शुक्रबार , मंग्सिर २३, २०७९

म जस्तो नम्र र सभ्य भएर बाँच्ने यो धर्तीमा कति नै होलान् र ?

म कुनै बेला सोच्थेँ मैले काम गरिन, बिदामा बसेँ भने त मैले काम गरिरहेको परियोजना डुबी हाल्छ नि ! पृथ्वी मैले एक्लै धानेको भ्रम म मा व्याप्त रूपमा विद्यमान थियो ।

image

“I Wanna Talk About Me” – Toby Keith

हामी एउटा भ्रममा बाँचेका छौँ, “पढेको मान्छे सभ्य र नम्र हुन्छ”, म पनि त्यो भ्रममा धेरै वर्षसम्म बाँचेँ । मैले पनि धेरै वर्षसम्म सोचेँ म जस्तो नम्र र सभ्य भएर बाँच्ने यो धर्तीमा कति नै होलान् र ? तर म बिस्तारै त्यो भ्रमबाट बाहिर निस्कने कोसिसमा छु । भ्रममुक्त हुन सकेको छैन । तर कोसिस पनि छाडेको छैन । अहिले आँखा चिम्लेर आफूले आफूलाई हेर्ने कोसिस गर्दा लाग्छ म जस्तो कर्कश, असभ्य र अराजक मान्छे सायद नै संसारमा कोही थियो होला । कमसेकम त्यति थाहा पाउने कोसिस त गर्दै छु भनेर अहिले चित्त बुझाउने एउटा मेलो भेटेको छु । कोसिस गरे एक दिन सफल कसो नभइएला र ?

म कुनै बेला सोच्थेँ मैले काम गरिन, बिदामा बसेँ भने त मैले काम गरिरहेको परियोजना डुबी हाल्छ नि ! पृथ्वी मैले एक्लै धानेको भ्रम म मा व्याप्त रूपमा विद्यमान थियो । म सोच्थेँ हरेक कुरामा मेरो नजर पुगेन भने बिग्रिहाल्छ नि । अरूले मैले जस्तो ध्यान दिएर कहाँ गर्छन् र ?  मलाई आफ्नो विषयको ज्ञान र अनुभवबारे खासै घमन्ड त कहिल्यै भएन तर गर्व चाहिँ सधैँ रह्यो । त्यो भ्रमबाट भने म अब पूर्ण रूपमा मुक्त छु । पृथ्वी त मैले समात्न छाडे पो राम्रोसँग घुम्दो र धानिँदो रहेछ । हरेक परियोजना त मैले छाडेर, अरूलाई काम गर्ने सहज वातावरण बनाएर अभिभावकीय भूमिका खेले पो राम्रोसँग चल्दो रहेछ त ।

अहिले आएर साक्षी भावले हेर्दा मैले देखेको सत्य के हो भने धेरैजसो म जस्ता कुनै विषयको डिग्रीधारी मान्छेहरू अनपढ भनिने गरेका मान्छेहरूभन्दा नै बढी जटिल र कुटिल हुने रहेछन् । सभ्य, अनुशासित र नम्र हुनका लागि पढाइ होइन आत्मबोधको जरुरी हुने रहेछ । त्यस्तो आत्मबाेधको आवश्यकता हुने रहेछ जसले मान्छेलाई मनबाट अनुभूत गराओस् कि उ पनि अरू जस्तै सामान्य मान्छे हो । अलि विराट रूपमा हेर्ने हो भने हरेक मान्छेमा उ यो प्रकृतिको एउटा मसिनो धुलोको कण बराबरको, सानो भुसुना बराबरको पनि होइन भन्ने अनुभूत हुन जरुरी रहेछ । त्यस्तो अनुभूति भएमा बल्ल मान्छेमा कुनै पनि खाले अहङ्कार पलाउनबाट रोकिने रहेछ । पछि गएर आफ्ना ती अहङ्कारजन्य कृत्यहरू सम्झेर पछुताउनु पर्ने वातावरण नबन्नका लागि सहयोगीको भूमिका खेल्दो रहेछ ।

