Photo by: Himal Darpan
लामो समय कोरोना महामारीको चपेटामा परेर प्रदर्शन हुन नसकिरहेको नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट मञ्चन भइरहेको छ । नाटक बानेश्वरको थापा गाउँस्थित मण्डला थिएटरमा वैशाख २५ गतेसम्म मञ्चन हुनेछ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटकलाई सुरज सुवेदीले नाट्य रूपान्तरण गरेका हुन् । विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशन रहेको नाटकमा विमल सुवेदी, सृष्टि श्रेष्ठ, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना आदि कलाकारहरूको अभिनय रहेको छ ।
नाटक मञ्चन सुरु भएसँगै त्यसबारे अझ बुझ्न, त्यसका कुराहरू कोट्याउन मन लागिरहेको थियो । मनमा निर्देशक, सह-निर्देशक, नाट्य रूपान्तरक तथा केही कलाकारहरूलाई भेट्ने हुटहुटी चलिरहेको थियो । उनीहरूको अनुभव, भोगाई, दुखाई, हँसाई सुनेर अरूलाई सुनाऊ लागिरहेको थियो । जसका लागि मेरा गोडाहरू लगातार दुई दिनसम्म मण्डलातिर सोझिएँ।
म उपन्यासलाई नाट्य रूपान्तरण गरेका सुरज सुवेदीसँग बसेँ,

नाटकसँग कसरी जोडिनु भयो ?
विमल सरसँग मेरो एक किसिमको चिनजान थियो । म पहिला नियमित जसो नाटकको रिभ्यु गर्थेँ । केही समय अघि पोखरामा ‘प्ले मेकिङ वर्कसप’ भएको थियो, जहाँ म पनि सहभागी थिएँ । विमल सर वर्कसपको सहजकर्ता हुनुहुन्थ्यो । त्यतिबेलै हामी अझ नजिक हुने मौका मिल्यो । त्यसअघि विमल सरसँग औपचारिक रूपमा भेट्ने र उहाँको नाटकहरू हेर्ने गर्थे । मलाई उहाँको नाटक फरक किसिमको लाग्थ्यो । उहाँले पनि मेरो रिभ्युहरू पढिरहनु भएको रहेछ । सरहरूले काठमाडौँमा यो नाटक बनाउने सल्लाह गर्नुभएछ ।
सोहीक्रममा सरले मलाई क्याफेमा बोलाएर ‘पल्पसा क्याफे नाटक लेख्नुहुन्छ?’ भनेर सोध्नुभयो । पहिला सक्छु कि सक्दिन झैँ लागेको थियो । ‘पल्पसा क्याफे’ मैले मेरो जीवनको विभिन्न चरणमा पढेको पुस्तक भएकाले र त्यसमा हरेक पटक नयाँ विचार भेट्टाउने गरेकाले सक्दिन कि झैँ पनि लागेको थियो । तर, सरले ‘हामी सँगै बनाउँदै लैजाने हो, सँगै यात्रा गरौँला भन्नुभयो’, त्यसपछि मैले हुन्छ भनेँ ।
पल्पसा क्याफे नै किन रोज्नुभयो ?
यसमा नाटक बनाउने रोजाई मेरो होइन । मैले आएको प्रस्तावलाई स्विकारेर अघि बढेको हुँ ।
पुस्तकलाई नाट्य रूपान्तरण गर्दाको सजिलो कि असजिलो ?
