बिहिबार , फागुण १७, २०८०

बाणासुरको छोरी उषा र कृष्ण को नाति अनिरुद्ध बिच गान्धर्ब बिबाह भएको कथा

image

बाणासुर को धेरै कहानीहरु मध्येको एक हो छोरी उषाको कृष्णको नाति अनिरुद्ध सँग को गान्धर्ब बिबाह । यस कहानी सँग सम्बन्धित स्थानहरु जस्तो चन्दन भरातेश्वर, भालेश्वर, भाजु खुशि/ख्वासी (अनिरुद्ध ले मुख ढोएको ढुंगा खोला ), गोपाली, आदि हुन् । त्यस्तै थानकोट को महालक्ष्मी सिंदुर जात्रा र चित्तलांगको भैरब जात्रा को बेलामा गुलवकावली वा गुलवगनी नाच/ नृत्य पनि देखाईन्छ

 १. उषा

बाणासुर को श्रीमती बाणावती को गर्भबाट एक अत्यन्त सुन्दर कन्याको जन्म भयो । ती कन्या सर्बगुण सम्पन्न र सबै लक्षणले युक्त्त भएकि देखेर बाणासुर अति खुशि भएर गरीब, गुरुवा, भिक्षुक, ब्राह्मण सबैलाई मिठो खाना ख्वाएर, दान दक्षिणा दिएर खुशि पारेर पठाए । त्यस कन्याको नाउं उषा भनेर नामाकरण गरे ।

१ .१. उषा ले बालककालमा नै धेरै कुराहरु सिक्न सकिन । बालकको होनहार र बिकशित प्रबृति देखेर बाणासुर ले भवानी शंकरबाट शिक्षा पाए राम्रो हुने देखेर कैलाशनाथ सँग बिन्ति गरे । हे त्रैलोक्य नाथ यस बालक लाई दासीनी सम्झेर बिद्या प्रदान गरिदिनु होस् भनेर बिन्ति गरे ।

१.२. महादेव ले उषा लाई देख्ने बितिकै उस्को क्षमता अनुसार को बिद्या प्रदान गरे । महादेवको कृपा र उषा को होनहार प्रबृति ले गर्दा उषालाई सम्पूर्ण बिद्या प्राप्त गर्न धेरै समय लागेन ।

१.३. एकदिन पार्वती र महादेव बन क्रिडा गर्न चन्दागिरी गएर रमाईरहेको बेलामा महादेव लाई कामदेवको पुनर्जन्म कृष्ण पुत्र प्रद्युम्न को रुपमा भएको र फेरी रतिसँग भेट भएको कुरा याद आएर सुनाउन लागे । यसरी कामदेव र रतिको मिलन को कुराले जगतमाता पार्वती मा प्रेमभाव जागेर महादेव लाई मधुर स्वरमा मीठा मीठा रोमांचित कुराहरु सुनाए । पार्वतीले यसरी प्रेम पूर्बक गरेको मधुर वचनले महादेव लाई प्रसन्न पार्यो । महादेव ले पनि पार्वती लाई बडो प्रेम भावले आफ्नु काखमा राखेर प्रेम भावले मीठा मीठा कुराहरु गरेर बसे ।

१.४. यसरी शिव पार्वती प्रेम भावले बसेको देखेर उषाको मनमा ईच्छा जागृत भएर आयो । मेरो पनि पुरुष भएको भए म पनि यसरीनै पार्वती बसे जस्तै बिहार गरेर बस्न पाउने थिए भन्ने कल्पना गर्न लागे ।

१.५. त्यस्मा झन् शिव पार्वती वन क्रिडागरेर एक अर्कालाइ आनन्द दिलाउन खोजेको देखेर उषाको मनमा धेरै कुराहरु को कल्पना मनमा सोंचेर बसेको देखेर पार्वती ले थाहा पाएर उषालाई भने । हे उषा तिमीलाई पनि पति पाउन र पति सँग बिहार गर्न ईच्छा भएको हो भनेर सोधे । उषा लजाएर बोल्न सकिनन् । त्यो देखेर पार्वती ले भने हे उषा तिमी धन्दा नलेउ ।

