चिहान डाँडामा लगिएको शवलाई दाहसंस्कार प्रक्रिया सुरु गर्नु अगाडि पुरोहितले उनको कुण्डली हेरेर अन्त्येष्टि कसरी गर्ने भन्ने निर्णय गर्ने गर्दछ । माटो देखाए शवलाई गाड्ने, आगो देखाए जलाउने, हावा पाए उडाउने तथा पानी पाए खोलामा बगाउने गरिन्थ्यो । तर अचेल अधिकांश शवलाई जलाउने नै गरिन्छ ।
तमूहरुमा मृत्युको संस्कारलाई तीन भागमा बाँडिएको हुन्छ । पहिलो मृत्यु भएकै दिन वा केही समय भित्र अन्त्येष्टि क्रिया गरिन्छ । यसपछि वायुपूजा गरिन्छ । मृत्युको १३औँ दिन वा ४५ दिनमा अर्घुं(पय) गरिन्छ । अन्त्येष्टि क्रियाको दुख ३ दिन देखि १३ दिनसम्म गरिने प्रचलन छ । यसमा आफ्नो चलन तथा पुरोहितको सल्लाह पनि स्विकार्ने गरिन्छ ।
वायुपूजा वा पितृपूजा भने मृत्यु भएको केही दिन वा महिनामा मृत आत्माका कारण कोही बिमार भएको वा परिवारमा कुनै समस्या भएमा पुरोहितले वायुपूजा गर्न सल्लाह दिएमा मात्र गरिन्छ । वायुपूजा खासगरि वैशाख पूर्णिमा तथा मङ्सिर पूर्णिमामा गरिने गरिन्छ । अन्तिम अर्घुं भने अन्त्येष्टि क्रिया समाप्त भएकै दिन अर्थात् १३औँ दिन वा ४५औँ दिन गरिन्छ । तर कहिलेकाहीँ पारिवारिक अप्ठ्यारा परिस्थितिमा पुरोहितको सल्लाह अनुसार अन्य दिन पनि गर्न सकिन्छ । अर्घुं (पय वा पए) गरिँदा एक राते वा तीन राते गरी दुई किसिमले नै गर्न सकिन्छ ।
अन्त्येष्टि क्रिया
तमूहरुमा कसैको मृत्यु भए पछि सबैभन्दा पहिले परिवारको एक सदस्य रक्सीको पुङ लिएर गाउँका ठालुको घर पुगेर मृत्युको सूचना दिनुपर्दछ । ठालुको अनुरोधमा गाउँका भद्रभलाद्मीहरु मृत्यु भएको घरमा पुग्दछन् र अन्त्येष्टि कसरी गर्ने भन्ने विषयमा सरसल्लाह गर्दछन् । यसप्रकारको छलफलको प्रक्रियालाई छोंज भनिन्छ । यस छलफलमा मावली परिवार, पुरोहित तथा अन्य पाहुनाहरूलाई खबर गर्नको लागि टेल्कुहरू नियुक्त गर्दछ ।
सबैभन्दा पहिले मृत्युको सूचना दिन टेल्कुहरु आस्यों (मावली) पुग्दछन् । आस्यों कहाँ जाँदा रोटीको पेरुङ्गो र रक्सीको पुङ लिएर जाने गर्दछन् । यसरी मावलीलाई मृत्युको सूचना दिन जाने प्रक्रियालाई आस्योंत्यैंब भनिन्छ । यसैगरि टेल्कुले पुरोहितलाई पनि रक्सीको पुङ लिएर सूचित गर्न जाने गर्दछ । जसलाई खेगित्यैंब भनिन्छ । यसैगरि मृत्यु संस्कार कार्यका हरहिसाब तथा भाइस्योराको हिसाब राख्नका लागि विश्वासिला आफन्तहरूलाई खैचि चिब राख्ने गरिन्छ । गुरुङ(तमू)हरूको मृत्युसंस्कार कार्यमा अर्को मुख्य भूमिका “म्हो” को हुन्छ । म्हो अर्थात् घरको ज्वाइँहरूले नै सबै व्यवस्था मिलाउने काम गर्दछ । तथा मृत्यु संस्कारको आम्दानीको हकदार पनि म्हो नै हुने गर्दछ ।
