शुक्रबार , फागुण १८, २०८०

“ग्रामीण पर्यटनको प्रवर्द्धनमा राज्यको ध्यान गएन” -गोपाल थापा (अध्यक्ष, भिटाेफ नेपाल)

"ग्रामीण पर्यटनको प्रवर्द्धन, विकास तथा विस्तार गर्न राज्यले लगानी गरेको छैन । हामीले जतिसुकै राम्रो कार्यक्रम ल्याए पनि तीनलाई कार्यान्वयन गराउन लगानी चाहिन्छ । लगानीको अभावका कारण पनि ग्रामीण पर्यटनलाई ब्युँताउन सकेको छैन ।"

image

नेपालमा पर्यटकीय सम्भावना क्षेत्रहरू धेरै छन् । तीमध्ये एक अथाह सम्भावना भएको क्षेत्र हो, ग्रामीण पर्यटन । गाउँ नै गाउँले भरिएको देश नेपालमा साना ठुला गरी हजारौँ गाउँहरू छन् । प्राकृतिक सुन्दरताले भरिएका गाउँहरू सांस्कृतिक रूपले  धनी छन् । गाउँहरूमा फरक -फरक जाति, समुदायको बसोबास छ । त्यससँगै सांस्कृतिक विविधताले पनि भरिपूर्ण छन् । प्रत्येक गाउँको आफ्नै मौलिक पहिचान छ ।  गाउँहरूलाई पर्यटकीय आकर्षणको रूपमा विकास गरी गाउँ र गाउँलेको जीवनमा परिवर्तन ल्याउने, त्यहाँका मौलिक संस्कृतिलाई पर्यटनसँग जोडेर विश्वभर फैलाउने र तिनलाई जोगाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्था हो, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल ।

यस संस्थाले नेपालमा ग्रामीण पर्यटन खासगरी घरबास (होमस्टे) पर्यटनलाई प्रवर्द्धन गर्दै आएको छ । यस संस्थाको नेतृत्वमा सयौँ होमस्टेहरू सञ्चालनमा आएका छन् । जसमार्फत दूर-दराजका गाउँ बस्तीहरू संसारभर चिनिएका पनि छन् । भिटोफ नेपालले ग्रामीण पर्यटनको विकासका लागि स्थानीय निकायसँग सहकार्य गर्दै प्रचारप्रसार गर्ने, मौलिक संस्कार संस्कृतिको अध्ययन अनुसन्धान गर्ने, पर्यटकीय सम्भावना अध्ययन गर्ने, घरबास सञ्चालकहरूलाई तालिम आयोजना गर्ने लगायतका थुप्रै कार्यक्रमहरू गर्दै आएका छन् ।

भिटोफ नेपालका अध्यक्ष गोपाल थापासँग नेपालमा ग्रामीण पर्यटनको अवस्था, संस्थाको पछिल्लो गतिविधि, कार्यक्रम र भावी योजना, समसामयिक पर्यटकीय गतिविधि लगायत विषयमा केन्द्रित रहेर हिमाल दर्पण’का लागि चन्द्र तामाङ’ले गरेकाे कुराकानीको सम्पादित अंश:

हामी सन् २०२२ को अन्त्यतिर छौँ, यो वर्ष ग्रामीण पर्यटनको लागि चाहिँ कस्तो रह्यो ? 

यो वर्ष नेपालको ग्रामीण पर्यटनको लागि त्यति उत्साहजनक रहेन । हामीले जुन खालका एक्सपेक्टेसन्स् राखेका थियौँ, त्यसो हुन सकेन । मेरो नेतृत्वमा भिटोफको नयाँ कार्यसमिति बनेर आठ महिना जति भयो । विश्वव्यापी कोभिड-१९ महामारीबाट थलिएको पर्यटन र खासगरी भिलेज टुरिजमलाई रिभाइभ गर्न निकै प्रयासहरू गर्‍यौँ । प्रयास जारी नै छ, तैपनि यस वर्ष भिलेज टुरिजमको अवस्थामा उत्साहजनक सुधार आएन ।

ग्रामीण पर्यटन तुलनात्मक रूपमा रिभाइभ हुन नसक्नुको कारण के हो ? 

