बुधबार , साउन ९, २०८१

तपाईँकाे पर्खाइमा ‘रम्मापुर मध्यवर्ती सामुदायिक होमस्टे’

होमस्टेको प्रवर्द्धन, व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय सरकारले खासै सहयोग नगरेको उनीहरूको गुनासो छ ।

image

बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरका रामकृष्ण चौधरी विगत पाँच वर्षअघि एउटा विदेशी प्रोजेक्टमा काम गर्थे । विदेशी प्रोजेक्ट भएकाले कामको सिलसिलामा विदेशी नागरिकहरूसँग बाक्लै भेटघाट हुन्थ्यो । चिनाजानी पनि बढ्दै गएको थियो । विदेशीहरू उनको गाउँ रम्मापुरमा आउन थाले । त्यसैक्रममा बेलायतका नागरिकहरूको एउटा समूहले रामकृष्ण चौधरीलाई नयाँ व्यवसायबारे बताए । त्यो थियो, होमस्टे पर्यटन ।

त्यसताकासम्म रामकृष्णले होमस्टे पर्यटनबारे सुनेका त थिए, तर बुझेका थिएनन् । यसबारे गाउँका कसैले पनि बुझेका थिएनन् । थारु समुदायको मौलिक संस्कृति, भाषा, रहनसहन र जीवनशैली देखेपछि विदेशीहरूले होमस्टेको सम्भावना देखे । यसबारे रामकृष्ण चौधरीलाई बताए । सिकाए र सिकाउन लगाए ।

बेलायती नागरिकहरूले “हामी तिमीहरूको घरमा पाक्ने मौलिक खानेकुरा खान चाहन्छौँ । तिमीहरूसँगै परिवार जस्तै भएर बस्न चाहन्छौँ । तर, त्यसबापत हामी पैसा तिर्छौँ ।” भनेर होमस्टे पर्यटनबारे बताएपछि रामकृष्ण हौसिए ।

रामकृष्ण चाैधरी, संस्थापक/सदस्यः रम्मापुर मध्यवर्ती सामुदायिक हाेमस्टे, तस्बिरः रामकृष्ण चाैधरीको फेसबुक वालबाट ।

पाहुनालाई आफ्नै मौलिक स्थानीय परिकार खुवाएर घरमै सुताएर पनि आयआर्जन गर्न सकिने उनले थाहा पाए । आफ्नै गाउँमा रोजगारी सिर्जना हुने, आफ्नै बारीमा उत्पादित फलफूल, अन्न, तरकारी घरमै खपत हुने र घर काममा खटिने महिला, आमा दिदीबहिनीले पनि आयआर्जनको काम गर्न सकिने भएपछि उनी होमस्टे सञ्चालन गर्न उत्साहित भए । तर, गाउँका अरू कसैले बुझेका थिएनन् । उनले आफ्नो टोलका सबैलाई बैठक बोलाए । होमस्टे पर्यटन र यसबाट हुने फाइदाबारे बताए । उनका छिमेकीहरू होमस्टे सञ्चालन गर्न तयार भए ।
होमस्टे सञ्चालन गर्ने त भनियो, तर कसरी सुरु गर्ने थाहा थिएन उनलाई । केही साथीहरू मिलेर नजिकै रहेको गाभर भ्याली होमस्टेमा गएर तालिम थिए । छोटो अनुभव लिएर आए ।

खाना पकाउँदै गृहेणी ।

उनका काइँला दाजु राधाकृष्ण चौधरी भारतका विभिन्न सहरमा होटल क्षेत्रमै काम गरेको लामो समय भएको थियो । रामकृष्णले दाजु राधाकृष्णलाई होमस्टेको अवधारणाबारे बताए । होटलको जागिर छोडेर गाउँमै आफ्नै परिवारसँग बसेर होमस्टे सञ्चालन गर्न राधाकृष्ण पनि तयार भए । जागिर छोडेर फर्किए आफ्नै गाउँ, रम्मापुर ।

रामकृष्णका पाँच दाजुभाइसहित १२ घरपरिवार होमस्टे सञ्चालन गर्न तयार भए ।  दाजु राधाकृष्णको अध्यक्षतामा सामुदायिक होमस्टे दर्ता भयो । आवश्यक संरचनाहरू निर्माण गरे । २०७६ को पौष १७ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले होमस्टेको उद्घाटन गरे । होमस्टेको उद्घाटन भएपछि पाहुनाहरू आउन थाले । १२ घर परिवारलाई सेवा दिन नै मुस्किल हुन थालेको थियो । गाउँघरमै आम्दानी हुन थालेपछि उत्साहित थिए । तर, उनीहरूको उत्साहमा दुई महिना नबित्दै कालो बादल मडारियो । विश्वव्यापी कोभिड महामारी सुरु भयो । सहरमा सुरु भएको महामारीको असर उनीहरूको गाउँसम्म फैलियो । पाहुनाहरूको आगमन कम हुँदै गयो । उनीहरूको व्यवसाय थला पर्न थाल्यो । पाहुनाहरूका लागि बनाएका संरचनाहरू भत्किन थाले । बाँस र काठका संरचनाहरू मक्किन थाले । छानो चुहिन थाल्यो । संरचनाहरू ढले । अहिलेसम्म उठेका छैनन् ।