पक्कै पनि मान्छेका जीवनमा विभिन्न खाले चरण रहेका छन् । तिनका आवश्यकता र गुणअनुसारका हरेक चरणहरूमा मान्छेका कर्म फरक हुने नै भए, गर्नु नै पर्छ । जस्तै २०-२५ वर्षसम्म पढ्ने, २५-३५ वर्षसम्म विवाह र बच्चाको लालन पालन, ३५-४५ वर्षसम्म धनार्जन र जिजीविषाको मेलोमेसो, ४५-५५ वर्षबाट बिस्तारै कामको हस्तान्तरण आदि । हाम्रो पूर्वीय दर्शनले हामीलाई हजारौँ वर्ष देखि भनिरहेको, सिकाइरहेको कुराहरू पनि तिनै हुन् । जब मान्छेले प्रकृतिले बनाएको यस अनुमानित कार्यतालिकालाई आफू खुसी निकै नै परिमार्जन गर्न खोज्ने रहेछ अनि समस्या त्यहीँबाट सुरु हुने रहेछ । यसको राम्रो उदाहरण हाम्रा बुढा नेता हुन सक्छन्, जसले बेलामा केही गर्ने सकेनन्, गरेनन्, तर अझै गर्नु छ भन्दै ठाउँ छाड्न पनि सकेका छैनन् ।

हामी मान्छे पनि प्रकृतिको एउटा सानो अवयव हौँ भन्नेमा कुनै दुबिधा हुन जरुरी छैन । तर प्रकृतिको अगाडि हाम्रो हैसियत भुसुना बराबरको पनि छैन भन्ने थाहा पाउनका लागि प्रकृतिको अलि विशाल र फैलिएको छातीमा पुग्न, अवलोकन गर्न र अनुभूत गर्न जरुरी छ । अरू बेला त्यस्तो बडबोले म जब कहिलेकाहीँ फगत एक्लो आफूलाई घनाजँगलमा हुस्सु र पानीले घेरेको पाउँछु आफूले फेरेको सास पनि आफूले सुन्न नपरोस् भनेर सजग रहने गर्छु । मलाई भ्रम हुन्छ मैले फेरेको सास मैले नै नसुने भनेँ चितुवा, भालु जस्ता वन्यजन्तुले पनि मेरो उपस्थिति थाहा नपाउन सक्छन् । उकाला, ओराला, चिप्ला, पथरिला बाटा पार गर्दा थाहै नपाइ रमाइलो गर्दै घन्टौँ बिताउने मान्छे म त्यस्तो बेलामा जम्मा एक-डेढ घण्टाको बाटामा पनि जुगौँ बिताउन परेको अनुभूत गर्न पुग्छु ।

अलि कच्चा उमेरमा आफ्नो व्यावसायिक ज्ञान र काममा अलि बढी गर्व (घमन्ड भने पनि हुन्छ) गरेको भए पनि मैले प्रकृतिको मामिलामा कहिल्यै घमन्ड गरिन । कोही बिमार र खाँचोमा परेका मान्छेहरू बारे पनि म सधैँ स्पष्ट रहेँ । जसलाई जहिले पनि जस्तो सुकै बिरामी लाग्न सक्छ त्यसैले  कसैको बिमार माथि मान्छेले सदा दया र सद्भाव राख्नुपर्छ भन्ने सधैँ मान्यता रह्यो, छ । कसैसँग लड्ने भिड्ने होइन तर लड्नै, भिड्नै परे बलियासँग, ठुलासँग हो आफू भन्दा दीनसँग होइन भन्नेमा म सदा सचेत रहेँ ।

म अरू बेला फुक्काहाल हिँड्न, विचरण गर्न रुचाउँछु । मेरा नजिकका आफन्तजन, साथी भाइहरू र बन्धु वान्धवहरुको म प्रतिको सबैभन्दा ठुलो गुनासो नै कहिल्यै संवादमा नबस्ने, फोन नगर्ने भन्ने हुने गर्छ । तर अरूले गर्न चाहेको संवादलाई पन्छाउने काम चाहिँ मैले कहिल्यै पनि गरिन । मैले मेरो त्यो कमजोरी बारे कहिल्यै लुकाउँदिन र सधैँ स्पष्ट भन्न रुचाउँछु । सायद बुझ्न पर्नेले बुझेका छन् । नबुझ्न चाहनेले नबुझेमा म दुखी हुनु बाहेक अरू केही गर्न सक्दिन ।