मलाई ‘पल्पसा क्याफे’ अरू पुस्तकको शैलीभन्दा थोरै फरक लाग्छ । धेरै चिठीहरू छन्, सुरुमा अलिक हल्का वार्तालापबाट सुरु हुन्छ, जुन त्यसअघिका धेरै नेपाली उपन्यासमा थिएन । च्याप्टरहरू पनि छुट्टाछुट्टै छन् जस्तो पनि लाग्ने, फेरी कनेक्टेड छन् जस्तो पनि लाग्ने । परम्परागत शैलीभन्दा फरक किसिमको छ- पल्पसा क्याफे ।
मैले प्रस्ताव स्विकारिसकेपछि आँखा चिम्लिदा पनि त्यसका पात्रहरू आँखाभरि आउँथे । मलाई/हामीलाई पुरै कथा भन्नु थिएन, उपन्यासलाई पढेर सुनाउनु थिएन । बेपत्ता पारिएको नागरिकको विषयसँग नजिकबाट काम गरेको भएर हामी केही कुरामा स्पष्ट थियौँ, यसकारण बाटो खुलेको थियो । चरित्रलाई कसरी निर्माण गरेर लैजाने भन्ने कुरा चाहिँ एकदमै चुनौतीपूर्ण रह्यो, हरेक पात्रलाई जीवित रूपमा उतार्नु पर्ने थियो । सोहीक्रममा म नजिकका साथीभाइहरूलाई उपन्यासबारे पनि सोध्दै हिँडे । प्राय सबैलाई कुनै न कुनै पात्रको बारेमा केही न केही याद रहेछ ।
अर्को चुनौती भनेको अहिलेको समयबाट फर्किएर जनयुद्धकालिन नेपाली समाजलाई हेर्नु थियो । मूल कथालाई समाएर हामी अघि बढ्यौँ । गाह्रो सजिलो दुवै भयो, भनौँ न ।
लेखनको हिसाबले के-कस्तो प्रतिक्रिया मिलिरहेको छ ?
यसबारे मैले धेरै भन्न सक्ने कुरा नै छैन । मलाई एक दुइटा व्यक्तिगत म्यासेज भने आएका छन् । नाटकसँग भन्दा पनि बढी मेरो लेखनको यात्रासँग उहाँहरू जोडिनु भएकाले प्रतिक्रिया पाएको हुँला भन्ने ठानेको छु । पहिला नाटकको रिभ्यु लेख्नेबाट नाटक लेख्नेसम्म आउन पाउँदा एउटा कोर्स बने जस्तो लाग्छ । पहिला दर्शक भएर हेरिन्थ्यो, समीक्षकको नजरले हेरिन्थ्यो, अहिले आफैँले लेख्दा र केही व्यक्तिहरूले सोही यात्राको कुरा गर्दा आफूलाई एक किसिमको खुसी भने मिल्दो रहेछ । हामीले नाटकबारे धेरै प्रतिक्रिया भने लिइरहेका छैनौँ । दर्शकहरूले खुला रूपमा सोचेर घर जान पाउन भनेर छोड्दिएका छौँ । समीक्षाको लागि हामीले दर्शक र पत्रकारहरूलाई नै छोडेका छौँ ।
माओवादी युद्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
नाटकमा ‘तिमी कहाँ थियौ यत्रो समय ?’ भन्ने प्रश्नमा सिद्धार्थले ‘श्री ५ को सरकार नपुगेको ठाउँमा’ भन्ने जवाफ दिन्छ ।
अरू व्यक्तिहरूले जस्तै केही समय जनयुद्धको नजिक भएर हामी पनि गुज्रिएका हौँ । त्यतिबेला बाल्यकाल नै भएकाले केही चिजहरू देखेको थिएँ । टुक्रा-टुक्रामा मैले माओवादी जनयुद्ध भोगेको रहेछु भन्ने लाग्छ मलाई । ‘पल्पसा क्याफे’ पढेर यो नाटक गर्नका लागि अनुसन्धान गर्ने क्रममा मैले धेरै भिडियोहरू पनि हेरेँ । जनयुद्धको बेलामा प्रयोग भएका धेरै कुराहरूसँग नजिकिएँ । माओवादी जनयुद्ध पश्चिमबाट पूर्व आएको छ, गाउँबाट सहर पसेको छ । रोचक कुरा के छ भने ‘पल्पसा क्याफे’ सहरबाट गाउँ पुग्छ । पहिला मैले माओवादी जनयुद्धलाई दुरीबाट हेरेको रहेछु, यस पटक भने अलिकति भएपनि गहिराइमा पुग्ने मौका मिल्यो ।
पछिल्लो समय जनयुद्धको मूल्य के थियो भन्ने कुरामा पनि म प्रस्ट भएको छु । जस्तै, यसले के-कति मूल्य चुकाएर अहिलेको कुरा पाएको हो भन्ने कुरा बुझ्दै छ । सँगै, नेपाली समाजले जति मूल्य चुकायो, त्यति चुकाउनु पर्ने थियो कि थिएन लगायतका कुराको कोणबाट मैले हेरिरहेको छु ।
अर्को बसाइमा, म पर्दा पछाडि बसेर नाटकमा अहम् भूमिका निभाइरहेका सह-निर्देशक दिलीप रानाभाटसँग बसेँ;

दिलिप रानाभाट
पर्दा पछाडि रहेर सबै कुरा व्यवस्थापन कसरी गरिरहनु भएको छ ? कत्तिको चुनौतीपूर्ण छ पर्दा पछाडिको काम ?
