शुक्रबार , अषोज १४, २०७९

बौद्ध धर्ममा ब्रह्माहरू पनि धेरै हुन्छन् र ब्रह्मलोक पनि धेरै किसिमको हुन्छन् !

बौद्ध धर्म अनुसार ब्रह्मा यो संसारमा पाइने धेरै किसिमका प्राणीहरू मध्ये एक हुन र उनीहरूको हाम्रो जस्तै कर्मका आधारित जन्म मृत्यु हुन्छ । उनीहरू यो संसारको सृष्टिकर्ता पनि होइनन् ।

image

  • विवेक शर्मा

बुद्ध धर्ममा देवता ब्रह्माको महत्त्वपूर्ण स्थान छ । ब्रह्मालाई बुद्ध धर्ममा एक हिसाबले धर्मपालको रूपमा गणना गरिन्छ । तर देवता ब्रह्माको बारेमा नेपाली र भारतीय समाजमा भ्रमहरू पनि धेरै छन् ।

नेपाल भारतमा सबैभन्दा ठुलो ब्रह्माबारे विद्यमान भ्रम भनेको ब्रह्मा भन्ने एक जना देवता मात्र हुन्छन् र यो संसारको सृष्टि गर्ने उनै हुन भन्ने विचारहरू हुन् । यी दुवै विचारहरू बौद्ध धर्म अनुसार गलत हुन् ।

पहिलो कुरा: ब्रह्मा भन्ने शब्द जातिवाचक वा समूहवाचक शब्द मात्र हो । जस्तोकि ‘मनुष्य’ भन्दा विभिन्न जात र देशका मनुष्य लोकमा बस्ने हामी मानवहरूलाई जनाउँदछ, त्यसै गरेर ‘ब्रह्मा’ भन्दा विभिन्न ब्रह्मलोकमा बस्ने विभिन्न किसिमका ब्रह्माहरूलाई जनाउँदछ । बौद्ध धर्म अनुसार ब्रह्मा यो संसारमा पाइने धेरै किसिमका प्राणीहरू मध्ये एक हुन र उनीहरूको हाम्रो जस्तै कर्मका आधारित जन्म मृत्यु हुन्छ । उनीहरू यो संसारको सृष्टिकर्ता पनि होइनन् । कोही कोही हिन्दुहरू बुद्ध धर्ममा ब्रह्मा भन्ने शब्द देख्ने बित्तिकै ‘बौद्ध धर्म त हिन्दु धर्म नै रहेछ’ भन्ने हलुका टिप्पणी यही कुरा नबुझेर गरेको देखिन्छ ।

ब्रह्मा सृष्टिकर्ता भएको प्रसङ्ग बौद्ध ग्रन्थमा यत्रतत्र खण्डन गरेको पाइन्छ । जस्तो दिघ्घनिकायको केवड्ढ सुत्तमा एक उपासक ‘केवड्ढ’ बुद्धकोमा गएर बुद्धलाई ऋद्धी देखाउन अनुरोध गर्दछन् । त्यसै सिलसिलामा भगवान् बुद्धले कुनै एक भिक्षुको कथा भन्नु हुन्छ । त्यो भिक्षुलाई यी चार महाभूतहरू- पृथ्वी, अग्नि, जल, वायु- कहाँबाट शुरु हुन्छन् भन्ने विषयमा जिज्ञासा जागेछ र ती भिक्षु क्रमशः देवताहरूलाई सोध्दै माथि ब्रह्मलोकसम्म पनि पुगेछन् । ब्रह्मलोकमा धेरै ब्रह्माहरूलाई सोध्दा उनीहरूलाई पनि थाहा नभएको र उनीहरूको नायक ‘महाब्रह्मालाई’ सोध्नका लागि सल्लाह दिएछन् । आखिरमा ती भिक्षुले महाब्रह्मालाई पनि यो प्रश्न सोधेछन् । पहिले त महाब्रह्माले यो प्रश्नको सिधा उत्तर नदिईकन, “म महाब्रह्मा, संसारको सृष्टि गर्ने” आदी भनेर तीनचोटी यो प्रश्नलाई टाल्ने प्रयास गरेछन् तर भिक्षुले फेरि पनि “मेरो प्रश्न त त्यो होइन” भनेपछि उनलाई हात समातेर आफ्ना अनुचरहरूभन्दा टाढा लिएर गएर अनि भनेछन्, “यो कुरा मलाई पनि थाहा छैन, तल गएर भगवान् बुद्धलाई सोध्नु ।”