१.६. अहिले तिमी जाऊ, दुई चार महिनामा नै तिमीले तिम्रो पति भेट्टाउने छौ । मैले तिम्रो लागि पति खोजेर दिईसकेको छु ।

केही दिनमानै तिम्रो सपनामा एक जना पुरुष आएर तिमीसंग श्रृगार पटार गर्नेछ , त्यही पुरुषलाई खोजेर आफ्नु पुरुष मान भनेर पार्वतीले आज्ञा गरे ।

यसरी पार्वती ले उषालाई बिद्यादान दिएर पुरुष पाउने तरिका बताएर पठाए । पार्वती को आज्ञा पाएर मनमा अति आनन्द मानेर पार्वती को चरणमा ढोगेर आफ्नु बुबाको घरमा फर्किए ।

२. यसरी सबै ज्ञान र बिद्या प्राप्त गरी घरमा फर्केको छोरीको यौवनावस्था भएको देखेर बाणासुरले एउटा अत्यन्त मनोहर घर बनाएर सहेलीहरु साथ दिएर बस्न पठाए । त्यस्पछि एक दिन उषा सोरह सिंगार गरेर आफ्नु बाबु आमाको दर्शन गर्न अनेक सिंगारपटारको साथ साथै अनेक क्रिडा गरेर आएको देखेर बाणासुर को मनमा चिन्ता भयो । अब छोरीलाई बिबाह गरिदिने समय आयो भनेर सोंचे । अब यीनी बस्ने ठाउँमा अन्य पुरुष जान नसकोस् भनेर थप प्रहरदारी राखि होशियार सहेलीहरु उषालाई दिएर राखे ।

२.१. उता उषा पार्वती ले बरदान दिएको पुरुष को ईच्छा गरेर पार्वती को पूजा गरेर नित्य कर्म गरेर बसे । मलाई छिटै पुरुष सँग भेट गराईदिनुस भनेर प्रार्थना गरेर बसे ।

२.२. एक दिन आफ्नु कोठामा सुतेर बसेको बेलामा सपनामा एक जना जवान सुन्दर पुरुष आएर उषाको अगाडि उभिएर बसेको देखेर उषालाई लाज लागेर निहुरेर बसे । त्यस्तो मोहमूर्ति भएको जवान पुरुष लाई देखेर आफ्नु पलंगमा साथमा राखेर प्रेमले अनेक कुराहरु गरेर बसे । तर सो पुरुष सँग अंगालो मारेर बस्छु भनेर अगाडि बढेको बेलामा अंकमाल गर्न नपाउँदैमा ब्युंझेर मनको ईच्छा मनमै रह्यो ।

२.३. त्यस्बेलामा उषालाई नरमाईलो लागेर उठेर नाना तरहले शोक गरेर बसे । मेरो मनलाई हरेर लाने तपाई को हुनु हुन्छ । मलाई कृपा गरेर दर्शन दिनु होस भनेर बिलाप गरे । निन्द्राबाट नब्युझदैमा मेरो प्राण पति सँग बिछोड भयो । निन्द्रा बाट ब्युझे पछि मेरो प्राणनै हरेर लग्यो । मेरो शरीर मात्र छोडेर जानु भयो । अहिले मेरो चित्त लाई रुवाएर राखेर कहाँ जानु भयो । मलाई लिन आउ हे मोह मूर्ति भनेर बिरह गरेर आफ्नु कोठा बाहिर ननिस्केर बसे ।

२.४. राजकन्या अहिले सम्म किन उठेर आएन भनेर सहेलीहरु हेर्न जाँदा राजकन्या उषा रोएर बसेको देखेर बुझ्न चाहे । तर उषा बिरह गरेर बसेको हुनाले कसैले पनि के भएको थाहा पाउन र बुझ्न सकेन ।