सबै कुरा अगाडी नै गर्छु भन्दा पनि प्रत्यक्ष हुने भएर अन्तिम समयमा केही न केही परिवर्तन गर्नुपर्ने भइरहन्छन् । घरमा बिहे आउँदा जति हतार हुन्छ, त्यस्तै नै हुन्छ । ‘पल्पसा’को काम चाहिँ अरू भन्दा अलिक चुनौतीपूर्ण रहेको छ । यसको प्रप्सहरू पनि धेरै छ, त्यसैले पर्दापछाडिबाट गर्नुपर्ने धेरै कामहरू हुन्छ । उदाहरणका लागि हामीले दुई वर्षदेखि च्याउ बनाउन थालेको अस्ति भर्खरसम्म बनाइरहेका थियौँ । एउटा प्रप्समा नै त्यति धेरै काम गर्नुपर्ने हुन्छ । एउटा महोत्सव व्यवस्थापन गरे जस्तै भइरहेको छ । लाइट, साउण्ड, मल्टिमिडिया, प्रोजेक्सन लगायतका धेरै कुरा मिलाउनु पर्ने हुन्छ ।
तपाईँसम्म ‘पल्पसा क्याफे’ कसरी आइपुग्यो ?
म सुरुदेखि नै थिएटर भिलेजसँग आबद्ध भएर काम गरिरहेको छु । हामी पूर्णकालीन रङ्गकर्मी भएकाले अभिनय/निर्देशन र पर्दा पछाडिका कामहरू सम्हाल्दै आइरहेका छौँ । ‘पल्पसा क्याफे’ गर्ने भनेदेखि नै म जोडिएको छु । स्क्रिप्ट लेखनदेखि लिएर कलाकारको चयन लगायतका सबै कुरामा सल्लाह गरेर अघि बढेका हौँ ।
कास्टिङको कुरालाई जोडौँ न
कास्टिङ भन्ने कुरा कास्टिङ डाइरेक्टरले मात्र गर्ने कुरा होइन । कास्टिङमा एउटा कस्तो देखिन्छ र कसलाई जान्छ भन्ने कुरा हो । नाटक पढ्दा एउटा दृश्य बनाएका हुन्छौँ, अब त्यो बनाएको दृश्य अनुसारको काम सम्बन्धितले गर्न सक्छ कि सक्दैन भन्ने कुरा पनि हुन्छ । त्यो चिजहरू मर्ज भइरहेको थियो । कुनै पनि पात्रसँग सम्बन्धित कलाकारको कुराहरू मेल खान्छ कि खाँदैन भन्ने कुरा हुन्छ ।
अचानक कलाकार परिवर्तन हुँदा के कस्तो भयो ?
ती कुराहरूले अप्ठ्यारो भयो । दुई वर्षदेखि गर्ने भनिएको काम बिचमा विभिन्न कारणले रोकिएकाले कोही व्यक्तिगतलाई दोष भने दिन मिल्दैन । बिचमा धेरै कुराहरू बिग्रिए । यो समयको दोष भन्छु म । तनाव त भयो, तर अब हतोत्साहित भएर हुँदैन । त्यसलाई व्यवस्थापन गर्नै पर्यो ।
पर्दापछाडि बसेर के आशा गरिन्छ ? कत्तिको सन्तोषजनक लागेको छ?
सन्तोषजनक नै भए पनि मान्छेको स्वभाव नै अझै राम्रो हुन् सक्थ्यो भन्ने हुन्छ । टिमवर्कको कुरा हो । हामी एकअर्काप्रति सजिलो रूपमा प्रस्तुत भयौँ भने सजिलै हुन्छ । गल्ती पर्दा पछाडिबाट पनि हुनसक्छ, कलाकारहरूबाट पनि हुनसक्छ त्यसलाई सुधार्दै लैजाने हो ।
भिडियो