hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

एक्लै ‘ थोराङ्ला पास’ को एक फन्को

image

ठ्याक्कै तिन वर्षअघिको असारे मास। मर्स्याङ्दी नदीमा अहिलेजस्तो भेलबाढी थिएन। त्यो नदी बग्ने हिमालपारिको मनाङमा र वारिको लमजुङमा पनि। त्यसैले त्यो असार औधि सुखद थियो।

हिमालपारिको मनाङ उपत्यकामा आकास नीलै थियो र त्यहाँबाट पूर्वतिर मनास्लु, त्यसपछि मर्स्याङ्दी वारि अन्नपूर्ण हिमालका लस्करसँगै गंगपूर्ण र तिलिचो पिकजस्ता हिमचुचुरा मुस्कुराइरहेका थिए। ती हिमालसमिपै पुग्न मनाङमा विश्वभरिबाट आएका तरूण-तन्नेरी पदयात्रीको घुइँचो लागिरहेको थियो।

यात्रा २०७५ असारको हो। जेठमा थुप्रै आरोहीले फेरि सगरमाथा आरोहण गरे र तिनै राष्ट्रिय नेपाली, अंग्रेजी वा हिन्दीमा लेख्दै प्रसारण गरेपछि सानै भए पनि हिमाल वा पहाड चढ्ने हुटहुटी जाग्यो।

छ हजार मिटरभन्दा माथिको हिमाल एक्लै आँट्ने कुरै भएन। मनाङ र मुस्ताङबीचको थोराङ्ला पास काट्ने अवसर पनि अझै जुरिसकेको थिएन। आफूले भनेकै बेला १०-१२ दिनको पदयात्रामा साथ दिने कोही भेटिएनन्। कामबाट १० दिन जतिको विदा मिलेपछि मोटर चढेर मनाङ पुग्ने निधो गरेँ र दिउसो काठमाडौंबाट यात्रा थालेँ।

गोंगबुको सिटी मलबाहिर लमजुङ जाने माइक्रोबस गुड्न तयार भएर यात्रु कुर्दै रहेछ। त्यही चढेँ।

पहिलो दिन – काठमाडौं-बेसीसहर

माइक्रोमा त्रिशूली नदीमा राफ्टिङ अर्थात् जलयात्रा गर्ने दुई जना पश्चिमा पुरूष पर्यटक र एक जना पथप्रदर्शक पनि रहेछन्। म अन्नपूर्ण ‘सर्किट’ (चक्रीय मार्ग) जान लागेको थाहा पाएपछि भने, ‘थोराङ्ला पास पदयात्रा गर्न कठिन छैन, सजिलै सकिन्छ। पदयात्रा गर्दा आफू चाहिँ छिटो छरितो हुनैपर्छ।’

तनहुँको डुम्रे कटेपछि माइक्रोबसमा एक गन्धर्व भाइ उक्लिए र सारंगी बजाउँदै मनोरञ्जन दिन थाले। गाडीबाट झर्ने बेला सक्दो सहयोग गर्न हात थापिहाले। सबैले दिए केही रूपैयाँ।

साँझ बेसीसहरको उत्तरपट्टि रहेको सानो पर्यटकीय बजारमा आठ-दसवटै भए पनि राम्रा-राम्रा होटल तथा रेस्टुरेन्ट देखिए। आँगनमा देशदेशावरका पर्यटक पनि। एउटा केटो नजिकै आएर सोधे, ‘होटल खोज्नु भाको हो। यही होटलमा राम्रो व्यवस्था छ।’

म त्यहीँ रोकिएँ। फेरि सोधे, ‘दाइ ज्वाइन खाने हो, मसँग छ है।’

जवाफ दिएँ, ‘नाइँ नखाने।’

सोचेँ काठमाडौंबाट आउने धेरैले खोज्ने भएर सोधेका होलान्।

लामो माइक्रोबस यात्रापछि थकित म भने ५०० रुपैयाँको कोठामा छिरेर चिसो पानीले नुहाउन थालेँ।

दोस्रो दिन – बेसीसहर-चामे-मनाङ

अघिल्लो साँझ भेटिएको भाइले सात बजेतिर आफ्नो सानो बोलेरो ट्रकको इन्जिन चालू गरे। अझै केही यात्रु थप्ने दाउमा भए पनि उनी हिँड्न तम्तयार भए।

त्यसपछि उसको बोलेरो बतासियो मर्स्याङ्दी नदीको तिरैतिर बनेको बाटोमा। कहिले वारि त कहिले पारि भएर अघि बढ्ने बेसीसहर-चामे-मनाङ राजमार्गमा।

एक खण्डमा त गाडी जलविद्युत आयोजनाले बनाइदिएको सुरूङ मार्गभित्रबाट अघि बढ्यो। भित्र बिजुली बत्ती बलिरहेकाले उज्यालो थियो। वाह क्या मजा, नेपालमा पनि गाडी गुड्ने सुरूङ मार्ग! 

२०६१ वैशाख १ गते हामीले ‘मनाङ भ्रमण वर्ष’ लाई स्वागत गर्न आउँदा खुदीबाट पदयात्रा थालेका थियौं। अहिले बाटो मनाङ पुगिसकेछ। आहा!

