बुधबार , जेठ १३, २०८३

एकेडेमीले स्वीकृति दिएमा ‘दाना कविता’ फस्टाउने थियो

म 'उज्यालोले उज्यालो निल्छ' भन्छु । 'अँध्यारोले चाहिँ उज्यालोलाई चिन्छ' भन्छु ।

image

Photo by: Himal Darpan

वि.सं. २००२ मा भैँसे, मकवानपुरमा जन्मिएका कवि,कथाकार, नाटककार एवम् शिक्षासेवी तुल्सी थापाका एक निमेष अनन्तको  (दाना कवितासङ्ग्रह– वि.सं. २०५८), अमरसिंहको खोजीमा अमरसिंह नाटक (नाटक– वि.सं. २०६१), फरक आकाश (कथासङ्ग्रह– वि.सं. २०७२) प्रकाशित छन् । 

नेपाली साहित्यलाई दाना कविताको दिने श्रेय थापालाई जाने गर्दछ उनले  सुरु गरेको दाना कविता लेखनमाथि हेटौँडामा प्यानल डिस्कसन (२०७६) समेत भएको थियो   सो डिस्कनमा आफुले स्थापना गरेको दाना कविताले देशव्यापी रुपमा चर्चा पाउनेमा थापाले विश्वास व्यक्त गरेका थिए  

प्रस्तुत छ, हिमाल दर्पणका लागि राजु झल्लु प्रसादले तयार पारेका समाग्री;

तुल्सी थापासँग ‘दाना कविता बहस’:

 

तपाई एक कुशल प्रधानाध्यापक । कवि, नाटककार र कथाकार पनि । तपाई ठ्याक्कै के ? तपाई आफ्नो परिचय कसरी दिनुहुन्छ ?

हो, जीवनको उर्जायुक्त उमेर शिक्षण पेशामै बित्यो । अहिले निवृत्त छु । विद्यार्थी भाइबहिनीलाई पाठ्यपुस्तकका पाठहरु सिकाएँ । साँच्चै भन्नुपर्दा जीवन के हो मैले उनीहरुबाट अप्रत्यक्ष रुपमै सिकी रहेँ ।

एक दुई थान नाटक, कथा वा कविता कोर्दैमा नाटककार, कथाकार वा कवि भइ हाल्दैनन् कोही पनि । अझ थुप्रै कृतिहरु प्रकाशित छन् भन्दैमा आफुले आफैँलई यी संज्ञाहरुबाट विभूषित गर्न कति नमिल्ला पनि ।

आफूले आफैँलाई नियाल्दा म मा साहित्यप्रति अनुराग कायमै छ भन्न रुचाउँछु । साहित्यिक कृतिहरु अध्ययन गर्छु, लेख्ने प्रयासमा लागेको हुन्छु पनि ।

महाकवि देवकोटाले झ्याउरे लयको काव्यशैलीमा ‘मुना मदन’ लेखे । त्यसमा कथातत्व प्रचुर मात्रामा छ । त्यो दुःखान्त कथा काव्यशैलीमा सुशोभित भएकै हो । कथा पनि छ, कविता झनै छ । महाभारत महाकाव्य हो, महाकथा पनि हो । शेक्सपीयरले आफ्ना नाटकका पात्रहरुबाट काव्यात्मक शैलीमा वार्ता गराए । बालकृष्ण सम नाटकमा पनि पात्रहरु काव्यशैलीमै वार्ता गरेका पाइन्छन् । थुप्रै कृतिहरुमा विद्या मिश्रणबाट अनुपम सृजनाहरु भएका छन् । सबै विद्याप्रति समभाव राख्छु म ।

तपाईको दाना कवितामा म आकर्षित भएको छु । दाना कविता के हो ? लेखिरहनुका कारणहरू के-के हुन् ? दाना कविता नाम कसरी जुराउनु भयो ? यसको पृष्ठभूमिबारे प्रकाश पारी दिनुहोस् न !

