बुधबार , साउन ९, २०८१

काकाकुल काठमाडौं : ‘ढुंगेधारा सुकाउनेहरूले महँगो मूल्यमा ट्यांकीको पानी बेचिरहेछन्’

उसै त धरासयी अवस्थामा रहेको नगरको खानेपानी वितरण प्रणाली मौसम परिवर्तन र अत्यधिक जनसंख्या वृद्धिको चपेटामा परेर झनै शिथिल बनेको छ । बासिन्दाहरू चर्को मूल्यमा ट्याङ्किको पानी किनेर खान बाध्य छन् ।

image

 

  • काठमाडौंवासिहरू ढुङ्गेधारा सुक्दै गएकाले मार खेप्दै आइरहेका थिए । पछिल्लो केही समय यता अप्रत्याशिक मनसुनले निम्त्याएको बाढीले उनीहरू थप आतंकित बनेका छन् ।
  • उसै त धरासयी अवस्थामा रहेको नगरको खानेपानी वितरण प्रणाली मौसम परिवर्तन र अत्यधिक जनसंख्या वृद्धिको चपेटामा परेर झनै शिथिल बनेको छ । बासिन्दाहरू चर्को मूल्यमा ट्याङ्किको पानी किनेर खान बाध्य छन् ।
  • वर्षायाममा आएको भीषण बाढीले ड्याम र वाटर ट्रीट्मेन्ट प्लान्ट बगाउँदा बल्लबल्ल सुचारु भएको मेलम्ची आयोजना पुनः निश्चितकालका लागि बन्द भएको छ ।
  • समस्याको समाधान समस्याभित्रै लुकेको हुन्छ भनेझैँ यस समस्याको समाधानका रुपमा वर्षातको पानी संचित गरेर राख्ने उपाय अपनाउन थालिएको छ । यसलाई सफल पार्न काठमाडौंका हरित क्षेत्रहरूलाई ब्युँताउनु र इनार खन्ने, बोरिङ्ग गर्ने जस्ता कुरामा रोक लगाउनु अनिवार्य रहेको विज्ञहरू बताउँछन् ।


  • जाेहन अगष्टिन

काठमाडौंको पश्चिम भेगमा बग्ने विष्णुमती नदिमा फोहोरले भरिएका प्लाष्टिकका झोला तैरिरहेका हुन्छन् । हिन्दु तथा बौद्ध धर्ममा विशेष आस्थाको विषय मानिने यो नदि उपत्यका भएर बग्ने प्रमुख नदिनालामध्ये एक हो । घिनलाग्दो धमिलो लेदो ढलबाट निस्केर सोझै खोलामा मिसिएको देख्न सकिन्छ । घरायसी देखि लिएर कलकारखानाका फोहोर सबै यहिँ बग्छन् ।

विष्णुमतीकै छेउछाउमा हुर्केका टुरिष्ट गाइड बद्री नेपाल सानो छँदा खोलामा पौडी खेल्ने गरेको सम्झन्छन् । अहिले यहाँ कोहि पौडिन चाहँदैनन् । “खोला यति घिनलाग्दो भएको छ कि अब यसमा जीवन नै बाँकी रहेन,”  उनी बताउँछन् ।

नेपालको तीन करोड जनसंख्यामध्ये लगभग चालीस लाख काठमाडौं उपत्यकामै बस्छन् । विशेष गरि ग्रामीण क्षेत्रबाट सहरमा सुनौलो भविष्य अनि विलासी जीवनको सपना बोकी आउनेको जमात ठुलै छ । बढ्दो सहरीकरण सँगसँगै काठमाडौंको जनसंख्या पनि वर्षेनी ७ प्रतिशतका दरले बढ्दै गइरहेको अवस्था छ, जसले गर्दा समस्यै समस्यामा उल्झिएको यहाँको खानेपानी वितरण प्रणालीले थप जटिलताको सामना गरिरहनुपरेको छ ।

सहरीकरण र जनसंख्या वृद्धिको प्रत्यक्ष असर घरघर पुग्नुपर्ने खानेपानी सप्लाई माथि परेको छ । भन्न त ‘काठमाडौँ उपत्यका वर्षातको पानी सोस्न सक्ने ‘स्पन्ज’ जस्तै छ’ भनिन्छ । अनियन्त्रित सहरीकरणले गर्दा यहाँका वनस्पति मासिँदै गइरहेका छन् । जमिनमाथि ढलान गर्ने, टाइल लगाउने क्रम बढ्दै गएसँगै यहाँको जमिनको पानी सोस्ने क्षमतामा ह्रास आएको छ । त्यसैले आकाशबाट परेको पानी फोहोर खोलानालामा बगेर त्यसै खेर गइरहेको छ । साथै, जताततै इनार खन्ने र बोरिङ्ग गर्ने क्रम बढ्दै जानाले ढुङ्गेधाराजस्ता शुद्ध खानेपानीका स्रोत सुक्ने अवस्था आएको छ ।