भुलभुले कटेको केही बेरपछि गाडी बाहुनडाँडा आसपास कतै एउटा ट्राउट फार्म नजिकै रोकियो। खाजा त्यहीँ खाइयो। यो राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मिएको थलो। मर्स्याङ्दी नदी तल ‘एकोहोरो सुसाउँदै’ अघि बढिरहेको थियो।

केही बेरपछि गाडी फेरि उकालो लाग्यो अनि पुगियो मनै रम्ने च्याम्चे झरना। उचाइ १४३० मिटर।

तल बेसीसहरको उचाइ ८०० मिटर जति थियो। अन्नपूर्ण चक्रीय मार्गको सबभन्दा अग्लो ठाउँ ५,४१६ मिटर अनि त्यहाँबाट झर्नु थियो ३,८०० मिटरमा रहेको मुक्तिनाथ अनि बल्ल फेरि ओरालो यात्रा सुरू हुन्थ्यो।

च्याम्चे झरनामा म एक्लो यात्री तर बाटैभरि मानिसको कमी थिएन। बाहिर पदमार्गमा अमेरिकाबाट आएका युवा-युवती धावकका जस्ता छोटा पोसाकमा पोल (एलुमुनियमको लौरी) टेकेर अघि बढ्दै थिए आफ्नो झन्डै दुई साता लामो पदयात्रामा। म भने दिउँसोको खाना खाँदै च्याम्चे झरनाका तस्बिर खिच्न र त्यसलाई आँखामा सजाउन व्यस्त रहेँ।

खानापछि बोलेरो ताल गाउँतिर उक्लियो। अब मनाङ जिल्ला सुरू भयो। मर्स्याङ्दी थुनिएर बनेको ताल भएकाले होला गाउँको नाम नै ताल। समथर सानो उपत्यका। अनि फैलिएर बगेको नदी किनारमा सानो सुन्दर गाउँ।

पहिला आउँदा हाम्रो पदयात्रा मार्ग पारि दक्षिणपट्टि थियो। अहिलेको मोटरबाटो भने वारि उत्तरपट्टि पहाडको ककारीतिर बनेको रहेछ जहाँ अनगिन्ति झरनाहरू सडकमै खस्न आइपुग्छन् र मोटरले तिनलाई पार गर्दै बेलाबेला नुहाउँदै अघि बढ्नुपर्ने हुन्छ धारापानी गाउँतिर।

धारापानीबाट पूर्वतिर लार्के पास र मनास्लु जाने पदयात्रा जोडिइन्छ। त्यता जाने अवसर अझै जुरेको छैन।

अक्करे भिरै-भिरको बाटो। तर चालक भाइले चुरोटभित्र कयौंपटक चरेस हाल्दै, तान्दै मोटर चलाइरहे। मेरो भने सातो जान खोज्यो। उकालो यात्रा जारी रह्यो।

चामे बजार पुग्नै लाग्दा बाटोमा प्राकृतिक औषधि बेच्ने दुई युवती भेटिएपछि चालक भाइ तिनीहरूसँगै जिस्किन थाले। उनले ती युवतीलाई आफ्नै मोटरमा मनाङ ल्याइदिएको रहेछ केही दिनअघि।

अझै उकालो चढेपछि बोलेरो मनाङ सदरमुकाम चामे पुग्यो। उचाइ २,६३० मिटर। निकै चढिसकिएछ तर ज्यान ठीकठाकै थियो।

हिमाल पारिको जिल्लाभित्र पस्दै गर्दा एक जना तराईवासी दाइको समोसा पसल रहेछ। समोसा तरकारी र सेल चाख्न मजा आयो।

हिमाली गाउँमा तराईको पकवान खाँदै गर्दा मैले सन् २०६१ वैशाखको मनाङ यात्रा स्मरण गर्न पुगेँ जति बेला चामेमा आयोजित समारोहमा हर्क गुरुङ, चन्द्र गुरुङ, तीर्थमान मास्केजस्ता संरक्षणविद् मनाङ आइपुगेका थिए।

त्यति बेला निकै मीठो भाषण र साँझको खानपिनपछि खुबै नाचगान र रमाइलो गरेका थिए धेरैले। तर उनीहरू २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परेर बिलाइगए सदासदाका लागि।

चामे छाडेर मोटर अघि बढ्दै गर्दा बाटो घुमाउरो र सानो थियो। मर्स्याङ्दीको तिरैतिर फेरि मोटर अघि बढ्यो बिस्तारै। बाटोमा कुहिरो छिचोल्नुपर्‍यो। अझै अगाडि भ्रागा रहेछ जहाँ नेपालकै नमुना स्याउ बारीमा फूलहरू फुल्दै थिए। बाटोछेउमा युरोपेली शैलीको विशाल स्याउ फार्म हाउस बनेको रहेछ।

मोटर अघि बढ्दै गर्दा कुनै विश्वसनीय राष्ट्रिय माध्यममा पढेको सम्झिएँ: यो फार्मले वर्षमा एक अर्ब रुपैयाँको स्याउ बेच्ने लक्ष्य लिएको छ र यहाँको स्याउ अहिले बिस्तारै विश्व बजारमा पुग्न थालिसक्यो।

सोचेँ, ‘नेपालमा गरे के हुँदैन? हरेक असम्भव लाग्ने काम यहाँ सम्भव छ। मानिसले खाडी वा पूर्वी एसियाको उष्ण हावापानीमा जस्तै पसिना मात्र बगाउनुपर्छ निरन्तर।’

अन्नपूर्ण सर्किटको ट्रेकिङ नक्सा। स्रोत: बेसक्याम्प एड्भेन्चर

मोटर गुड्ने एउटा सडकले कति फरक पार्दो रहेछ हाम्रो जिन्दगीमा। २०६१ वैशाखमा लमजुङबाट पाँच दिनमा हिँडेरै मनाङ पुगेको मान्छे म, अहिले गुडेर एकै दिनमा ८०० मिटरबाट ३,५४० मिटरमा अवस्थित मनाङ पुग्दै थिएँ।