“पाहुनाहरूको आगमन बढ्न थाल्यो भने बनाउने भनेको हो । नभए बनाउन सकिने अवस्था छैन ।” होमस्टेका संस्थापक अध्यक्ष राधाकृष्ण चौधरीले ढल्न लागेकाे कटेजलाई देखाउँदै भने, “बनाएर मात्रै के गर्नु सर, यसरी खेर जान्छ । ऋण मात्रै बढ्छ ।”

भत्किन लागेकाे कटेज ।

१२ वटा घरपरिवारबाट सुरु भएको होमस्टे अहिले ८ परिवारमा सीमित भएको छ । सुरुआती अवस्थामा नै कोभिड महामारीको मारमा परेको होमस्टे अहिले महामारी करिब अन्त्य भइसक्दा पनि पुरानो लयमा फर्किन सकेको छैन । अहिले व्यक्तिगत सम्पर्कको भरमा महिनामा १०–१५ समूह आउँछन् । सामुदायिक होमस्टे भएपनि जसको सम्पर्कबाट आयो उसैले आफ्नो घरमा राख्ने गरेका छन् । सामुदायिक होमस्टे सञ्चालनको कार्यविधि अनुसार सेवा र नाफाको बाँडफाँड गर्न सकेका छैनन् । त्यसो हुँदा सदस्यहरुबीच मतभेद समेत बढेको उनीहरू स्विकार्छन् । प्रत्येक घरपरिवारले पाँच लाखदेखि २० लाख रुपैयाँसम्म लगानी गरेका छन् । अध्यक्ष राधाकृष्णले २० लाखभन्दा बढी लगानी गरेका छन् । जसोतसो ऋणधन गरेर गरेको लगानी खेर जाने हो कि भन्ने चिन्तामा छन् उनीहरू । व्यवसायलाई पुरानो लयमा कसरी फर्काउने थाहा छैन । अन्योलमा छन् ।

कस्तो छ होमस्टे ?

हाेमस्टेमा पाहुनाका लागि बनाइएका कटेजहरू ।

होमस्टे एकदमै सुन्दर छ । काँचो इँटाको गाह्रो, माटोले लिपपोत गरेको पिँडी, आँगन, खरको छानो भएको चिटिक्क परेका मौलिक घरहरू । हुल बाँधेर हिँडिरहेका कुखुरा र हाँसका झुन्डहरू, परालकाे कुनिउँ, आँगन छेउमा बाँधिएका गाईभैँसी र बाख्राका बथानहरूले मौलिक गाउँघरको झल्को दिन्छ । थारु समुदायको मौलिक संस्कृति र जीवनशैली झल्काउने विभिन्न संरचनाहरू यत्रतत्र देखिन्छन् । मौलिक भेषभुषा तथा भाषा, रहनसहन, पाहुनालाई गर्ने स्वागत सत्कार र व्यवहारले मोहित बनाउँछ ।

हाेमस्टे हुँदै जाने कालाेपत्रे सडक ।

राष्ट्रिय निकुञ्ज परिसरमा रहेको हुनाले हावापानी अत्यन्तै स्वच्छ छ । होमस्टे परिसरमा खोला छ । खोला किनार हुँदै कालोपत्रे सडक । खोलामा कलकल पानी बगिरहेको छ । खोलामा माछा र गङ्गटो पाइन्छ । खोलाको छेउछाउमा रहेको बाँसघारी र रुख बिरुवाले गर्मी मौसममा शीतलता दिन्छ । चराचुरुङ्गीको चिरबिर त छँदै छ । जे होस्, सहरको कोलाहल, धूलो, धुवाँ र दौडधुपको जिन्दगीबाट केही समयको लागि भएपनि पर पुर्‍याइदिन्छ यस होमस्टेले ।