यस्तोमा सहेलीहरु ले चित्रलेखा लाई उषाको हालत बारे खबर गरेर बोलाउन पठाए । त्यस्बेलामा उषा रोएर बसेको देखेर चित्रलेखाले के दुःख पर्यो र किन बिलाप गरेर बसेको भनेर सोधे । मलाई भन्नुस म उपाय निकाल्छु । मलाई ब्रह्मा ले बरदान दिएको छ । त्यस्ले गर्दा हे राजकन्या तिमीलाइ के दुःख परेको छ मनको दुःख बिस्तारमा मलाई भन्नु पर्यो भने ।

यस्तो बिरह साधारण त उस्ले गर्छ जस्को पुरुष सँग झगडा भएर बिरक्त हुन्छन् । तिमी पनि आफ्नु पुरुष सँग झगड़ा गर्यौ कि क्या हो खुलस्त गरेर मलाई भन्नु पर्यो भनेर चित्रलेखाले भने ।

२.५. यस्तो कुरा सुनेर उषाले लाजमानेर भने हे सखी तिमी म सँग बस तिमीलाइ म सबै कुरा भन्छु । मैले गएको रात एक जना जवान अति सुन्दर पुरुष लाई सपनामा देखें । उनी मेरो ओछ्यानमा आएर मसँग प्रेमको कुराहरु गरेर मेरो मनलाई हरेर लग्यो । मैले पनि लाजै नमानि उस्लाइ अंकमाल गर्छु भनेर हात अगाडि बढाएको बेलामा निन्द्राबाट ब्युझे । निन्द्राबाट ब्युझेर चारैतिर छामेर हेर्दा ओछ्यानमा थिएन । त्यस्पछि सो पुरुष लाई मैले फेरी देखिन । तर त्यस पुरुष को मूर्ति मेरो हृदयमा बसेको छ ।

२.६. मलाई पार्वती ले सपनामा आएको पुरुषले प्यार देखाए त्यही पुरुष खोजेर आफ्नु पुरुष बनाउनु भनेर आज्ञा गरेका थिए । अहिले त्यस पुरुष ले सपनामा दर्शन त दिए तर अब मैले त्यस पुरुष लाई कहाँ खोज्ने, कसरी खोज्ने, कहाँ लिन वा भेट्न जाने केही थाहा भएन । हे सखी मेरो यस्तो मनको दुःख कस्लाइ भन्ने भन्दै आँखा बाट वररर ऑसु झारे ।

२.७. उषाको कुरा सुनेर चित्रलेखा ले भने हे प्यारी सखी अब म तिम्रो चित्त चोरेर लानेलाई जहाँ भएपनि खोजेर ल्याउनेछु भनेर आश्वासन दिए । तिमीले चाहेका लाई खोजेर लिएर आएर तिम्रो अगाडि राखेर तिम्रो मनोरथ पुरा गरिदिनेछु ।

अब म तीनै लोकमा भएको सुन्दर पुरुषहरु को तस्वीर लेखेर देखाउने छु भनेर चित्रलेखाले भने । हे सखी तिमीले राम्रो कुरा गर्यौ । मेरो प्राण पतिलाइ मैले देखेर चिन्नेछु । तिमी चित्र लेखेर मलाई देखाउ म चिन्नेछु भने । त्यस्पछि चित्रलेखा ले गणेश र सरस्वती लाई नमस्कार गरेर तस्बीर लेख्न आरम्भ गरे ।

सबभन्दा पहिले देवताहरु र दैत्यहरुको तस्वीर बनाए । त्यस्पछि यक्ष गन्धर्ब किन्नर हरुको तस्वीर देखाए । त्यस्पछि कृष्ण र प्रद्युम्नको तस्वीर लेखेर देखाए । उषाले ती दुई जनाको तस्वीर देखेर लाज मानेर निहुरेर चित्रलेखालाई भने । हे सखी यी दुईमा मेरो चित्त चोर्नेको अनुहार को झझल्को आउँछ ।

२.८. उषाले त्यत्ति भनेपछि चित्रलेखाले कुरा बुझेर तुरुन्त अनिरुद्ध को तस्वीर लेखेर देखाए । त्यो अनिरुद्ध को तस्वीर देखेर उषाले आँखा बाट आँसु झारेर भने हे सखी सपनामा आएर मेरो चित्त हरेर लाने उहीनै हो ।