भ्रागा कटेको केही बेरमा सडक अगाडि विशाल चट्टानी पहिरो देखा पर्‍यो, लगभग एक किलोमिटर लामो अनि आकासतिर सोझिएको। मनाङीहरू यसलाई स्वर्गजाने बाटो भन्ने गर्छन्।

त्यसको केही बेरपछि हामी हिमालपारि पुग्यौं जब मोटर पिसाङ हिमालको फेदीमा पिसाङ गाउँ पुग्यो। पहिले यहीँ भेटिएका थिए अमेरिकी ह्याट लगाउने भुजुङ दाइ। काठमाडौंको सोह्रखुट्टेमा भेटिएकी तराईवासी आमाबुवाकी नवजात शिशुलाई काख लिएर भुजुङमै हुर्काउँदै थिए। सोचेँ, अहिले उनीहरू कहाँ गए होलान्?

तर गाडी अघि बढिरह्यो। बाटोमा नयाँ-नयाँ स्याउका बगैँचा सुरू गरिएका रहेछन्। बाटोमा घ्यारू (अर्थात् याकको सिंङ) नाम गरेको गाउँ जाने बाटो छुट्टियो। अगाडि हुङ्दे विमानस्थलमा नयाँ कालोपत्रे गरिएको रहेछ। तर उडान शून्य।

अझै अगाडि बढ्दा मर्स्याङ्दी पातली हुँदै गइन्। केही घुम्ती पार गर्दै हाम्रो मोटर हिमालपारिको मनाङ उपत्यकाको समथर भूभागमा गुडिरह्यो।

हामी कंक्रिट जंगलहरूमा बस्न पल्किएकालाई के थाहा हिमालपारिको मनाङ अर्कै संसार हो। उच्च भूभाग, शितल, स्वच्छ हावापानी अनि तिब्बतको जस्तै बौद्ध धर्म र ‘अहिंसा परमोधर्म’ मान्ने हिमाली संस्कृति। असारको लामो दिन। सम्भवत: उत्तरी गोलार्द्धमा वर्षकै सबभन्दा लामो दिन। साँझ उज्यालोमै मनाङ गाउँ पुगेर बोलेरो ट्रक टक्क रोकियो।

न्योशाङ उपत्यकामा यहाँलाई स्वागत छ।

चालक भाइलाई मानेँ। जति धेरै चरेस ताने पनि सुरक्षित मनाङ ल्याइदिएकोमा धन्यवाद ज्ञापन गरेँ। अनि म अलि अगाडि मनाङको बीचमा ठडिएको सानदार तिलोचो होटलतर्फ लागेँ जहाँ काठमाडौंका मनाङी दाजु ट्रिपल गुरुङका पनि दाजु कर्मा गुरुङले मुस्कुराउँदै मेरो स्वागत गरे।

अन्तर्राष्ट्रिय पर्यटकले खचाखच होटलको रिसेप्सनबाहिर एक फ्रान्सेली-नेपाली नवयौवना बसेकी रहिछन्। फ्रान्सेली लवजको अंग्रेजीमा भन्दै थिइन्, ‘मेरो नाम सजिना क्षत्री हो, नेपालमा जन्मिएकी हुँ तर मलाई प्यारिस बस्ने बुवाआमाले लैजानुभयो र हुर्काउनुभयो। अहिले म मेरो जन्म देश घुम्न आएकी। मलाई एकदमै रमाइलो लागिरहेको छ।’

निकै चाखलाग्दो लाग्यो उनको जिन्दगानी मलाई। भर्खरै २४ वर्ष उमेरकी। फ्रान्सेली भए पनि नेपाल र नेपालीसँग जोडिएकी। भनिन्, ‘म नेपालका मेरा दिदी-बहिनीहरूसँग फेसबुकमा कुरा गर्छु। म नेपाल आएको उनीहरूलाई थाहा छैन। भेटेर सबैलाई छक्क पारिदिने योजना छ।’

तेस्रो दिन:  मनाङ वरपर

१,३००-१,४०० मिटर उचाइको काठमाडौंबाट एकैचोटि ३,५०० मिटरको मनाङ पुगेर सुतेकाले होला मलाई लेक लागिहाल्यो। थोरै टाउको दुख्यो रातभर। बिहानै मनाङ बजार घुमेपछि उत्तर दिशामा सिधा अगाडितिर सिधा माथि आकासतर्फ ठडिएको पहरामा रहेको सानो गुम्बातर्फ लागेँ। लेक पचाउन।

सोचेँ, उकालो चढ्ने अभ्यास पनि हुन्छ र शरीर उच्च भूभागसँग अभ्यस्त पनि हुन्छ। उकालो चढ्दै गर्दा थकाइ लागेपछि मनाङ गाउँलाई फर्किएर हेरिरहेँ। तल मर्स्याङ्दी नदी बगिरहेकी थिइन्। पर गंगपूर्ण ताल। दक्षिणतिर माथि अन्नपूर्ण हिमश्रृंखलाको चित्ताकर्षक दृश्य हेर्दा थकाइ कम हुने। बाटोमा याकका सिङहरू राखिएका स-साना बौद्ध चैत्य।

