शुक्रबार , अषोज १४, २०७९

विश्वभर विष्णुमायाकाे चर्चा भइरहँदा नेपालमा भने गुमनाम

बिसे नगर्चीदेखि विष्णुमायासम्मलाई राज्यले दलितकाे यथास्थितिवादी परिधिभित्र सीमित राख्यो । विष्णुमाया अमेरिकी पाठ्यक्रममा अट्न सक्ने, नेपालमा किन नसक्ने ?

image

पत्रकारितामा समाचार दुई प्रकारका हुन्छन् । एउटा ‘गुड न्युज’ अर्थात राम्रो समाचार । अर्को हुन्छ ‘ब्याड न्यूज’ अर्थात नराम्रो समाचार । समाचार बन्न कि त धेरै राम्रो खबर हुनुपर्छ जस्तैः आविष्कार, जित, भव्यता इत्यादि कि त क्षति, दुर्घटना, मृत्यु, अपराध जस्ता नराम्रा पक्षमा घटना घट्नु पर्छ ।

नेपाली समाजमा प्रायः दलितको नाम जाेडेर महिनैपिच्छे राष्ट्रिय मिडियामा समाचार प्रसारण र प्रकाशन भएका हुन्छन् ।  कुटपिट, गालीगलाेज, हत्या, विभेद, जातको आधारमा काेठबाट निकालिएको, अन्तरजातीय विवाह, समाजिक कलहमा घटनामा आधारित ब्याड न्युजका ठूलाठूला हेडलाईन लेखिएका हुन्छन् । तर, केही महिनायता अमेरिकाबाट दलित समुदायको प्रतिनिधित्व गर्दै एउटा नामसँग विश्वभर गुड न्युज आइरहेको छ । उक्त गुड न्युजले सारा नेपालीलाई गर्व गर्न लायक सन्देश बाेकेकाे छ । ती तमाम गुड न्युजकी मुख्य पात्र हुन्- गाेरखा जन्मथलो भएकी नेपाली चेली, सामाजिक अभियान्ता डा. विष्णुमाया परियार ।

विष्णुमायाका समाचारका शिर्षक आम दलितको भन्दा धेरै भिन्न छन् ।  इतिहास, गर्व, सम्मान र खुसीले भरिएका छन् । विगत केही वर्ष यता राम्रो समाचार र विष्णुमाया परियार नाम एकअर्काका पर्यावाची जस्तै भएकोे छ । न्युजर्सी सहरका मेयरकाे सल्लाहकार, विष्णुमाया डे,  विष्णुमाकाे जीवनी विश्वका विश्वविद्यालय तथा विद्यालयका पाठ्यक्रममा समावेश लगायतका धेरै गुड न्युज उनीसँग सम्बन्धित छन् । उनै विष्णुमाया सम्बन्धि केही गुड न्युज निम्न अनुसार उल्लेख गरिएको छ ।

‘विष्णुमायाकाे संघर्ष, मिहिनेत र सफलता अब अमेरिका विद्यालयमा पठनपाठन हुने भएको छ । डाक्टर विष्णुमाया परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश गरिएको छ । स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक ‘म्याक ग्र हिल’बाट प्रकाशित पुस्तक ‘द राइटर्स माइन्डसेटमा’ परियारको संघर्षकथा समावेश गरिएको छ ।

अमेरिकाको न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन गरेका छन् । परियारसहित २८ जनालाई गभर्नर फिलले मनोनयन गरेका हुन् । यसरी आयोगमा मनोनीत हुने डा. परियार एक मात्र नेपाली रहेको बताइएको छ ।

अमेरिकाको मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा नेपाली डा. विष्णुमाया परियारका बारेमा पाठ समावेश गरिएको छ, भिडियो र ‘स्लाइड शो’को माध्यमबाट पढाइने उक्त पाठमा डा. परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने आठवटा स्लाइडसमेत समावेश गरिएको छ । सो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आगामी वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने डा. परियारले जानकारी दिइन् । पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ ।

सामाजिक अभियन्ता डा. विष्णुमाया परियार न्युजर्सी राज्यको जर्सी सिटी सहरको महिला सल्लाहकार समितिमा मनोनित भएकी छिन् । जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा भएको हो (प्रस्तुत माथिका समाचार विभिन्न समाचार स्रोतबाट संकलन गरिएको हाे) । ‘

विष्णुमायाकाे अहिलेको उचाइ उपलब्धि र ख्यातिकाे एक, दुई वर्षको मिहिनेतले प्राप्त भएको हाेइन । गाेरखादेखिकाे संघर्षको यात्रा अमेरिकासम्म पुग्दा चुनाैतिका पहाडले अवस्य घेरिएको थियो । वर्षाैंकाे मिहिनेत लगाव निश्चल निस्कलंक विचार, सहयोगी मन र स्वच्छ छविले आज विष्णुमाया विश्वभर चर्चित छन् । उनी विश्वभरका लाखौंलाख व्यक्तिको लागि प्रेरणाको स्रोत भएकी छिन् । अमेरिकी विद्यालयमा उनको जीवनी पाठ्यक्रममा समावेश गरिनुकाे पछाडिकाे मुख्य कारण र उद्देश्य भनेको  विद्यार्थीले विष्णुमायाबाट संघर्ष र मिहिनेत सिकुन् भन्ने नै हाे ।

