बुधबार , साउन ९, २०८१

मंगल कार्यमा गाइने गीत : मागल गीत

काठमाडौं लगायत माेफसलले विदेशी संगीतलाई चिनेको छ तर, आफ्नै मौलिक रैथाने मागल भने आफ्नै भूगोलभित्र अपरिचित भएको छ ।

image

विश्व संगीत सागरमा अनेक शैली, लयका गीत संगीतकाे सृजना भएको छ र भविष्यमा पनि नयाँनयाँ शैलीका सांगीतिक सृजना अवश्य देखिनेछन् । हेभि मेटलकाे कर्कश आवाजदेखि  देउडा गीतकाे सामुहिक लय र पाइलाको आफ्नै मौलिकता र विशेषता छ । यहीँ संगीतकाे विशाल सागरभित्र पहिलाको कर्नाली भेगमा (हालकाे कर्नाली र सुदूरपश्चिम प्रदेश ) तथा भारतको उत्तराखण्डका केही भूभागमा प्राचीन खस सभ्यताको मौलिक शैलीमा गाइने मागल गीतकाे चलन अहिले पनि रहेको छ ।

खस सभ्यताको बहुमूल्य गहना मागललाई शुभकार्यकाे प्रतीक पनि मानिन्छ । मागलकाे आवाज सुनिनु नै खुसी उत्सव भएको बुझिन्छ । कर्नाली तथा सुदूरपश्चिम प्रदेशमा कुनै पनि शुभ कार्यमा, आजको मितिमा मागल गाइने चलन छ । मागल विशेषगरी विवाह, व्रतबन्ध, छोरा जन्मेमा, चाेपाउनु (परिवारमा कुनै उत्सव मनाउनु परेमा राेपाँइताका खेतमा गरिने नाचगान) लगायतका हर्ष उत्सव तथा धार्मिक शुभ कार्यमा सांस्कृतिक कथा झल्किने गरी गाउने चलन अझै पनि अभ्यासमा देखिएको छ । मागल मुख्यतया पाका महिलाले समूहमा लामो लय हालेर गाउने गीत  हो । मागल गाउने महिलाहरूलाई ‘मुग्लेरु’ भनिन्छ ।

मागल गाउनु अगाडि मुग्लेरुलाई एकतिर फेरुवा (हातले बुनेकाे गलैँचा जस्तै ) ओछ्याएर बस्न आग्रह गरिन्छ । मग्लेरु पनि मौलिक भेषभूषामा सजिएका हुन्छन् । शिरमा घुम्चाे, गलामा हरियो पाेतेका मालासँगै  लाट् तालाका माला पनि लगाएका हुन्छन्  । काला चाेली, बाह्र हाते फरिया र कम्मरमा सेतो पाउडाे (पटुकी) पहिरेका हुन्छन् । मागल गाउनु अगाडि काँसको  थालमा फूल, चामल, दियो र भेटी राखेर मागल गाउन आग्रह गरिन्छ । त्यसपश्चात् उत्सवको प्रकृति  हेरेर मग्लेरुले गालामा हात राखेर लामो लयमा  मागल गाउने गर्छन् । विवाह, व्रतबन्ध, न्वारान, चाेपाउनीमा गाउने मागल फरकफरक हुन्छन् ।

नेपाली साहित्य काेश (२०५५) अनुसार “नेपालका सुदूर पश्चिमाञ्चलका पाखा पखेरा र उपत्यकाहरूमा लाक देवता मस्टोको लोकमान्यता र प्रभुत्व सर्वोपरि रहेको पाइन्छ । मस्टोको कुनै मूर्ति हुँदैन तर थलो चाहिँ हुन्छ । मस्टोलाई मैथो र गोसाइँ भनेर सम्बोधन गर्दै मागल गीत गाउने चलन छ ।

लोक संगीतका ज्ञाता ज्ञानेश्वर निराैंलाका अनुसार, “मागल पश्चिम नेपाल खासगरी डोटी, कर्णालीतिर गाइने संस्कार गीत हो । मागल मंगल तत्सम शब्दको तद्भव रूप हो । यसलाई स्थानअनुसार डोटी, कर्णाली भेगमा मागल र प्युठान पूर्व महाल भनेको पाइन्छ । संस्कार गीतका सन्दर्भमा यो मंगल गीत हो । यो गीत पुत्र वा बालो जन्मँदा, न्वारान गर्दा, व्रतबन्ध गर्दा, तीर्थयात्रा गर्दा, गृहनिर्माण गर्दा, वा कुनै पनि शुभकार्य गर्दा यो गीत गाइन्छ । यो गीत पश्चिम नेपालमा मात्र नभएर अहिले त पूर्वी नेपालमा पनि प्रचलनमा आइसकेको छ । यो गीत जन्म दिने भाग्यमानी महिलाले ब्रह्माजीसँग छोराको भविष्यका बारेमा सोधनी गरेको प्राचीन ढाँचामा गाइन्छ । विभिन्न मांगलिक अवसर गाइने यो नारी गीत हो । यस गीत वाद्य र नृत्यविना नै फूलको झुप्पो वा चमर डोलाएर शुभकार्यमा गाइन्छ ।”

