शुक्रबार , जेठ ८, २०८३

रेशम चौधरीको पार्टीले अग्रता लिनुको अर्थ

image

२०७९ वैशाख ८ गते बिहीवारका दिन कैलालीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटना माथी टिप्पणी गर्दै भने, ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन् । तपाईहरुलाई थाहै छ, रेशम चौधरी । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ । र, रेशमलाई भेट्यो भनेर मिडियामा मेरो ठूलो आलोचना पनि भएको थियो । तर, मैले रेशमलाई भेट्न नहुने के कारण छ ? मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु, भित्र पनि भेट्न सक्छु भनेको थिए । हिजो मात्रै मेरो सचिवालय प्रतिनिधि गएर रेशम चौधरीसँग कुरा भएको छ र उहाँको समस्या समाधान गर्न सरकारसँग म भालि नै सिरियस कुरा गर्दैछु ।’

टिकापुर घटनाका मुख्य योजनाकार भनिएका (आरोपित ) निलम्बित सांसद रेशम चौधरी अहिले कारागारमा छन् । उक्त कार्यक्रममा प्रचण्डका अनुसार रेशम चौधरीको घटनामा कुनै सहभागीता छैन । उनलाई थुनामा राख्नु भनेको सुदूरपश्चिमका राजनीतिक पहिचानका मुद्दालाई रोक्नु  र यहाँको समग्र आर्थिक पाटोमा समस्या निम्त्याउनु हो । उनले भाषणमा बोल्दै थारु समुदायको हक, अधिकारको लागि आगामी काम र जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, २०७९ वैशाख २१ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि कैलाली पुगेका थिए । ओलीले टिकापुर घटना बारेमा स्पष्ट धारण बनाउन नसकेको देखिन्छ । कुनै समय टिकापुर घटनाबारे केही गर्न नसक्ने भन्दै आएका ओलिले यसपटक अभिव्यक्ति बदले । ओली यतिबेला रेशम चौधरी निर्दोष रहेको अभिव्यक्ति दिए, ‘यहाँका थारु नेता जेलमै छन्। अनेकौं हजार मान्छे मरे, जेलमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाए । रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन ।’ उक्त कार्यक्रमपछि न प्रचण्डको शिरियस कुराबारे कसैले केही सुन्यो, न सरकारसँग केही प्रक्रिया अगाडी बढेको देख्न पाइयो ।

यस्तै, ओलिले आफ्नो अभिव्यक्तिबारे न केही आधार प्रस्तुत गरे, न त  त्यसपछि उनीबाट टिकापुर घटनालाई लिएर केही सुन्न पाईयो । अर्को कुरा, दुई भिन्न भिन्न कार्यक्रममा दिएका फरक फरक स्पस्टिकरण मध्ये कुन कुरा उनको धारण हो बुझ्न गार्‍हो छ ।

माथिका दुबै नेता देशका प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् र देशका दुई ठुला दलका अध्यक्ष समेत हुन् । सार्वजनिक कार्यक्रममा बोलिरहदा आफूले बोल्दै गरेको कुरा कत्तिको संवेदनशील छ भन्ने कुराको चेत नेताहरुमा बिरलै देखिन्छ । आफ्नो र आफ्नो पार्टीको पक्षधरता कतातिर छ भन्ने कुरा समेत भुलेर ठाउँ र परिस्थिति अनुसारको भाषण गर्ने बाहेक अर्को कुरा नेताका भाषणबाट बुझिदैन । रेशम चौधरीमाथिको अभिव्यक्तिमा पनि देशका दुई शीर्ष नेताको अवस्था यो भन्दामाथि देखिएन ।

अहिले स्थानीय निर्वाचन सकिएको छ र मतगणनाको काम देशैभर भइरहँदा फेरी एकपटक टिकापुरतर्फ सबैको ध्यान गएको छ । रेशम चौधरीले दर्ता गराएको दल नागरिक उन्मुक्ति पार्टीले स्थानिय चुनावमा कैलालीमा आफ्नो मजबुत पकड बनाएको छ । टीकापुर नगरपालिका र जोशिपुर गाउँपालिका जितेको नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म भजनी नगरपालिका र जानकी गाउँपालिकामा अग्रता कायम राखेको छ ।

टीकापुरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु विजयी भएका छन् । नेपाली कांग्रेसका नवराज रावललाई ३ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी मेयरमा विजयी भएका हुन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खड्क शाह विजयी भएका छन् । उनले नागरिक उन्मुक्तिका उल्कादेवी विकलाई १५० मतले पछाडि पारेका थिए । मेयरमा विजयी रामलाल यसअघि टीकापुर ७ को वडाध्यक्ष थिए ।

त्यस्तै जोशीपुर गाउँपालिकामा चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी पनि नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन् । चौधरीले ४ हजार ९०३ मत प्राप्त प्राप्त गरेका थिए । नेपाली कांग्रेसका वंशराम बडायकलाई पछि पार्दै उनी विजयी भएका हुन् । उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भइन् ।

२०७४ को प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र १ रेशम चौधरी स्पष्ट बहुमतका साथ विजयी भएका थिए । रेशम ३४ हजार ३४१ मतले विजयी भएको याद गराउने यो स्थानीय निर्वाचन बनेको छ ।

रेशमको पार्टीले जित सुनिश्चितता गर्दै जानुको अर्थ, रेशममाथिको अन्यायविरुद्ध अरु पार्टीमा मत नखसाली आफ्नो नेता रेशम नै रहेको बताइरहेका छन्। 

Tags:

सम्बन्धित समाचार