आस्यों क्वैं (आस्यां प्युरी)
आस्यों तथा पुरोहितहरू आइसकेपछि पहिलो कार्य हुन्छ मृत व्यक्तिको शिर फर्काउने कार्य जसलाई क्रतोब भनिन्छ । यसको साथै मावलीबाट कात्रो तथा एक माना चामल लानुपर्ने चलन छ । कात्रोको रूपमा ६ हात सेतो कपडा तथा एक माना चामल मावलीबाट ल्याउने गरिन्छ । यसरी मावलीबाट दिइने कात्रोलाई आस्यों क्वैं र चामललाई आस्यों प्युरी भनिन्छ ।
मावलीबाट पठाइने आस्यां प्युरी (क्वैं तथा चामल) बिना अर्घुं(पय वा पए) सम्पन्न गरेमा मृतात्मा नर्क बास हुन्छ भन्ने कथन छ । यसका केही पौराणिक आख्यानहरू यस प्रकारका छन् ।
कुनै बेला पैलमापै र कोइली नाम गरेका दाजु बहिनी बस्दथे । दुःखसुखमा बसेका दाजुबहिनीमा एकदिन क्लोहसोंथरको घले राजाको मन्त्रीसँग कोइली बहिनीको विवाह हुन्छ । यता दाजु भने आफ्नै थलो नम्रजुक्ह्यल्समा नै बसिरहेका थिए । दाजुको विवाह पछि दाजू भाउजू दु:खकष्टसँग पानी घट्ट गरेर बाँचिरहेका थिए । यस्तैमा दसैँ आयो टीका पनि सकियो तर बहिनी माइत आएनन् । दाजुलाई बहिनीको चिन्ता लाग्यो । कामले फुर्सद नपाएर माइत टीका थाप्न पनि आउन पाएनन् भन्दै दाजुले बहिनीको दशैको कोसेली बोकेर बहिनी भेट्न क्लोहसोंथर पुगे ।
दसैँको भागका रूपमा रोटी, रक्सी, मासु, मजेत्रो गच्छे अनुसारको कर्मु बोकेर बहिनीको घर जाँदा दाजु निकै दंग थिए । बहिनी जे भए पनि मन्त्रीको श्रीमतीका रूपमा खुसीका साथ राजाको नजिक रहेका थिए । दाजुसँग भेट हुँदा बहिनी निकै खुसी हुँदै नजिक आउँछे भन्ने दाजुलाई ठूलो आशा थियो । तर दाजुलाई देख्नासाथ बहिनीको अनुहार मलिन भयो । खुसीको अपेक्षामा पुगेका दाजु बहिनीको मलिन अनुहार देखेर झन् चिन्तित भए । तर बहिनीको कुरा अर्कै थियो । मन्त्रिणी भएकी बहिनीले पानी घट्ट गरेर खाने दाजुलाई माइत भन्न नै लाज लागेको रहेछ । बहिनीको बिचारमा दाजु नआई दिए हुने झैँ भएको रहेछ । बहिनी खुसी पनि भइनन् सत्कार गर्न पनि आएनन् । राम्रोसँग दाजुसँग बोल्न पनि खोजेनन् र सत्कारमा जाँडपानी पनि सोधेनन् । रातमा बासी भात भुटेर खान दिएछन् । सुत्न पनि पुरानो कपडाको थाङ्ना दिएर पिँडीमा नै सुत्न लगाएछन् । बहिनीको माया छाती भरि बोकेर आएका दाजुको मन बहिनीको निष्ठुरी व्यवहारले पोल्न थाल्यो । रातभर निदाउन पनि सकेनन् । एकाबिहानै उठेर केही नबोली दाजु आफ्नो घर फर्किए ।