अझै माथि चट्टानी पर्वतको फेदीमा बनेको प्राकृतिक गुफाभित्र मनाङकी आनी दिदी भेटिइन्। निकै फरासिली र हँसिली आनी दिदीले कालो चिया दिइहालिन्। अनि कुरा गर्न थालिन्। मेरो बुच्चो टाउको देखेर भनिहालिन्, ‘कस्तो राम्रो कपाल काटेको। लामाको जस्तै टाउको रहेछ।’

मेरो बुच्चो टाउको प्रशंसा गर्ने सायद पहिलो व्यक्ति थिइन् ती आनी दिदी।

दिउँसो तिलोचो होटलमा आराम गरेपछि साँझ मर्स्याङ्दी पारिको गंगपूर्ण ताल हेर्न गएँ। हावा चिसो थियो। पानी उस्तै चिसो। तर निकै रमाएँ। धेरै फोटोहरू खिचेँ। मनाङ गाउँ उक्लिँदा देखेँ पूरै गाउँ वरिपरि लामो समयअघि देखि सुख्खा पहिरो गएको जस्तो दृश्य। मनाङ गाउँमा युरोपका जस्ता भवनहरू बनिसकेका छन्। बाटो पनि सफा र ढुंगा छापिएका जस्ता छन्। तर मनाङ पहिरो र बाढीको उच्च जोखिममा छ।

दु:खको कुरा त्यो तथ्य यो वर्षामा सत्य साबित भइदियो।

चौथो दिन:  मनाङ–याकखर्क-लेदर (४,२५० मिटर)

मनाङ गाउँबाट एउटा पदमार्ग दक्षिण-पश्चिम लाग्छ। त्यो मर्स्याङ्दीको वास्तविक मुहान तिलिचो ताल जाने बाटो हो। त्यहाँ पुगेर पनि याकखर्क हुँदै थोराङफेदी वा सिधै पहाड चढेर याकचौँरी जस्तै कठिन भिरैभिर झर्दै मुस्ताङ झर्ने बाटो छ। तर म यसपालि छोटोभन्दा छोटो समयमा सिधै अन्नपूर्णको फन्को लगाउन हिँडेको मान्छे। मसँग तिलिचो जाने समय थिएन।

बिहानै कर्मा गुरुङ दाइसँग विदा भएँ र झोला भिरेर उकालो लागेँ। कोही साथी भेटिएनन्। अघि बढ्दै गर्दा फर्कीफर्की मनाङ गाउँ र मर्स्याङ्दी पारि दक्षिणतिरका अन्नपूर्ण र गंगपूर्ण हिमाल हेर्दै अघि बढिरहेँ।

निकै माथि पुगेपछि दुई-चार घर भेटिए। बाहिर हिमाली ‘सिबकथर्न’ भन्ने काँडामा फल्ने अमिलो फलको चिनी हालिएको रस बेच्न राखिएको रहेछ। पिइदिएँ। उचाइले सताइरहेको थियो तर अघि बढिरहेँ। अझै पर पुग्दा हिमालपारि मध्याह्नमा लाग्ने हुरीबतास सुरू भयो। मलाई लडाउला जसरी बहन थाल्यो। सम्हालिएँ।

उचाइको कमाल। लेक लागेर ढलुँला जस्तो भयो। एक्लै पदयात्रामा आएकोमा पछुताउन थालेँ। मौसम बिग्रिएला जस्तो भयो। थोरै आत्तिएँ। झोला बिसाएर रोकिएर लामो सास फेर्न थालेँ। चकलेट मुखमा हालेर थोरै पानी पिएँ। रिँगटा थामिने संकेत नै मिलेन। एकलास हिमाली पठार र पहराको बाटो। अझै कति अघि गएपछि मानिस र घर भेटिने पत्तो भएन।

हुरी रोकिएन, दिउँसै अँध्यारो होला जस्तो भयो। आवाज निकालेर मानिसलाई बोलाएँ। कोही बोलेन। सम्हालिएँ र अघि बढेँ।

एउटा पुल तरेर अलि माथि मात्रै के पुगेको थिएँ त्यहाँ त एक दिदी देखिइन्। एक्लै उसिनेको अन्डा, चाउचाउ, कोक आदि लिएर बसेकी रहिछन्। चित्त प्रसन्न भयो। केही अन्डा किनेर खाएँ र अघि बढेँ।

अब पनि पूरै पदमार्गमा म एक्लै। आधा घन्टा पर पुगेपछि ६० नाघेका दुई पश्चिमा पर्यटक आइपुगे। साथमा एक नेपाली रहेछन्। उनीहरू मुस्ताङको बाटो घोडा चढेर थोराङ्ला पास काटेर वारि थोराङफेदीमा बसेका रहेछन्। अहिले हिँड्दै मनाङ जान लागेका। थोरै थाकेका। केही मीठो अन्तर्क्रिया भयो। अनि हामी विपरीत दिशातिर लाग्यौं।

फेरि म एक्लै भएँ अर्को एक घन्टाजति। अनि आइपुग्यो याकखर्क, जहाँ एउटा नयाँ रंगीन होटल रहेछ। भित्र एउटी अफ्रिकी मूलकी युवतीले होटल सञ्चालक बाहिर गएको तर होटल लगभग खाली रहेको बताइन्।

म थकित थिएँ तर किनकिन अझै अगाडि बढ्न मन लाग्यो। आधा घन्टा पर लेदर गाउँमा पुगेर साँझको खाना र बास बस्न मन लाग्यो। त्यसैले अघि बढेँ र हिँडिरहेँ एक्लै अद्वितिय हिमाली सौन्दर्यलाई आँखा र मनमा समेट्ने प्रयत्न गर्दै।