दाना कविताबारे चासो, अझ जिज्ञासा राख्नु भएकोमा खुशी लाग्यो ।

दाना कविता काव्यको एक सुक्ष्म स्वरुप हो । सुक्ष्मको वृहत आकार व्रम्हाण्ड हुन पुग्छ । जीवन र जगतलाई सुक्ष्म रुपमै नियाल्न सकिन्छ, यो अवधारणाले महाकाव्यको महता कदापी घटाउँदैन । जीवनको महान यात्रा स-साना नानीहरुका कलिला पाइलाहरुबाटै शुरु हुन्छ ।

हावा, पानी, प्रकाश, जमीन र समय बीऊको जीवन र जगत हो । वृक्षको वृहत स्वरुप वीउको दाना भित्रै सन्निहीत हुनछ । दाना कविता मार्फत मैले साहित्यको विराट फाँटमा चियाउन आँट गरेको हुँ । डङ्का पिटेको कतै हैन ।

मेरो प्रथम काव्य कृति ‘एक निमेष अनन्तको’ दाना कविताको प्रारुपमा लेखियो । एक निमेष समयको एक मिलिक्क क्षण हो । बितेको पतै हुँदैन । अनन्तको अन्त्य देखिदैन । तर एक निमेष भने त्यही अन्त्यहीन अनन्तको एक सुक्ष्मतम अंश भने हो नै ।

एक निमेषमै दाना कविता पढ्नोस । त्यसले तपाईलाई लामो काव्यात्मक भावमा विचरण गराउँछ । किताबको नामले यहि जनाउँछ । हामीसँग समय थोरै हुन्छ, भ्याउनु पर्ने धेरै ।

‘एक निमषे अनन्तको’ तीन हरफ मसिना कवितालाई वरिष्ठ पत्रकार एवम् समिक्षक श्री नवराज शर्माज्यूले यसको विशेषता र भिन्न प्रारुपलाई इङ्गीत गर्दै ‘दाना कविता’ नामाकरण गर्नु भएका हुन् । तत्पश्चात यहि नाम सटिक मान्दै प्रयोग हुँदै आएको छ । उहाँ प्रति आभारी समेत रहेको छु ।

आकारमा सुक्ष्म, भावमा वृहत हुनुपर्ने, हुने ‘दाना कविता’ साहित्यको वृहत प्रयोगशालामा परिक्षण हुने नै छ ।

तपाईले लेख्नु भएको पहिलो दाना कविता कुन हो ? कति सालतिर लेखियो होला ?

पहिलो दाना कविता
(दाना कविताकै प्रारुपमा लेखिएका केही कविताहरु)

१, विहान
पूर्वका पहाडहरु केही खोजिरहेछन
हुस्सुले छोपेको कुनाकाप्चामा
कतै सूर्य त हराएन ?

२. वार्तालाप
उसले नभनेका कुरा मैले सुनेँ
मैले जे भने उसले सुनेन
र हामीले सोहार्द वार्ता गर्यौ

३. बेवास्ता
रित्ता पाखुरा लत्रेका
यी भोका पेटका बचाइलाई
किन कोही अन्शन भन्दैनन् ?

४. अनुसन्धान
प्रत्येक हत्यापछि
सर्जमिन हुन्छ यहाँ
विचरा लास कहिल्यै बोल्दैन

५. एकलोपन
कुल्चिनु पर्ने बालुवै बालुवा
टेक्दा टेक्दा, यति टाढा पुग्छु
आफु एक्लिएको कस्ले देख्छ र ?

(सम्भवत वि.सं. २०२४ तीर गोरखापत्रमा छापिएका यी दाना कविताको प्रारुपमा छापिएका पहिलो केही कविताहरु हुन् ।)

दाना कवितालाई ‘हाइकु, ताङ्का या मुक्तक हो कि ?’ पनि भनिएको पाएँ । त्यसो हो र ? दाना कविताको संरचना कस्तो हुनपर्छ ? विशेषता के हो ? दानानै किन भनियो ?