२.९. हे प्यारी सखी अब यस्को उपाय गर्नु पर्यो । जे उपाय गरेर भएपनि त्यस पुरुष संग भेट हुने उपाय गरेर मलाई मेरो प्राण देउ भने । त्यो पुरुष मैले पाईन भने मेरो यो प्राण रहने छैन भनेर उषाले चित्रलेखा सँग रोइकराइ गरेर भने । त्यो अबस्था देखेर चित्रलेखाले भने हे प्यारी उषा अब त्यो पुरुष ल्याउने काम मेरो भयो धन्दा नमान । त्यो पुरुष को हो भने कृष्ण को नाती, प्रद्मुम्न को छोरा अनिरुद्ध भन्ने हुन् । उनी द्वारिका पुरीमा बस्छन् । त्यस क्षेत्रलाई सुदर्शन चक्रले रक्षा गरेर राखेको छ ।

३ त्यहाँ कृष्ण को स्वीकृति बिना त्यस द्वारिका पुरीमा कोही जान पाउँदैन भनेर चित्रलेखा ले भने । यो सुनेर उषाको मनमा बिष्मात भएर भने । हे सखी द्वारिका जान यस्तो अप्ठ्यारो छ भने कसरी मेरो प्राण नाथ लाई ल्याउने भनेर मनमा चिन्ता लिए । त्यस्मा चित्रलेखा ले भने हे सखी तिमीले कुनै धन्दा लिनु पर्दैन । तिम्रो लागि कुनै उपाय अबस्यपनि गर्नेछु भने ।

३.१. यति भनेर चित्रलेखा आफ्नु रुप छोडेर माया रुप लिएर उडेर द्वारिका को समिपमा पुगेर यताउता हेरे । त्यहाँ सुदर्शन चक्र ले चारै दिशामा बेरेर द्वारिका पुरीको रक्षा गरेर राखेको देखे । चित्रलेखा यस्लाई तोडेर कसरी जाने भनेर चिन्तन गरेर बसेको बेलामा परमेश्वरको ईच्छा ले नारद ऋषि त्यहाँ आएर चित्रलेखा लाई भने । हे चित्रलेखा तिमी यहाँ किन कुन कामले आयौ भनेर सोधे ।

३.२. चित्रलेखा ले चरणमा ढोगेर बिन्ति गरेर आफ्नु आउनु को अभिप्राय सुनाए । त्यो सुनेर नारद मुनिले चित्रलेखा लाई मन्त्र दिएर भने । हे चित्रलेखा तिमीले यो मन्त्र पढेर जप गरेर साधुको भेष धारण गरेर द्वारिकामा पस्यौ भने सुदर्शन चक्रले तिमीलाइ केही गर्ने छैन भनेर चित्रलेखा लाई मन्त्र सिकाएर नारद मुनि गए ।

३.३. चित्रलेखा ले नारद मुनि ले भने अनुसार साधुको भेष धारण गरेर त्यो मन्त्र जप गरेर द्वारिकामा प्रबेश गरे । सुदर्शन चक्र ले चित्रलेखा लाई द्वारिका भित्र पस्नबाट रोक्न सकेन ।

द्वारिका भित्र पसे पछि चित्रलेखा अनिरुद्ध लाई कोठा कोठामा खोज्दै गए । अनिरुद्ध को कोठामा पुग्दा अनिरुद्ध मस्त सुतिरहेको देखे । त्यही मौका छोपेर कोठा भित्र गएर अनिरुद्ध लाई सुतेको खाट समेतनै उठाएर उडेर आकाश मार्ग भएर सिधा उषाको कोठामा पुर्याए ।

यसरी कोठामा पुर्याएर चित्रलेखा ले भने हे राजकन्या मैले तिम्रो प्राण प्रियलाई ल्याईदिएको छु । अब के गर्ने हो तिम्रो ईच्छा भने ।

