- यस ठाउँको विकासका लागि मैले दिएको मोडल सबैभन्दा सरल मोडल हो । यसमा अहिले म सँग प्रतिस्पर्धा गरिरहेकाको पनि मत विभाजन छैन । एक हिसाबले जित सुनिश्चित छ ।
स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताकाे घरदैलाेमा पुगिरहेका छन् । उम्मेदवार, नेता तथा कार्यकर्ताहरू मात्रै नभएर समर्थकहरू समेत चुनाव प्रचारप्रसारमा जुटेका छन् । देश चुनावमय बनेकाे छ ।
कैलालीकाे लम्किचुहा नगरपालिकाकाे मेयर पदमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका महेन्द्र उपाध्याय पनि चुनावी घरदैलाेमा व्यस्त छन् ।
साहित्य र लेखनमा व्यस्त रहने उनी यस पटककाे निर्वाचनमा मैदानमै उत्रिएका छन् ।
प्रस्तुत छ, उनकाे चुनावी एजेन्डा, प्रचारप्रसार, राजनीति र अन्य समसामयिक गतिविधिकाे विषयमा केन्द्रित रहेर गरिएकाे कुराकानीकाे सम्पादीत अंश :
१. साहित्य, इन्जिनियरिङ र राजनीति; कुन सजिलो रहेछ ? सजिलो किन हुने रहेछ ? ‘साहित्य राजनीतिले निर्माण गरेका परिवेश हुन्’ भन्नुहुन्थ्यो, तपाईँ कस्तो परिवेश निर्माण गर्दै हुनुहुन्छ दाइ ? घोषणापत्र (प्रतिबद्धता पत्र) बाहेकका कुरा सुनाउनुस् है ! घोषणापत्र त मैले पढिसकेँ ।
-साहित्य पढ्न सजिलो , इन्जिनियरिङको काम सजिलो, राजनीतिमा भर्खर पाइला टेकेँ, सायद त्यसैले हो कि केही अप्ठ्यारो महसुस गरिरहेकाे छु । यो देशमा लोकतन्त्रको नाममा केही अरू नै आएको झैँ लागिरहेकाे छ । हिजो जुन कम्युनिस्टले धामी झाँक्रीका लटा ( कपाल ) काटेर फालेका थिए तिनै धामी झाँक्री अचेल तिनै कम्युनिस्ट भनाउँदाको प्रचार प्रसारमा लागेको देखेर अजिब लागि रहेको छ । बिहानै रक्सी पिएको युवा पार्टीको झन्डा बोकेर लरखराउँदै जिन्दाबाद भनेको दृश्यले मन कटक्क खान्छ यार । चुनाव यति महँगो छ कि गरिबको छोरो राजनीतिमा आउनु भन्दा पहिले भ्रष्टाचारी भएर आउनुपर्ने परिवेश छ । के लोकतन्त्र भनेको यही हो राजु ? लोकतन्त्रको परिभाषा यसरी गरिदिउँ लाग्छ -” दलाल भ्रष्टाचारीले पैसा खर्च गरेर फेरि भ्रष्टाचारी र दलाली चुनिने एक व्यवस्था हो ।”
अरू कुरा के सुनाऊ राजु चुनाव झन् झन् भड्किलो र डरलाग्दो बन्दै गइरहेको छ । युवाहरू बीच झडप भएको समाचार पढेर तर्सिन्छु । त्यो भन्दा परको कुनै घटना नहोस् लाग्छ ।
२. तपाईँकाे घोषणापत्रले के भन्यो भने, ‘शिक्षा, स्वास्थ्य, बेरोजगार, (कृषि), समानतातिर’ तपाईंको इफोर्ट रहेनछ । सबैको रहने रहेछ के दाइ । पत्त्याउने कुरा नि ! अनि फेरी किन पत्याउने भन्ने कुरा पनि ? क-कसको चाहिँ पत्याउने ? कतिपटक पत्याउने ? एउटा अपत्यारिलो कुरा भन्नुस् न, म पत्याउँछु दाई।