लेदर पुगेपछि एउटा होटलमा केही एसियाली पर्यटक बसेका रहेछन्। नेपाली जस्तै देखिने तर इन्डोनेसियाको बान्डुङ सहरवासी रहेछन्। एक जना केटो चुरोटमा गाँजा वा चरेस के भर्दै थियो। लुकायो।

संयोगवश दुई वर्षअघि म पनि इन्डोनेसियामा रहँदा सुन्दर बान्डुङ सहर पुगेको थिएँ। उनीहरूसँग केही बेर कुरा गरेर म भने अझै माथि अर्को होटलमा गएँ जहाँ मजस्तै एक्लो क्यानाडेली पदयात्रु बसिरहेको रहेछ। होटल सञ्चालक दुई दिदीबहिनी गोर्खा बार्पाकवासी रहेछन्। वरिपरि पहाडमा यार्चा टिप्नेको घुँइचो थियो। साँझ उनीहरूको दोहोरी चल्दो रहेछ। हामीलाई खाना दिएपछि ती त्यतैतिर हतारिए।

बाटो छेवैको मेरो कोठा बाहिर राति अबेरसम्म यार्चा टिप्नेको ओहोरदोहर चलिरह्यो। लेक लागेर होला मलाई भने जति थाकेको भए पनि निदाउन झनै गाह्रो भयो।

पाँचौ दिन – लेदर-थोराङ फेदी  (४,४५० मिटर)

दोस्रो दिन सिधै मनाङ पुगेकाले होला लेक लागि नै रह्यो। अग्लो भूभागसँग शरीर अभ्यस्त नभएकाले होला थकान र टाउको दुखाइले सताइ नै रह्यो। लेदरमा बिहानको नास्ता खाएर बिस्तारै अघि बढ्दा पहरा पछाडि केही हिउँ चुचुरा देखिए। तर एकैछिनमा बेजोड हावाहुरी सुरू भयो। बाटोमा एक जना मनाङीले घरबाहिर यार्चा बेच्न राखेका रहेछन्। किन्न मन लागिहालेन।

वरिपरिका लेकमा यार्चा टिप्ने मानिस सलबलाइरहेको हेर्दै नदी किनारमाथि खर्कमा कोरिएको तेर्सो बाटो अघि बढिरहेँ। खोँच झरेर उक्लिएपछि एउटा सानो टहरो बाहिर पसल चलाइरहेकी दिदी भेटिइन्। कुराकानी गर्दै चाउचाउ र कालो चिया खाएँ।

म थोराङफेदी पुग्न हतारिएँ। जाने बेला उनले भनिन्, ‘फेदी अब आधा घन्टा मात्र पर छ। अगाडि सुख्खा पहिरो छ, पहिरो गएको छ कि छैन हेर्दै सतर्क भएर बिस्तारै जानु होला है।’

अगाडि बढ्दा भिरमाथि पहरा देखिए। पहरामा झारलको माउ र पाठो पनि। सोचेँ यतै कतै हुनुपर्छ हिउँ चितुवाको बासस्थान। किनभने हिउँचितुवाको प्रिय आहारा झारल, घोरल र नाउर हुन्। सतर्क भएर माथि पहरा र तल नदी हेर्दै हिँड्दा-हिँड्दै अलि अगाडि थोराङ फेदी देखियो।

त्यहाँ टहराका दुई लस्कर देखिए। माथि र तल्लपट्टि दुई लहरमा लज बनाइएका रहेछन्। मैले तल लेदारको होटलमा लोन्ली प्लानेट गाइड बुकमा पढेको सुझाव पालना गर्दै तलै बास बस्ने निधो गरेँ। त्यसमा लेखिएको थियो ‘माथिको हाइक्याम्पमा बास बस्ने हो भने निद्रा लाग्दैन र लेक लाग्छ; फलस्वरुप भोलिपल्टको यात्रा सकसपूर्ण हुन सक्छ। तलै बस्नु उत्तम।’

थोराङ फेदीमा कुमार गुरुङको होटलको रेखदेख उनकी दक्षिण अफ्रिकी गोरी श्रीमतीले गर्दिरहिछन्। त्यहाँ तल मनाङमा भेटिएका अफगानी-ब्रिटिस र युक्रेनी ठिटो पनि भेटिए।

तिलिचो पुगेर यता आएका ती नेपाली चरेस तान्दै मस्त थिए। तल याकखर्कबाट इटालीको गोरो केटो र काली केटीको श्याम-श्वेत जोडी पनि आइपुगेछ। इन्डोनेसियाका केटाहरू भने लखतरान थिए। उनीहरुको गाइडले भोलिपल्ट बिहानै ‘३ बजे उठेर ४ बजे हिँड्ने र थोराङ्ला पास काट्ने’ योजना सुनाए। म पनि उनीहरूसँगै जाने सोच बनाएर आराम गर्न गएँ।

छैठौं दिन – थोराङ फेदीमा थला

तर त्यो रातभर म निदाउनै सकिन। लेक मजाले लागेछ। पेट उकुसमुकुस भयो। निदाउन संघर्ष गर्दा गर्दै ३ बज्यो र इन्डोनेसियाली र उनीहरूका गाइड जागा भए। म पनि झोला बोकेर हिँड्न कस्सिएँ। नास्ता खाने बेला शरीर बिरामी भएको लाग्यो र आत्मबल निकै खस्कियो।