संगीतकाे प्राकृतिक भाषाको अनेक अर्थभित्र, उत्सव हर्षले भरिपूर्ण  मागलकाे बेग्लै पहिचान र महत्त्व छ । मागल लिङ्ग  उमेर र अनुभवसँग सम्बन्धित छ । मागल गाउन अनुभवसँगै अनुशासन र वर्षाैकाे साधनमा पनि अपरिहार्य हुन्छ । अर्को रोचक पक्ष के हो भने मागल उत्सवको प्रकृति  हेरेर गाउने गरिन्छ । प्रत्येक शुभ कार्यका आआफ्नै लय भएका मागल हुन्छन् । विवाहको लागि गाइने मागल छुट्टै हुन्छ ।

विवाहमा गाइने मागल छोटो अंश यसप्रकारकाे हुन्छ :
चलचल जजमानाैं रेखी पूजा चल
चलचल जजमानाैं रेखी पूजा चल
जाैंवकी चरुवा हाल
चामलकी पिठो हाल
कलशी शृङ्गार

चलचल जजमानाैं दैचामलाैंदाे दुबाे हाल
चलचल जजमानाैं मुग्लेरुका मागल गाव
चलचल जजमानाैं जग्गी हाल कलश पुज
दैचामल पुज गाैत पुज जजमानाैं ।

छाेराका छैठी रातमा गाइने मागल यस प्रकारको हुन्छ :
बालीवैशं छोरो भयो
गरिह उज्यालो भयो
उदिमेली गाैचरन बालक जन्मेको घर
दुबाेले भरियाे
उदिमेली गाैचरन उहीँ माथि हरियो
बालक जन्मेका घर अर्साफिनिले भरियाे

हरि चाैड दुबि चाैड उहीँ माथि हरियो
बालक जन्मेका घरका बाेब दुबाले भरिया
उदिमेली गाैचरन उहीँ माथि हरियो
बालकका बबाकाे शिर दुबाले भरियाे ।
(प्रस्तुत माथिका मागलका हरफ खस नेपाली भाषाका हुन् )

मागल गीतका प्रत्येक शब्द ऊर्जाले भरिएको हुन्छ । उत्सवको प्रकृति हेरेर शुभकामना र आशीर्वाद मागलभित्र पाइन्छ । मागल मंगलकाे अर्को रूप भएको खस सभ्यताका जानकारकाे साझा मत रहेको छ । तर विडम्बना मागल नेपाली मौलिकता बोकेको सांस्कृतिक र सांगीतिक धरोहर सीमित भूगोल र समुदायमा मात्र रहेको  छ । राज्यको तर्फबाट पनि गागलकाे संवर्द्धन, प्रवर्द्धनमा खासै चासो भएको देखिँदैन । स्थानीय तहमा, स्थानीयको मागलप्रतिकाे माेहले मागल आजसम्म जीवित छ ।  जबकि  राज्यले मागल जस्ता कला संगीतको प्रचारप्रसार गरेर, मौलिकतामाथि  अभ्यास तथा अध्ययनको व्यवस्था मिलाउनुपर्थ्यो । यस्ता पृथक् कला सृजनाको उचित ढङ्गले राज्यले देशर चिनाउनुपर्थ्यो । अनि मात्र मौलिक कलाकाे सम्मान र उत्थान हुन्थ्यो ।

अन्त्यमा,  बजार र राज्यले मागल जस्तो मौलिक लोक संस्कृतिलाई अपहेलना गरेको जस्तो देखिन्छ । काठमाडौं लगायत माेफसलले विदेशी संगीतलाई चिनेको छ । विवाह उत्सवमा हिन्दी अङ्ग्रेजी गीतको बाहुल्यता रहेको देखिन्छ । आफ्नै मौलिक रैथाने मागल भने आफ्नै भूगोलभित्र  अपरिचित भएको छ । मागलले अन्य गीतको तुलनामा ठूलो अर्थ बोकेको छ । चलनचल्तीका गीतभन्दा मागल साङ्केतिक पनि छ ।  विडम्बना राज्यको उदासीनताले मागल भन्दा बजारलाई ताल न सुरका, अर्थहिन गीत प्रिय लाग्छ । लयात्मक र अर्थपूर्ण मागलभन्दा  “तीजको गीतमै हान्दिन्छु भेलु बाजे डान्स बाेलका गीत चर्चित हुन्छन् । अझ भनौँ भाइरल हुन्छन् । अब यथाशीघ्र राज्यको सक्रियतामा प्राज्ञ प्रतिष्ठान लगायतका कला सांस्कृतिक धरोहरका विषयलाई अध्ययन गर्ने निकायले मागलाई प्राथमिकतासाथ  विश्वमा चिनाउने काम गर्नुपर्छ । प्रत्येक शुभ कार्यमा मागल गाउने वातावरणको सृजना बनाउनुपर्छ । अनि मात्र मागलकाे सम्मान हुनेछ । मागलकाे सही मानेमा सार्थकता पाउनेछ ।

Tags:

सम्बन्धित समाचार