हाेमस्टेमा पर्यटक ।

मुख्य आकर्षण

माैलिक घरहरू । बीचमा बाटाे ।

मौलिक थारु खाना, संस्कृति र चिटिक्क परेको मौलिक गाउँ मुख्य आकर्षण हो । थारु समुदायको जीवनशैली र रहनसहन, भाषा र भेषभुषाको अवलोकन गर्न पाइन्छ । यस होमस्टेमा थारु समुदायका सबै खालका मौलिक परिकारहरू पाइन्छ । घुङ्घी, सिपी, परेवाको मासु, गङ्गटो, माछा आदी स्पेशल परिकार पाइन्छ । यसका अलावा हाँस, कुकुरा, खसीको परिकार पनि पाइन्छ ।

अनदी चामलको परिकार यस होमस्टेको अर्को आकर्षण हो । लोप हुँदै गएको एक धानको प्रजाति हो अनदी । अनदीको चामलबाट विभिन्न परिकारहरू बनाउन सकिन्छ । होमस्टेको बोर्डमा नै लेखिएको छ, अनदी स्पेशल । त्यसैगरी ढिक्री, चिचर, खँरिया, अन्डिक बरिया, दोक्नीको अचार आदी परिकारहरू पाइन्छ । त्यसैगरी लोकल रक्सी, निगार र छ्याङ लगायत पेय पदार्थहरू पाइन्छ । पाहुनाको माग अनुसार रैथाने र मौलिक खानेकुराहरूको स्वाद चखाउने गरेका छन् ।

किन ओझेलमा ?

होमस्टे पर्यटनको सम्भावनाले भरिपूर्ण भएर पनि यो होमस्टे ओझेलमा छ । प्रचारप्रसार गर्न सकेको छैन । मुख्यमन्त्रीले उद्घाटन गरेपछि तत्कालीन समयमा चर्चा भएपनि पछि महामारीको मारमा परेपछि यतिकै गुमनाम हुन पुग्यो । भर्खरै होमस्टे पर्यटनमा होमिएका उनीहरूले प्रचारप्रसार र प्रवर्द्धन कसरी गर्ने भेउ पाएनन् । अझै पनि कसरी प्रचारप्रसार गर्ने भन्ने थाहा छैन ।

हिमाल दर्पण टिमसँग बाेल्दै रामकृष्ण चाैधरी ।

यस होमस्टेका पायाेनियर एवम् सदस्य रामकृष्ण चौधरीका अनुसार अहिलेसम्म होमस्टेको प्रचारप्रसार र प्रवर्द्धनको लागि सामाजिक सञ्जाल समेत प्रयोग गरिएको छैन । व्यवसायको प्रवर्द्धन गर्न सामाजिक सञ्जालले ठुलो भूमिका खेल्न सक्छ । होमस्टेको प्रवर्द्धन, व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय सरकारले खासै सहयोग नगरेको उनीहरूको गुनासो छ । सदस्य रामकृष्णका अनुसार यस होमस्टेको प्रवर्द्धनमा टेवा पुर्‍याउनका लागि नाट्टा सुदूरपश्चिमका अध्यक्ष एवम् पर्यटन व्यवसायी श्रीराम सिग्देलले पत्रकार तथा यात्रीहरूलाई होमस्टेमा रिफर गर्ने गरेका छन् । र, पनि खासै प्रचारमा आउन सकेको छैन ।

कति महँगो छ यो होमस्टे ?

आफ्नो रोजाइको परिकार अनुसार मूल्य तलमाथि हुनसक्छ । कुनकुन परिकार खाने, कति खाने भन्ने कुराले खर्चको निर्धारण हुन्छ । यस थारु होमस्टेमा एक जनाले साँझको खाना खाएर, सुतेर बिहान खाजासहित एक हजार रुपैयाँ खर्च गर्नुपर्छ । यसमा साँझ भेज/नभेज खाना, बिहान कुनै मौलिक परिकारको खाजा खान पाइन्छ भने एटेच्ड बाथरुम र इन्टरनेटसहितको रुम पाइन्छ ।

लोकेसन ?

यो होमस्टे लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ७, रम्मापुरमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको परिसरमा पूर्वपश्चिम राजमार्गबाट पाँचसय मिटरको दुरीमा रहेको छ । नेपालगन्जबाट आउँदा कोहलपुर, बाँझगढी हुँदै आउँदा रम्मापुर ब्यारेक आउँछ । रम्मापुर ब्यारेकबाट पाँचसय मिटर अगाडि रम्मापुर पाँच नम्बर चोक छ । चोकबाट बारबर्दिया नगरपालिकाको कार्यालय जाने बाटो हुँदै पाँचसय मिटर भित्र पसेपछि होमस्टेमा पुगिन्छ । पूर्वपश्चिम यात्रा गर्दै हुनुहुन्छ ? रम्मापुर मध्यवर्ती सामुदायिक होमस्टेमा पस्नुस् है !

तस्बिरहरूः

भिडियो

सम्बन्धित समाचार