यस्तो अवस्थामा अगाडि नजाने र एक दिन आराम गर्ने निर्णय गरेँ। त्यस्तै निर्णय इटालेली जोडीले पनि गरेको थियो किनभने केटो चाहिँ अलि बिरामी थियो। बिहानीपख घाम झुल्किएपछि केही घन्टा सुतेपछि शरीर बल्ल चंगा भयो।

दिउँसो इटालेली जोडीसँग बिस्तारै माथि हाकक्याम्प पुगेर फेरि तल फर्किएर लेक पचाउने (आक्लिमटाइजेसन) अभ्यास गर्दा भोलि बिहान यही बाटो थोराङ्ला पास गर्न सक्ने हिम्मत बढ्यो।

सातौं दिन – थोराङ्ला पास (५,४१६ मिटर)-मुक्तिनाथ-जोमसोम

अब थोराङ पास गर्ने हामी तीन जनाको समूह बन्यो। रातमा बल्ल राम्रो निद्रा पर्‍यो।

थोराङ फेदीको होटलका स्टाफको सल्लाहअनुसार बिहान पाँच बजे उठेर आरामले अघि बढ्ने योजना बनायौं। उकालो लाग्दा सूर्योदय भइसकेको थिएन।

प्रातकालको उज्यालोमा दक्षिण पूर्वमा अन्नपूर्ण हिमाल मुस्कुराइरहेको थियो। हामी रमाउँदै उकालो लाग्यौं, पाइला गन्दै र राम्ररी सास फेर्दै। केही बेरमा हाइक्याम्प पुगियो जहाँ केही पश्चिमा पर्यटकसँगै भारतको तमिलनाडुको पोन्डिचरीदेखि हिमाली पदयात्रा गर्न आएका एक युगल जोडी भेटिए।

तमिलले निधारमा कुनै लेप लगाएका थिए सायद टाउको दुखाइको ओषधि मानेर। कालो चिया पिउँदै केही बेर आराम गरेपछि हामी अझै अगाडि बढ्यौं।

केही बेरपछिको एउटा दृश्यले मलाई आश्चर्यचकित तुल्याइदियो। थोराङफेदीको होटलमा भान्सामा काम गर्ने सोलुखुम्बुका कार्की थरका भाइ एउटा चट्टानमा उभिएर आराम गर्दै थिए। भने, ‘म हिजो घरमा पैसा पठाउन मुक्तिनाथ गएको थिएँ। रातमा त्यहीँ बास बसेर आज बिहानै उकालो चढेर फेरि पारि मनाङ फर्किँदै छु।’

उनको कुरा सुनेर चित्त प्रसन्न भयो। दुई कारणले। एक, उनी नेपालकै मनाङमा काम गरेर, पैसा कमाएर यतैबाट सोलु पैसा पठाउन सक्षम रहेछन्। दोस्रो, उनी अतिकठिन मानिने थोराङपास सहजै वारपार गर्दै मनाङ-मुस्ताङ गर्न सक्दा रहेछन्।

घमाइलो र उज्यालो आसारको दिन आकास नीलै थियो भने वरिपरि हिमाली टाकुराहरू। बाटोमा कञ्चन पानीसहित खोलीहरू बगिरहेका र अनि ती माथि पदयात्रीका लागि स्टिलका पुलहरू।

बिस्तारै हिँड्दै हामीले ५,००० मिटरको उचाइ भेटेको खुसियालीमा पानीसँग चकलेट खायौं। म भने अगाडि पासको सबभन्दा अग्लो विन्दुमा पुग्न आतुर भएँ। अझै अगाडि चढेपछि बाटोभरि हिउँ थियो। इटालेली जोडीलाई अघि बढ्न मुस्किल भयो। खासगरी मारियामालाई। उनी अचानक रोकिइन् र सुक्क सुक्न रून थालिन्। भन्दै थिइन्, ‘मेरो नाक टालिएर सास फेर्न गाह्रो भइरहेको छ।’

उनको केटा साथी फ्रान्सेस्कोले कुनै सान्त्वना दिएन। मैले उनको हौसला बढाउने कोसिस गर्दै भनेँ, ‘एरिट्रियामा जन्मिएकी तपाईँ एक बहादुर र बलियी अफ्रिकी केटी हो। अब एकैछिन हिँडेपछि पास सजिलै काटिन्छ। बिस्तारै अघि बढौं।’

अलि अगाडि अर्को चाखलाग्दो दृश्य देखियो।

एउटा चट्टामानि तल हाइक्याम्प बाटो तमिल जोडीको झोला बोकेर आएको एउटा किशोर पूर्व मनाङपट्टि एकोहोरो हेर्दै आफ्ना पाहुना यहाँ कहिले आइपुग्ने होलान् भनी कुरिबसेको थियो। दोलखाको माझीगाउँ घर भएको सुशील माझी हाइक्याम्पको होटलमा काम गर्दा रहेछन्। उनका तमिल पाहुना पछि थोराङ्ला आइपुगे की आइपुगेनन्? कौतूहल जागिरह्यो तर जबाफ थाहा भएन। 

नभन्दै केही बेर हिउँले छोपिएको बाटो छिचोलेपछि थोराङ्लाको उच्च विन्दुमा पुगियो जहाँ एउटा टहरासँगै रंगीन बौद्ध लुङ्ताहरू टांगेर सजाइएको थियो। टहराको भित्तोमा राखिएको एउटा बोर्डमा थोराङ्ला पास गर्ने अनगिन्ती अन्तर्राष्ट्रिय पदायात्रीका साना फोटा पनि टाँसिएका थिए। म भने वरिपरिका हिमाली दृश्य कैद गर्न व्यस्त भएँ।

