शुक्रबार , मंग्सिर २३, २०७९

बलात्कारमा अभिव्यक्त हुने पितृसत्ता र महिला सुरक्षाको संघर्ष

image

समाज व्यवस्था दासत्वको अवस्थाबाट पितृसत्तात्मक युगसम्म आइपुग्दा धेरै किसिमका दासहरू त मुक्त भए तर महिलाहरू भने दासत्वबाट मुक्त हुन सकेनन् । पितृसत्ताले महिलाहरूलाई यसरी गाँजेर राख्न थाल्यो कि उनीहरूलाई एक निश्चित नियमभन्दा बाहिर जान दिइएन ।

घरधन्दाको काम गर्नु, बाआमाले खोजेको केटासँग बिहे गरेर अर्काको घर जानु, कहाँ जाने ? जाने कि नजाने ? के गर्न पाइने ? के गर्न नपाइने ? कसरी, के लगाएर हिँड्ने ? पढेलेखेको भए काम गर्ने कि नगर्ने ? कि श्रीमान् र घर परिवारको निम्ति सदैव खटिएरै बस्ने जस्ता नियमहरू महिलामाथि पितृसत्ताले बनाउन थाल्यो ।

यससँगै समानान्तर रूपमा मौलाइरहेको सामन्तवादले महिलाको स्वतन्त्रता झनै खोस्दै लग्यो भने पुरुष समाज झन्झन् स्वतन्त्र भएर हिँड्न थाल्यो ।

जतिबेलादेखि विभिन्न समाज व्यवस्थाले समानता, स्वतन्त्रता र न्यायका लागि उपाय खोज्न थाल्यो, त्यतिबेलादेखि नै जन्मदेखि मृत्युपर्यन्त दासत्वका विभिन्न जालोले जेलिएका महिलाहरूले त्यसबाट बाहिर निस्किन ठूलो सङ्घर्ष गर्नुपर्‍यो ।

‘जबसम्म हिँड्ने प्रयास हुँदैन, तबसम्म साङ्लोमा बाँधिएको महसुस नहुन सक्छ’ (रोजा लक्जेम्बर्ग, सन् १८७१) । यस भनाई बाट पनि प्रस्ट हुन सकिन्छ कि महिला मुक्तिका लागि चौघेरा बाट बाहिर निस्कनु कत्तिको जरूरी छ ।

जब समाज व्यवस्था सामन्तवादबाट पुँजीवादमा परिवर्तित भयो तब पुँजीवादले काम गर्ने मान्छे खोज्न थाल्यो । जसले गर्दा महिलाहरू पनि कामका प्रत्यासी हुने अवसर आयो र फलस्वरूप घरबाट बाहिर निस्किन पाए । आफ्नो रोजाईको काम गर्न थाले । आफैंले मन पराएर बिहे गर्न थाले ।

बिहे भएको पुरुषसँग मन र कुरा नमिल्दा सम्बन्धविच्छेद गर्ने स्वतन्त्रताको उपयोग गर्न थाले । जबकि सामन्तवादका समयमा जतिसुकै पीडा भए पनि त्यसलाई भोगेर, रगतका आँसु बगाएर भए पनि उही पुरुषसँग जीवन काट्न बाध्य हुन्थे ।

सम्रगमा हेर्दा पुँजीवादले महिलालाई स्वतन्त्र र प्रगतिशील त बनायो तर सँगसँगै यसले महिलालाई श्रम शक्ति बेच्ने वस्तुका रूपमा पनि रूपान्तरित गर्दै लग्यो । महिलालाई केवल यौनसँग जोडेर हेर्ने र उनीहरूलाई मालका रूपमा परिणत गर्ने परिपाटीको विकास हुन थाल्यो । यो पुँजीवादको उपज हो । सामन्तवादले महिलालाई घरभित्रै थुनेर राख्यो भने पुँजीवादले महिलालाई चाहिनेभन्दा बढ्ता प्रयोग गर्न थाल्यो ।

पुँजीवादले महिलाको शरीरको वस्तुकरण गरिरहेको इतिहास हेर्ने हो भने पनि पूर्वीय दर्शनको वैदिक कालमा राजा ययातीले गालवको श्यामकर्ण घोडा जम्मा गर्ने अभीष्ट पूरा गर्न आफ्नी पुत्री माधवी गालवलाई सुम्पिएको देखिन्छ । सम्राट हर्यश्व, दिवोदास र उशीनरका लागि माधवीले एक एक चक्रवर्ती पुत्र प्रदान गरेबापत दुई सय घोडा प्राप्त गर्दा पनि विश्वामित्रले माग गरेअनुसार दुई सय घोडा नपुगेपछि यसको बदलामा गालवले माधवीलाई नै सुम्पिएको कथा छ । के यो प्राचीनकाल देखि चलिआएको महिलाको शरीरको वस्तुकरण होइन ?

त्रेता युगमा सीताको पवित्रता पुष्टि गर्न गरिएको अग्नि परीक्षा महिलाको शरीर र यौनिकतामाथिको नियन्त्रण होइन ?