ढुंगेधारा, इनार, कुवा मासेर कंक्रिट संरचना बनाउन लागिपरेको छ शहर, तस्बीर : जोनस ग्रेट्जर ।

आपूर्तिभन्दा माग बढी

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको २०१७ को प्रतिवेदनमा यहाँ दैनिक ३८ करोड लिटर पानीको माग हुनेगरेको देखिन्छ तर, वर्षायाममा दैनिक केवल १२ करोड र खडेरीमा ७ करोड लिटर पानी आपुर्ति हुने गरेको तथ्यांकले देखाउँछ । औसत वर्षा ८० सेन्टिमिटर प्रतिवर्ष रहेको छ, जसका कारण ढुङ्गेधारा तथा जमिन मुनिका अन्य जलस्रोत सुक्ने देखि लिएर भएको पानीमा पनि नाइट्रेट र आर्सेनिकजस्ता हानिकारक पदार्थ संचित हुनेजस्ता समस्या उत्पन्न भएका छन् । यी सबै समस्याका कारण काठमाडौंवासीले आफ्नो पानीको आवश्यक्ता पुरा गर्न झनै गहिरा इनार खन्नेतर्फ जोड दिन थालेका छन् ।

इनार, बोरिङ्ग जति खनिँदै जान्छन्, यहाँका प्राचीन जलस्रोत जस्तै: ढुङ्गेधारा र पँधेरा सुक्ने खतरा त्यति नै बढेर जान्छ । काठमाडौंमा आज जम्माजम्मी ३०० ढुङ्गेधारा बाँकी रहेका छन्, जसमध्ये आधाभन्दा बढी निष्क्रिय छन् । ढुङ्गेधारा उपत्यकामा सबैभन्दा पहिले सञ्चालनमा आएको बृहत खानेपानी वितरण प्रणाली हो । सुख्खा मौसम र वर्षायाम दुवैमा आउने खानेपानीको समस्याको समाधान हेतु यस्ता धाराहरू सुचारु भएका हुन् तर दुर्भाग्यवश, पाइपमार्फत घरघरमा खानेपानीवितरण गर्ने भन्ने कुरा आएपछी ढुङ्गेधाराले अस्तित्व गुमाउँदै जान थाले । पाइपवाला खानेपानीमा पहुँच नभएको तमाम जनसंख्या अझै पनि यिनै जिर्ण अवस्थाका ढुङ्गेधारामा आश्रीत छन् ।

ढुङ्गेधारालाई आधुनिक पाइप प्रणालीले विस्थापित गरेको भएतापनि शुद्ध खानेपानीको अभाव बढ्दै गइरहेकाले कतिपय जनसंख्या अझै ढुंगेधाराकै भरपर्ने गरेका छन् । तस्बीर : जोनस ग्रेट्जर ।

धोबिघाटमा एउटा ढुङ्गेधारा छ । तप..तप.. पानी चुहिने त्यस धारामा स्थानीयहरू पट्यारलाग्दो पाराले लाममा बसेर लुगा धुने देखि प्लाष्टिकका जारमा पानी भर्ने गर्दछन् । यो दृश्य वास्तवमै कारुणिक छ ।

यहीँका एक स्थानीय टेक कार्कीले विगत दुई दशकदेखि आफ्नो घरको ढुङ्गेधारालाई त्यसैको मौलिक अवस्थामा जोगाएर राखेका छन् । यस अवधिमा पानी वितरण प्रणालीमा निकै परिवर्तन आएको छ । “अहिले निकै कम धाराहरू छन् । घरघरमा इनार खनिन थालेदेखि पानीका अन्य मुहान सुक्दै गएका हुन् । मौसम परिवर्तनको असर भनौँ या के भनौँ, जेठ देखि भदौ सम्म चालू रहने मनसुन प्रणाली अहिले डामाडोल भएको छ । वर्षैपिच्छे मनसुनको तालमेल बिग्रँदो छ-कहिले चाँडो आउँछ, कहिले ढिलो । मनसुनको सन्तुलन गुमेको छ,”  उनी बताउँछन् ।