-सत्य तीन प्रकारका हुन्छ लाग्छ मलाई राजु, एक मेरो सत्य , एक सुन्नेको सत्य र एक सत्य जुन सत्य हो । कसैले मेरो योजना पढेर पत्त्यायाे भने उसको र मेरो सत्य एउटै हो । र त्यो त्यस परिवेशको सत्य नजिक नजिक हुन्छ । यदि मैले कुरालाई मैले तथ्य , मेहनत र इच्छा शक्तिका साथ गरेँ भने तिनै वटा सत्य एक ठाउँ आउने हो । सर्वप्रथम मेरो सत्य र सुन्नेको सत्य मिल्यो भने उसले पत्ताउने हो तर यहाँ धेरै हिँड्न नसक्ने बुढा-पाका र साथी नपाएको बच्चा बाहेक अर्कोलाई सुन्ने फुर्सद नै छैन भने झुटो नै धेरै सुनिने हो । कति पटक पत्त्याउने भन्ने कुरा चाहिँ एक पटक पत्याउँदा नतिजा ननिस्किए नपत्त्याउने हो ।
एउटा अपत्यारिलो कुरा बाजा गाजा सहित नेता किन हिँड्छ भने उसले जनताले दिएको गाली सुन्न नपरोस् भनेर हो । यहाँनेर उसले फेरि किन भोट हाल्छ भन्ने प्रश्न आउन सक्छ ? किन भने उसलाई पनि लाग्छ यो नै जित्छ यसका पछाडि यति मान्छे छन् , बाजा गाजा छ । उ जित्नका लागि पहिले नै जितेझैँ माहौल बनाउँछ जसरी भए पनि ।
३. नेपाली बौद्धिक र सृजनशील समाज (दिग्गजहरू) तपाईँको कुरा गरिरहेको छ । भनेको तपाईँको उम्मेदवारीको कुरा । यता राम्रा-नराम्रा दुवै खाले कुरा छन् । ‘लडोस् भन्ने र लडेमा समाउँछु’ भन्ने दुवै खेमा देखिएको छ । छोडौँ यताको कुरा, यतिखेर तपाईँ आम जनसमुदायको शोषित मानसिकता र राजनीतिक वृत्तको शोषक मानसिकताविरुद्ध बोल्न खोज्दै हुनुहुन्छ/लड्न खोज्दै हुनुहुन्छ ? यी दुवै वर्गले तपाईँलाई किन टेर्ने ? किन पत्त्याउने ?
– पत्त्याउनुभन्दा पनि पहिला एक फेरा सुनेर / पढेर त हेर भन्ने माग हो मेरो । यदि सुने पढे भने नपत्त्याई सुख ? म समाजको सत्य बोल्दै छु ।
४. ‘म मेयर भए भने निम्नलिखित कार्यहरू गर्ने छैन’ भन्नु भनेको ‘नगर्नु पर्ने कामहरू नगर्दा मात्रै पनि ‘गरिएको’ देखिन्छ’ भन्ने अर्थ हो ? ‘बनाउनु पर्दैन, नबिगार्दा पुग्छ’ भनिरहिएकै हो तर, नगर्नुपर्ने कुराहरू नगर्नु भनेको पनि ‘ केही त गर्नु’ हो ! फेरी गरे बिग्रिजाला ? कि कसो दाइ ?त्यसो हैन नि राजु, म मेयर भए भने निम्न लिखित कार्यहरू गर्ने छैन’ भन्नु भनेको ‘नगर्नु पर्ने कामहरू अहिलेसम्म गरिँदै आई रहेका छन् । त्यो भन्नू भनेको म गलत कार्य गर्दिन सही कार्य गर्छु भनेको हुँ ।
‘बनाउनु पर्दैन, नबिगार्दा पुग्छ’ भनिरहिएकै हो तर, नगर्नुपर्ने कुराहरू नगर्नु भनेको पनि ‘ केही त गर्नु’ यो प्रकृतिसँग खेलबाड गर्ने कुरामा लागू हुन्छ । जस्तो कि पानी , हावा र माटो हामीले बनाउनु पर्दैन बस नबिगारी दिऊ न मात्रै भनेकाे मात्रै हाे ।
५. ‘नगरपालिकाको आफ्नै अनलाइन मिडिया हुनेछ’ अर्थात् सूचना हकमा नगरपालिका चीन बन्छ भन्न खोजिएको हो ?