महाभारत कालमा पाँच पाण्डवले कौरवसँग खेलेको जुवामा आफ्ना सर्वश्व गुमाइसके पनि द्रौपदीको शरीर नै जुवामा थापेको कथा छ । हार्नेहरू जित्नेको दास हुनुपर्ने शर्तमा खेलिएको जुवामा सबै हारिसकेपछि श्रीमतीको शरीर थाप्नुभन्दा ठूलो महिला शरीरमाथिको नियन्त्रण र वस्तुकरण अरू के हुन सक्छ ? त्यसलाई पनि पुँजीवादकै उदाहरणका रूपमा लिन सकिन्छ।

पुँजीवादले महिलालाई प्रयोग मात्र गरेको छैन कि महिलाहरू स्वयंका अनभिज्ञताले आँफै पनि पुँजीवाद माथि प्रयोग भइरहेका छन् । राम्रा कपडा लगाउनु, राम्रो देखिन महङ्गो मेकअप गर्नु, महँगा गहनाहरूप्रति आकर्षित हुनु जस्ता अनावश्यक कुराहरूले महिलालाई सुन्दर देखिनुपर्छ भन्ने भान दिन थाल्यो । यी सबै एक हिसाबले पितृसत्ता र पुँजीवादकै देन हुन् ।

सामन्तवादकै समयमा हतपति सुनको चोरी नहोस् भन्ने उद्देश्यले सुरक्षाका लागि विभिन्न गहना बनाएर महिलाका घाँटीमा भिराइदिने र शरीरमा प्वाल पारेर झुण्ड्याइदिने परिपाटीलाई महिलाले आफू सिँगारिएको महसुस गर्न थालेका हुन् । त्यो अवस्था वर्तमान पुँजीवाद कालमा पनि तन्किएर आएको छ।

पितृसत्ता र महिला

पितृसत्ताले जहिल्यै महिलालाई एउटा उपभोग्य वस्तुको रूपमा हेर्छ । यही पितृसत्ताको धारणाले गर्दा बलात्कार लगायत अन्य यौनजन्य अपराध गर्दा पनि पुरुषले आनन्दको अनुभूति गर्दछ । महिलाहरू बाँच्नकै निम्ति यौनजन्य कार्य गर्न विवश छन् । पुँजीवादले पनि महिलाको नग्न शरीरको व्यापार गरिरहेको छ ।

समाजले महिला र पुरुषलाई हुर्किने क्रममा पितृसत्ताको ढाँचामा ढाल्दै जान्छ । पुरुषलाई क्षमता, काम र कमाईको दृष्टिले हेर्छ भने महिलालाई सुन्दरता र उपभोग्य वस्तुको दृष्टिले मात्रै ।

यी मात्रै नभएर रामायणकै कुरा गर्ने हो भने पनि सीतालाई सच्चरित्र हुनुको प्रमाण माग्ने पितृसत्ताले रावणसँग अर्काकी श्रीमतीहरण गर्नुको स्पष्टीकरण सोधेको छैन । विभिन्न अध्ययनहरूले प्रत्येक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको हिंसा भोगेकै हुन्छे भनेर देखाउँछ तर महिलालाई जे जस्तो भएपनि सहनुपर्छ भनेर सिकाउने हाम्रो समाजले पुरुषलाई हिंसा गर्न हुँदैन भनेर सिकाउन सकेको छैन । यो सबैको हुनुको पछाडि हाम्रो सामाजिक संरचनामा पितृसत्ताको हावी हुनु नै हो ।

पुरुषसत्ता र महिला

पितृसत्ता अथवा पुरुषसत्ता एउटै सिक्काका दुई पाटा हुन् । ‘पितृ’ शब्दको निर्माण पिता अर्थात् बाबु बुझाउने शब्दबाट भएको हो । त्यसैले पितृसत्ताले पुरुषसत्ताको प्रतिनिधित्व गर्दछ । यसले समग्र पुरुष नियन्त्रित शक्ति संरचनालाई बुझाउँछ । पुरुषसत्ताले महिलालाई यौन सन्तुष्टिको साधन, बच्चा जन्माउने यन्त्र, घरेलु सेवक आदिका रूपमा प्रयोग मात्र गरिरहेको छैन, बरु अर्थ-राजनीतिक तथा सामाजिक अधिकारबाट समेत वञ्चित गर्दै आइरहेको छ ।

आजको पुँजीवादी पुरुषसत्ताले महिलालाई केवल उपभोग्य वस्तु र आफ्नो बजार प्रवर्द्धन गर्ने विज्ञापन सामग्रीका रूपमा लिइरहेको देखिन्छ । पुरुषसत्ता नै कम्पित हुने गरी लैंगिक पहिचानको नारीवादी आन्दोलन उठान हुन सकेको छैन ।

सुस्त गतिमा अगाडि बढिरहेको नारीवादी आन्दोलनले थुप्रै चुनौती सामना गर्नुपरिरहेको छ । महिलाहरूले हरेक दाम्पत्य जीवनमा आफ्नो जीवनसाथी अर्थात् पुरुष असल जीवनसाथी भन्दा कठोर मालिकका रूपमा प्रस्तुत हुने पाएका छन् । हाम्रो समाजमा महिलाहरूको आवाज घरको पर्खालभित्रै कैद भएको छ । बल्लतल्ल बाहिर निस्केको आवाज पनि पुरुषकै स्वार्थका निम्ति खटिएका हुन्छन् ।