समग्र पर्यटन क्षेत्रलाई कोभिड-१९ महामारीले थला पार्‍यो, त्यसमाथि नयाँ-नयाँ भेरियन्टहरूको हल्ला पनि चलिरहेको छ अझै पनि । मानिसहरू ढुक्कसँग घुमघाम गर्ने अवस्था बनिसकेको छैन । अनि ग्रामीण क्षेत्रका पर्यटन व्यवसायीहरू निराश छन् । कतिपयले व्यवसाय नै छाडिसकेका छन् । पर्यटकीय क्षेत्रको रूपमा स्थापित हुँदै गएका कतिपय ग्रामीण भेग तथा होमस्टेहरूमा अहिले पर्यटकीय गतिविधि छैन । सुनसान छ । तर, पहिला नै स्थापित भइसकेका लमजुङको घलेगाउँ, चितवनको मध्यवर्ती थारु होमस्टे, कास्कीको घान्द्रुक जस्ता गाउँहरूमा राम्रो नै छ । यतिमै हामी सन्तुष्ट हुने अवस्था छैन । नयाँ गन्तव्यहरू स्थापित हुन सकेका छैनन् । र अर्को महत्त्वपूर्ण कुरा के हो भने ग्रामीण पर्यटनको प्रवर्द्धन, विकास तथा विस्तार गर्न राज्यले लगानी गरेको छैन । हामीले जतिसुकै राम्रो कार्यक्रम ल्याए पनि तीनलाई कार्यान्वयन गराउन लगानी चाहिन्छ । लगानीको अभावका कारण पनि ग्रामीण पर्यटनलाई ब्युँताउन सकेको छैन ।

ग्रामीण पर्यटनलाई ‘फास्ट रिभाइभ’ गर्न कुनै रणनीति छ ? 

छन्, तर मैले अघि नै भने कि सबैभन्दा पहिला त ग्रामीण पर्यटनको प्रवर्द्धन, विकास र विस्तारमा सरकारले लगानी बढाउनुपर्‍यो । ग्रामीण पर्यटनको सम्भावना भएका गन्तव्यहरूको पहिचान गर्न, तिनलाई प्रचारप्रसार गरेर पर्यटकमाझ पुर्‍याउन बजेट नै चाहिन्छ । र, महामारीका कारण थला परेका व्यवसायीलाई सहयोग, अनुदान उपलब्ध गराउन जरुरी छ । ताकि पर्यटकका लागि उहाँहरूले दिने सेवा सुविधा जारी राख्न सकुन् । अनि अर्को कुरा सरकारले पर्यटनमैत्री नीति नियम बनाउनुपर्‍यो । तिनलाई कार्यान्वयन गराउन पर्यटन क्षेत्रका छाता सङ्गठनहरूसँग सहकार्य गर्नुपर्‍यो । सङ्गठनहरूलाई उनीहरूको नीति तथा कार्यक्रम लागु गर्न आवश्यक बजेट व्यवस्था गरिदिनुपर्‍यो । विभिन्न दातृ निकायबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउनुपर्‍यो । यसो गर्न सकिए ग्रामीण पर्यटन मात्रै होइन, समग्र पर्यटन क्षेत्रले गति लिनेछ ।

सरकारले सन् (२०२३-२०३३) लाई ‘पर्यटन दशक’ मनाउने घोषणा गरेको छ । यसको रणनीतिक कार्ययोजना पनि तयार पारेको छ । यसप्रति तपाईँको टिप्पणी के छ ? 

सरकारले पर्यटन क्षेत्रको विकासको लागि योजना तथा कार्यक्रम ल्याउनु राम्रो कुरा हो । तर, यस्ता योजना तथा कार्यक्रमहरू तयार पार्दा यस क्षेत्रकै व्यवसायी तथा अगुवाहरूलाई बेवास्ता गर्नु चाहिँ दुर्भाग्य हो । सरकारले यही पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार पार्दा पनि हामीलाई वास्ता गरिएन । कार्ययोजना प्रतिवेदन तयार भएपछि सुन्नको लागि मात्रै हामीलाई बोलाइयो । सीमित व्यक्तिहरूलाई बन्द कोठाभित्र बसेर तयार पार्न दिएको कार्ययोजनाले सम्बन्धित क्षेत्रको हित गर्छ भन्न सकिँदैन । सरकारी स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै उच्चतम प्रतिफल दिने कार्यक्रम ल्याउन हामी पर्यटन व्यवसायी र अगुवालाई पनि कार्यक्रम निर्माणको चरणमै सहभागी गराउनुपर्ने थियो । त्यसो भएन । योजना कार्यान्वयन होला, तर अपेक्षित प्रतिफल चाहिँ दिँदैन ।

पर्यटनको विकासका लागि योजना तथा कार्यक्रम ल्याउँदा पर्यटन क्षेत्रकै व्यवसायी तथा अगुवालाई किन बेवास्ता गर्छन् सरकार ? 