त्यसो हैन यहाँ म घुमिरहँदा मैले धेरै शिक्षक शिक्षण सँगै लेखिरहेको पाए । केही अरू पनि मान्छे लेखिरहेको पाए । उहाँहरू को मिडिया सम्म पहुँच रहेनछ । र त्यो लेखेको कुरा यही समाजलाई चाहिने कुरा हो । त्यसैले मैले भनेको मिडिया पहिलो खुड्किला मात्रै हो , त्यो पनि लेखेको ज्याला दिन्छु भनेको हुँ । अन्य मिडियालाई कुनै रोकताेक हुने छैन बरु अन्य मिडियाले चाहेको खण्डमा त्यो स्राेत सामाग्री लिन पाउने छन् । त्यो मिडिया मध्यस्थकर्ताकाे भुमिकामा हुनेछ ।
६. यसपालि गाउँमा दुई हप्ता बिताएँ । मेयरका लागि उठिरहेका एक उम्मेदवारले धादिङको प्रचलित होटेलका साहुको छोराको पास्नीको लागि निम्तो कार्ड पठाउने जिम्मा लिए । म कफी पिउँदै उनको हर्कत नियाल्दै थिए । उनले अमुक होटेलको होटेल साहुको छोराको पास्नीका लागि जिल्लाका ठुलाठाला नेताहरूको नम्बर कण्ठस्थ लेखिदिएर भनेँ, “उहाँहरूलाई फोन गर्नुस् ।’ रमाइलो के भन्दा, त्यो लिस्टमा इतर पार्टीका कुनै पनि नेताको नाम थिएन । नाथे पास्नी जत्रो सानो कार्यक्रममा पनि यो हदको दलगत राजनीति व्याप्त छ । मेरो प्रश्न तपाईँलाई यत्ति हो- दाङका होटेल साहुका पास्नीमा तपाईँ पुग्ने सम्भाव्यता कति छ सर ? निर्वाचन प्रचार खर्च कति छुट्याउनु भएको थियो, कति खर्च भयो ?
– मलाई मेरो फोटो मिडियामा छापिएको हेर्नु छैन राजु । एउटा अर्को घोषणा यही गरिदिऊ, म कुनै पनि सरकारी वा प्राइभेट कामको उद्घाटनमा जाने छैन । सरकारी तेल जलाएर । अब रह्यो पास्नी , विवाह र अन्तिम संस्कारको कुरा आज भोलि म आफन्तको मा पनि कमै जान्छु । सक्दाे घरको कोही अरू नै जाउन् भन्ने लाग्छ । म मेयर बन्ने भनेको काम गर्न जाने हो । पार्टी खान हैन । व्यापारी साथिकोमा म सक्दो जानेछैन । मेरो पारिवारिक नाता भन्दा परकोमा त जान्न ।
निर्वाचन खर्च सात हजार छुट्टयाएकाे थिएँ । त्यो त मेयरको टिकट किनेकै दिन दुई हजार मात्रै बच्यो । त्यसपछि दाइ भाइ र केही साथीले सबै मिलाएर एक लाख सहयोग पुग्यो । त्यसमा साठी हजार बचेको छ । चालीस हजारमा केही खाजा खर्च , केही झन्डा र केही प्रिन्ट गर्दा खर्च भयो । राजु यहाँ प्रिन्ट गर्दा साँच्चै महँगो छ एक प्रतिको दस रुपैयाँ ।
७. आएको’ हुँ, ‘हाम फालेको होइन’ भन्नुभएको छ । हिँड्ने क्रममा खाल्डाखुल्डी आइहाल्छन्, त्यति बेला हामफाल्नुपर्ने बाध्यता पनि रहन्छ । हामफाल्दा लडिने र नाघिने दुवै सन्दर्भ रहन्छन् । लड्दा समाउनेहरू को-को छन् ? तपाईँलाई क-कसको सपोर्ट छ ? क-कसको सपोर्ट खोज्दै हुनुहुन्छ ? भनेको, तपाईँको राजनीतिको पाठक को-को हुन् ?
आफै आएको हुँ त्यसैले लड्दा आफैँले उठाउनु पर्नेछ, जसका लागि म तयार छु । यसबेला जनता त्यस माथि नि युवा वर्गको साथ खोज्दै छु ।
८. जसरी पनि निर्वाचनमा जित्नैपर्ने, सत्ता र शक्ति प्राप्त गर्नैपर्ने, सत्तामा पुगेपछि देश र जनतासँग गरेको वाचा लत्त्याएर अर्को चुनावमा जित सुनिश्चित गर्न अथाह सम्पत्ति थुपार्नुपर्ने एउटा परम्परा छ । कसरी तोड्ने ? सिल्ली प्रश्न ठहरिएला, हारेमा के गर्नुहुन्छ ? जितेमा ‘यो-यो गर्छु’ माथि भनिहाल्नुभयो ।
– यस ठाउँको विकासका लागि मैले दिएको मोडल सबैभन्दा सरल मोडल हो । यसमा अहिले म सँग प्रतिस्पर्धा गरिरहेकाको पनि मत विभाजन छैन । एक हिसाबले जित सुनिश्चित छ । अनि यो प्रश्न सिल्ली हैन है माथिका भन्दा सबैभन्दा गहन प्रश्न यही हो । हारेमा के गर्नु हुन्छ ? हारेमा हार स्विकार्छु । कसैलाई दोष दिन्न ।
९. तपाईँलाई अग्रिम बधाई छ । मैले प्रश्नहरू यही बिसाएँ ।
-धन्यवाद तपाईँलाई प्रश्नका लागी र धन्यवाद मेरो गन्थन पढी दिने पाठकलाई पनि ।