पानी खपत अचाक्ली बढ्दै

टेक कार्कीको ढुङ्गेधाराभन्दा पल्लोपट्टिको घरमा जन्मएका शेखर सिजापती ६८ वर्षको भए । उनी यहाँका स्थानीय बासिन्दा हुन् । उन्को घरमा पनि चौबिसै घण्टा पानी आइरहने एउटा धारो थियो रे ! त्यस्तो परिवेशमा हुर्किएका उनी आज अन्य बासिन्दाहरूझैँ दिनको ३० मिनेटमात्र हुने पानी सप्लाईबाट हैरान छन् ।

घरपछाडिको इनारमा मनसुनमा मात्र पानी आउने हुँदा अरू समयमा चर्को मुल्यमा ट्याङ्कीको पानी किनेर खान सिजापती परिवार बाध्य छ । कुनैबेला ६-७ सय रुपैयाँमा आउने ५,००० लिटर पानीको मूल्यले २ हजार रुपैयाँको आँकडा नाघिसकेको छ । तीव्र जनसंख्या वृद्धि र सर्वसाधारणको बदलिँदो जीवनशैलीले गर्दा काठमाडौँमा पानीको अभाव विकारल हुन् पुगेको सिजापतिको बुझाइ छ ।

“म सानो छँदा आठ लाख मानिस बस्ने काठमाडौंमा अहिले चालीस लाख बढीको बसोबास छ। कोहीकोही मानिसहरू चाहिनेभन्दा बढी पानी खपत गर्छन् । नुहाउने र लुगा धुने काममा बढी पानी खर्च गर्छन्,” उनी बताउँछन् । उनी पनि मौसम परिवर्तनले निम्त्याएको कहरका प्रत्यक्षदर्शी हुन् । बच्चाबेलामा ठिक समयमा पानी पर्ने गरेको उनलाई सम्झना छ तर, अहिले पानी थोरै समय पर्छ । थोरै समयमै त्यसले धेरै विनाश निम्त्याएको देखेर उनको मन वेचन हुन्छ ।

धरहरा आसपासका ढुंगेधाराहरूमा पानी चुहिन छाडिसकेका छन् ।

लगातार वर्षा हुँदा जमिनले सबै पानी सोस्न सक्दैन । परिणामस्वरूप धेरै पानी खोलानालामा बगेर खेर जान्छ र अझ बाढी नै आउने सम्भावना पनि रहन्छ । हामीले त्यो पानीलाई खेर जान नदिएर जम्मा गरेर राख्नुपर्ने उनी बताउँछन् । तर सिजापतिलगायत अन्य काठमाडौँवासिसँग ट्याङ्कीले जति भन्यो उति तिरेर पानी किन्नुको विकल्प छैन । पानी बेच्ने यस्ता निजि कम्पनीहरू बीच कसले बढी ग्राहक तान्ने भन्ने होडबाजी नै चल्छ । उपत्यकाका झण्डै ७० प्रतिशत घरधुरी पानीका लागि पाइपलाइन प्रणालीमा आश्रीत छन् तर, उनीहरूले हप्तामा २ घण्टामात्र पाइपमा पानी देख्न पाउँछन् ।

कुनै कारणवश त्यही दिन कतै जानुपर्ने भयो भने एक हप्तामा बल्लबल्ल आउने पानी भर्ने मौकाबाट उनीहरू चुक्छन् । हप्ताको एकदिन दुई घण्टा पानी आउँछ । प्राय: घरहरूमा ४-५ वा सोभन्दा बढी परिवार बसोबास गर्ने गर्दछन् । सबैलाई उति उति समय पानी भर्ने पालो दिँदा एउटाले त्यस्तै बीस मिनेटदेखि आधा घण्टा पानी भर्न पाउँछ । त्यतिन्जेलमा घरका बाल्टिन, जार, ड्रममात्र नभई बाटा, कुकर, कराई, ताप्के देखि भएभरका बोतल र बट्टासमेतमा पानी भर्नुपर्ने बाध्यता छ । राम्रोसँग नुहाउने र लुगा धुने काम पनि हप्ताको एकदिनमै सिमित राख्नुपर्ने बाध्यता छ। (यो अनुवादकको व्यक्तिगत भोगाइ पनि हो ।)

सहरका करिब १५ प्रतिशत घरधुरी पुर्णतया ट्याङ्कीको पानी किनेर प्रयोग गर्न बाध्य छन् । यीमध्ये प्राय ‘स्लम क्षेत्र’मा बसोबास गर्छन् र यस्ता बस्तीका प्राय घरधुरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सप्लाई ग्रीडसँग जोडिएका छैनन् अर्थात त्यहाँ खानेपानीको पाइप नै पुगेको छैन । उसो त काठमाडौंका अति विपन्न वर्गमा पर्ने यहाँका वासिन्दाले पानी पिउनकै लागि पनि तिरिनसक्नु रकम तिर्नुपर्ने बाध्यता छ ।