दाना कविता जापानी हाइकु कविता जस्तै तीन हरफ भएकोले कतै यो हाइकुको अनुकरण त हैन भन्ने शंका जागेको हुन सक्छ । मैले दाना कविता प्रारम्भ गर्दा प्रत्यक हरफलाई विशेषीकरण (कउभअषष्भम) गर्न सकिन्छ कि सकिन्न भनि स्वस्फुर्त ढङ्गले प्रयोग गरेकै हुँ ।

काव्य सिर्जना गर्दा हामीलाई विषय वा भाव वा विचारले छोएको हुन्छ, त्यसलाई पहिलो हरफमा विषय प्रस्तुतीको रुपमा प्रस्तुत गरेँ । पहिलो हरफको विषय प्रस्तुतीलाई दोश्रो हरफमा विषय व्याख्या वा विस्तार गर्ने र विषय प्रस्तुती र विस्तार (व्याख्या) चै सकेपछि तिनैको आधारमा व्यक्त गर्न खोजिएको निचोड/उत्कर्ष स्वरुप अन्तिम हरफमा विस्फोट गर्ने भन्ने अवधारणा तयार भयो । त्यस्तो स्वरुपमा दाना कविता तयार भएपछि म सफ भए वा भइन भन्दिन तर मैले सम्भव देखेँ ।

हाइकुको तीन हरफीय विशेषता विशेषज्ञहरुले व्याख्या गर्लान् । मैले अडकल काट्न मिल्दैन । जापानी साहित्यमा विशेषत, प्रकृति सम्बन्धि सत्रौ शताब्दी देखि प्रचलित विश्व प्रसिद्ध हाइकु कविताको ऐतिहासिक महता र वर्चश्वको कदर गर्छ, यसका सर्जकहरु प्रति मेरो अगाध सम्मान सधैँ रहेको छ ।

उर्दु भाषामा उदभव भएका गजल मुक्तक, शायरी आदि पनि मसिना कविताको लयमै पर्छन् । यि सबैलाई आआफ्ना आकार प्रकार र ख्याती सहित नेपाली भाषाले समेत ग्रहण गरेको पाइन्छ ।

दाना कविता यी मसिना कविताहरुको लङमा नवजात शिशुकै रुपमा आफ्नै विशेषतासहित वामे सर्दै गरेको अवस्थामा छ । सम्बन्धित आधिकारीक निकायबाट (नेपाल प्रज्ञा प्रतिष्ठानबाट) यसको सैद्धान्तिकरणको आधारमा काव्यको एवम् उपविधाको रुपमा स्वीकृति/मान्यता पाउन सके यो फस्टाउनेमा विश्वस्त हुन सक्छौँ ।

तपाईको दाना कवितामा दर्शनको प्रभाव (मिथकको प्रयोग पनि) भरपुर भेट्छु । दाना कवितालाई कतै तपाईले दशर्नसँग सम्बन्धित कविता बनाउन र खोजि रहनुभएको त छैन ? सँगै, बौद्ध दर्शनप्रति तपाईको लगाव अलि बेसि हो ?

जीवन र जगत चिन्ने, बुझ्ने र सुधार्ने आधार नै दर्शन हो । किताबको ठेलीमा, उपदेश वा प्रवचनमा वा विद्धानहरुको उक्तिमा व्यक्त हुने सिद्धान्त मात्र दर्शन हो भन्नु आफुले आफैँलाई दर्शनबाट अलग्याउनु हो । व्यवहारमा अति सरल र सहज ढंगले अंगाल्नु पर्ने, बुझ्न सकिने, ग्रहण गर्नुपर्ने सिकाइबाट प्रकट हुने ज्ञानमा झुल्की रहेको हुन्छन- दर्शनका गहन पाठहरु ।

साहित्यको मुल मर्म नै जीवन र जगतको दर्शन हो । दाना कवितामा दर्शन बोध हुनु ज्ञान भाव संवरित हुनु हो ।

