शुक्रबार , जेठ ८, २०८३

प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व साहना प्रधान

पितापछि जेठो छोरा गंगालाल पनि राणाहरूको विरुद्ध लागेपछि पुष्पलालको परिवारले राणाहरूबाट धेरै यातना पाएको थियो । पटकपटक सर्वस्व हरणमा परेको परिवार भएकोले आर्थिक संकट थियो ।

image

साहना प्रधान वि. सं. १९८४ मा काठमाडौंको असनमा जन्मिएकी थिइन् । साहना प्रधान बाजेबज्यै, काकाकाकी सहितको विस्तारित परिवारमा जन्मिइन् र विस्तारित परिवारमै हुर्किन् ।  मध्यम वर्गीय व्यापारिक परिवार भएको कारण बाजे र बुवा व्यापारिक कामले उपत्यका बाहिर पनि कामको सिलसिलामा निस्कन्थे ।

एक्कासि हजुरबुबाको देहावसान भएपछि सहाना प्रधानको परिवारले पेसा परिवर्तन गरेर फोटोग्राफीको काम सुरु गर्यो । फोटोग्राफीले जीविका चलाउन अलि कठिन भएपछि सहाना प्रधान दिदी साधना, बज्यैसहित बुवासँग बर्मातिर लागे । बर्मा पुगेपछि साहनाको विद्यालय शिक्षाले औपचारिकता पायो ।

बाल्यकालको रमाइलो सकिन नपाउँदै दोस्रो विश्व युद्धको आतंकले मानिसमा डर, त्रास र छटपटी मडारियो । गोला बारुदको डर, विदेशको बसाइ, युद्धको आतंकको भयावहले परिवारसँगै बस्न नेपाल फर्कनुपर्ने अवस्था सृजना गर्यो । बच्नका लागि ट्रेन्च खन्नेदेखि  साइरनको आवाज सुनेर जोगिन भाग्ने जस्ता डरलाग्दा अनुभव बटुलेर साहनाको परिवारले महिनौँ लगाएर भए पनि नेपाल फर्कने निधो गर्यो ।

नेपाल फर्कने निकै ठुलो समूह बन्यो । समूहले आवश्यक तयारी सहित पैदलमार्ग र रेलको यात्रा गर्नुपर्ने अवस्था थियोे । युद्धको कारण बेलाबेला  रेल-मार्ग पनि अवरुद्ध हुने गर्थे । बम र गोलाको कारण कतिपय रेल क्षतविक्षत भएका, दुर्घटनामा परेको अवस्था पनि थियो ।  बर्मामा बसोबास गर्ने नेपाली यी र यस्ता भय र आतंकको पहिरो छिचोल्दै नेपाल फर्कने निधो गरे ।

नेपाल आगमनको पन्ध्रदिनमै साहना प्रधानका दाइ र भाइलाई विद्यालयमा भर्ना गरिदिए तर,साहना र साधनालाई पढाउनेबारे घरपरिवारमा चर्चै भएन । बर्मा बस्दा विद्यालय शिक्षामा रमाएका दिदीबहिनी नेपाल फर्केपछि विद्यालय जान नपाउँदा छक्क परे । दुवै दिदीबहिनीले कहिलेकाहीँ दाइ र भाइको पुस्तक खोसेर यसो लेख पढ्न गर्ने गर्थे । त्यसरी पढ्न थालेको देखेर  घरमा   ‘कलियुग, कलियुग’ भनेर बाजे कराएको सुन्दा साहनाको हातबाट डरले पुस्तकै झर्थ्यो र पढ्न नपाइने भयो भनेर मन चिसो हुन्थ्यो ।

त्यहीँ क्रममा साहनाका भाइ विजयलालको सम्पर्कबाट साहनाको सम्पर्क प्रेमबहादुर कंसाकारसँग भयो । प्रेमबहादुर कंसाकारहरू जहानियाँ राणा शासनको विरुद्धमा युवाहरूको संगठन बनाइरहेका थिए । त्यो संगठनको नेतृत्व पुष्पलालले गर्थे । यो वि.सं. २००४ तिरको कुरा हो ।

त्यो बेलासम्म साहनालाई क्रान्तिको/परिवर्तनको विषयमा खास जानकारी थिएन । भाइ विजयलालको निर्देशनअनुसार एकदिन साहना र साधना प्रेमबहादुर कंसाकारलाई भेट्न पल्लो टोलमा गए । हल्का अँध्यारो तर ठुलो कोठामा प्रेम बहादुर कंसाकार सहित अरू पनि थिए ।

त्यसमध्ये प्रेमबहादुरले  भने, “बहिनीहरू ! तिमीहरूले देशका लागि के गर्न सक्छौ ?”
पढ्न नपाएको झोकमा साहनाले भनिन्, “हामी पर्यो भने ज्यान दिन पनि तयार छौ ।”