३.४. यसरी चित्रलेखा ले अनिरुद्ध लाई अकस्मात् आफ्नु कोठामा सुतेको अबस्थामा राखिदिएको मा मनमा अति हर्षमान भएर उषाले अनिरुद्ध लाई एकोहोरो हेरिरहे । एक छिन पछि होस आएर उषाले चित्रलेखा लाई भने । हे चित्रलेखा तिमी धन्य रहेछौ । तिमीले यति छिट्टै मेरो प्राण प्रियलाई भेट्टाएर ल्याईदिएर मेरो प्राण बचायौ । तिमीले आफ्नु प्रतिज्ञा पुरा गरेर मलाई जन्म जन्म सम्मको ऋणी बनाएका छौ । म तिम्रो यो गुण कहिल्यै बिर्सने छैन । यो गुणको बदलामा म जन्म भरको लागि तिम्रो दासी भएँ ।

३.५. त्यस्मा चित्रलेखा ले भने हे राजकन्या यस संसारमा परोपकार गर्नु बराबर अरु कुनै ठूलो काम छैन । तपाई को काममा काम आउन सकें यो मेरो ठूलो भाग्यको कुरा हो ।

अब तिमी आफ्नु प्राण नाथ लाई ब्युंझाएर आफ्नु ईच्छा पुरा गर भनेर चित्रलेखा सन्तुष्ट भएर

आफ्नु घरमा गए ।

३.६. त्यस अबस्थामा एक सुन्दर नौजवान लाई आफ्नु कोठामा पाएर केही डराए जस्तो, केही लाज लागे जस्तो भएर, सुतीरहेको पुरुष लाई कसरी जगाउँ भनेर मनमा सोंच्न लागे ।

तुरुन्त मधुर मधुर स्वरले बीणा बजाएर अनिरुद्ध को मुख हेरेर त्यसैमा मन मग्न भएर आफ्नु मनोरथ पूर्ण गरेर बसे ।

३.७. यसरी उषाले बीणा बजाएर अनेक अनेक मधुर आवाज सुनाएर अनिरुद्ध लाई निन्द्राबाट ब्युंताए । अनिरुद्ध ब्युझेर आश्चर्य मानेर चारैतिर हेरे ।

– आफ्नु खाट ओछ्यान सहित नयाँ ठाउँमा देख्दा अचम्म माने ।

– मलाई यसरी खाट र ओछ्यान समेत कस्ले कसरी उठाएर ल्यायो भनेर सोंचे ।

– पहिले आफ्नु बुबा प्रद्युम्नलाई पनि बालककालमा सम्बरासुर दैत्यले हरेर लगेको सम्झे ।

– अहिले मेरो पनि त्यही दशा भएको हो कि भनेर मनमा चिन्ता गरे ।

३.८. तर यता उषा आफ्नु प्राणनाथको चन्द्रमा जस्तै उज्यालो मुख हेरेर आनन्दित थिइन । अनिरुद्ध ले पनि सो आनन्दित रुपमा बसेको उषालाई देखेर भने ।

– हे प्यारी तिमी को हौ ।

– मलाई कस्ले कसरी यहाँ ल्यायो ।

– तिमी किन र कसरी मेरो अगाडि आयौ ।

४. यस्मा उषाले कुनै पनि उत्तर नदिई लाज मानेर आफ्नु सुन्दर अनुहार प्रस्तुत गरेर अपठ्यारो मानेर कोठाको एउटा कुनामा गएर उभिरहे । त्यो अति सुन्दर मुहारमा प्रेमभाव झल्काएर एक कुनामा उभिएको देखेर अनिरुद्ध ओछ्यान बाट उठेर उषाको हात बिस्तार समातेर खाटमा बसाले ।

४.१. यस्तै क्रम ले बिस्तार बिस्तार दुई जनाको बिचमा मीठा मीठा प्रेमका कुराहरु चल्न थाल्यो । दुबैले एक अर्कालाइ बुझ्न सम्झन सके र प्रेमभाव पनि बढ्दै गयो ।

