लामो समय कोरोना महामारीको चपेटामा परेर प्रदर्शन हुन नसकिरहेको नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट मञ्चन भइरहेको छ । नाटक बानेश्वरको थापा गाउँस्थित मण्डला थिएटरमा वैशाख २५ गतेसम्म मञ्चन हुनेछ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटकलाई सुरज सुवेदीले नाट्य रूपान्तरण गरेका हुन् । विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशन रहेको नाटकमा विमल सुवेदी, सृष्टि श्रेष्ठ, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना आदि कलाकारहरूको अभिनय रहेको छ ।
नाटक मञ्चन सुरु भएसँगै त्यसबारे अझ बुझ्न, त्यसका कुराहरू कोट्याउन मन लागिरहेको थियो । मनमा निर्देशक, सह-निर्देशक, नाट्य रूपान्तरक तथा केही कलाकारहरूलाई भेट्ने हुटहुटी चलिरहेको थियो । उनीहरूको अनुभव, भोगाई, दुखाई, हँसाई सुनेर अरूलाई सुनाऊ लागिरहेको थियो । जसका लागि मेरा गोडाहरू लगातार दुई दिनसम्म मण्डलातिर सोझिए र कानहरू तृप्त गर्ने मौका जुर्यो ।
पहिलो भेटमा म निर्देशक विमल सुवेदीसँग बसेँ र सोधेँ यस प्रकारका आफ्ना जिज्ञासाहरू ,
‘दृश्य’को भूमिकामा आफैँ हुनुहुन्छ, पात्र र निर्देशनको पाटोबारे थोरै बताउनुहोस् न !
दृश्यको भूमिकामा आउनु एउटा संयोग हो । योजना बनाएर आएको होइन । पहिल्यै मञ्चन हुनुपर्ने नाटकको लागि हामीले एउटा फ्रेम पहिल्यै बनाएका थियौँ । त्यसपछि सरेको हुनाले, नाटकको एउटा ढाँचा बनिसकेको र रिहर्सलहरू पनि भइसकेको हुनाले कास्टिंगको भाइले मलाई ‘तपाई नै गर्नु, तपाई सो पात्रसँग नजिक पनि हुनुहुन्छ’ भन्दा ‘हुन्छ’ भन्ने लागेको थियो । मलाई पनि काहीँ न काहीँ चाहिँ दृश्यको चित्रकला बाहेक मसँग उसको ८० प्रतिशत कुरा मिल्छ जस्तो लाग्यो । पछिल्लो समय सो पात्र म आफैँ हो कि भन्ने लागेर पनि ‘गरौँ न’ भन्ने भयो ।
निर्देशनतर्फको चुनौती ?
रह्यो, निर्देशनको पनि भूमिका निभाउनु परेकाले चुनौती थियो नै । पछिल्लो समय म निर्देशक र शिक्षकको रूपमा बढी सक्रिय रहेकाले अभिनयको पाटो अलिक असहज रहेछ भन्ने लाग्यो । म तपाईंलाई नढाँटी भन्छु, मैले यो नाटकमा निर्देशनभन्दा पनि अभिनयको लागि बढी सङ्घर्ष गरिरहनु परेको छ ।
नाटकमा भरपुर प्रप्सहरू युज्ड भएको पाइयो, अन्यत्र प्रप्सको प्रयोग छुटीरहँदा तपाईंले किन समेट्नुभयो ?
नाटकमा प्रप्सहरु धेरै छ किनभने यो नाटक शब्दभन्दा बढी दृश्य माध्यमबाट देखाइएकाले शब्दको संयोजन, दैनिक जीवनको संयोजनमा बढी काम गर्ने जमर्को गरेका छौं । पल्पसा क्याफेलाई सङ्गीतको संयोजनबाट प्रस्तुत गर्ने हाम्रो कोसिस पनि रहेको छ । रंगहरूका कुरा छन्, टेक्सचरका कुरा छन् । तारहरूको प्रयोग पनि गरिएको छ ।
क्रान्तिको रंग पनि रातो, प्रेमको रंग पनि रातो भएकाले त्यो चिजलाई सजगताकासाथ् पगाल्ने कोसिस गरेका छौँ । कतै त्यही रातो रंगलाई प्रेमतिर लागेका छौँ, कहिले त्यसैलाई युद्धसँग जोडेका छौँ । एउटै चिजलाई पनि अलगअलग तरिकाले चलाएका छौँ ।
नाटक भनेको हरेक चिजको सुस्पष्ट प्रसारण हो । हामीले प्रेम र युद्धसँग सम्बन्धित सामाग्रीहरूको संयोजनबाट हामीले यो नाटक प्रस्तुत गरेका छौँ । हामीले धेरै चिज भन्नु नपरोस्, नाटक हेरी राख्दा नै दर्शकहरूलाई त्यो समय, त्यो कालखण्ड अथवा त्यसबेला घटेका घटनाहरूको अनुभूति दिओस् भन्ने अभिलाषाले प्रप्सहरू प्रयोग गरेका हौँ । अन्यत्र पनि भइरहेकै छ, नभएको भन्ने होइन ।
पल्पसा क्याफेले दिन खोजेको कुरा के हो ?