प्रेमबहादुरले पुन: सोधे, “देशका लागि घर छोड्न पनि तयार छौ ?”
साहनाले जवाफमा भनिन्, “हामीले पढ्न पायौँ भने मर्न पनि तयारछौँ ।”
“पढ्न पाइन्छ बहिनीहरू !” भन्दै प्रेमबहादुर कंसाकारले दुवै दिदीबहिनीलाई  संगठनमा आबद्ध गराए र  त्यसै दिनदेखि पर्चा लेख्ने काम जिम्मा लगाए ।

प्रेमबहादुर कंसाकारसँगको भेटको केही महिनापछि तिनै दिदीबहिनी ‘इन्क्लाब -जिन्दावाद’, ‘नेपाली राष्ट्रिय कांग्रेस – जिन्दावाद’, ‘राज हामीले ताकेको होइन, ताज हामीले ताकेका छैनौ, राजबन्दीलाई छोडिदेउ !’, ‘नागरिक अधिकार दिनैपर्छ’, ‘मर्न, मेटिन – तयार छौ !’, ‘गोलीदेखि डराउन्नौ !’ भन्दै नारा घन्काउँदै त्रिचन्द्रको मुख्य ढोकाबाट  निस्कने जुलुसको नेतृत्व गर्न पुगे ।

वि.सं. २००४ साल वैशाख १७ गते त्रिचन्द्रको दोस्रो ढोका, तुल्सीलाल र सरस्वती सदन पुष्पलाललाई परेको थियो । तर, कहाँ ? भन्ने विषयमा  सबै अन्जान थिए । राणा शासन कालको भूमिगत समय, निर्देशनअनुसार चल्थ्यो । निर्देशनअनुसार नचले काम सम्पन्न हुँदैनथ्यो । वि.सं. २००४ सालको वैशाख १७ गते राजधानीको विभिन्न स्थानबाट अरु पनि प्रदर्शन भएका थिए ।

अरु दिन राणाहरूको विरुद्ध एक शब्द बोल्न अवस्था हुँदैनथ्यो । तर, त्यसदिन जुलुसमा नारा लगाउँदै, पर्चा छर्दै घन्टौँ हिँड्दा पनि धरपकड नभएको देखेर सबै छक्क परे । वि सं.२००४ सालको राणा विरोधी प्रदर्शनमा स्नेहलता, साहना, साधना, कनकलता, नानीमैया नकर्मि र प्रमिला श्रेष्ठसहित सात जना महिलाहरू सामेल थिए ।

सबैतिरबाट निस्किएको जुलुस टंगाल दरबारतिर छड्कियो । घन्टौँ शहर परिक्रमा गरेपछि जुलुस नक्सालतिर लाग्यो । नक्साल दरबार ताकेर नक्साल मन्दिरनेर पुगेपछि प्रहरीले अश्रुग्याँससहित दमन र गिरफ्तार सुरु गर्यो । प्रदर्शनमा गिरफ्तार भएका एकासी जनामध्ये चार जना (साहना,  साधना, स्नेहलता र कनकलत )महिलाहरू गिरफ्तार भएका थिए ।

गिरफ्तार भएका सबैलाई  टंगालको घोडा बाँध्ने तबेलामा राखियो । महिलाहरूले १५ दिनपछि  टंगाल  दरबारको पटाङ्गिनीमा लाइन लागेर दुई घण्टा कुरेपछि बल्लतल्ल देव शमशेर, बबर शमशेर, बहादुर शमशेर र विजय शमशेरले उभिएर लाइनमा बसेका हामीतिर नजर लाए र सोधे, “तिमी केटीहरू चाहिँ किन जुलुसमा  ?”

राणाहरूसँग दोहोरो सवाल जवाफ गर्न पाइन्न थियो । राणाहरूको मर्यादा थाहा नपाएकी साहनाले, “केटीहरूले पढ्न पाउनु पर्छ ! हामीलाई पनि छुट्टै स्कुल चाहियो । पढ्ने व्यवस्था सहित चुन्न चुनिन पाउनुपर्छ !” भनेर कराइन् ।

साहनाले उठाएका मागका विषयमा राणाहरू मौन बसेको देखेर साहना पुन: अलि कड्केर बोलिन् , “सरकार हाम्रो कुराको सुनुवाइ भएन, यसको जवाफ चाहियो ।”  पद्म शमशेरले साहानातिर हेर्दै भने, “विचार गरिनेछ !”