४.२. उषाले सपनामा अनिरुद्ध सँग अंकमाल गर्न नपाउँदै ब्युंझेको को सट्टा अहिले दोहरो अंकमाल गर्न पाएकोमा उषालाई आफ्नु मनोरथ पूर्ण भएको मा खुशि थियो । उषाको मुखमा आएको खुशियाली देखेर अनिरुद्ध पनि खुशि भएर मुसु मुसु हॉसेर उषासंग सोधे । हे प्राण पियारी तिमीले मलाई कहाँ कसरी देख्यौ र भेट्टाएर ल्यायौ ।

४.३. यतिखेर उषाले पनि कम लाज मानेर बिन्ति गर्दै भने । हे नाथ मैले तपाइलाई सपनामा देखेर अत्यन्तै मोहित भए । चित्रलेखा नामको सहेलीले मेरो हालत बुझेर मेरो चाहना अनुसार खोज्न हिंडे । उनै सहेलीले तपाईलाई कसरी भेट्टाएर ल्याए मलाई थाहा भएन भनेर उषाले बिन्ति गरे । उषाको यस्तो कुरा सुनेर अनिरुद्ध ले भने हे प्राण पियारी मैले पनि गएको रात सपनामा तिमीसँग बिहार गरेर बसेको देखेको थिए । ब्युझेर हेर्दा यहाँ पाएँ । कस्ले मलाई कसरी यहाँ ल्यायो मलाई पनि थाहा भएन ।

४.४. हे पियारी तिमीले बजाएको बीणाको मधुर मधुर आवाजले ब्युंझाई दियो । उठेर हेर्दा तिमीलाई सामुन्ने पाउँदा अचम्म लाग्यो र खुशि लाग्यो भनेर दुईजना कुरा गर्दै रमाएर बसे ।

४.५. त्यस्पछि सूर्य उदय भयो र उषाले अनिरुद्ध लाई एउटा बिशेष राम्रो भित्री कोठामा लगेर लुकाएर राखे । यस कोठामा कोहीपनि जान सक्तैन थे र बाहिरबाट कसैले देख्न पनि सक्तैन थे ।

४.६. एक दिन उषाको आमा बाणावती आफ्नु छोरीलाई भेट्न भनेर उषा बसेको महलमा आए । त्यस्बेलामा उषा सिंगार गरेर अत्यन्त सुन्दर रुपमा अनिरुद्ध सँग खेलेर बसेका थिए । त्यस्बेला आफ्नु छोरीको हंसिलो मुहार प्रसन्न मुद्रामा देखेर बाणावती प्रसन्न भएर भेटेर खुशिभएर गईन् ।

४.६. यसरी उषाले आमा बुबा कसैलाई पनि खबर नगरि वास्ता नै नगरिकन अनिरुद्ध सँग गन्धर्ब बिबाह गरेर बिहार गरेर बसे ।

४.७. यसरी बस्दाबस्दै धेरै समय बित्यो । एक दिन अनिरुद्ध मस्त निदाएको बेलामा उषा एक छिनको लागि बाहिर निस्के । तर एक छिनमानै भित्र पसि हालिन । उनले अनिरुद्ध सँग बिहार गरेर सुख पुर्बक बसिरहन पाएर बाहिर आएर बस्ने समयनै निकाल्न सकेन ।

४.८. यो देखेर त्यहाँ बसेका चौकिदार सिपाहीहरुले आपसमा कुरा काट्न लागे । एक जना चौकिदार सिपाहीले भने हे साथीहरु हो हाम्रो राजकन्याको कोठामा कुनै पुरुष सँग कुरा गरेको र हॉसेको सुनिन्छ नि भने ।

अर्को चौकिदार ले भने हे साथीहरु हो यो कुरा सॉचो हो भने राजालाई भन्नु पर्दछ भने । अर्को चौकिदार ले भने हे साथीहरु राजकन्या को कुरा काट्ने काम हामीहरुले गर्न हुँदैन । बरु चुपचाप लागेर बसौ यसैमा कल्याण छ भनेर भने । यदि साँचो हो भने एक दिन आफैले थाहा पाउनेनै छन् ।

