सोमबार , जेठ १४, २०८१

गुम्बाडाँडादेखि पाथीभरासम्म

image

मध्यदिनको झलमल्ल उज्यालोमा हँसिलो मुहार देखाएर बसेको थियो गुम्बाडाँडा । नीलो आकाशमुनि चराहरू रमाउँदै उडिरहेका थिए । स्वच्छ, शान्त र शीतल परिवेश। गुम्बाडाँडा आफैमा आकर्षक स्थान । हरिया डाँडाकाँडाले घेरिएका पहाडी भूदृश्यले कसको पो मन नतान्ला र ?

पहाडको उकालोओरालो र घुम्ती बाटो । त्यस्ता बाटामा गाडीले हल्लाउँदा, उचाल्दा र पछार्दा ज्यानको हालत कस्तो होला ? तर अचम्म, गुम्बाडाँडामा ओर्लने बित्तिकै ताजा भयो शरीर । त्यहाँ बहँदै गरेको हावाले छुँदा नै पुग्लाजस्तो गरी हरायो थकाइ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाको वडा नं. ६ मा पर्ने यो ठाउँमा प्रसिद्ध गुम्बा छ । त्यसैको चिनारीमा जोडिएका कारण गाउँको नाम नै गुम्बाडाँडा । गुम्बाको नाम निङमा छ्योखोलिङ गुम्बा । गुम्बानजिकै छरिएको छ गुरुङ बस्ती । गाउँलेहरू मिलेर राम्रो होमस्टे पनि चलाएका रहेछन् ।

पाँचथर जिल्लाको सदरमुकाम फिदिमबाट बिहान सबेरै हुइँकिएका थियौँ हामी । दिउँसो गुम्बाडाँडा पुग्ने र त्यहीँ घुमफिर गरेर एक रात बास बस्ने योजना बनाइएको थियो । गाडीले हुइँक्याएको गतिको लयमा अगाडि बढ्दै जाँदा रमाइला लाग्ने भूदृश्य, वनस्पति र खोलाखोल्सीहरू अघिल्तिर पर्थे । बीचबीचमा देखापरेका गाउँ, सानासाना बजार, खेतीपाती र मानवीय गतिविधिले झल्काउँथे त्यहाँका समाजशास्त्रीय पाटोका केही बिम्बहरू ।

गुम्बाडाँडा

थापाटार, सल्लेरी, चतुरे, जोरपोखरी, गोपेटार, गणेशचोक, भालुचोक, काबेली, सिसम्बु, ल्याङ्बाजस्ता स्थानहरू पार गरेपछि फुङलिङतिर लागिन्छ । भिरको बाटो, निकै डरलाग्दो । भिराला, घुमाउरा र साँघुरा बाटोमै दुर्घटनाको जोखिम बढी हुन्छ । ‘दुर्घटनाग्रस्त क्षेत्र, गति सीमित’ लेखिएको ल्याङ्बाको एउटा ठूलो बोर्डले चालकहरूलाई सचेत गराउँदै थियो । सचेत गराउनु र सचेत हुनु दुबै राम्रा कुरा ।

मध्यान्न हुनै लाग्दा फुङलिङ पुगियो तर त्यहाँ अडिएन । त्यहाँबाट करिब ४ किलोमिटर टाढा रहेको गुम्बाडाँडा होमस्टेमै पुग्ने आतुरी थियो मनमा । फुङलिङलाई आँखाले मात्र छुन सक्यौँ यसपाली ।

गुम्बाडाँडा पुग्दा बाटोमै पूर्णकुमारी गुरुङ दिदी हामीलाई लिन आइसक्नुभएको रहेछ । थोरै हिँड्नुपर्ने थियो खानेबस्ने घर पुग्न । अहा कति सुन्दर गाउँ, प्रकृतिको काखमा सजिएको । प्रत्येक घरका आँगन फूलहरूले ढकमक्क ढाकिएका । स्कुस, बरेला, साग लगायत रहरलाग्दा हरिया सागसब्जीले भरिएका बारी । गाउँदेखि तलतल पनि अन्नबाली उब्जाइने गराहरू उस्तै ।

अलिकति फुर्सदको समय निस्क्यो कि राडीपाखी बुन्न बस्छन् गाउँले । उनीहरूको परिश्रमको जति प्रंशसा गरे पनि कमै हुन्छ । आफ्नै घरमा पालेका भेडाका ऊनबाट बनेका राडीपाखी कति राम्रा नि !