साहनाले चित्तबुझ्दो जवाफ नपाएकोले ‘कहिलेसम्ममा सरकार ?’ भनिन् ।
“पन्ध्रदिन भित्र !” भन्ने जवाफ आयो ।

त्यसैअनुसार दरबार हाइस्कुलमा छोरीहरूले पढ्ने अवसर पाए ।  वि.सं. २००४ सालदेखि पढ्ने अनुमति पाएका सर्वसाधारणका छोरीहरू साहना, साधना, गुरुज्यु परिवारकी छोरी अंगुरबाबा र राणा परिवारबाट भुवन सिंह गरी चारजना त्यही वर्षको प्रवेशिका परीक्षाको टेस्ट परीक्षामा सामेल भए ।

छोरीहरूले पढेर परीक्षामा सामेल हुन जाँदा सयौँले छक्क पर्दै लाइन लागेर हेरे । त्यो बेलाबाट नेपालमा छोरीहरूका लागि शिक्षाको ढोका खोलियो । सहाना प्रधानले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न भारततिर लागिन् । भारतमै रहेको बेला वि.सं. २००९ सालतिर भारतमा भएको कम्युनिस्ट पाटीको प्रशिक्षणमा एक वर्षका लागि साहनालाई छनोट गरी पठाइयो । प्रशिक्षण सकेर घर फर्केपछि राजनीतिक धार र विचार मिलेको व्यक्ति पुष्पलालसँग  वि.सं. २०१० सालमा उनको विवाह भयो ।

पुष्पलालसँग विवाह भएपश्चात् साहना घरपरिवारको काममा मात्रै अल्झिन खोजिनन् । राजनीतिक काम सँगसँगै पारिवारिक जिम्मेवारी, शिक्षा आर्जन, सामाजिक, आर्थिक कामहरू सबैमा सामेल हुन थालिन् । पुष्पलालको परिवार निकै ठूलो थियो । ठूलो परिवार भएकोले आर्थिक दायित्त्व पनि ठुलै थियो । पुष्पलालका दाजु गंगालाल वि.सं. १९९७ मै सहिद भइसकेका थिए ।

पुष्पलालका पिता नै राणा विरोधी थिए । पितापछि जेठो छोरा गंगालाल पनि राणाहरूको विरुद्ध लागेपछि  पुष्पलालको परिवारले राणाहरूबाट धेरै यातना पाएको थियो । पटकपटक सर्वस्व हरणमा परेको परिवार भएकोले आर्थिक संकट थियो । पिता र दाइ जस्तै विस्तारै विस्तारै पुष्पलाल पनि राणा विरोधी भएर निस्केपछि परिवारमा झनै ठुलो आर्थिक, सामाजिक संकट सृजना भयो ।

राजनीति गर्ने श्रीमानको आम्दानी हुने कुरै भएन । कमाउने अन्य उपाय नभएपछि साहनाले विस्तारै सीताराम हाइस्कुलमा पढाउन थालिन । अहिलेको खुला परिवेशमा त महिलाको नेतृत्व स्विकार्न निकै कठिन पर्छ, त्यसबेला महिलाले पढाउने कुरा आश्चर्य लाग्दो हुन्थ्यो । साहनाले त्यसबेलाको शिक्षाको अवस्थाको अनुभूति यसरी सुनाउने गर्थिन्, “कतिपय केटाहरू महिलाले पढाउने कक्षामै नबस्ने र बसेका पनि कक्षामा लाजले भुतुक्कै हुने गर्थे । ठाडो शिर बनाएर हेर्न सक्दैन थिए ।”

विद्यालय शिक्षा, शिक्षक तालिम केन्द्र हुँदै साहना प्रधानले पद्मकन्या कलेजमा पढाउन थालिन् । पढाउँदा पढाउँदै वि.सं. २०३२ सालमा साहनालाई पुष्पलालकी श्रीमती भएकै कारण राजनीतिक आरोप लगाइयो र  पद्मकन्या कलेजबाट बरखास्त गरियो । बरखास्तमा पर्दा उनका दुवै सन्तान सानै थिए । सन्तानको व्यवस्थापन गर्दै साहना बिस्तारै पुष्पलाल भएको स्थान बनारसतिर लागिन् । आफू गएको केही महिना नबित्दै पुष्पलाल बिरामी परे । बिरामी पुष्पलालले अस्पतालको बिस्ताराबाटै साहनालाई राजनीतिमा सक्रियता बढाउन अनुरोध गरे ।

वि.सं. २०३५ सालमा पुष्पलालको निधनले स्तब्ध भएकी साहनाले वि.सं. २०३७ को जनमतसंग्रहमा पञ्चायतको विरुद्ध जनमत सृजना गर्दै देशव्यापी दौडाहामा निस्किन् । विस्तारै वाम राजनीतिक पाटीहरूबीच पञ्चायत विरुद्ध गतिविधि गर्न, दलीय र राजनीतिक स्वतन्त्रताको मागसहित जनआन्दोलन गर्नुपर्ने आवश्यकता महसुस गरे । सोहीअनुरुप साहना प्रधानले बाममोर्चाको अध्यक्ष र संयुक्त जनआन्दोलन ०४६ को सहायक कमान्डरको नेतृत्व समालिन् ।