पल्पसा क्याफेको दुई वटा कुरा छ । पहिलो कुरा के भने पल्पसा क्याफे एउटा फिक्सन हुँदाहुँदै पनि नेपालको एउटा निश्चित कालखण्डको दस्ताबेज हो । यस फिक्सनको भू-धरातल सो कालखण्डका मान्छेहरूले सजिलै बुझ्छन् । अर्को कुरा चाहिँ, नाटक राजनीतिक धारतिर मोडिन्छ, सँगसँगै प्रेमतर्फ पनि यसको ढल्काइ छ ।
नारायण दाइको यस उपन्यासलाई आजको वस्तुस्थितिमा बसेर विश्लेषण गर्ने कोसिस गरेका हौँ । या भनौँ, आजको समयसापेक्ष टिप्पणी गर्ने कोसिस गरेका छौँ । साथै, किनारा लागेका/ छुटेका चिजहरू पनि देखाउन खोजेका छौँ । त्यो छुटेको चिज भनेको मान्छे पनि हुनसक्छ, ध्वनि पनि हुनसक्छ, रङ्गहरू पनि हुनसक्छ । जनयुद्धमार्फत पाएकाहरूको भन्दा पनि ‘जनयुद्धमा गुमाउनेहरूको वकालत’ हामीले गर्न खोजेका हौँ । यो नाटक शान्ति प्रक्रिया र शान्ति निर्माणका लागि एक राम्रो उदाहरण हुन्छ कि जस्तो लाग्छ । हाम्रो नाटकमा द्वन्द्व भए पनि मित्रता एवं प्रेमभाव बढी छ, घृणा भाव छैन । हामीले नाटकका स-साना कुराहरू पनि निकै विचार पुराएर सम्प्रेषण गरेका छौँ ।
कलाकारहरू परिवर्तन हुँदा कत्तिको गाह्रो भयो ?
गाह्रो भयो किनभने, कुनै पनि कुरामा एउटा समूहलाई आबद्ध गराउन एउटा प्रक्रिया हुन्छ । सबै आबद्ध भइसकेपछि कोही छुट्दा र अर्को व्यक्ति आउँदा अप्ठ्यारो हुने नै रहेछ । नयाँ आएको कलाकारलाई तालिम दिँदा उसलाई हरेक चिज सुरुदेखि बुझाउनु पर्ने हुन्छ । नाटक निर्माणको एउटा लामो यात्रा हुन्छ, त्यो यात्रा उसले गरेको छैन भने उसले त्यो यात्रा कसरी बुझ्छ ? जे होस्, नाटकको एउटा ढाँचा पहिल्यै बनिसकेको हुनाले अलिअलि परिवर्तन हुँदा धेरै गाह्रो भने हुन् पाएन ।
अहिलेसम्म नाटक नहेरेका या थोरै हेर्ने गरेका दर्शकहरूलाई कसरी बोलाउने ?
मेरो लागि यो प्रश्न ‘विद्यार्थीलाई विद्यालय किन पठाउने’ भने जस्तै हो । मेरो लागि रङ्गमञ्च मनोरन्जनका लागि आउने ठाउँ भने होइन । रमाइलो पनि एउटा पाटो होला तर, नाटक भनेको संवेदनशील विषय हो । नाटकघर हाम्रातिरका सिनेमाघर जस्तो विशुद्ध मनोरन्जनात्मक थलो होइन ।
मेरो लागि दैनिक जीवनका लागि चाहिने अपरिहार्य वस्तुहरूमा गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रङ्गमञ्च पर्छन् ।
हाम्रो समूहले राम्रो चिज दिन आफ्नो ठाउँबाट सक्दो कोसिस गरेका छौँ तर, म जबरजस्ती आउनुहोस् भनेर चाहिँ भन्दिन । आइदिनु भयो, हेरिदिनु भयो भने स्वभावत: खुसी हुन्छु नै ।