फेरी त्यसरी नै दिग्घ निकायको अर्को एउटा प्रसङ्गमा- जब प्राणीहरूको वा सत्त्वहरूको कर्मले संसार फेरी देखा पर्न थाल्दछन्, तब तल्लो ब्रह्मलोकमा पहिलो ब्रह्माको उत्पत्ति भएको हुन्छ । ती पनि माथिल्लो लोकबाट आयु सकिएर मरेर तल्लो ब्रह्मलोकमा जन्मिएका हुन्छन् । यसरी धेरै समय बित्तेपछि उनलाई एक्लोपनले सताउँछ र “यो लोकमा अरू पनि भए हुन्थ्यो” भनेर मनमनै सोच्दछन् । संयोगले आभास्वर ब्रह्मलोकका प्राणीहरू पनि त्यहाँबाट च्युत भएर फेरी ती ब्रह्मा भएको तल्लो लोकमा जन्मन पुग्दछन् र ती पहिलो ब्रह्मालाई भ्रम पैदा हुन्छ कि, “यी सबै मेरै सङ्कल्पले” जन्मिएका हुन् । ती पछि आउनेले पनि उनलाई पहिले नै त्यहाँ देख्दा “यिनले नै हामीलाई सृष्टि गरेका रहेछन्” भनेर उनलाई अरू ब्रह्माहरूले आदर सम्मान गर्न थालेछन् । यसरी ब्रह्मले सृष्टि गर्छन् भन्ने कुरा लोकमा प्रसिद्ध हुन थालेछ ।

यो बौद्ध ग्रन्थमा बताइएका यी घटनाहरूले कता कता वैदिक हिन्दु ग्रन्थ बृहदारण्यक उपनिषदमा उल्लेख भएको ‘म एक छु, धेरै हुँ’ भन्ने वाक्यको झझल्को दिन्छ ।

मैले माथि नै भनेको थिए कि बौद्ध धर्ममा ब्रह्माहरू पनि धेरै हुन्छन् र ब्रह्मलोक पनि धेरै किसिमको हुन्छन् भनेर । अर्थात् अरूप लोकका चार र रूप लोकका अठार गरेर करिब बाईसवटा जति ब्रह्मलोक हुन्छन् र ती सबैमा विभिन्न प्रकारका असङ्ख्य ब्रह्माहरूको बास हुन्छ । बौद्ध ग्रन्थमा करिब छ जना ब्रह्माहरूको नाम र गतिविधि उल्लेख गरेको हामी पाउँदछौ – तुदु, नारद, घटिकार, बक, सनदकुमार र सहंमपती ।

बुद्धको पालोमा वैदिक ब्राह्मणहरू आफूहरू ब्रह्माको मुखबाट सृष्टि गरिएको, उच्चकुलको र वैदिक हवन, यज्ञआदीको माध्यमबाट ब्रह्मलोक जाने अर्थात् ‘ब्रह्मसहव्यता’ सम्भव भएको कुरालाई प्रधानता दिन्थे । तर बुद्ध यी मान्यतालाई अस्वीकार गर्नु हुन्थ्यो । ती ब्रह्मलोकमा जन्मन कम्तीमा समथको प्रथम ध्यान वा समापत्तिमा छिरेको हुनु पर्ने अनिवार्यतालाई उहाँ पढाउनुहुन्थ्यो । यस्तो समाधिमा छिरेको कर्मले मात्र हामीलाई ब्रह्मलोकमा जन्म गराउँदछ जसलाई ‘आनिञ्ज्य’ कर्म भनिन्छ । त्यसैले बुद्धले यत्रतत्र “म ब्रह्मविद् हुँ”, र “ब्रह्मलोक जाने विद्या सिकाउन जान्दछु” भनेर भनेको र उहाँलाई यदाकदा बौद्ध ग्रन्थहरूमा ‘ब्रह्मा’ भन्ने उपनामले पनि सम्बोधन गरेको पाइने पनि यही कारणले हो ।