घर पुगेपछि आफ्नी श्रीमतीलाई बहिनीले देखाएको व्यवहारको कुरा सबै सुनाए । साथै अब बहिनीको घर कहिल्यै नजाने तथा बहिनीको घरको कुनै पनि राम्रो नराम्रो कुराको अब वास्ता नगर्ने सल्लाह गरे । समय बित्दै गयो । दाजुको पानीघट्टको कामले फुर्सद नै थिएन । बचेका दुइचार पैसाले दाजु भाउजूको घर व्यवहार चलिरहेकै थियो । तर सुखमा रहेकी बहिनी कोइली आमाको एकदिन देहान्त भयो । कोइली आमाको देहान्त भएपछि आस्यों क्वैं लिन भनेर थोस्यारेफे र खिस्यारे नाम गरेका दुई टेल्कु नम्रज्युक्ह्याल्समा पैलमापै कहाँ आइपुगे । निकै लामो समय देखि पैलमापै बहिनी भेट्न पनि नआएको र कुराकानी पनि नगरेको हुँदा पक्कै रिसाएको अनुमान गरेर लेमकोंले क्वैं माग्न जाँदा बाख्राको सिङ भरि सुन र रुपैयाँ पैसा राखेर पठाएका थिए । यता पैलमापैले पनि कोइली बहिनीले उनको घरमा आफूलाई निकै हेला गरेको सबै कुरा सम्झँदै सुन र पैसा पूर्व र दक्षिण दिशा तर्फ फालेर आफूलाई चित्त दुखेका सबै कुरा भनेर क्वैं नदिई टेल्कुहरुलाई फर्काइदिए । आस्यों क्वैं नलिई टेल्कुहरु फर्किए पछि लेमकोंले पनि पुरेत र भद्र भलाद्मीसँग सरसल्लाह गरी बिना आस्यों क्वैं अर्घुं(पय वा पए) गर्ने पुरेत खोज्न लागे । मिप्रोच्होप्रो पच्युले आस्यों क्वैं नभए पनि अर्घुं(पय वा पए) गर्न सकिने सल्लाह दिएर अर्घुं(पय वा पए) गरिदिए । यसरी अर्घुं(पय वा पए) गरेपछि कोइली आमा स्वर्ग गएको विश्वासमा रहन थाले ।
कोइली आमाको देहान्त भएको केही महिना पछि भेडा बाख्रा चराउन जाने गोठालाहरूले वनको बाटोमा भों भोंचै (अनौठो गुह्यकिरा)को रूपमा कोइली आमा भेटे । गोठालोहरूसँग भों भोंचैको रूपमा रहेकी कोइली आमाले भने, “आस्यों क्वैं बिना नै मेरो अर्घुं(पय वा पए) गरेको हुँदा म वैकुण्ठमा पितृहरूसँग रहन पाइन । त्यसैले लेमकोंले मेरा दाजुसँग आस्यों क्वैं मागेर फेरी अर्घुं(पय वा पए) गरिदिए म वैकुण्ठ पुगी पितृहरूसँग रहने थिएँ” भनी सुनाए पछि ती गोठालाहरूले पनि आफूहरूले सुनेका कुरा लेमकोंलाई सुनाइदिए ।
लेमकोंले सबैसँगको सल्लाह गरिरहँदा एक कुनामा बसिरहेकी वृद्धाले भने आस्यों कहाँ क्वैं लिन जाँदा सुन पैसाहरू लिएर जानुहुँदैन । आस्यों कहाँ जाँदा रोटीको पेरुङ्गो र रक्सीको पुङ लिएर जानुपर्दछ भने पछि लेमकोंले आफ्नो जातीय परम्परा अनुसार रोटीको पेरुङ्गो र रक्सीको पुङ लिई आफै पैलमापैको घर रहेको नम्रज्युक्ह्याल्समा पुगे ।
कोइली आमाको माइत पुगेका लेमकोंले पैलमापैं सामु भने, “तपाईँको बहिनीले घमण्ड गर्दा आफ्नो यो गति हुन पर्यो । उनले गरेको घमण्डले स्वर्ग जान पाइनन् । तपाईँले उनलाई माफ गरी उनलाई क्वैं दिएर मुक्ति दिलाइ दिनुस् । तपाई र बहिनी एउटै आमाको गर्भमा बस्नुभयो, एउटै आमाको दूध चुस्नुभयो, अब म तपाईँको ज्वाइँ बहिनीको एक अङ्ग भएर तपाइको पाउमा शरण पर्न आएको छु । हामी गुरुङहरूमा एउटा भनाइ छ, “रुख नुहिँदैन, बाँस नुहिन्छ | डुँडुलो नुहिँदैन, घुँडा नुहिन्छ । बाख्राको सिङ नुहिँदैन, भेडाको सिङ नुहिन्छ । माइती नुहिँदैन, चेली नुहिन्छ । त्यसर्थ म चेलीको अङ्गका रूपमा नुहिन आएको छु । तपाइको दया धर्म भए आँस्यो क्वै दिनुस् ।”
