मंगलबार , साउन ८, २०८१

बाह्रसय रुपैयाँमा होटल सुरु गरेकी इलामकी पवि दिदी, अहिले करोडौँको मालिक (भिडियाे)

“मेहनत, लगनशीलता र धैर्यता सफलताका खाँबाहरू हुन् भने इमानदारिता मियो हो”, पवि दिदी भन्छिन्, “जुनसुकै व्यवसायमा इमानदारिता सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।”

image

“मेरो होटलमा आउँदा पाहुनाहरूलाई आफ्नो घरमा पुगे जस्तो महसुस होस् र यहाँको खाना आफ्नै आमाले पकाएको जस्तो मिठो होस् भन्ने कामना गर्छु र सोही अनुसार सेवा दिने कोसिस गर्छु”, हामीलाई टेबुलमा खाना राखिदिएपछि सँगै बसेर पवि गुरुङ दिदीले भनिन्, “तपाईँहरूलाई हाम्रो सेवा कस्तो लाग्यो भन्नुहोला है !”

सुन्दर पर्यटकीय नगरी इलाम बजारको काखैमा रहेको तमु होटल एण्ड लजकी सञ्चालिका हुन्, पवि गुरुङ । उनलाई यहाँ “दिदी” सम्बोधन गर्नुको कारण उनले हामीमाथि बर्साएको प्रेम हो । उनको होटलले दिएको सेवाको परिणाम हो । साँच्चै दिदीको होटल पुग्दा आफ्नो घर जस्तो लाग्छ । दिदीको होटलमा पाकेको खाना आफ्नै आमाले पकाएको जस्तो मिठो । एक पटक दिदीको होटलमा पुग्नुभयो भने उहाँसँग कुनै न कुनै साइनो गाँसेर फर्किनुहुनेछ । कारण हो, दिदी र होटल परिवारले गर्ने पारिवारिक व्यवहार । अतिथि देवो भवःलाई साँच्चै मूल मन्त्र बनाएकी छिन,  पवि दिदीले ।

पवि गुरुङ दिदीसँग हाम्राे टिम ।

“मेहनत, लगनशीलता र धैर्यता सफलताका खाँबाहरू हुन् भने इमानदारिता मियो हो”, पवि दिदी भन्छिन्, “जुनसुकै व्यवसायमा इमानदारिता सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।”

खाना यतिकै मिठो थियो । दिदीको कुरा सुन्दै खाँदा झनै स्वादिलो लाग्न थाल्यो । खाना खाँदै दिदीको कुरा सुन्यौँ । अनि हाम्रा कुरा पनि सुनायौँ । हामी नेपालको पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङदेखि दार्चुलासम्मको यात्रामा रहेको थाहा पाएपछि दिदी गदगद भइन् । त्यस क्षणको उनको मुहारभाव हामीले देख्यौँ र महसुस गर्‍यौँ । उनको त्यो खुशी यहाँ शब्दको सहारामा व्यक्त गर्न सम्भव भएन । हामी पत्रकार र कलाकार भनेर थाहा पाएपछि दिदी उत्साहित हुँदै आफ्ना विगतका पानाहरू पल्टाउन थालिन् ।

“आफैँले कमाउनुपर्छ, आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सानैदेखि मनमा थियो । तर, के काम गर्ने भन्ने थाहा थिएन । त्यत्तिबेला इलाम बजारमा अलिअलि मात्रै चहलपहल हुन्थ्यो । फेरि हामीसँग धेरै योग्यता पनि थिएन, न त कुनै सिप”, होटल व्यवसायमा होमिनुको कारण खुलाउँदै दिदीले भनिन्, “दिदीबहिनी मिलेर बजारमा बसेर भात पकाएर खुवाऔँ न त भन्ने सोच आयो । होटल खोल्ने ठाउँ थिएन । के गर्ने अन्योलमा पर्‍यौँ । पछि एउटा पुरानो घरमा कोठा लियौँ । त्यत्तिबेला (२०४६ सालतिर) भात पकाउने डेक्ची, कराइ, चामल, दाल, नुन तेल, मसला इत्यादि भान्छाका लागि चाहिने सामान किन्दा १२ सय रुपैयाँ जति खर्च भएको थियो । त्यही नै हो हाम्रो लगानी । त्यही लगानीको जगमा टेकेर यहाँसम्म आएका हौँ ।”

उनीसँग अहिले इलाम बजारको मुटुमा सुविधासम्पन्न होटल छ । होटलको नाम हो, तमु होटल एण्ड लज । नयाँ भव्य होटल पनि बन्ने क्रममा छ । नयाँ होटल बनेपछि एकसय पचास जनासम्म पाहुनालाई सेवा दिन सकिने उनी बताउँछिन् ।