गुम्बाडाँडा होमस्टेमा नै दिउँसोको खानाका रूपमा गाउँमै उत्पादित ताजा र स्वादिला खाना खाइसकेपछि गाउँमै रहेको गुरुङ सांस्कृतिक सङ्ग्रहालयतिर लागियो । आफ्नो जाति, इतिहास र परम्परासँग जोडिएका चिनारी हराउन नपाओस् र गाउँमा आउने पाहुनाहरूले पनि त्यसबारे केही जानकारी पाऊन् भनेर गाउँलेले विसं २०६२ मा यो सङ्ग्रहालय स्थापना गरेका रहेछन् । सङ्कलन गर्न सकिए जतिका पुरानापुराना भाँडाकुँडा, गरगहना, बाजागाजा, हतियार आदि सामग्री संरक्षित रहेछन् त्यहाँ ।

गाउँकै वरपर डुलेर र गाउँलेसँग गफिएर बिताइयो बाँकी दिन । नेपालका जुनसुकै गाउँ पुग्दा पनि रमाउँछु म । गाउँका मान्छे सोझा र सरल तर सहृदयी । रसिला र हँसिला उस्तै । आफ्ना घरआँगनमा टेक्न आइपुग्ने पाहुनालाई मन खोलेर आत्मीयता जनाउनु उनीहरूका विशेषता ।

गाउँका आमा समूहद्वारा सञ्चालन गरिएको हो गुम्बाडाँडाको होमस्टे । ११ वर्ष  भएछ गाउँमा होमस्टे सुरु गरिएको । स्थानीय उत्पादनको स्वाद लिन लोभिन्छन् सहरबजार क्षेत्रका मान्छेहरू । स्वच्छ ग्रामीण पर्यावरणमा रम्नुको मज्जा त विशेष हुने नै भयो । सहरबजारतिरका मान्छेहरू बेलाबखत पुगी नै रहँदारहेछन् त्यहाँ ।

‘धेरै मान्छे आउन बेलामा पहिले नै खबर पाइन्छ नत्र फाट्टफुट्ट मान्छेहरू आइ नै रहेका हुन्छन्,’ होमस्टे अभियानकी अगुवामध्ये एक पूर्णकुमारी गुरुङले भनिन्, ‘अहिले १० वटा घरमा बस्न मिल्ने सुविधा छ, बिस्तारै घर र कोठाहरू थप्दै जाने योजनामा छौँ हामी ।’

बेलुका खाना खाएपछि सुत्नुअघिको समय रङ्गियो नाचगानमय भएर । हाम्रा गाडीका चालक र सहचालक गीत गाउन माहिर । प्रदर्शन भएपछि थाहा हुने, कोकोसँग केकस्ता कला छन् भनेर । अगेनोछेउ बसेर मादल बजाउँदै नाचगान गर्नुको रौनक छुट्टै। जानीनजानी भए पनि साथ दिए सबैले। जमियो मज्जैले। भरपुर मनोरञ्जन लिँदै बिताइयो अगेनोछेउमै २ घण्टा ।

घामका कलिला किरणरहरूसँगै ब्युँझियौँ हामीख। बिहान ७ बजे नै गुम्बाडाँडाबाट पाथीभरातिर लाग्न तम्तयार भइयो । केही पर रहेको सुकेटारसम्म मोटरमा नै गइयो, करिब १५ मिनेट । २४ सय मिटर उचाइमा रहेको एयरपोर्ट पनि छ यहाँ ।

पर काफ्लेपाटीसम्म गाडी चल्ने कच्ची बाटो भए पनि त्यो दिन सुकेटारबाट नै हाम्रो पदयात्राको कार्यक्रम तय भयो ।

‘आज साँढे १२ किलोमिटर हिँडेर बास बस्ने ठाउँ ठूलो फेदी पुगिन्छ । भोलि बिहान त्यहाँबाट करिब २ घण्टा हिँडेर ३७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पुग्नेछौँ हामी,’ यात्रा संयोजक प्रकृतिप्रेमी समूहका डा. उमेश श्रेष्ठले जानकारी गराए । प्रकृतिप्रेमी समूहले विगत केही वर्षदेखि यस्ता घुमफिरे कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हिँड्दाघुम्दा अनुभवका नयाँनयाँ पृष्ठहरू थपिन्छन् । जगतको जीवन्त र प्रत्यक्ष अध्ययनले दिने ज्ञान सयौँ किताबका ठेली पढेर पनि पाउन मुस्किल हुन्छ । प्रकृतिले सिँगारेको हाम्रो जस्तो देश त झन् जति हेरेघुमे पनि अघाइदैँन । जता हेरे पनि रमाइलो ।