यसरी ज्वाइँ लेमकोंको विनम्र अनुरोध सुनेपछि पैलमापैले धमिलो मन लिएरै भए पनि आफूसँग जे छ त्यसैको आस्यों क्वैं दिँदै भने, “पानीघट्टामा पिठो बढार्ने भाङ्ग्राको यो टालोले कात्रो होस्, मैले दिएको जाँडको छोक्राले क्ह्यार्स पा होस्, एक मुठी कनिकाले नौ बान भात होस्” भनी ज्वाइँलाई दिए ।
लेमकोंले क्लोहसोंथरमा फर्केर फेरी आफ्नी श्रीमती कोइली आमाको अर्घुं(पय वा पए) गरिदिए । पून अर्घुं(पय वा पए) गरेपछि दोबाटोमा भेटिएको भों भोंचै देखिएन । यसरी कोइली आमा स्वर्ग गएको भन्नेमा विश्वास गरे । यसपछि क्लोहसोंथरका घले राजा र लेमकोंले झुट्टा अर्घुं(पय वा पए) गर्ने मिप्रच्होप्रो पच्युलाई स्योले पच्यु भनेर भन्न थाले । यसरी मावलीको आस्यों क्वैं नल्याइ अर्घुं(पय वा पए) गरिँदा मृतात्मा स्वर्ग नतर्ने हुँदा आस्यों क्वैं ल्याउनै पर्ने प्रचलन मृत्यु संस्कारमा रहन गएको भन्ने भनाइ छ ।
यहीँ किंवदन्तीको कथा केही भिन्न रूपमा पनि सुन्न पाइन्छ । जसअनुसार, क्लोहसोंथरको घले राजाको दरबारमा ह्रिल तमूको जेठो छोरा चिमिविडु तमू ख्ह्रों (मन्त्री)का रूपमा रहेका थिए । राज्यको तर्फबाट कर उठाउने जिम्मा पाएका चिमिविडुले आफ्नो सहोदर मामा ल्हेए र माइजू ग्याल्खुलाई पनि छोडेनछन् । मामामाइजूको सम्पत्ति नै हरण हुने गरी कर उठाए पछि मामा माइजू निकै गरिब भएछन् । साँझ बिहानको खानाको जोह गर्न पनि समस्या भए पछि आफ्नै सहोदर भाञ्जालाई मामा माइजूले श्राप दिएछन् । कहिल्यै भलो नहोस्, सम्पत्ति छिट्टै सकियोस्, रोगी भएस्, छिट्टै मरेस्, नर्कमा बास होस् भन्दै श्राप दिएछन् ।
मामा माइजूहरूलाई दिनदिनै दु:खकष्ट भएपछि एकदिन राजालाई बिन्ती गरेर गाउँ बाहिर खोला किनारमा क्ष्यदो (पानीघट्ट) राख्ने अनुमति मागे । राजालाई पनि ल्हेए र ग्याल्खुको दुखको जानकारी थियो । यसैले तुरुन्तै अनुमति दिइहाले । मामा माइजू दुई मिलेर पानीघट्ट चलाएर त्यहीबाट ज्यालामा आउने दुइचार माना अन्नबाट जीविका चलाउन थाले ।
उता मामा माइजूको श्रापले भाञ्जा चिमिविडुको रोगले ग्रस्त भएर छिट्टै नै मृत्यु भयो । राजाले क्लोहसोंथरकै मिप्रच्होप्रो पच्युलाई बोलाएर मृत्यु संस्कारको कार्य गराए । दुई टेल्कुलाई ल्हेए र ग्याल्खुको घर आस्यों क्वैं माग्न पठाए । भाञ्जा चिमिविडु कै कारण आफूहरूले दु:खकष्ट पाएको सम्झि आस्यों क्वैं दिएर पठाएनन् । मिप्रच्होप्रो पच्युले आस्यों क्वैं बिना नै अर्घुं(पय वा पए) गरिदिए ।