आन्दोलनले सफलताको  शिखर चढेपछि राजदरबारबाट वार्ताको लागि बोलावट भयो । वार्ता निष्कर्षमा नपुगेसम्म दलका नेताहरूसहित सबैलाई होसियार रहन अनुरोध गर्दै उनीसहित बाममोर्चाका अन्य नेताहरू पनि वार्ताको टेबुलमा बसे । वार्ता सफल भयो र दलमाथिको प्रतिबन्ध हट्यो । तर, बहुदलीय व्यवस्थाको घोषणा भएको थिएन । नेताहरू वार्ता सकेर घर नपुग्दै गोली चल्यो र निहत्था नागरिकको ज्यान गयो । साहनाले घटना सुन्ने बित्तिकै  घटनाको निन्दा र विरोध गरिन् । साहनाको विरोधपछि पञ्चायत पक्षधरहरूले क्षमा माग्दै दमन बन्द गरे ।

पञ्चायतको बहिर्गमन पश्चात्को अन्तरिम मन्त्रीमण्डलको मन्त्री बनेकी साहना प्रधानले पटकपटक काठमाडौंबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजय प्राप्त गरिन र महिला तथा बालबालिका, समाज कल्याण र परराष्ट्रमन्त्री समेत बन्ने अवसर पाइन् । वि.सं. २०५४ मा नेकपा एमाले महाकाली नदी र पञ्चेश्वर परियोजनाको कारण विभाजन हुन पुग्यो । त्यो पुनर्गठनले साहना प्रधान नेकपा मालेको अध्यक्ष भइन् ।

प्रधानले  महिलाहरूको हक अधिकारको स्थापना र संरक्षणका लागि राज्यका हरेक संरचनामा महिलाको ३३ प्रतिशत सहभागिता, महिला माथि हुने हिंसा अन्त्यका लागि निरन्तर लडिरहिन र निरन्तर लड्न संस्थाहरूको स्थापना गरिन् । राजनीतिमा महिलाको सहभागिताको विषयमा राज्यको मूलधारमा छिराइन । साथै, राजनीतिक रुपले नेतृत्व गर्दै अखिल नेपाल  महिला सघं, महिला सुरक्षा दबाब समूह, अन्तरपाटी महिला सञ्जाल जस्ता संस्थाको अध्यक्ष भइन ।

राजनीतिमा महिलाको सहभागिता र महिला हिंसा विरुद्धको कार्य गर्न सबैलाई एक ठाउँमा जम्मा गरिन् र अभियान सञ्चाल गर्ने कामको सुरुवात गरिन । योसँगै महिलाको ३३ प्रतिशत सहभागिताका लागि पाटीभित्र, महिला विभाग, महिला सुरक्षा दबाब समूह, दलीय संरचनामा महिलाहरूलाई सशक्त र दलीय दबाब दिने काममा महत्त्वपूर्ण लगाउन भूमिका खेलिन् ।

साहना प्रधानमा, धार्मिक र सामाजिक विभेदमुक्त दृष्टिकोण थियो । छुवाछूत, क्षेत्रियता, जातियता, रङ्ग, वर्ण, लिङ्ग र हेलो प्रभावको विभेद गर्ने स्वभाव थिएन । आफ्नो कुरा स्पष्ट राख्ने र चित्त नबुझे आफ्नो मत दर्ज गर्दै विचारले बुझाउन सक्ने क्षमता भएकी निडर र स्वाभिमानी नेतृत्वको गर्दै त्यसै गर्न अनुरोध गर्थिन् ।

नेपालको राजनीतिभित्रकी शिखर व्यक्तित्व साहना साहसी अग्रणी नेताको नेतृत्व गर्न सफल भइन् । साहना प्रधानले सामाजिक र राजनीतिक संरचनामा महिलाको सहभागिता वृद्धि गर्न शीर्ष नेतृत्वसँग सशक्त बहस गर्ने गरिन् । उनी नेपालको राजनीतिक क्षेत्रकी, साहसी, निडर, इमानदार, निष्ठावान र स्वाभिमानीहरूको पक्षमा वकालत गर्ने नेता थिइन् । नेपाली राजनीतिभित्र संघर्ष र बलिदानको इतिहास बनाउने र पढाउने योद्धा साहना प्रधानप्रति हार्दिक नमन गर्न चाहन्छु ।

सम्बन्धित समाचार