प्राइभेट कम्पनीहरूले इनार र कुवाबाट तानेर ल्याएर बेच्ने पानी उपभोक्ताहरूका लागि साह्रै महँगो हुन्छ । तस्बीर : जोनस ग्रेट्जर ।

बल्खु, उपत्यकाका प्रमुख सुकुम्बासी क्षेत्रहरूमध्ये एक हो । यहिँ बस्दै आइरहेका फलफुल व्यापारी लाल परियारको कमाइको २० प्रतिशत खानेपानी मै खर्च हुन्छ । पहिले २५ लिटर पानीका लागि उनले २५ रुपैयाँ तिर्नुपर्थ्यो तर ,अहिले त्यसको दुई गुणा तिर्नुपर्छ ।

“हामीकहाँ पाइपलाइन छैन, न इनार छ । घरछेउको खोला पनि यस्तै छ, फोहोर छ । त्यसैले पानी किन्नैपर्ने बाध्यता छ । किनेको पानी पनि सफा कहाँ हुन्छ र ? बालुवा, माटो, धुलो अनि अरु केके मिसिएको हुन्छ । त्यही पानी खाँदा यहाँका कतिजना बिरामी नै परेका छन् । फेरी सधैँ मिनेरल वाटर किनेर खान पनि त सकिँदैन, समस्या छ हजुर,” उनी गुनासो गर्छन् ।

बाढीले बगाएको खानेपानी आयोजना

नेपालमा खासमा पानीको अभाव छैन । जलस्रोतको दोस्रो देश हुनु भनेको मजाक होइन । मनसुनमा पर्ने पानी र हिमनदिहरू पग्लिएर आउने पानीले यहाँका नदिनालाहरूलाई सुक्न दिँदैनन् । काठमाडौँबाट करिब २५ किमि उत्तरपुर्वतिर अवस्थित छ, मेलम्ची नदि । मेलम्ची खानेपानी आयोजनाको अवधारणा ५ दशक अघि नै ल्याइएको हो । काठमाडौँ उपत्यकामा १७ करोड लिटर अर्थात् मागभन्दा आधा पानी वितरण गर्ने लक्ष्य बोकेको यो आयोजना आजसम्म सम्पन्न भएको छैन । यदि यो सम्पन्न हुने हो र प्रारम्भिक योजना अनुरुप पछि गएर यसमा याङ्ग्री र लार्के नदिको पानी पनि जोड्ने हो भने तीन गुणा बढी पानी आपूर्ति गर्दै काठमाडौँको पानीको माग लगभग पूरा गर्न सकिन्छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार मौसम परिवर्तनको मारमा परेर सुक्ने अवस्था आएका नदिहरूमा ड्याम बनाएर तिनलाई जोगाउने नीति तर्जुमा भइसकेको छ । “भएका जलस्रोतको संरक्षण कार्य अघि बढिसकेको एवम् मौसम परिवर्तन एडाप्टेसन सहित प्रकोप जोखिम न्यूनीकरणलाई राष्ट्रिय नीतिकै रुपमा विकसित गराउने काम पनि सुरु भइसकेको छ,” शाक्य बताउँछन् ।

अनियोजित सहरीकरणले काठमाडौँका सबै हरित क्षेत्र मासेर सहरलाई कंक्रीट जंगल बनाइदिएको छ । तस्बीर : जोनस ग्रेट्जर

खैर यो त सरकारको तर्फबाट भनिएको भनाइ न् हो । पहिलो चरणको मेलम्ची आयोजना २०२० को जुलाई मै सम्पन्न भइसक्नुपर्ने थियो, अनेकौँ ढिलासुस्तीको प्रतिफलस्वरुप २०२१ को मार्चमा मात्र सम्पन्न भएको थियो । सम्पन्न भएको केहि समय नबित्दै अप्रत्याशित मनसुनको शिकार भएर सो आयोजना केही महिनामै ठप्प भइहाल्यो । ‘जुन’को महिनामा मेलम्ची र याङ्ग्री नदिमा आएको बाढिले आयोजनाका ड्याम, वाटर ट्रीटमेन्ट प्लान्ट लगायत अन्य पुर्वाधारसमेत बगाइदिएको थियो । आयोजनलाई अप्रिल २०२२ देखि पुनः सञ्चालनमा ल्याउने भनिएता पनि सो मिति गुज्रेको ६ महिना पुगिसक्दा पनि काम सुरु हुन् सकेको छैन् ।