तर जब कोही आफन्त वा परिजन बिमारी हुन्छ वा उसलाई साँचो अर्थमा मेरो आवश्यकताको खाँचो पर्छ म सहयोग र समय दिन सदा तत्पर रहने गरेको छु, रहन्छु । किनकि मलाई थाहा छ, मान्छेलाई बिरामी पर्दा र खाँचोको बेला सबैभन्दा बढी आफन्त र परिवारजनको साथ सहयोगको खोजी हुने गर्छ । त्यस्तो अनुभूति खुद आफ्नो जीवनमा पनि मैले धेरै गरेको छु । चाहे त्यो ज्वरोले निस्लोट भएर तीन दिनसम्म कतारको मरुभूमिमा लड्दा होस् वा मध्यरातमा दार्चुलामा पिडाले छटपटिँदा होस् वा बैतडी सलसेनाको भीरमा गाडी झुन्डिएर अडिएको बेला ड्राइभर हाम फालेर छाडेर भागेपछि जनतन जोगाड गरेर आफू पनि बाँच्न सफल भएको अवस्थामा होस् । जसले भोगेको छ, जसलाई परेको छ, उसलाई मात्र त्यस्तो बेलामा आफन्त र परिवारजनको साथ सहयोगको खाँचो थाहा हुन्छ । सामान्य अवस्थामा मान्छेले गर्ने जीवनयापनलाई त्यस्ता विशिष्ट अवस्थासँग दाँजिनु हुँदैन भन्ने मेरो मान्यता रही आएको छ ।

मलाई लाग्छ हाम्रा पुर्खाले सम्मान गर्न, पूजा गर्न सिकाएका हाम्रा आफ्नै प्रकृतिका अवयव माथि जहिले देखि हामीले जोरी खोज्न थालिम्, घमन्ड गरिम्, तब देखि नै संसारमा ओली ओलीका नयाँ नयाँ बिमारहरू देखिन थालेका हुन् । मान्छेले प्रकृतिसँग धेरै नै जोरी खोजेर, धेरै नै घमन्ड गरेर नै सायद विभिन्न खाले रोगब्याधी फैलिने वातावरण बनाएको हुनुपर्छ ।

तर दु:खका साथ भन्नुपर्छ अहिलेको यस्तो विषम परिस्थितिमा यो अनौठो र डरलाग्दो रोगसँग सबै मिलेर लड्नु पर्ने बेलामा पनि राजनीतिक भोट र मतमा देशका जिम्मेवार भनिएका राजनीतिक दल र भजन मण्डलीहरू अल्झेको भेटिनु यो देशको सबैभन्दा ठुलो विडम्बना हो । मेरो देशको राजनीति किन सधैँ उच्च ज्वरोको रापतापमा मात्र अल्झिरहन रुचाउँछ ?  मैले आजसम्म बुझ्न सकेको छैन ।

हो राजनीति चाहिन्छ, देशका लागि अपरिहार्य छ । तर राजनीति भन्दा पर पनि त जीवन छ । राजनीति भन्दा पहिले त मान्छे छ , देश छ । मान्छे र देश रहेमा न राजनीति गर्ने होला । हामीले त्यो आत्मबोध गर्ने दिन कहिले आउने होला भनेर म कुरेर बसीरहेको छु । त्यो क्षण मेरै जीवनकालमा देख्न पाइएला कि नाइँ भनेर गमेर बसिरहेको छु ।

मृत्यु अवश्यम्भावी छ । मान्छेको जन्म नै बुढ्यौलीको सुरुवात र मृत्युको सूचना हो । मृत्युका कारण र प्रकृति फरक हुन सक्लान् तर त्यो कोशे ढुङ्गा (मालस्टोन) सम्म मान्छे ढिलो चाँडो पुग्ने कुरा निश्चित छ । त्यस मर्मलाई विचार गरेर हिँड्ने हो भने मान्छे निराशावादी होइन झन् राम्रोसँग बाँच्न र झन् राम्रोसँग काम गर्न सक्छ भन्ने मलाई लाग्छ । जसरी जन्मँदा हामी उत्सव मनाउँछौँ त्यसरी नै मृत्युलाई अकाट्य घटनाका रूपमा स्वीकार गरेर आफ्ना काम कारबाही गर्ने हो भने सायद हरेक दिनलाई उत्सवका रूपमा बिताउन सकिन्छ ।

शुभस्य शिघ्रम् ! द सुनर द बेटर !!

सम्बन्धित समाचार