यसरी निर्मित पुरुषमैत्री सामाजिक संरचना अन्ततः नेपाली नारीवादी आन्दोलनमा मुख्य तगारो बनिरहेको छ । भारतीय नारीवादी अभियन्ता एवं लेखक भसीन भन्छिन्- संसारका सात अर्ब मानिसमा साढे तीन अर्ब महिला छन् । तीमध्ये एक अर्ब महिला हरेक दिन हिंसा सहेर बाँचिरहेका छन् । संसारमा योभन्दा ठूलो महायुद्ध कहाँ हुन्छ ? सबैभन्दा दुःख र आश्चर्यको कुरा के छ भने यो युद्ध सबैभन्दा बढी परिवारभित्र हुन्छ । यहींबाट के प्रस्ट हुन्छ भने महिलामुक्तिको निम्ति सबैभन्दा पहिले व्यक्तिगत अधिकारका लागि आफ्नो परिवारसँग लड्न तयार हुनुपर्छ जुन हाम्रो समाजमा एकदमै चुनौतिपूर्ण छ ।

पुरुषसत्ताले महिला हिंसा मात्र भइरहेको छैन । यसले गर्दा यहाँ पैसा, पद र पावरकै आधारमा पनि महिलाहरू दिनानुदिन बलात्कारको सिकार भइरहनु परेको छ । बलात्कारबारे अमेरिकी नारीवादी लेखिका मेरिलिन फ्रेन्जले लेखेकी छन्, ‘प्रत्येक पुरुष बलात्कारी हुन्छ र यो उनीहरूको चरित्र हो ।’ यसर्थमा भन्न सकिन्छ कि बलात्कार सामाजिक मुद्दा हो र हाम्रो समाज पितृसत्तासँग जोडिएको छ ।

डा. मीना पौडेल लेख्छिन्, ‘बलात्कार पितृसत्ताको विषालु हतियार हो । बलात्कार पितृसत्ताको महत्वपूर्ण खम्बा हो । बलात्कार पितृसत्ताको एउटा विषाक्त लक्षण पनि हो। यसले महिलाको पहिचानमाथि धावा बोल्छ र अस्तित्वलाई चुनौती दिन्छ अनि पितृसत्ताको शक्ति प्रदर्शन गर्न थाल्छ । जसको सिकारमा महिला घरदेखि सिंहदरबारसम्म असुरक्षित हुन्छन् ।’

विश्वका सबैभन्दा चर्चित लेखकमा गनिने इसाबेल आएन्डे भन्छिन्, ‘थोरै–थोरै गरेर महिलाले पितृसत्तालाई नष्ट गर्दै छन् । हालसम्म यसलाई विस्थापित गर्न असक्षम हुनुले हामी असफल भयौँ भन्ने होइन, हामी निकै ठूलो शत्रुसँग लडिरहेका छौँ भन्ने हुन्छ । तर, यो असम्भव लक्ष्य होइन । एक दिन हामी यसमा सफल भएरै छाड्ने छौँ भन्ने विश्वास छ । तर, यो कार्य मेरो जीवनकालमा हुनेछैन । सबै महिला शिक्षित भए, सुसूचित भए र एक–अर्कासँग मिलेर काम गरे भने यो अवश्य सम्भव हुन्छ ।’

अर्का समाजवादी चिन्तक आहुति भन्छन्, ‘आज संसारभरि महिलामाथिको अत्याचारका विरुद्ध लेखिँदै छ, बोलिँदै पनि छ । सम्पत्तिमा अधिकारहीनता, घरेलु हिंसा, असमान ज्याला, बलात्कार, अप्रतिनिधित्व, महिला शरीरको मालकरण, यौनजन्यहिंसा, भ्रूणहत्या, बेचबिखन, यौनदासता आदि विषयहरू लेखाइ, बोलाइ, संघर्षका मुद्दाका रूपमा छरपस्टै अगाडि आएका छन् र मुद्दाका हिसाबले सही छन् । यसरी लगातार विषयहरू उठ्दा पनि महिलामाथिको अत्याचारको घनत्व झन्–झन् नयाँ आयाममा बढ्दै गएको छ ।

यसर्थ महिला मुक्तिका निम्ति यी पितृसत्तात्मक सोच र जञ्जीरहरूसँग लड्न एकदमै चूनौतिपूर्ण छ तर समस्या आयो भन्दैमा चुपचाप सहेर बस्न थालियो भने यो जञ्जालबाट कहिल्यै मुक्ति मिल्दैन । अगाडि बढ्नु छ र पितृसत्तात्मक सोच र सामन्तवादले पैदा गरेका बन्धनहरूलाई तोड्नुछ भने त्यसको सामना गर्न सिक्नुपर्छ, सिकाउनुपर्छ ।

सम्बन्धित समाचार