४.९. एक दिन बाणासुर अनेक बीरहरु साथमा लिएर निरीक्षण गर्दै त्यस ठाँउमा आइपुगे ।

त्यहाँ महादेव ले दिएर पठाएको ध्वजा नदेखेर चौकिदारहरु सँग सोधे । हे चौकिदारहरु हो यहाँको ध्वजा कहाँ गयो भनेर सोधे । चौकिदारहरुले भने हे महाराज केहि दिन भयो त्यो ध्वजा आफै खसेर टुक्रा टुक्रा भयो भनेर बिन्ति गरे ।

५ त्यत्तिखेर बाणासुर ले महादेवलाइ सम्झेर प्रसन्न भएर भने । अब मैले थाहा पाए मेरो शत्रुको उत्पत्ति भयो भनेर । यस्तो बाणासुर ले भनेको सुनेर चौकिदारहरु डराएर हात जोडेर बिन्ति गरेर भने । हे महाराज राजकन्या उषाको कोठामा को हो हामीलाई थाहा छैन । कुनै लोग्ने मानिसको स्वर सुनिन्छ । त्यो को हो, कहाँबाट आयो, कस्तो छ, हामीलाई केही थाहा छैन भनेर बिन्ति गरे ।

५.१. यस्तो चौकिदारहरुको कुरा सुनेर बाणासुर क्रोधित भएर उषाको रंग महलमा पसेर हेर्दा एक अति सुन्दर पुरुष उषाको ओछ्यानमा सुतेको देखे । यस्तो सुन्दर पुरुष सँग उषाको बिबाह गर्न योग्य छ भनेर मनमा बिचार गरेर बाणासुर फर्के ।

५.२. हे मन्त्रीहरु हो मेरो शत्रु भित्र सुतेर बसेको छ भाग्न नपावस । चारैतिर बाट घेरेर राख्नु भाग्न नपावस । ब्युंझेपछि मलाई खवरदिन आउ भनेर भने । मन्त्रीहरुले पनि धेरै बीर बीर सिपाहीहरु खटाएर उषाको घरमा चारैतिर बाट घेरेर राखि दिए ।

५.३. अनिरुद्ध ब्युझेर उषासँग ख़्याल ख्याल गरेर जिस्किएको स्वर सुनेर चौकिदारहरु ले राजा कहाँ गएर बिन्ति गरे । त्यो सुनेर बाणासुर हातमा तरवार लिएर उषाको रंग महलमा गएर भने ।

हे चोर तिमी को हौ बाहिर आउ मेरो सामुन्ने आउ दण्ड दिन्छु । अब तिम्रो प्राण को रक्षा होला भन्ने आशा नगर भन्दै बाणासुर ले क्रोध गरेर भने ।

५.४. बाणासुर को स्वर सुनेर उषा डराएर थर थर काँपेर अनिरुद्ध लाई कसरी बचाउने भनेर आकुल ब्याकुल भए । अनिरुद्ध ले उषालाई सम्झाउँदै नडराउ भन्दै बाणासुर को सामना गर्न अगाडि बढे ।

५.५. यो देखेर सुनेर बाणासुर ले सुर बीर हरुको लस्कर साथमा लिएर अनिरुद्ध सँग युद्ध गर्न आए । दैंत्य सेनाहरु बाणासुर को आज्ञा पाएर आआफ्नु शस्त्रहरु लिएर अनिरुद्ध सँग युद्ध गर्न तैयार भए । उता अनिरुद्ध पनि युद्ध गर्न तैयार भएर आए ।

५.६. त्यो देखेर बाणासुर ले अनिरुद्ध लाई नागपासले बाँधेर आफ्नु ठाउँमा लगेर हप्काउँदै भने । हे बालक शाहस बाँकि छ र आफुलाई रक्षा गर्ने उपाय छ भने गर भने ।

५.७. यो कुरा सुनेर अनिरुद्ध ले बिचार गरेकि शिवजीको आज्ञाको लाज बचाउन चुप लाग्नु पर्छ भन्दै शिवको स्तुति गरेर बसे । हे जगदीश्वर तपाईको नागपासले मलाई अत्यन्तै पीड़ा भएको छ । यस्बाट मलाई रक्षा गर । सो गर्न तपाई बाहेक अरु कसैले पनि गर्न सक्तैन भनेर स्तुति गरे ।