मध्याह्न हुनै लाग्दा पुगियो छातेढुङ्गा । त्यहाँ अनौठो ढुङ्गा देखियो, छाता आकारको । त्यही ढुङ्गाकै कारण ठाउँको नाम नै छातेढुङ्गा । त्यहाँबाट आधी घण्टा जति पाइला लम्काएपछि बजार र होटल भएको ठाउँ पुगिन्छ, काफ्लेपाटी । त्यहीँ एकछिन अल्मलिने समय निकालियो र आरामले खाना खाइयो ।

बल्लु झारको बर्को ओडिबस्ने बल्लु डाँडा । गुराँसैगुराँसका रूखहरूका लहरमा मुस्कुराउने गुराँसे डाँडा । अनेक डाँडा, भिर र उकालो । जति माथि चढ्नु छ उति नै उकाला र असजिला बाटा। डाँडैडाँडाको बाटो, उकालैउकालो ।

मनमा आँट भरिएपछि, उत्साहले पाइला उचालिएपछि असजिला बाटा पनि कहाँ असजिला लाग्दा रहेछन् र ? गतिशील गोडाहरूमा प्रकृति र परिवेशले नै थपिरहेझैँ लाग्छ बल । रहर र जाँगर हुनेहरू न हुन् अघि बढ्ने ।

ठाउँठाउँमा एकैछिन ज्यान अड्याउँदै, स्वच्छ, सुन्दर र शान्त प्राकृतिक परिवेशमा रमाउँदै हिँडिरहियो । बेलैमा पुगियो बास बस्ने ठाउँ ३१ सय ५० मिटर उचाइमा रहेको ठूलो फेदी । त्यहाँभन्दा माथि पाथीभरासम्म नै बास बस्ने उपयुक्त ठाउँ नभेटिने हुँदा ठूलो फेदीमा नै बस्दा रहेछन्न् पर्यटकहरू । हामीले पनि त्यसै ग¥यौँ । त्यहाँ केही व्यवस्थित किसिमका होटेल रहेछन्। सुबिस्ताले बास बस्न पाइयो ।

चिसो ठाउँ, मुटु छुने गरी सिरेटो चलिरहने । होटलभित्रको अगेनोछेउ नै प्यारो गफ गरेर बस्न पनि । स्थानीय होटल व्यवसायीहरूसँग पनि गफिएँ केही बेर, आगो ताप्दै ।

‘चैतवैशाख र असोजकात्तिकमा धेरै हुन्छन् यहाँ बास बस्ने मान्छे । पुसमाघमा चाहिँ निकै कम । तल काफ्लेपाटीसम्म मोटर बाटो बनेपछि पर्यटकहरू बढ्न थालेका छन्,’  होटेल व्यवसायी घनश्याम पौडेलले भने, ‘१६ घरमा होटल छ अहिले यहाँ । निकै टाढाबाट काठ, जस्ता बोकेर धेरै दुख गरेर बनाएको हामीले यी घरहरू ।’

घनश्यामकै होटलमा अर्का एक अनौठा पात्र भेटिए । उनले परिचय दिए, ‘म बलिगुरु माथि पाथिभरा मन्दिरको ।’

‘मैले त पहिलो चोटि सुनेँ यो शब्द नै आज ! बताइदिनुहोस् न हजुर कस्तो काम गर्ने गुरुलाई बलिगुरु भनिन्छ ?,’ छक्क पर्दै जिज्ञासा राखेँ उनै आफूलाई बलिगुरु भन्नेसित ।

‘बलि दिन ल्याएका बोकापाठा छ्याक्क पारेर छिनाउने काम हो मेरो । बर्सौँदेखि यही पेसा गर्दै आएको छु,’ बलिगुरुले बिनासङ्कोच आफ्नो पेसाबारे बताए ।

मझेरीमा आगो ताप्दै पाथीभरा मातासँग जोडिएका पुराना कथा पनि सुनाए उनले । मलाई लाग्यो, कथाका पात्रप्रति श्रद्धा बढ्दै जाँदा मूर्ति बनाउने र पुजा गर्ने कामसम्म गर्न अघि सरे पहिलेका मान्छे । त्यही कुरा परम्परा बन्यो । भावनाको कुरा न हो ।