पहिलो कारण त हाम्रो देशमा स्थिर सरकार बन्न नसक्नु नै हो । सरकार परिवर्तन हुँदा उसका नीति, योजना तथा कार्यक्रम पनि परिवर्तन हुन्छ । एउटा सरकारले बनाएको योजनालाई अर्को सरकारले निरन्तरता दिँदैन । नयाँ योजना बनाउँछ । तर कार्यान्वयन नहुँदै सरकार परिवर्तन हुन्छ । यो पर्यटन क्षेत्रको लागि मात्रै नभई सिङ्गो देशकै विकास र रूपान्तरणको बाधक हो । एउटा मन्त्रीले आफ्नो मन्त्रालय सम्बद्ध व्यवसायी तथा विज्ञहरूलाई चिन्न नपाउँदै सरकार ढलेको हुन्छ । अनि नजिकका मानिसलाई विज्ञ भन्दै योजना बनाउन लगाउँछ । अहिले पनि भएको यही हो । नत्र भने सन् २०२० लाई भिजिट नेपाल भनेर तयार पारेको कार्यक्रमलाई निरन्तरता दिनुको सट्टा नयाँ योजना अहिले ल्याउन जरुरी नै थिएन । उक्त कार्यक्रमको लागि राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेको छ । थुप्रै योजनाहरू पनि तयार छ । तिनलाई कार्यान्वयन गरेको भए हुन्थ्यो । अहिले भर्खरै नयाँ सरकार बन्दै छ । अब बन्ने सरकारले यो पर्यटन दशकको योजना फलो गर्छ भन्ने ग्यारेन्टी छैन ।

तपाईँ पर्यटन व्यवसायीहरूले सरकारलाई दबाब दिन नसकेर यस्तो भएको हो कि ? 

होइन, हामी पर्यटन व्यवसायी एवम् यस क्षेत्रका सङ्घ सङ्गठन र अगुवाहरूले दबाब दिइरहेकै छौँ । पर्यटन क्षेत्रलाई रिभाइभ गराउन, यस क्षेत्रको थप विकास तथा विस्तार र प्रवर्द्धन गराउन सरकारलाई हामीले दैनिकजसो नै भेटघाट छलफल चलाइरहेका छौँ । हामी स्वयम पनि व्यवसायी नै भएको हुनाले हामीले सक्दो गरिहरेका छौँ । तर सरकारले भनौँ या ब्युरोक्रेसीले हामीलाई सुन्दैनन् । हामीले कुनै काम लिएर गयौँ भने हुन्छ, हस् भनेर टारिदिन्छन् । तर, केही पनि नभएको भन्न खोजेको चाहिँ होइन । हामीले दबाब दिएकै कारण भर्खरै बागमती प्रदेशले अनलाइन मार्फत पर्यटन सम्बन्धी सेवा दिन थालेको छ । यसअघि ट्रेकिङ एजेन्सीको चुक्ता पुँजी पचास लाखबाट पच्चिस लाख बनाएको छ । यस्ता अन्य कामहरू थुप्रै भएका छन् । हामीले समग्र पर्यटन क्षेत्रको विकासको लागि आवश्यक सबै प्रयत्नहरू जारी राख्नेछौँ ।

भिटोफ नेपालले प्रत्येक वर्ष तीन/तीन ओटा गाउँलाई घुम्नुपर्ने गाउँ गन्तव्यको रूपमा घोषणा गर्दै आएको छ । सन् २०२२ मा घुम्नुपर्ने गाउँ गन्तव्यका रूपमा चितवनको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे, उदयपुरको मगर-किराँत सामुदायिक होमस्टे, मनाङको ओडार सामुदायिक होमस्टेलाई छनौट गरिएकाे थियो । ती होमस्टेहरूलाई घुम्नुपर्ने गन्तव्य भनेर घोषणा गरेर छोडिदिनुभयो कि केही कार्यक्रम पनि लानुभयो ? 