म बौद्ध दर्शनबाट अनौपचारिक ढङ्गले दिक्षित पनि छु । स्वअध्ययन प्रायः निरन्तरमै रहन्छ । आनन्द कुटी विद्यापीठ, स्वयम्भूमा कक्षा चारदेखि अध्ययन थालेँ र वि.सं. २०१८ मा त्यहीबाट एसएलसी उत्तीर्ण भएँ । त्यहाँ बुद्ध दर्शन सम्बन्धि सामयिक पढाइ समेत हुने गर्थ्यो । दाना कवितामा बुद्ध दर्शनका सन्दर्भ प्रवाहित हुँदा मलाई गर्व लाग्छ । यसै प्रसंगमा तल दुई थान दाना प्रस्तुत गर्न चाहेँ।

१. आग्रह
के शान्ती संवेगहीन हुन्छ र ?
भएन बुद्ध भएन अब
तिमी एक पटक रिसाउनै पर्छ

२. सम्बुद्धस्:
ती सबै तम्तयार छन्
तिम्रा मन्दिरमा आउनलाई
र खुकुरी उद्याउँदै छन् ।

(१ भाव : मुलत तथागत एक पटक रिसाए भने मात्र अशान्ति मच्चाइ हिँड्ने मान्छे दच्केला, शान्त हुन थाल्ला नत्र शान्ति के छाउला )

२. भाव : बुद्धको मन्दिरमा पुजा प्रार्थन गर्न जानेले खुकुरी किन उद्याउँदै छन् । बौद्ध मन्दिरमा हिंसा गर्ने हो ?)

दाना कविताकै कारण व्यक्तिगत या साहित्यिक जोखिम उठाउन परेन ? दाना कवितालाई स्थापित गर्ने क्रममा तपाईले भोग्नु परेको सजिला, असजिला घुम्तीहरु के के हुन् ?

यहि अन्तर्वातामा ‘दाना कविता : एक संक्षिप्त परिचय’ मा यसको स्वरुप, संरचना (बनोट) र आफ्नो अवधारणा प्रस्तुत गरेको छु । सिद्धान्तत् त्यसैलाई आधार मानी दाना कविता लेख्न थालेको हुँ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट विधिवत विद्यागत स्वीकृति प्राप्त गर्न आवश्यक सैद्धान्तिक कार्यपत्र समेत तयारी गरेको छु । यसतर्फ सम्पर्क राख्न प्रयासरत छु ।

दाना कविताको कारण मैले कुनै जोखिम मोल्नु परेको छैन। नपर्ला पनि । साहित्यिक कार्यक्रममा वाचन गर्ने गरेको छु । यहाँ मकवानपुरमा साहित्यिक मित्रहरु संघसंस्था यथेष्ट छन् । सुन्छन, पढ्छन पनि । सुन्ने धैर्य राख्छन् । अलि परम्परावादीहरुले बुझेनन् भने हाइ काट्छन नै ।

दाना कवितालाई सैद्धान्तिक रुपमै विद्यागत रुपमा दर्ता गराउन भने केही समय लाग्ला, केही प्रक्रियागत झन्झट पनि आउला । तर त्यस्तो आंशका किन लिइहाल्नु ? मैले आफूलाई अलि पछाडि परेको ठान्छु । नेपाली साहित्यमा मेरो उपस्थिति अलि टाढा वा पर्दा पछाडी मात्र वा अलि अँध्यारो कुनामा उभेको धमिलो आकार जस्तो मात्रै हो । म नेपाली साहित्यक बजामरा विज्ञापित पनि छैन । को हुन यिनी ? कहाँबाट आए ? खालको अपरिचित व्यवहार नगर्ला भन्ने पनि छैन । जे होस् प्रयत्नशील रहने नै छु ।