बलिगुरुले यो भन्न पनि छुटाएनन्, ‘किन हो अचेल मान्छेले नरिवल फुटाउन थालेका छन्, बोका बलि दिने चलन घट्दै गएको छ ।’

त्यसो त मान्छेको चेतनाको स्तर बढ्दै गएपछि धेरै कुरा परिवर्तन हुँदै जानु स्वाभाविकै हो । हिजो राजालाई पनि विष्णु भगवानकै अवतार मानिन्थ्यो । वर्षौवर्ष राज गरे अनेक राजाहरूले । आज त्यो व्यवस्थाको जराकिला उखालेर फालियो । यो पनि स्वाभाविक र समयसापेक्ष नै देखिएको छ । असङ्गतिहरू हट्दै र सङ्गतिहरू स्थापित हुँदै जानु समयको विशेषता ।

बिहान झिसमिसेमै उभो लागियो ठूलो फेदीबाट पाथीभरा डाँडातिर । नाकै ठोक्किएला जस्तो ठाडो उकालो । सिँढीसिँढी चढेर आकाश ताक्दै उभो लाग्नु जति चुनौतीपूर्ण छ, त्यत्तिकै रोचकतायुक्त पनि ।

यहीँ उकालोमा मान्छे बोक्ने भरियाहरू पनि देखेँ मैले । वृद्धवृद्धा र हिँड्न नसक्नेहरू बोकाइएर भए पनि पाथीभरा पुग्न चाहँदारहेछन् । त्यसैले केही बलियाबाङ्गा ठिटाहरूले रोजगारी पाएका रहेछन्, मान्छे बोक्ने भरियाका रूपमा । ती भरियाहरूले बोकिन चाहने मान्छेलाई पहिले जोख्दा रहेछन् र तौल कति किलोग्राम हुन्छ त्यसैअनुसार पारिश्रमिक लिँदा रहेछन्, बोकेर माथि डाँडामा पु¥याए बापत् ।

उकालो सकिएपछि अन्न भरेको पाथीजस्तो आकृतिको टुप्पामा पुगियो, केही भाग सम्म परेको । ३७ सय ९४ मिटर अग्लो यही डाँडा नै रहेछ धार्मिक तीर्थस्थल पाथीभरा । डाँडामा टेकिसकेपछि यसो निहुरिएर घडी हेर्दा बिहानको ८ बज्दै थियो । ठाडो उकालोले लोथ पारेको ज्यान चङ्गा भयो डाँडाको रमाइलोले । विचित्रको भूबनोट । प्रकृतिले अद्भुत कला खन्याएर उभ्याएको पहाड । सुरम्य ठाउँ ।

यही डाँडाको एकापट्टि पाथीभरा देवीको प्रतिमा रहेछ । उनीप्रति श्रद्धा बोकेर पुगेकाहरू पूजा गर्न व्यस्त देखिन्थे । आफ्नै किंवदन्ती बोकेर चिनिएकी एक पात्र । लोककथन वा जनश्रुतिले बिर्सिन नदिएको एक बिम्ब ।

हामी पुग्दा हुस्सुको च्यादरमुनि गमक्क परेर बसेको थियो पाथीभरा डाँडो । धेरै टाढाटाढाका दृश्यहरू देख्न पाइएन त्यस दिन । तैपनि कम भव्य लागेन त्यहाँको परिवेश । दिन खुलेको बेला परेको भए अझ कति मनमोहक लाग्ने थियो होला ? केही बेर पर्खिबस्दा पनि हुस्सु हट्ने सङ्केत देखिएन । त्यहाँबाट आकर्षक छटामा देखिने कञ्चनजङ्घा, कुम्भकर्ण, काङबाचेन, लोत्सेजस्ता हिमालहरूले आफ्नो मुहार घुम्टोबाट निकाल्न सकेनन्, मौसमले गर्दा । धुम्म परेको दिन न हो, एक चोटि खिसिक्क पनि हाँसेन ।

जे देखियो, भोगियो र अनुभूति सँगालियो त्यो नै काफी छ यस पटकलाई भन्दै मन उज्यालो बनाएर फर्कियौँ हामी । प्रकृतिका जादुगरी कलाकारिले सिँगारिएका यस्ता डाँडाकाँडा अरू पनि कति छन् कति हाम्रो देशमा । हेर्ने आँखा र बुझ्ने मनहरू नपुगी कहाँ चिनिन्छन् र त्यस्ता ठाउँहरू ?   – दीपेन्द्रसिंह थापा 

सम्बन्धित समाचार