अर्घुं(पय वा पए) गरेको केही दिन पछि राजाले सपनामा चिमिविडुलाई निकै दुःख पाएको देखे । शरीर भरि घाउ खटिरा आएको, दिशामा डुबेको, शरीरमा झारपाट पलाएको तथा रुँदै गरेको देखेपछि राजाले सभा बोलाएर चिमिविडु नर्कमा पुगेको हुँदा के गरे स्वर्ग तार्न सकिन्छ भनेर छलफल गरे । अन्तमा चिमिविडुको फेरी अर्घुं(पय वा पए) गर्न पर्ने निर्णय भयो । ख्लेपेंगुरुलाई बोलाएर अर्घुं(पय वा पए) कार्य गर्ने तैयारी भयो । यसपटक राजाले नै ल्हेए र ग्याल्खुसंग चिमिविडुको फेरी अर्घुं(पय वा पए) कार्य गर्नको लागि आस्यों क्वैं माग्न पठाए । राजाकै दयाधर्मले पानीघट्ट चलाउन पाएको तथा राजाले चिमिविडुको अर्घुं(पय वा पए)का लागि आस्यों क्वैं माग्न पठाएको हुँदा राजाले फेरी पानीघट्ट पनि चलाउन नदिन सक्ने सोचेर आफू निकै गरिब भएको तथा आफूसँग आस्यों क्वैंका दिन केही नभएको सम्झि घट्ट पुछ्ने टालो र घट्टमा मुखमा टाँसिएको दुइचार दाना अन्न दिएर भने “पानीघट्टामा पिठो बढार्ने भाङ्ग्राको यो टालोले कात्रो होस्, मैले दिएको जाँडको छोक्राले क्ह्यार्स पा होस्, एक मुठी कनिकाले नौ बान भात होस्” ।
यहीँ सानो टालो, दुइचार दाना अन्न र जाँडको छोक्रालाई नै आस्यों प्युरी मानेर ख्लेपेंगुरुले अर्घुं(पय वा पए) कार्य सम्पन्न गरिदिए । जसका कारणले गर्दा चिमिविडुको स्वर्गमा बास भयो । यसैले पितृकार्य वा मृत्युसंस्कार गर्दा आस्यों प्युरी नभई हुँदैन भन्ने चलन रहेको छ । यदि सहोदर आस्यों कोही नभएमा टाढाको आस्यों भए पनि हुन्छ । टाढाको आस्यों पनि नभए गाउँले आस्योंले भए पनि आस्यों प्युरी ल्याउनु पर्ने चलन अद्यावधि रहेको छ ।
आलाँ गाड्ने
गुरुङहरूको मृत्यु संस्कारमा आलाँ गाड्ने प्रचलन पनि रहेको छ । बाह्र ल्होँ (वर्ष)को प्रतिकात्मक बाह्र हातको बाँसमा पञ्चशीलको प्रतीक स्वरूप पाँच हातको नैनसुटको कपडामा मृतात्माका लागि चेलीहरूले बनाएको रोटी, फलफूल तथा रक्सी बाँधेर ठाडो बनाएर गाडिन्छ । आलाँ घरको जेठो ज्वाइँले नै गाड्नुपर्दछ ।
प्लह बनाउने
मृत शरीरलाई दाहसंस्कारमा लग्नका लागि प्लह बनाउनु पर्दछ । बाँसलाई चिरेर शवलाई टुक्रुक्क बस्न मिल्ने गरेर बनाइन्छ । यस भित्र शव राखिसकेपछि पातले छोपिन्छ र आस्यों क्वैं ले बेरिन्छ । यसरी शवलाई प्लहमा राखिसकेपछि आँगनमा राखेर क्रमुँ क्रेगि चढाइन्छ । यसरी क्रमुँ क्रेगि चढाउँदा फलाना मावलीबाट चढाउन आएको हो । यो क्रमुँ क्रेगि जाडो हुँदा ओढ्नु, भोक लाग्दा खानु, तिर्खा लाग्दा पिउनु, डर लागे साथी गर्नु, अँध्यारो भए उज्यालो गर्नु अलमल नगरी सररर स्वर्गमा गएर पितृहरूसँग बस्नु । यसरी सबै भनिसकेपछि क्रमुँ क्रेगि प्लहमा ओढाइन्छ र कोसेली सँगै राखिन्छ । सुरुमा मावलीले यो कार्य गरिसकेपछि अन्य आफन्तहरूले पनि गर्ने गर्दछ ।
