स्वतःस्फूर्त रूपमा सुरु भएको यो आन्दोलनलाई तिमी गनाउँछौ ( You Stink ) भनेर नाम दिइयो । यो नाम राख्नुको पछाडिको कारण के थियो भए यसले फोहोरमैला सङ्कट र नेताहरूको भ्रष्टाचार बिचको सम्बन्ध लाई देखाउनु प्रस्ट पार्थियो ।
सन् २०१५ जुलाई महिनाको प्रचण्ड गर्मीमा मध्यपूर्वको प्यारिस भनिने लेबनानको राजधानी बेरुत पुरै फोहोर फाल्ने कन्टेनर जस्तै बनेको थियो । बेरुत सहर पुरै फोहोरको थुप्रोले पुरिँदै गएको थियो । बेरुतका निवासीहरूले खुला रूपले सास फेर्न पनि पाउन छोडेका थिए । शहरमा जताततै सडेको दुर्गन्ध व्याप्त थियो । नाक थुनेर मात्र बाहिर हिँड्न सकिन्थियो । यसको मुख्य कारण थियो बेरुतको फोहोर मैला व्यवस्थापन प्रणाली पुरै ठप्प भएको थियो ।
विश्वका अरू सहरको तुलनामा बेरुत सानै भए पनि यो त्यति सानो सहर पनि थिएन । लेबनानको आधा जनसङ्ख्या बेरुतमा बस्थियो । बेरुतको जनसङ्ख्या त्यसबेला ४० लाख जति थियो । त्यति ठुलो जनसङ्ख्याले उत्पादन गरेको फोहोर मैला व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण नै हुन्छ । बेरुतको फोहोरमैला लेबनानकै सबै भन्दा ठुलो ल्याण्डफिल साइटमा व्यवस्थापन गरिन्थियो । यो ल्याण्डफिल साइट नाइम सहरको छेउमा रहेको थियो । यो ल्याण्डफिल साइट पनि कुनै दीर्घकालीन समाधान थिएन । १९९७ मा बेरुतमा भएको यस्तै फोहोरमैला व्यवस्थापन सङ्कटको समाधान गर्न यो ल्यान्डफिल साइट उपयोगमा ल्याइएको थियो । यो साइट अस्थायी स्वरूपको थियो । यसको क्षमता जम्मा २० लाख टनको मात्र थियो । यो ल्यान्डफिल साइट जम्मा ६ वर्ष मात्र उपयोग गर्ने योजना थियो । जुन २००३ मा बन्द गर्नु पर्ने थियो । तर यो बन्द गर्नु पर्ने मितिलाई पर सार्दै सार्दै २०१५ को जुलाईसम्म पुर्याइयो । त्यस बेला सम्म नाइम ल्यान्फिल साइटमा एक करोड पचास लाख टन फोहोरमैला जम्मा भैसकेको थियो । अर्थात् निर्धारित क्षमता भन्दा ७ गुणा बढी ।

नाइम ल्यान्डफिल साइट आफ्नो क्षमता भन्दा बढी भरिए पछि त्यसको छेउछाउमा रहेका बस्तीहरूमा खपिनसक्नु दुर्गन्ध फैलिन थाल्यो । ती बस्तीका मानिसहरूमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू देखा पर्न थाले । २०१५ को जुलाई १७ को दिन सरकारले नाइम ल्यान्डफिल साइट बन्द गर्ने मिति तोकेको थियो । तर त्यो मितिमा पनि सरकारले यो ल्यान्डफिल साइट बन्द गर्न सकेन । किनकि सरकार सँग त्यसको विकल्प पनि थिएन । ल्याण्डफिल साइटमा बासिन्दाहरूले आजित भएर आन्दोलन सुरु गरे । आन्दोलनकारी मध्ये ४० जनाले धर्ना दिँदै सो साइट बन्द गरिदिए । संयोगवश त्यसै दिन बेरुतको फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सुक्लिन को करार पनि सकियो ।
बेरुतका बासिन्दाहरूले पहिले देखी नै सुक्लिन कम्पनीलाई आवश्यकता भन्दा बढी पैसा भुक्तान गरिएको र यो संस्था राजनीतिक प्रणाली सँग साठगाँठ गरेर संस्थागत भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै थिए । आफ्नो करार समाप्त भए पनि सुक्लिनले फोहोर उठाउन जारी राख्यो । तर केही दिनमै उसको फोहोर राख्ने अस्थायी डम्पिंग स्टेसन पनि भरियो । त्यसपछि यो संस्थाले पनि फोहोरमैला उठाउन असमर्थता जनाउँदै आफ्नो काम बन्द गरिदियो । त्यसपछि बेरुत सहर भरि फोहोरमैलाको डङ्गुर थुप्रिन थाल्यो । सहर पुरै दुर्गन्धमय भयो । मानिसहरू मास्क लगाएर सडकमा हिँड्न बाध्य हुन थाले । फोहोरमैला व्यवस्थापनको यो सङ्कट समाधान गर्न नसकेपछि बाध्य भएर आममानिसहरू सडकमा उत्रे । स्वतःस्फूर्त रूपमा सुरु भएको यो आन्दोलनलाई तिमी गनाउँछौ ( You Stink ) भनेर नाम दिइयो । यो नाम राख्नुको पछाडिको कारण के थियो भए यसले फोहोरमैला सङ्कट र नेताहरूको भ्रष्टाचार बिचको सम्बन्धलाई देखाउनु थियो । यु स्टिंक लाई अरबी भाषामा तलाएत् रिहातुकुम भनिन्छ । अरबी भाषा एकदम संवृद्ध भाषा छ । यसमा एउटा शब्दका एक भन्दा बढी अर्थ पनि लाग्ने गर्छन् । अरबी भाषामा भ्रष्टाचारलाई फसाद भनिन्छ । त्यस्तै खानेकुरा सडेपछि निस्किने दुर्गन्धलाई पनि फसाद नै भनिन्छ ।