उच्च विचार सादा जीवनशैलीमा रमाउने विष्णुमाया विपन्न बालबालिका, महिलाको जीवनशैलीमा परिवर्तन ल्याउन कम्मर कसेर लागिपरेकी छिन् । देशभरका दलित विभन्न र सिमान्तकृत समुदायका हजारौं विद्यार्थी र महिलालाई वर्षेनी गैसस एड्वान संस्थामार्फत छात्रवृत्ति र तालिमको व्यवस्था गरिरहेकी छिन् । विष्णुमाया त्यतिमात्र सिमित छैनन्, विश्वभर कसरी हुन्छ समता समानता र समाजिक स्वतन्त्रताको वकालत गरिरहेकी छिन्। विष्णुमायाले गरेको संघर्ष, मिहिनेतलाई  विश्वले त सम्मान अवसर त दियो तर, कताकता आफ्नै जन्मथलोले भने नचिनेको हाे कि भन्ने आभास भएको छ ।

राज्यले विष्णुमायालाई ठूलै सम्मान दिनुपर्छ भन्ने छैन । उनलाई कुनै सभामा दाेसल्ला ओडाएर सम्मान गराेस् भन्ने पनि हाेइन । राज्य खालि  उनको प्रसिद्धि, संघर्ष, मिहिनेत र विश्वव्यापी छविलाई अमेरिकी विद्यालयले जस्तै पाठ्यक्रममा समावेश गरेको भए उत्तम हुने थियो । नेपाली पाठ्यक्रममा दलित समुदायको चित्रण सधैं अभाव दबाब र पीडाबाट भएको देखिन्छ । पढ्ने विद्यार्थीको मस्तिष्कमा दलित भन्ने बित्तिकै  पीडित पक्षमा सीमित पारिएको छ । जबकि नेपाल समाजमा धेरै दलित प्रतिनिधिले राज्यको परिवर्तनकाे निम्ति ज्यानको बलिदान दिएका थिए । एकीकरणमा बिसे नगर्ची, मनिराम गाइने, बाङ्गे सार्की र जसविर कामीकाे भूमिका एकदम महत्त्वपूर्ण थियो । त्यस्तै  भरत सर्वजित विश्वकर्मा, भुवनसिँह विश्वकर्मा र विष्णुमायाकाे इतिहास र कार्य  सुनाैला अक्षरले लेख्न लायक छन् । विडम्बना नेपाली समाजमा सदियाैंदेखि जातको आधारमा पीडा सहँदै आएको समुदायबाट राम्रा समाचार भए पनि प्राज्ञिक पाठ्यक्रम र मिडियाको नजरमा परेको छैन । मिडिया र प्राज्ञिक वर्गले दलितको देनलाई कहिल्यै अध्ययन अनुसन्धानको आवस्यकता देखेन ।

एउटा तिताेसत्य के हाे भने राज्यले आजको मितिसम्म दलितको ‘गुड न्युज’ स्विकार्न सकेको छैन । बिसे नगर्चीदेखि विष्णुमायासम्मलाई राज्यले दलितकाे यथास्थितिवादी परिधिभित्र सीमित राख्यो । विष्णुमाया अमेरिकी पाठ्यक्रममा अट्न सक्ने, नेपालमा किन नसक्ने ? सेनाका सेनापतिकाे वीरगाथा गाउँदा कहिल्यै नथाक्ने राज्य, नेपाल एकीकरणका मुख्य सल्लाहकारलाई चिनाउनु शताब्दीपछि श्रवण मुकारुङ आउनुपर्‍यो । यस्ताे अवस्था किन आयो त ? दलित आइकनलाई ओझेलमा राखिनुकाे मुख्य कारण भनेको जातवादी मानसिकता  र बाहुनवाद नै हाे । फलतः नेपाली चेली विष्णुमाया आफ्नै भूमिमा बिरानो भएकी छन् । भलै केही मिडिया र प्रगतिशीलकाे नजरमा अटेकी छिन् तर सत्ताको केन्द्रले उनको देन र चर्चालाई आत्मसात गर्नसकेको छैन । सुन्दा सामान्य लाग्छ तर विष्णुमायाकाे उचाइ विश्वव्यापी हेर्ने हाे भने समग्र नेपालीको समुदायको लागि आइकाेन हुन् याेग्य छन् । उनकाे जीवनीलाई विद्यार्थीमाझ प्रस्तुत गरेर धेरै युवायुवतीले प्रेरणा दिन सकिन्छ ।

जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति) को पूर्व सल्लाहकार डा. परियार सन् २०२४ सम्मका लागि समितिको सदस्यमा नियुक्त भएकी हुन् ।

सम्बन्धित समाचार