क्रमुँ क्रेगि
क्रमुँ क्रेगि ओढाउने काम सकिए पछि छोरीले वा छोरी नभए फूपुले क्रसा गर्नुपर्दछ । कपाल फुकाएर ढाडमा टिकिस बाँधेर चरेसको थाल र काँसको बटुकोमा घ्यू राखिन्छ । यसपछि घ्यूले प्लहमा तीन पटक लगाएर प्लहलाई चोखो बनाइन्छ । यसरी क्रसा गर्दा उपयोग गरिएको थाल र कटौरा छोरीलाई नै दिइन्छ ।
प्लह (शव)को शिर तिर एउटा काठको फल्याक राखिन्छ । हातमा चोयाको कोरा तथा खुकुरी लिएर घुम्दै फल्याकमा हानिन्छ । अन्तमा मावली परिवारले खुकुरीले हान्दा फल्याक फुट्नु पर्दछ । फल्याग फुट्नुलाई मृतात्माका लागि स्वर्गका ढोका खुल्नु हो भन्ने मान्यता राखिएको हुन्छ ।
ख्रुइतेब
मृतकको खुट्टालाई शुद्ध जल राखिएको ताउलोमा डुबाएर चोख्याउने कार्यलाई ख्रुइतेब भनिन्छ । यसरी चोख्याउँदा जीवनमा भएको गलत कर्महरू सबै पखालिन्छ भन्ने मान्यता छ । यो ताउलोलाई ज्वाइँलाई दिइन्छ ।
क्याँ क्वैं
शव यात्रामा निस्कँदा बाटो देखाउनका लागि सेतो नैनसुटको कपडालाई निगालालाई चिरा पारेर बाँधिन्छ । कपडा कम्तीमा ८ हात लामो हुनुपर्छ भने निगालाको सङ्ख्या मृत्यु भएका व्यक्ति पुरुष भएमा बिजोर तथा महिला भएमा जोर सङ्ख्यामा समाएर लग्ने गरिन्छ । यसरी बाटो देखाउने कपडालाई क्याँ क्वैं भन्ने गरिन्छ । यसरी बनाइएको लामो कपडा क्याँ क्वैं र प्लहलाई चोयाले बाँधेर जोडिएको हुन्छ ।
स्यर्ग गाउने
मृत्यु संस्कारमा एउटा महत्त्वपूर्ण अन्य जातिमा खासगरि नभेटिनेमा स्यर्ग गाउने पनि हो । जन्मदेखि मृत्युसम्मको यात्रालाई गीति भाखा दिएर गाइने गीतलाई स्यर्ग गाइने भनिन्छ । स्यर्ग १८ तालको हुन्छ जसलाई भाले र पोथीका रूपमा अलग अलग गाइदा ३६ ताल हुन जान्छ । यसरी नाचगान गर्न आउने समूहलाई पलिग भनिन्छ । पलिगहरूको खानपान तथा बस्ने व्यवस्था मृतकको परिवारले नै गर्नुपर्दछ ।
यसरी सम्पूर्ण कार्य सकिए पछि बल्ल शवयात्रा सुरु हुन्छ । शवयात्रामा सबैभन्दा अगाडि पुरोहित लामा, किरिया पुत्रहरू, मावलीहरू, क्याँ क्वैंको लस्कर, प्लह(शव) र अन्तमा मलामीहरूको लस्कर जाने गर्दछ । खोला किनार वा चिहान डाँडामा पुगेपछि शवलाई अग्नीदान गर्ने प्रक्रिया हुन्छ । मुखमा अग्नीदान गरेपछि गलत कर्महरू सबै जलेर भस्म हुने विश्वास गरिन्छ ।
क्याँकैइ