हो हामीले सन् २०२२ मा घुम्नुपर्ने गाउँ गन्तव्यका रूपमा चितवनको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे, उदयपुरको मगर-किराँत सामुदायिक होमस्टे, मनाङको ओडार सामुदायिक होमस्टेलाई छनौट गरेका थियौँ । हामीले छनौट गरेर, घोषणा गरेर त्यसै छोडिदिने भन्ने नै हुँदैन । हामीले निरन्तर फलोअप गरिरहेका छौँ । उहाँहरूलाई आवश्यक सल्लाह सुझाव दिने र प्रचारप्रसार गरिदिने काम गरिरहेका छौँ । चितवनको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टेमा अहिले धेरै राम्रो भएको छ । पाहुनाको सङ्ख्या बढेको छ । होमस्टे सञ्चालन र व्यवस्थापन पनि सुव्यवस्थित भएको छ । त्यसैगरी उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा रहेको मगर-किराँत सामुदायिक होमस्टेमा पनि पाहुनाको सङ्ख्या बढेको छ । त्यहाँको स्थानीय सरकारसँग पनि हामीले निरन्तर समन्वय गर्दै आएका छौँ । मनाङको ओडार सामुदायिक होमस्टेले भने अपेक्षा अनुरूपको सुधार गर्न सकेको छैन । पर्यटक हिँड्ने बाटोभन्दा अलि पर रहेको कारणले पनि हुन सक्छ, त्यति पाहुना बढेको छैन । तर प्रचारप्रसार गरिरहेका छौँ । बिस्तारै राम्रो हुँदै जाने अपेक्षा गरेका छौँ ।

भिटोफका आगामी योजना तथा कार्यक्रमहरू के-के छन् ? 

हामीसँग थुप्रै कार्यक्रमहरू छन् । मैले भिटोफको नेतृत्वमा आउँदै गर्दा नै क्यालेन्डरसहितको कार्ययोजना लिएका आएको थिएँ । सोही अनुरूप कार्यक्रमहरू सञ्चालन गर्दै जानेछौँ । यही पोषको अन्तिममा हामी धादिङको रुबीभ्यालीमा फार्म ट्रिपमा जाँदै छौँ । त्यहाँको स्थानीय सरकारसँगको समन्वयमा नै कार्यक्रम तय भएको छ । यसले नयाँ गन्तव्यको सम्भाव्यता अध्ययनमा सहयोग पुग्नेछ । त्यसको लगतै हामी चितवनको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टेको निरीक्षणमा जाँदै छौँ । त्यहाँ हामीले होमस्टे सञ्चालनको अवस्था, त्यसको मापदण्डको पालना, खाद्य गुणस्तर, पर्यटकहरूको प्रतिक्रिया लगायतमा केन्द्रित भएर अध्ययन गर्नेछौँ । त्यसपश्चात् आवश्यक सुधारका लागि सल्लाह सुझाव दिनेछौँ ।

नेपालमा ग्रामीण पर्यटनको सम्भावना र चुनौती के-के छन् ? 

अहिले हामी “टुरिजम फर अल सिजन” भन्दै अगाडि बढिरहेका छौँ । हो, यसको लागि ग्रामीण पर्यटनको प्रवर्द्धन अनिवार्य छ । ग्रामीण पर्यटनले आन्तरिक पर्यटनलाई चलायमान बनाउँछ । आन्तरिक पर्यटनको ‘मियो’ नै ग्रामीण पर्यटन हो । अहिले हाम्रो पर्यटन मौसमी पर्यटन मात्रै हो । विदेशी पर्यटक निश्चित सिजनमा मात्रै आउँछन् । मुख्य गरी दुई सिजन तीन/तीन महिना चल्ने गरेको छ । वर्षमा जम्मा ६ महिना मात्रै पर्यटकीय गतिविधि हुँदै आएको छ । अब टुरिजम फर अल सिजन भन्दै गर्दा खेरी हामीले सर्वप्रथम आन्तरिक पर्यटनलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ । यसको लागि ग्रामीण पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रचारप्रसार, आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्नुपर्छ । नेपाल गाउँ नै गाउँले भरिएको त्यसमाथि सयौँ जातजाति, भाषाभाषी, संस्कृति भएको देश स्वाभाविक रूपमा ग्रामीण पर्यटनको अथाह सम्भावना छ । राज्यले ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्न सकेको छैन । यो चाहिँ दुखद हो, हाम्रो लागि चुनौती पनि हो ।

भिडियो

सम्बन्धित समाचार