सोमबार , साउन ११, २०८३

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना बन्दै

image

काठमाडौं । जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ ।

कार्ययोजना निर्माणका लागि परियोजनाले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायहरूबीच कार्यशाला समेत आयोजना गरिसकेको छ ।

उक्त कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्‍याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्व लगायत विषयवस्तुमा छलफल भएको हो ।

परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने जानकारी दिए ।

जसअनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) होटल एसोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य विभिन्न सरोकारवाला सस्थाहरूसँग मिलेर कार्ययोजना तयार गर्न लागेको हो ।

प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाहरुले स्पष्ट पर्यटनमैत्री नीति, पर्यटनमा एकद्धार प्रणाली,पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

यस्तै कार्यशालाको अवसरमा व्यवसायीहरूले स्थानीय खाद्यान्न तथा घरवास कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाहरुले आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने कुरामा जोड दिए ।

यस्तै, सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रवर्द्धनको लागि छुट्टै आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति एवम् ठोस योजना आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा कोरोनाका कारणले रोजगार र आयआर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरूले अल्पकालिन रोजगारको अवसरहरू दिने उद्देश्यले जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना सञ्चालनमा ल्याइएको थियो ।

सम्बन्धित समाचार