दाहसंस्कारका लागि शवयात्रामा गाउँबाट निस्कँदा दोबाटोमा पुगेपछि मृतात्मा घर फर्केर नआओस् भनेर बाख्री काटेर भोग दिइने गरिन्थ्यो । यस प्रक्रियालाई क्यक्याँ भनिन्थ्यो तर यो चलन भने अचेल हराइसकेको छ । यसरी काटिएको बाख्रीको मासु पकाउन तथा भात पकाउन केही मानिस त्यही बस्दथे । दाहसंस्कारको प्रक्रिया पुरा गरी मलामी फर्कँदा त्यही दोबाटोमा मासुभात खुवाउने गरिन्थ्यो । यसरी भात खानेलाई नेपालीमा काट्टो खाने भनिन्थ्यो भने तमुहरूले क्याकैँइ भन्ने गर्दथे । अचेल यसरी क्याकैँइ खाने संस्कार हराइसकेको छ ।
ह्रोसेलेब
चिहान डाँडामा लगिएको शवलाई दाहसंस्कार प्रक्रिया सुरु गर्नु अगाडि पुरोहितले उनको कुण्डली हेरेर अन्त्येष्टि कसरी गर्ने भन्ने निर्णय गर्ने गर्दछ । माटो देखाए शवलाई गाड्ने, आगो देखाए जलाउने, हावा पाए उडाउने तथा पानी पाए खोलामा बगाउने गरिन्थ्यो । तर अचेल अधिकांश शवलाई जलाउने नै गरिन्छ । कुनै कुनै अवस्थामा गाड्ने गरिन्छ । हावामा फ्याँकेर चील गिद्धलाई खुवाउने तथा पानीमा बगाउने प्रचलन कतै पनि गरिँदैन । चील गिद्धलाई खुवाउने प्रचलन कतै कतै भोटे समुदायमा चीनको स्वशासित क्षेत्रमा भेटिन्छ । यसरी दाहसंस्कार गर्ने प्रक्रियालाई ह्रोसेलेब भनिन्छ । ह्रोसेलेब समाप्त भई फर्केका मलामीहरूलाई दोबाटोमा स्युरीधुप र सुनपानीले छर्केर शुद्ध गर्ने तथा चोख्याउने गरिन्छ । यसरी चोख्याए पछि किरिया बस्नेहरू बाहेक मलामी गएका सबै चोखिन्छ ।
थाँसो
दाहसंस्कार गरेको साँझ घर चोख्याउने काम हुन्छ । जसलाई थाँसो फाल्ने भनिन्छ । थाँसो फाल्ने साँझ नै भाइखलकहरू छलफलमा बस्दछन् । पुरोहित तथा भाइखलकको सल्लाहमा कति दिनमा टचै फुकाउने तथा कति दिनमा अर्घुं(पय वा पए) गर्ने निर्णय गर्दछन् ।
टचै
अन्त्येष्टि पछि जुठो बसेको १३ दिनमा वा त्यो भन्दा पहिले मावली खलकले टीका र फूल लगाइदिएर टचै चोख्याउने कार्य गरिन्छ । जसलाई टचै भनिन्छ । यसरी टचै प्रक्रिया सकिए पछि टचैको चोखो भात मावली खलकलाई खुवाएर सम्मान गरिन्छ । टचै गरेपछि अन्त्येष्टि प्रक्रिया समाप्त हुन्छ । यसपछि अर्घुं(पय वा पए)को तैयारीमा लाग्दछन् ।
अर्घुं(पय वा पए)
अर्घुं(पय वा पए) कहिले देखि गर्न थालिएको भन्ने वास्तविक इतिहास भेटिँदैन । तर किंवदन्ती वा कथाहरूका अनुसार क्लोह सोंथरमा राजपिताको देहावसान भए पछि नयाँ घले राजाले ख्लेप्रें गुरुको सल्लाहबाट पहिलो पटक अर्घुं(पय वा पए) गरेको भन्ने पाइन्छ । यस कार्यमा पनि कतिपय संस्कारहरू तेह्रदिने पितृकार्य जस्तै नै हुन्छ । छोंज बसेर सरसल्लाह गर्दथे । पय गर्ने घरमा पाहुना धेरै आउने हुँदा पकाउने र खुवाउने चिन्ता हुन्थ्यो । तसर्थ अचेलको जस्तो धेरै सुविधा नहुँदा वनमा गएर पात टिप्ने तथा दाउरा बटुल्नका लागि गाउँका प्रत्येक घरबाट एकजना सहयोगका लागि पय गर्नु अगाडि जम्मा हुन्थे र पात दाउरा बटुल्न जान्थे । यस कार्यलाई लसिँ भनिन्थ्यो । गुरुङ भाषामा ल भनेको पात र सिँ भनेको दाउरा तसर्थ पात र दाउरा संकलन गर्ने हुँदा लसिँ भनिन्थ्यो ।
