मंगलबार , भाद्र ३०, २०८३

फेरिँदो चुनाव प्रचार शैली

अहिलेको प्रचार शैलीले पार्टी र उम्मेदवारका विचार, भनाइ र प्रतिबद्धताहरू ‘अभिलेखीकरण’ हुन गई भोलि उसका बारेमा केही कुरा खोज्नु परेमा सजिलै पाइने स्थिति निर्माण गरेको छ ।

image

– प्रमोद प्रधान

स्थानीय निर्वाचनको मिति नजिकिँदै छ । त्यसैले राजनीतिक दलहरूले आ–आफ्ना उम्मेदवारहरूको पक्षमा चुनावी लहर ल्याउन प्रचार-प्रसार गर्ने कार्यलाई तीव्रता दिने क्रम बढ्दो छ । तर पहिलेका निर्वाचन र अहिलेको निर्वाचनको प्रचार-प्रसारलाई सूक्ष्म रूपमा अवलोकन गर्दा केही भिन्नताहरू देखिएका छन् भने केही फरकपन महसुस भएका छन् । जतिसुकै प्रचार-प्रसार भए पनि राजनीतिक कार्यकर्ताबाहेक सामान्य मतदाताहरूमा भने चुनावप्रति कुनै उत्साह देखिँदैन । व्यक्तिगत रूपमा भन्ने हो भने, म पनि उत्साहित छैन ।

सबैभन्दा पहिले अहिले उम्मेदवारहरूको चुनावी प्रचार भौतिक रूपमा पहिलेभन्दा अत्यन्त कम देखिएका छन् । हुन त मतदानको मिति नजिकिँदै जाँदा यो क्रम केही बढ्ला तर अहिलेसम्मको स्थिति हेर्दा विगतकोभन्दा कम नै हुने निश्चित छ । पहिले पहिले पोस्टरहरू भित्ता–भित्तामा टाँसिन्थे, पर्चा र पम्फलेटहरू हात–हातमा दिने गरिन्थ्यो । अहिले भित्ताहरूमा त्यस्ता पोस्टरहरू देखिँदैनन् भने हात–हातमा पर्चा दिने काम पनि भएको छैन । यसले हाम्रो चुनावी प्रचारको शैलीमा परिवर्तन आएको स्पष्ट पार्छ । यसका केही लाभहरू छन् । यसले एकातिर अनावश्यक रूपमा हुने गरेको कागजको खपत कम भएको छ भने अर्कोतिर जथाभावी पोस्टर टाँस्नाले गाउँघर र शहर–बजार फोहोर र कुरूप देखिने स्थितिमा केही सुधार आएको छ । साथै, गाउँघर र शहर बजारका भित्ताहरूमा मत मागेर लेखिने गरिएका भित्तेलेखन पनि देखिएका छैनन् । यसले पनि चुनाव प्रचार शैलीमा परिवर्तन आएको सङ्केत गर्दछ । तथापि, ठाउँठाउँमा उम्मेदवारहरूका तस्वीरसहित मतदान गर्न आग्रह गरिएका फ्लेक्सहरू भने देखिएका छन् । निर्वाचनमा उम्मेदवार भएका व्यक्तिको पक्षमा मत माग्दै माइकिङ गर्ने कार्य पनि पहिलेभन्दा कम भएको छ । यसले निर्वाचनको समयमा हुने ध्वनि प्रदूषणलाई न्यून गर्न सहयोग पुगेको छ ।

सञ्चार प्रविधिका क्षेत्रमा भएको अभूतपूर्व विकासले चुनाव प्रचार–प्रसारको शैली परिवर्तन गर्नुपर्ने आवश्यकता देखिनु स्वाभाविक हो । ‘हातहातमा मोबाइल’ भएको अहिलेको समयमा चुनाव प्रचार–प्रसारको शैली पनि क्रमशः ‘डिजिटलाइजेसन’ हुँदै सामाजिक सञ्जालमार्फत हुनु सकारात्मक हो । अहिले अन्तर्वार्ता लिएर दिएर युट्युबमा राख्ने, फेसबुकका माध्यमबाट मत माग्ने र मेसेन्जरका माध्यमबाट मतदातासमक्ष पुग्ने लगायतका तरिकाबाट पार्टी र उम्मेदवारले मत माग्ने क्रममा तीव्रता देखिन्छ । यसको एउटा महत्वपूर्ण लाभ भने पार्टी र उम्मेदवारका विचार, भनाइ र प्रतिबद्धताहरू ‘अभिलेखीकरण’ हुन गई भोलि उसका बारेमा केही कुरा खोज्नु परेमा सजिलै पाइने स्थिति पनि हो ।

निर्वाचनको प्रचार–प्रसारको शैलीमा आएको परिवर्तनले यसले पार्ने असरहरूमा पनि फरक पर्नु स्वाभाविक हो । बाहिरी र देखावटी प्रचार–प्रसारले बालबालिकामा पर्ने असर केही कम भएको छ । अनावश्यक होहल्ला कम भएकाले बालबालिकाहरूमा पनि ध्वनिका कारण पर्ने प्रतिकूल प्रभाव घटेको छ । मलाई लाग्छ, सामाजिक सञ्जालमार्फत हुने गरेका प्रचार–प्रसारसम्म बालबालिकाको पहुँच कम हुने भएकाले यसको असर पनि कम पर्छ ।

सम्बन्धित समाचार