५.८. अनिरुद्ध को स्तुति बाट सन्तोष भएर शिवजीले आज्ञागरे । हे अनिरुद्ध यस बाणासुर ले अत्यन्तै अभिमान गरेको हुनाले उस्को अभिमान लाई तोड्न को लागि तिमीलाइ कारण बनाएको मात्र हो । त्यस्कारण तिमी धन्दा मान्नु पर्दैन । कृष्ण तिम्रो रक्षा गर्न आउने छन् र तिमीलाई साथमा लिएर जानेछन् । अहिले यस नागपासमा बाँधिएर बसिरहनु । मेरो कृपाले यस नागपासले कुनै दुःख कष्ट दिने छैन ।

५.९. त्यस्पछि शिवजीको कृपाले अनिरुद्ध लाई नागपासबाट कुनै कष्ट पीडा भएन सितल भएर गयो । उता बाणासुर अनिरुद्ध लाई नागपासले बाँधेर राखेको छ भनेर प्रसन्न थिए ।

५.१०. यो खबर उषाले थाहा पाएर चित्रलेखा सँग बिलाप गरेर रोएर बसे । मेरो कारण मेरो प्राण नाथले दुःख पाएर बस्नु पर्यो । अब म बाँचेर बस्नु धिक्कार छ । यस्तो उषाको अबस्था देखेर चित्रलेखा ले सम्झाउँदै भने । हे राजकन्या तिम्रो प्राण प्रियलाई कसैले पनि केही गर्न सक्तैन तिमी धन्दा नमान भनेर सम्झाए । छिटै कृष्ण बलभद्र यदुवंशीहरु आएर अनिरुद्ध र तिमीलाइ सँगै द्वारिका लानेछन् ।

५.११. उषाले भने हे सखी म आफ्नु प्राण नाथलाई नागपासले बाँधेर राखेको ठाउँमा साथ दिन जाँदैछु भनेर उठेर राजसभा मा गएर अनिरुद्ध सँगै बस्न गए ।

५.१२. यसरी छोरी उषा राजसभामा आएर सँगै बस्न आयो भनेर छोरा स्कन्दलाई आफुसँग लगेर राख भने ।

५.१३. उषाले आफ्नु दाइलाई भने मलाई माता पार्वती ले दिएको पुरुष हुन । मैले आफ्नु बनाई सकें । अब म उस्लाइ छोडेर अन्यत्र जान सक्तिन । त्यस्कारण उस्लाई जे गति होला मलाई पनि त्यही गति होला भनेर उषाले भने ।

५.१४. तर दाजु स्कन्दले दुई जनालाइ दुई तिर थुनेर राखिदिए ।

५.१५. अन्तमा कृष्ण, बलराम, प्रद्युम्न, आदि सबै आएर युद्ध गरेर जितेर दुबै लाई द्वारिका लगेर आनन्दसंग बसे । यस कथामा धेरै कुराहरु भन्न र देखाउन खोजिएको छ । यस्लाई आआफ्नु तरिकाले बुझ्न सकिन्छ ।

१. होनहार कन्या र उत्कृष्ट छात्रा ।

२. गान्धर्ब बिबाह को प्रसंग

३. बिबाह मा जातपातको कुरा उठेको छैन । हुन सक्तछ जातपात नै थिएन ।

४. चित्रलेखा र चित्रकला को बिकाश ।

५. उड्ने उडाउने माया कला को बिकाश ।

६. राम्रो काममा चौतर्फि सहयोग ।

७. भगवान आफ्नु लक्ष्य प्राप्त गर्न धेरै लाई माध्यम बनाएर धर्म अनुसार मिलाउने

८. कृष्ण र बाणासुर को युद्ध गराउन अनिरुद्ध र उषालाई कारण बनाएको ।

यस्मा अन्य धेरै कुराहरु बुझ्न थप अध्ययन को जरुरी छ ।

सम्बन्धित समाचार