यो आन्दोलनको रोचक र रमाइलो नामले पनि आम मानिसलाई यस प्रति आकर्षित गर्न थाल्यो । केही सचेत युवाहरूले सुरु गरेको यो आन्दोलनले बिस्तारै जनाअन्दोलनको रूप लिन थाल्यो । जुलाई २१ मा जम्मा २० जना यु स्टिंकको प्रदर्शनमा भेला भएका थिए भने अगस्त ८ मा ६ हजार जना भेला भएका थिए । त्यस्तै अगस्त २३ मा ४० हजार जना सहभागी थिए । यो आन्दोलनको मुख्य माग फोहोरमैला सङ्कटको समाधान नै थियो । मानिसहरूले वातावरण मैत्री हिसाबले फोहोरमैलाको दिगो समाधानको माग गरे । सरकारले यसलाई सुरुमा बल प्रयोग गरेर समाधान गर्न खोज्यो । हजारौँ आन्दोलनकारीहरू माथि सरकारले लाठी, टियर ग्यास र रबरको गोली चलायो । सयौँ घाइते भए । तर यो यु स्टिंक आन्दोलन झन् चर्कँदै गयो । सुरुमा फोहोरमैला व्यवस्थापनको माग लिएर सुरु भएको यो आन्दोलनले बिस्तारै भ्रष्ट नेताहरूको विरोधमा समेत आवाज उठाउन थाल्यो । यु स्टिंक आन्दोलनमा भ्रष्ट राजनीतिज्ञहरूको तस्बिर अङ्कित “केही फोहोरहरू पुनप्रयोग गरिनुहुँदैन” र “संसद्को कुडाकर्कट सफा गर” जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर आम मानिसहरू सडकमा उत्रेका थिए । सरकारले फोहोरमैला सङ्कटको अस्थायी समाधान निकाल्यो । बेरुतका सडकहरू बाट कुडाकर्कटको डङ्गुर हट्यो । बिस्तारै यु स्टिंक आन्दोलन पनि सिथिल हुँदै गयो । तर यो आन्दोलनले लेबनानको राजनीतिमा थुप्रिएको फोहोरहरू बारे जनतालाई सचेत गराउन सफल भयो ।

काठमान्डू पनि यति बेला फोहोरमैलाको पुरिन लागेको छ । काठमान्डूको सडकहरू फोहोरले रासले गर्दा हिँडिनसक्नु भएका छन् । काठमान्डूको फोहोर फ्याल्ने ल्याण्डफिल साइटहरू बन्चरे डाँडा र सिसिडोलमा स्थानीय बासिन्दाको नाममा लगातार अवरोध भइरहेको छ । यो अवरोधको मुख्य कारण प्रमुख राजनीतिक पार्टीहरू संलग्न रहेका छन् । काठमान्डूका नवनियुक्त्त स्वतन्त्र मेयर बालेन शाहलाई असफल बनाउन सबै पार्टीहरू लागिपरेको कुरा घाम जस्तै छर्लङ्ग छ । बालेन शाह यतिबेला चक्रव्युमा परेका अभिमन्यु जस्तै बनेका छन् । काठमाडौंको सडकमा थुप्रिएको फोहोर र त्यसमा गाँसिएको राजनीति कुन घिनलाग्दो छ त्यो छुट्टाउन सकिँदैन । काठमाडौको फोहोरमा करोडौंको खेल छ । यसमा राजनीतिक दलहरू प्रष्ट रूपमा लागि परेका छन् ।
अब उनको सामु केवल दुई विकल्प मात्र बाकी छन् । पहिलो विकल्प कुनै ठुलो पार्टीमा लाग्नु वा यो षड्यन्त्र विफल पार्न सङ्घर्ष गर्नु । अहिलेको फोहोरमैलाको समस्या समाधान गर्न बालेन शाहले धरानका मेयर हर्क साम्पाङ्गले गरे जस्तै काठमान्डूका जनतालाई जनसहभागिताको लागि आव्हान गर्नु पर्छ । बालेन शाहले काठमान्डूका जनता सहित आफै सडकमा उत्रेर फोहोर उठाउन थाल्नु पर्छ । यसरी उठाएको फोहोर ल्यान्डफिल साइटमा डम्प गर्ने कोसिस गर्नु पर्छ । यदि कुनै पार्टीले त्यो फोहोरलाई ल्याण्डफिल साइटमा विसर्जन गर्न अवरोध गर्ने पार्टीहरूका अफिस र नेताहरूको घर अगाडी थुपारी दिनु पर्छ । जनताको शक्तिको अगाडि कुनै षड्यन्त्रकारीको पनि केही धर चल्दैन ।