acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
काठमाडौं उपत्यकाका आदिवासी, रैथाने समुदायको रूपमा परिचित नेवाहरू महिनैपिच्छे कुनै न कुनै चाडपर्व वा जात्रा मनाइरहेकै हुन्छन् ।
नेवाहरूले सालाना मनाउने विभिन्न जात्रापर्वहरूमा मकुण्डो नाचको विशेष महत्व छ । नेवारहरूले निकाल्ने मकुण्डो नाच तान्त्रिक विधिविधान अनुसार जीवित देवताहरू नै प्रस्तुत गर्ने गरिन्छ । यस्तै नेवारहरूको ठूलो जात्रा इन्द्रजात्रामा पनि विभिन्न मकुण्डो नाच निकालिने गरिन्छ । भाद्र शुक्ल द्वादशीको दिनमा हनुमानढोकामा कालभैरवको अगाडि यःसिं उठाइएपछि इन्द्रजात्राको विधिवत् शुरुवात हुने गर्दछ । इन्द्रजात्राको क्रममा जीवित देवी श्री कुमारीको साथमा श्री गणेद्यः र श्री भैरवको पनि रथयात्रा हुने गर्दछ । साथै यसै समयमा पुलुकिसि, लाखय्, दीप्याखं (देवी नाच), महाकाली नाच र श्री हल्चोक आकाश भैरवको नाच पनि निकालिन्छ ।
आकाश भैरव, चण्डी र कुमारीको मकुण्डो निकालिने यस हल्चोक आकाश भैरव नाचलाई स्थानीय नेवारहरू सवःभग्गु भन्ने गर्छन् । नेवाः समुदाय भित्र हल्चोकमा बसोबास गर्ने पुतुवार थरी समुदायले आकाश भैरव अथवा सवः भग्गु निकाल्ने गर्छन् । श्री हल्चोक आकाश भैरवको जात्राको इतिहासको सम्बन्धमा ठोस प्रमाण नभए तापनि नेपाल संवत् १०७ ताका राजा गुणकामदेवले शुरू गरेको जनश्रुति भने छ ।
राजा गुणकामदेवलाई महालक्ष्मी देवीले दर्शन दिइन् र देवीको आज्ञाअनुसार आफ्नो राज्यलाई शत्रुको भयबाट मुक्त बनाउन हल्चोकमा श्री आकाश भैरवसहित विभिन्न देवीदेवतालाई तान्त्रिक विधिबाट उत्पन्न गरेको वंशावलीमा उल्लिखित छ । हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा भने राजा अमर मल्लले शुरू गरेको बताइन्छ ।
पञ्चतत्वमध्ये एक वायु तत्व पनि हो । श्री हल्चोक आकाश भैरवलाई वायुको रूपमा लिने गरिन्छ । आजको दिनमा पनि कसैलाई वायु लागेको वा वायुको समस्या भयो भनिएमा हल्चोकमा आकाशभैरवको पूजा जाने चलन छ । इन्द्रजात्राको क्रममा जात्रा शुरू गर्नुअघि भाद्र शुक्ल पारुको दिनमा आकाश भैरव, भैरव र चण्डी तीनै जना देवदेवीको मकुण्डो मर्मत आदिको लागि काठमाडौं महाबौद्धको चित्रकारको घरमा पुर्याइन्छ । मकुण्डो सबै एउटा सन्दुकभित्र राखेर हलचोकको आगम घरबाट बोकेर मांसगल्ली पुर्याइन्छ ।
मकुण्डोको मर्मत गर्ने यस प्रक्रियालाई स्थानीय नेपाल भाषामा ‘लंपू छायेगु’ भनिन्छ । लंपू छायेगु काम सम्पन्न भएपछि भाद्र शुक्ल एकादशीको दिनमा चित्रकारबाट विधिवत पूजा गरी गुठीयारका नाइकेलाई मकुण्डो हस्तान्तरण गरिन्छ । चित्रकारको घरबाट मकुण्डो हल्चोकमा फिर्ता लग्ने क्रममा अगाडि मसाल बालेर पित्तलको एउटा सन्दुकमा मकुण्डो राखेर बोकेर लगिन्छ ।