तर यी सबै ब्रह्मलोकहरू त्रिधातुभित्रै पर्दछन् अर्थात् संसार भित्रै हुन् र मुक्त स्थान होइनन् । त्यहाँ आयु लामो हुने भएकोले ब्रह्माहरू धेरै समय बाँच्दछन् जसले गर्दा पृथ्वीका मानिसहरूलाई उनीहरू अजर-अमर भएको भ्रम परेको मात्र हो । उनीहरूको आयु यती लामो हुन्छ कि कहिलेकाहीँ एउटा बुद्ध परीनिर्वाण भएर अर्को बुद्ध जन्मेको पनि उनीहरूले देख्दछन् । जस्तो सबैभन्दा तल्लो ब्रह्मलोक ‘ब्रह्मपारिषद्यमा’ बस्ने ब्रह्माहरूको आयु एक असंखेय्य कल्पको एक तिहाइ हुन्छ भनेर भनिन्छ, जुन मानव जीवनको तुलनामा अकल्पनीय रूपमा लामो हो ।

त यही प्रसङ्गमा ‘सहंम्पती’ ब्रह्माको बारेमा उल्लेख गर्नु वान्छनिय हुन्छ । यी तिनै ब्रह्मा हुन जसले बुद्धले बुद्धत्व प्राप्त गरेपछि “यो धर्म कसैले नबुझ्ने भएकोले नसिकाउकी” भनेर सोच्दै गर्दा अरुप लोकको सुद्धावासबाट आएर बुद्धलाई ढोगेर, तीनचोटी अनुरोध गरेर बुद्धले पाएको ज्ञान अरूलाई सिकाउन मनाउँदछन् । हुन त यो एक औपचारिकता मात्र थियो तर पनि सहंम्पती ब्रह्माको भूमिका यसमा महत्त्वपूर्ण छ । र त्यसैले उनलाई बौद्ध धर्मपालको रूपमा पनि हेर्ने गरिन्छ । त उनले किन यसो गरे ? किनकि उनी पहिलेका बुद्धबाट सिकेर ‘अनागामी’ फल प्राप्त गरेर अर्को बुद्धको प्रतीक्षामा सुद्धावासमा बसेका थिए ।

यहाँ स्मरण गराउन चाहन्छु कि रूप धातुको माथिल्लो ५ वटा लोकहरू छन् जसलाई सुद्धावास भनिन्छ । ती लोकहरूमा खाली अनागामी, अर्हतहरुको वा माथिल्ला श्रेणिका बोधिसत्त्वहरूको मात्र जन्म हुन सक्दछ । त यिनी ती लोकका बासी भएकोले उनी बौद्ध धर्म अनुसार ध्यान गरेर अनागामी हुनै पर्छ ।

यसरी ब्रह्माको बारेमा बुद्ध धर्म र हिन्दु धर्ममा यी कुराहरूमा हामी फरक पाउँदछौ । बौद्ध ग्रन्थ भित्रका यी सूचनाहरू नपाउनले पनि धेरैलाई बुद्ध धर्ममा ‘ब्रह्मा’ आदी देवताको उल्लेख गरेको देख्ने बित्तिकै यी सबै वैदिक देवता भएको र त्यो हिसाबमा बुद्ध धर्म पनि वैदिक अन्तर्गतै पर्दछ भन्ने भ्रम र गलत धारणा गढेको देखिन्छ ।

ब्यानरमा प्रयोग गरिएको फोटोले थाईल्याण्डको बुद्ध धर्ममा पाइने संस्कृतिको प्रतिनिधित्व गर्दछन् । थाइल्यान्डमा ‘फ्रा ब्रोम’ भनेर सहंम्पती ब्रह्मालाई चोक र गल्लीमा स्थापना गरेर पूजा सम्मान गरिन्छ। यसो गरेमा सुख, संवृद्धि हुने विश्वास पनि गरिन्छ । फोटोमा उनै सहंम्पती ब्रह्मा बुद्धलाई धर्मचक्र प्रवर्तन गर्न अनुरोध गर्दै छन् । नेपाल र भारतमा भने न ब्रह्माको मूर्ति पाइन्छ, न नै पूजा गरिन्छ ।

सम्बन्धित समाचार