पवि दिदीकाे नयाँ बन्दै गरेका हाेटल ।

तर यी भैभव दिदीको सानो दुःखले आर्जेको भने होइन । दिदीको झन्डै साढे तीन दशकको अथक प्रयास, मेहनत, लगनशीलता र इमानदारिताको उपज हो । होटल व्यवसाय उनको पुर्ख्यौली पेशा होइन । उनी कुनै व्यापारिक घरानाकी छोरी पनि होइनन् । होटल व्यवसायमा होमिनु रहर कम बाध्यता बढी थियो ।

तीन जना दिदीबहिनी मिलेर व्यवसायलाई निरन्तरता दिइन् । उनकी जेठी दिदीले त व्यवसायमै व्यस्त भएर समय बितेको पत्तो पाइनन् अनि विवाह नै गरिनन् ।

“हामी आफ्नो काममा एकदमै समर्पित भएर लागि पर्‍यौँ । जेठी दिदीले विवाह नै गर्नुभएन । उहाँकै कारण हामीले व्यवसायलाई निरन्तरता दिन सक्यौँ”, निकै भावुक हुँदै पवि दिदीले भनिन्, ”अहिले भाइबहिनीले पनि होटल चलाइरहेका छन् । हामी परिवार नै होटल व्यवसायमा छौँ । यो सबै दिदीको कारण भएको हो ।”

पवि दिदीले होटल व्यवसाय थाल्नेबेला महिला होटल व्यवसायीलाई हेर्ने समाजको नजर राम्रो थिएन । “होटलमा काम गर्छ, होटल खोलेर बसेको छ भनेपछि समाजले नराम्रो नजरले हेर्ने गर्थे”, पवि दिदी दुखेसो पोख्दै भन्छिन्, “फलानाकी छोरीले होटल खोलेकी छन् भनेर अभिभावकको अगाडि खिसीटिउरी गर्थे छिमेकीहरू ।”

आजभन्दा साढे तीन दशक अगाडिको नेपाली समाजमा महिलाले होटल व्यवसाय गर्छु भन्दा कति कठिनाइहरूको सामना गर्नुपर्थ्याे भन्नेकुरा दिदीको अभिव्यक्तिमा झल्किन्थ्यो ।

“पुरुषलाई होटल मालिक भन्थे, हामीलाई चाहिँ होटलवाली । समाजको घृणा एकातिर थियो भने व्यवसायलाई टिकाउनु अर्को चुनौती थियो । तर, अहिलेसम्म आउँदा समाजको त्यो भ्रम चिरियौँ कि जस्तो लाग्छ । अहिले त समाज पनि शिक्षित भयो । बुझ्ने भयो । अहिले एक सफल महिला व्यवसायीका रूपमा चिन्छन् मलाई ।” अलि आनन्दको सास फेर्दै उनले भनिन् ।

अहिले दिदी व्यवसायी मात्रै होइनन्, होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान), इलामकी उपाध्यक्ष पनि हुन् । इलामका होटल व्यवसायीहरूको हकहितका लागि काम गर्दै आएकी छन् । यसका साथै विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा पनि आबद्ध छिन, पवि दिदी ।

“आफ्नो व्यवसाय चलाएर बाँकी समय समाज सेवामा लगाउँछु । व्यवसाय भनेका आफ्नो लागि हो, तर हामीले समाजको लागि पनि त गर्नुपर्याे नि”, पवि दिदी भन्छिन्, “आफ्नो लागि, आफू मात्रै बाँच्नको लागि त कुकुर बिरालो, पशुपक्षी, किराफट्याङ्ग्राले पनि गर्छन्, हामी त मानिस हौँ नि । मानिस भएपछि अरूका लागि पनि गर्नुपर्छ ।”

उमेरले पाँच दशक पार गर्दै गरेकी पवि दिदीलाई अब बाँकी समय व्यवसायमा कम, समाज सेवामा बढी खर्चिएर बाँच्ने रहर छ । “अब मलाई खाना लाउन चिन्ता छैन, आफ्नो व्यवसाय छँदै छ । अब अलि बढी समय समाजको सेवामा खर्चिनेछु ।”

इलाम बजारको मुटुमा इलाम बसपार्कसँगै रहेको छ, पवि दिदीको होटल, तमु होटल एण्ड लज । इलाम नगरपालिकाको कार्यालय, इलाम जिल्ला अस्पताल, नेपालकै पहिलो र पुरानो चिया फ्याक्ट्री, इलाम खेलकुद मैदानको नजिकै रहेको छ, पवि दिदीकाे होटल । इलामको सुन्दर चिया बगान त छँदै छ । पवि दिदीको नयाँ बन्दै गरेको होटलको टपबाट इलाम बजारलाई पुरै नियाल्न सकिन्छ । इलाम बजार, चिया बगान लगायत वरिपरिका पहाडहरूलाई एकै ठाउँमा बसेर अवलोकन गर्न सकिन्छ । इलाम बजार पुग्नुभयो भने पवि दिदीलाई एक पटक भेट्नुस् है !

पवि दिदीकाे नयाँ बन्दै गरेकाे हाेटलकाे छतबाट इलाम बजारलाई नियाल्दा… (तस्बिरहरू)

भिडियो

सम्बन्धित समाचार