आकाशबाट परेको पानी पिउँदै महानगरवासी

समस्याको समाधान समस्यामै खोज्नेपनि छन् यहाँ । कतिपयले पानीको अभावको कारण अर्थात् वर्षातलाई नै त्यसको समाधान बनाएका छन् । काठमाडौँस्थित ‘स्मार्ट पानी’ नामक संस्थाले वर्षातको पानीलाई जम्मा गरेर घर, विद्यालय लगायत अन्य स्थानहरूमा प्रयोगमा ल्याउन सहजीकरण गर्ने गर्दछ । परेको पानीलाई फिल्टर गरेर फेरी-फेरी प्रयोगमा ल्याउन सकिन्छ, जसबाट ५० प्रतिशतसम्म पानी बचत गर्न सकिने संस्थाको ठम्याइ छ । योजनाअनुसार घरको छानामा जडान गरिएको ५,००० लिटरको एउटा ट्याङ्कीले त्यहाँ पर्ने कुल पानीको ५० प्रतिशत जम्मा गर्छ र त्यसलाई फेरी-फेरी प्रयोगमा ल्याएर सो घरको मनसुन अवधिभरको पिउने पानीको अभाव टार्न सकिन्छ ।

स्मार्ट पानीका सह-संस्थापक टाइलर म्याकमाहोनका अनुसार यसरी जम्मा गरिएको पानी फिल्टर गरेर पिउन उपयुक्त हुन्छ तर, त्यसका लागि मानिसहरूले परेको पानी पिउनु हुँने विश्वास त्याग्नुपर्छ । “आकाशबाट परेको पानी पिउन हुन्न भन्ने गलत विश्वास, त्यसलाई हटाएमा काठमाडौंले काकाकुल भइरहनु पर्दैन,” उनी भन्छन् ।

स्मार्ट पानीले महालक्ष्मी पब्लिक स्कुलमा आफ्नो आयोजना सञ्चालनमा ल्याएको छ । २०१८ सम्म ट्याङ्कीको महँगो पानी किन्दै आइरहेको यस स्कुलका ४०० विद्यार्थी आज त्यहिँ जम्मा गरिएको पानी पिउँछन् ।

स्मार्ट पानीले महालक्ष्मी पब्लिक स्कुलमा सन्चालित योजनादेखि आएको पानी बोतलमा भर्दै वक विद्यार्थी । तस्बीर : जोनस ग्रेट्जर ।

प्रयोग भएर बचेको पानी स्कुलले यहिँका स्थानीयहरूलाई ट्याङ्कीले भन्दा तीन गुणा कम मुल्यमा बेच्ने गरेको छ । “अहिले हामीले आफ्नो पानीको माग आफैँले पूरा गरिरहेका छौँ । यहि आयोजनाका कारण समाजमा हाम्रो प्रतिष्ठा पनि अझ चुलिएको छ,” स्कुलकी शिक्षिका रश्मि बराल बताउँछिन् ।

यसको अर्को फाइदा के छ भने विद्यार्थीहरूले यसबाट वातावरण संरक्षणबारे व्यवहारिक ज्ञान पनि हासिल गर्छन् र आफुले सिकेको कुरा घरमा लागू गराउन पहलसमेत गर्छन् । १४ वर्षीया कमला वाइबा यहिँ अध्ययनरत छात्रा हुन् । उनले आफ्ना अभिभावकलाई दिगो जीवनशैली अपनाउन सुझाइरहेकी छिन् । “मैले उहाँहरूलाई हामीले पनि आकाशबाट परेको पानी जम्मा गरेर प्रयोगमा ल्याउन आग्रह गरेँ । अहिले हामी त्यही गर्छौँ,” उनले भनिन् ।

परेको पानी जम्मा गरेर प्रयोगमा ल्याउनु भनेको हरित पुर्वाधारको विकासमा टेवा पुर्‍याउनु हो । काठमाडौँमा हरित पुर्वाधारको विकास हेतु यहाँ बाँकी रहेका पोखरी र ढुङ्गेधारालाई ब्युँताउनु आवश्यक छ । साथै, यहाँका वनजङ्गल जोगाउनुपर्छ र जमिनमुनिको पानी तान्न पनि बन्द गर्नुपर्छ । काठमाडौं महानगरपालिकाले यतातर्फ अग्रसर हुने बताएता पनि काम सुरु भएको देख्न पाइएको छैन ।


मोङ्गाबेमा प्रकाशित यस लेखलाई निशान अधिकारीले नेपालीमा अनुवाद गरेका हुन् – सम्पादक ।

सम्बन्धित समाचार