भूगोलको उच्च भूभागमा पुगेपछिको खुसी पनि उच्च हुने नै भयो।

थोराङ्लाको ५,४१६ मिटरको उचाइमा पुगेपछि औधि खुसी इटालेली श्यामश्वेत जोडी अंगालोमा एकाकार भए। औधि खुसी भएर चुम्बनमा लिप्त भए जुन भिडियो कैद गर्न फ्रान्सेस्कोले मलाई अनुरोध गरे। बदलामा मैले पनि उनलाई मेरो भिडिओ खिचिदिन अनुरोध गरेँ।

थोराङ्लामा हामी नजिकै अर्को युगल जोडी थियो, फ्रान्सबाट आएका। धीत मरुन्जेल थोराङ्लाको उचाइ र सौन्दर्यमा रमाएपछि सुरू भयो ओरालो। सुरूमा सहज तर केही बेरपछि निकै ठाडो र भिरालो। हो यही खण्डमा केही वर्षअघि निकै ठूलो दुर्घटना भएको थियो।

भारतको ओरिसामा आएको हुद्हुद् आँधीले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभावबारे बेलैमा मौसम भविष्यवाणी हुन नसक्दा सन् २०१४ अक्टोबरको तेस्रो साता अन्नपूरण पदमार्गको यही खण्डमा कम्तीमा ४० जना पदयात्रुको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए।

थोराङ्ला पासदेखि जोमसोम जाने यही तीन-चार घन्टाको बाटोमा पदयात्रुका लागि कुनै आश्रय नहुँदा सयौं पदयात्रीको बिचल्ली हुन पुगेको थियो। हिउँमा पुरिएका यात्रुको उद्धारका लागि हेलिकप्टरहरू उड्नुपरेको थियो। अहिले झर्दा देखियो बाटोमा केही टहरा बनेका रहेछन् र सामान ल्याउन एउटा बाटो पनि खनिएको रहेछ मुक्तिनाथबाट पूर्वपट्टि।

निकै ठाडो ओरालोपछि बल्ल एउटा मानव बस्ती भेटियो जहाँ घरैपिच्छे लज र रेस्टुरेन्ट रहेछन्। अर्को दुई घन्टाको हिँडाइपछि मुक्तिनाथको सुन्दर प्राचीन मन्दिर नजिकै नयाँ बनेको विशाल बुद्धको मूर्ति देखियो जसले मुक्तिनाथ क्षेत्रको तस्बिरलाई नयाँ रूप दिएको आभाष भयो।

इटालेली जोडी मुक्तिनाथको बब मार्ली होटलमा रोकियो जहाँ खाना आएपछि कोठाको पैसा नपर्ने। तर मलाई अझै तल जोमसोम पुगेर भोलिपल्टको बस समातेर पोखरा पुग्न हतार थियो। साँझ जिपमा नयाँ बनेको चिल्लो बाटोमा कागबेनी झर्दा मुस्ताङले विकासमा फड्को मारिसकेको चाल पाएँ।

जोमसोमको पुरानो शैलीको होटलमा वास्तविक थकाली खाना खाने बेला त्यहाँकी दिदीले मैले एक्लै अन्नपूर्ण फन्को मारेको थाहा पाएर मेरो खुब प्रशंसा गरिन् र भनिन्, ‘कुइरेहरु मात्रै यसरी एक्लै-एक्लै थोराङ्ला पास गरेर यहाँ आएको देखेको थिएँ। यो नेपाली भाइले पनि एक्लै पास गरेछ। बधाई छ।’

म फुरुङ्ग भएँ। तर एक्लै हिँड्दाको जोखिम र दु:ख त बयान गरी साध्य छैन। साथी नपाएर एक्लै हिँड्नु मेरो बाध्यता थियो। तर बाटोमा साथी बनाएर समूहमा हिँड्नु सुरक्षित पनि र रमाइलो पनि। तर बाटोमा फान्सेस्को र मारियामा जस्ता थुप्रै साथी भेटिए पनि र छुट्टिए पनि। हिमाली पदयात्रामा विदेशीहरू हराएपछि नेपाल सरकारले पनि एक्लै पदयात्रा गर्न बन्देज लगाइदिइसकेको छ।

आठौं दिन – जोमसोम-बेनी-पोखरा

सामान्य अवस्थामा हरेक बिहान सातै बजे जोमसोमको बस बतासिन्छ कालीगण्डकीको तिरैतिर। नीलगिरि र धौलागिरि हिमालको छायाँमा बसेका थकाली गाउँ छिचोल्दै तल्लो मुस्ताङ पुग्छ अनि विश्कै सबभन्दा गहिरो खोँचमा बनेको बाटैबाटो बसभित्रका यात्रीलाई हजारौं हजारपटक ढाड भाच्ने गरी थचार्दै म्यादीको बेनीतिर हामफाल्छ।

निकै लामो बस यात्रापछि साँझ पोखरा पुगियो।

साँझ फेवा किनारमा हिँड्न र शितल हावा खान निस्किएँ। त्यहाँ थरिथरिका मानिसको भिड लागेको थियो। हलनचोकदेखि उत्तरपट्टिको ताल किनारमा एक जना मकै पोल्दै गरेकी महिलासँग अन्दाजी पाँच छ वर्षको छोरा थियो। ऊ उस्तै उमेरको आफ्नो साथीसँग खेल्दै थियो। त्यहाँ काउबोए ह्याट लगाएको एउटा पश्चिमा आइपुग्यो। मकै किन्ने र बेच्ने मानिस आ-आफ्नै धुनमा।