सोही दिन हल्चोक पुगेपछि आकाशभैरवको द्यःछेँ (देवघर) अगाडि विशेष पूजा गरिन्छ । त्यहाँ १२ वर्षे जात्राका १० जना देवीदेवता श्री हल्चोक आकाश भैरव, चण्डी, कुमारी, पार्वती, गंगा, महादेव, बाराही, आकाशदेवी, दक्षिणकाली र महाकालीको मकुण्डोको विशेष पूजा हुन्छ ।
सो क्रममा गुठीका नाइकेबाट पूजा भएपछि अरूले पनि पूजा गर्ने गर्छन् । गुठीबाट बलि दिएर पूजा गरेपछि पूजा सम्पन्न हुन्छ । त्यसपछि त्यहाँ इन्द्रजात्रा बेला देउता बन्नेहरू मकुण्डो र पोशाक नलगाइन एकपटक नाच्ने गर्छन् । यो एक प्रकारको नाचको रिहर्सल भन्न सकिन्छ । भाद्र शुक्ल द्वादशीको दिन गुठियारहरू हल्चोकस्थित देवघरमा भेला भई चण्डी, कुमारी र हल्चोक आकाश भैरवको मकुण्डो र पोशाक एउटा सन्दुकमा राखेर त्यहाँबाट बोकेर काठमाडौंको किलागलस्थित काय्गःननिको एउटा घरमा पुर्याइन्छ । इन्द्रजात्राको अवधिभर सोही घरबाट आकाश भैरव देवगण निकालिने गरिन्छ । आकाश भैरव र काय्गःननि घरको सम्बन्ध के छ भन्ने विषय भने खुलेको छैन ।
श्री आकाश भैरवको नीलो मकुण्डो, नीलै जामासँगै हातमा खड्ग हुन्छ भने चण्डी र कुमारीले रातो मकुण्डो र रातै जामा लगाउने गरिन्छ । काय्गःननिबाट आकाशभैरव देवगण निस्किँदा सबभन्दा अगाडि मसाल हुन्छ भने त्यसपछि क्रमशः चण्डी, कुमारी र हल्चोक आकाश भैरव पछि बाजा खलक हुन्छ । शुरूमा काय्गःननिमा देवगण नाच्ने गर्छन् । यसलाई ‘द्यः ल्हाय्गु’ भनिन्छ । त्यसपछि चण्डी र कुमारी नाच्ने गर्छन् भने भैरव एक्लै नाच्छन् ।
त्यसपछि काय्गःननिबाट निस्केर काठमाडौंको विभिन्न क्षेत्रमा घुमेर नाच देखाइसकेपछि अन्तिममा काय्गःननिमै फर्किन्छ र काय्गःननिमा फेरी ‘द्यः ल्हाये’ गरेर सो दिनको नाच सम्पन्न गरिन्छ । विगतमा श्री हल्चोक आकाश भैरवलाई इन्द्रजात्राको क्रममा हनुमानढोकाको नासः चोकमा राँगो पनि दिने गरिन्थ्यो । २०४६ साल पछि यो चलन भने बन्द भएको छ ।
इन्द्रजात्राको अन्तिम दिन भाद्र कृष्ण तृतीयाको दिन काय्गःननिबाट देवगण निस्केर नगर परिक्रमा गरिसकेर काय्गःननिमै फर्किन्छ । सो दिनमा काय्गःननिको घरपतिले आकाश भैरव, चण्डी र कुमारी तीनै जनालाई विशेष पूजा गर्छन् । त्यसपछि देवगण हल्चोक फर्किन्छन् । सो क्रममा देवगण मकुण्डो र पोशाक लगाएरै जाने गर्छन् । फर्किंदा बाटोमा पूजा लिँदै जाने गरिन्छ । हल्चोकको पूजारीले लसकुस (स्वागत) गरी तीनै जना देउतालाई भित्र्याउँछन् । यसपछि जात्रा औपचारिक रूपमा सम्पन्न हुने गर्दछ ।
नृपेन्द्रलाल श्रेष्ठ