य दुर्व्यवहार सिकार हुने खतरा बढी हुनसक्छ ।त्यो भौगोलिक विकटताको कारण किशोरीहरू चुनौतीमा पर्ने गर्दछन् ।