त्यो पश्चिमा पुरूषले एउटा बालकलाई बोकेर आफ्नो छातीमा टाँस्यो र गालामा चुम्बन वर्षाउन थाल्यो। गर्मी महिना भएकाले होला सायद त्यो बालकले हाफ प्यान्ट मात्र लगाएको थियो। उसको शरीरको माथिको भाग भने निर्वस्त्र थियो।

त्यो पश्चिमाले त्यो बालकलाई मन पर्ने एउटा हिन्दी गीत गाउन थाल्यो। दुवैले त्यही गीत गाएपछि उनीहरू अलि पुरानै चिनजानका रहेको प्रस्ट भयो। त्यो पुरुषले त्यो बालकलाई बोकेर अलि बढी नै अश्लिल र बिरामी लाग्ने पाराले उसको पेट र छाती सुम्सुम्याउदै सबैको सामु अलि धेरै नै चुम्बन गरिरहेपछि मेरो मनमा चिसो पस्यो, शंका लाग्यो। यो पश्चिमा मानिस पक्कै पनि बाल यौन दुराचारी हुनुपर्छ।

युरोप, अमेरिका र अस्ट्रेलियामा त अरूको छोराछोरीलाई यसरी बोक्न, जताततै छुन र चुम्न पूरै वर्जित छ। यतिसम्म कि, ब्रिटेनमा बाबुआमाको अनुमतिबिना पत्रकारले अरूको छोराछोरीसँग अन्तर्वार्ता लिन र फोटो खिच्नसमेत कानुनत: वर्जित र दण्डनीय छ।

फेवा किनारको त्यो दृश्य म स्तब्ध भएर हेर्दै थिएँ तर केही बेरपछि त्यो पश्चिमा पुरुष त्यो अबोध बालकसँग विदा भएर आफ्नो बाटो लाग्यो। मैले ती मकै पोल्दै गरेका बालकका आमालाई सजग गराएँ र नेपालमा पश्चिमा बाल यौन दुराचारी पुरूषहरू आउने गरेको बताएँ।

त्यसपछि म हतार हतार त्यो पश्चिमालाई पछ्याउँदै ऊ कुन होटलमा बसेको रहेछ त्यो थाहा पाउने कोसिस गरेँ। तर ऊ भिडमा कता-कता हराइसकेछ। मैले भेट्टाउन सकिनँ। पछि ती आमालाई फेरि सोधेँ, ‘के उसले यी बालकलाई होटलमा पनि लैजान्छ?’ 

जवाफ आयो, ‘होटलमा त लगेको छैन तर चकलेटहरू दिइरहन्छ।’ 

मैले त्यो घटनाबारे पोखराका एक होनहार युवा पत्रकार र लेकसाइडको प्रहरीलाई पनि खबर गरेँ। काठमाडौं फर्कइसकेपछि पनि सोधीखोजी गरेँ। तर उनीहरूले त्यो पश्चिमा पुरूषबारे थप जानकारी पाउन सकेनन्। न त उनीहरूले उसलाई त्यही स्थानमा फेरि भेट्टाउन नै सके।

म भने निश्चित भएँ त्यो पश्चिमा पुरूष नेपालबाट सजिलै उम्कियो।

लेकसाइडमा त्यो दृश्य देखेपछि हलनचोक नजिकैको होटलमा आराम गर्न जानुअघि म थप दृश्यहरू हेर्न केहीबेर त्यहाँको व्यस्त सडकमा भौँतारिएँ। तर मेरा आँखामा अझै पनि अन्नपूर्ण हिमाल र कालीगण्डकी किनारका अनगिन्ती दृश्यहरू नाच्दै थिए।

नवौं दिन – पोखरा-काठमाडौं

अर्को दिन बिहानै आरामदायी मानिने टुरिस्ट बस चढेपछि काठमाडौं फिर्ती सुरू भयो। तनहुँको डुम्रे कटेपछि सोचेँ, अब चाहिँ साँच्चै अन्नपूर्ण चक्रीय मार्गको घुमाउरो यात्रा पूरा भयो।

बसमा फर्किँदा फेरि झ्याल बाहिर मर्स्याङ्दी नदी आइपुगिन् र तिनले मुग्लिनसम्म साथ दिइन् जहाँबाट मर्स्याङ्दी त्रिशूलीमा एकाकार हुन पुगिन्।

नौ दिनमै अन्नपूर्ण चक्रीय मार्गको यात्रा पूरा गरेपछि सोचेँ, ‘फुर्सद त मिलोस् म फेरि लम्जुङबाट हिँडेरै मोटरबाटो बन्नुभन्दा अघिको प्रख्यात पदमार्गमा हिँड्दै हिड्दै तिलिचो ताल जानेछु र मुस्ताङ पुगेर तीन साता लगाएर फेरि बेनी पुग्नेछु। वा माथि तातोपानीबाट फेरि पुनहिल-घान्द्रुक छिचोल्दै नयाँपुल आउनेछु। अझै फुर्सद मिले जोमसोमबाट उपल्लो मुस्ताङको लोमान्थाङ पनि पुग्नेछु …’

तर त्यस्तो संयोग जुर्न कठिन छ। – सुरेन्द्र फुयाल

 

सम्बन्धित समाचार