जसले पढे मलाई ‘ल राम्रो छ त, कता हराइ बसेको ? आउनोस् प्रकाशमा देखा पर्नोस्’ भन्छन् । म ‘उज्यालोले उज्यालो निल्छ’ भन्छु । ‘अँध्यारोले चाहिँ उज्यालोलाई चिन्छ’ भन्छु । त्यसैले जुनकिरी अँध्यारोमा सजिलै रमाइ, रमाइ यात्रा गर्छन् । विना रोकतोक अँध्यारोले उसलाई यात्रा गरोस् न त भनि बाटो छोडी दिन्छ । कतै म त्यस्तै मनोवृत्तिको त छैन, शंका पनि गर्छु, आफुले आफैँलाई ।

यस्तो मनस्थितिको मलाई राजुभाईले यो अन्तर्वातामा अवसर दिनुभयो, हालै ६० वटा दाना कविता प्रकाशित (द मार्जिनमा प्रकाशित) पनि गर्नुभयो। खुशी लागेको छ ।
दाना कवितालाई अलि उज्यालोमा ल्याउनु पर्यो आउनोस् भन्नुभयो र, मैले सहर्ष स्वीकारेको छु । तपाईबाट आवश्यक परामर्श अपेक्षा गरिएको छ ।

अन्त्यमा तुल्सी थापाका ‘दाना कवितामा देश’ पाँच थान स्वीकार्नोस्,

१. टिष्टा
बग्दै थिए त सँगै सदियौँ देखि
हाम्रो इतिहास छुट्यो कहाँ ?
थाहा भएन खै कहिले देखि ।

२. अर्निको
अंकल, देवता बस्छन् कुन मन्दिरमा ?
म पनि त्यहि मन्दिर खोज्दैछु नानु
यो मन्दिरै मन्दिरको शहरमा ।

३. आंशका
वर्षौँ सोधियो ‘यो भोटो कस्को हो ?
अर्को साल, कहिं यस्तो नसोधियोस्
यो देश कस्को हो ?

४. भयावह
सीनु लुछनैमा गीद्ध मस्त छ
के मतलब उसलाई कि
उसको देश अनिकाल ग्रस्त छ

५. विरक्ती
उसले साह्रै बेसुरा गीत गायो
अन्त्यमा आंशु खसाल्दै भन्यो
यो मेरो देशको गति हो !

‘दाना कवितामा मान्छे’– अर्को ५ थान

१. आदिम स्वरुपम
बाँदरले मान्छे बन्न चाहेकै थिएन
माफ गर डार्विन, तिम्रा मान्छेभित्र
अझैँ बादर जिउँदै छन्

२. गलत प्रश्न
तपाई मान्छे नै हुनुहुन्छ, हैन र ?
शंका गर्यौँ, ठिकै गर्यौँ
म मान्छे भएको भ्रम हुँ ।

३. कायर
भो नलखेट अब उसलाई
भाग्दा, भाग्दा उसले भाग्नुको कारण
बिर्सिसकको छ !

४. निमन्त्रणा
आऊ महाभोज गरौँ
त्यसपछि अर्को एउटा
अनिकाल कुरौँ ।

५. विस्मात
अन्तमा निर्णय मानेर फर्केपछि
हामीले आ–आफ्ना टाउका छाम्यौँ
ए ! हामी त गीड मात्र रहेछौँ ।

अब ५ थान : ‘दाना कवितामा चिन्तन’

१. चिन्तन
यसपालि बाढी आएन
र एउटा भ्यागुता ध्यान मग्न छ
कि उसले किन उफ्रन परेन ?

२. रिक्तता
आकाश छँदै छैन
त्यसैले त त्यो
सधैँ भइरहन्छ त्यै

३. ढीट
समय फुत्केर हिँडिसकेछ
मैले पछ्याइ रहेन उसलाई
पर पुगेर उसैले कुनै छ ।

४. समर्पण
हे दार्शनिक !
तिम्रो ब्यूझाइमा हामी
साच्चै निदाउन सक्छौँ ।

५. निशब्द
कसले देखेको छ र माछा रोएको ?
ऊ त पीडाको सागरमा डुबेर
चुमचाप आँशु निलिरहन्छ ।

सम्बन्धित समाचार