मावली र गुरु पुरोहितलाई निम्तो दिन अस्योंत्यैंब र खेगित्यैंब जानुपर्दछ । खेगित्यैंबमा जाँदा टेल्कुहरूले पुरोहित वा लामाका सामग्रीहरू पनि बोकेर ल्याइदिनुपर्दछ । यस्तै नाताकुटुम्ब सबैलाई निम्तो दिने कार्यलाई फ्ह्रैं किंब भनिन्छ । मूल पुरोहित आइसकेपछि निगालाको एक बित्ता जति लामो काटेको भागलाई बिचबाट चिरा लगाइ दुई कप्टेरो बनाइ मूल पुरोहितलाई टक्राइन्छ । मूल पुरोहितले सो निगालाको कप्टेरा पासा झैँ फालेर जोखना हेर्दछ । यसरी जोखना हेरिसकेपछि पय कसरी गर्ने भन्ने निर्णय गरिन्छ । यस कार्यलाई मबु क्लेब भनिन्छ ।
यसपछि बल्ल पय स्थापना गरिन्छ । मूल पय गर्ने स्थान स्थापना गर्नुलाई पय चुँब भनिन्छ । यसरी पय चुँब गरिए पछि बल्ल अर्घुं(पय वा पए)को सुरुवात हुन्छ । तमूहरुको मूल घरमा कूलदेवताका रूपमा फैलू स्थापना गरिएको हुन्छ । पय गर्ने समय फैलू जुठो हुने हुँदा पय गर्ने परिवारको नजिकका आफन्त घरमा रहेका बाँसको ढुङ्ग्रोमा झुन्ड्याइएको फैलूलाई चुँडालेर फ्याँक्नुपर्दछ । पय सकिए पछि नयाँ फैलू पूजा गरेर घर घरमा झुन्ड्याइन्छ ।
पय गर्दा पनि आलाँ गाड्ने तथा क्रसा गर्ने, क्रमुँ क्रेगि चढाउने गरिन्छ । यस पछि अर्को महत्त्वपूर्ण कार्य ख्होक्युउ गरिन्छ । छोरी, चेली, मावली तथा पय गर्ने कर्ताले नाङ्लो भरि फलफूल, रोटी तथा अन्य खानेकुराहरू सजाएर चढाएको हुन्छ । भेडाहरूको शरीरमा पितृको आत्मा चढाइ भेडालाई हातखुट्टा धोइदिएर “तिमी हाम्रो पितृको ख्होक्युउ हौ, मन परेको खानेकुरा पेटभरी खानु” भनेर छोडिन्छ । भेडाले सबैभन्दा पहिले जसको खानेकुरा पहिले खान्छ उसलाई पितृले मन पराएको भन्ने गरिन्छ । यसरी भेडाले खानेकुरा खाएपछि शरीर हल्लाउँछ अर्थात् काम्छ । यसपछि सो भेडाको थोरै उन उखेलेर कानमा लगाइन्छ । यसो गर्दा पितृको आशिक लाग्ने विश्वास गरिन्छ ।
अन्तमा दौथर अर्थात् पितृहरूको नाम लिँदै पूजा गर्ने कार्य हुन्छ । यसपछि पयको अन्त्य गर्दै पय लेब गरिन्छ । सम्पूर्ण कार्य समाप्त भए पछि पुरोहितले झ्याली बजाउँदै बाहिर निस्कन्छ । ज्वाइँहरूले आलाँ र प्लह बोकेर बाहिरिन्छ । एकैछिन नाचगान हुन्छ । अन्तमा आलाँ र प्लह बिगारेर फेकिन्छ । यसरी तीन दिने पय कार्य समाप्त हुन्छ ।
(सुनिल उलकको फेसबुकबाट साभार)