शुक्रबार , भाद्र १२, २०८३

प्यन्हु बिचाः वनेगु अर्थात् देउतालाई ‘के छ हालखबर’ भनेर सोध्न जाने दिन

नेवा: समुदायमा कुनै पनि देउताको दर्शन जात्रा पश्चात् देवतालाई के–कस्तो छ भनी हालखबर सोध्न गइन्छ । यसलाई प्यन्हु बिचाः वनेगु भनिन्छ । प्यन्हु बिचाःको मूल धारणा वा उद्देश्य भनेकै देउताको हालखबर बुझ्न जानु हो ।

image

– सन्दीप महर्जन

सम्पन्न नेपाली संस्कृतिमा सुन्दा अचम्म लाग्दो, नौलो, अनौठो चलनहरू छन् । तपाईँ देवीदेवताको दर्शन गर्न त जानुहुन्छ हैन ? देउतालाई भेट्न जानुहुन्छ, देउतालाई के छ हालखबर भने सोध्न जानुहुन्छ ? भन्नाले देउता वा भगवानको हालखबर बुझ्न जानुहुन्छ ?

तर नेवा: समुदायमा यो चलन छ । नेवा: समुदायमा कुनै पनि देउताको दर्शन जात्रा पश्चात् देवतालाई के–कस्तो छ भनी हालखबर सोध्न गइन्छ । यसलाई प्यन्हु बिचाः वनेगु भनिन्छ । प्यन्हु बिचाःको मूल धारणा वा उद्देश्य भनेकै देउताको हालखबर बुझ्न जानु हो ।

यसै क्रममा रातो मछिन्द्रनाथको हालखबर सोध्ने काम पनि सम्पन्न भएको छ । अर्थात् रातो मछिन्द्रनाथ वा बुंगद्यःको प्यन्हु बिचाः वनेगु हिजो मङ्गलवार सम्पन्न भएको छ । जाउलाखेलमा भोटो जात्रा सकिएर बुङ्गमती ल्याएको चौथो दिनमा प्यन्हु बिचाः जाने चलन रहेको छ । यस दिन भक्तजनहरूले फूल, फलफूल, गुलुपाः, धुपबत्ती तथा पूजा लिएर बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको दर्शन गर्न जाने गर्छन् ।

लामो समयपछि बुङ्गमती फर्केको रातो मच्छिन्द्रनाथलाई सन्चो बिसन्चो के–कस्तो छ, सबै सकुशल छ कि छैन भनेर हालखबर बुझ्न प्यन्हु बिचाः जाने गरिएको जनविश्वास रहेको छ । यस क्रममा विभिन्न गुठिका गुठियारहरू पनि बाजागाजाका साथ बुङ्गमती गएर रातो मच्छिन्द्रनाथको दर्शन गरी भजनकिर्तन गर्दै प्रसाद ग्रहण गरी फर्कने गर्दछन् । त्यसैले यो दिनमा बुङ्गमतीमा बाक्लो भिड लाग्ने गर्दछ ।

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रूपमा लिइन्छ । रातो मछिन्द्रनाथको जात्रा विना कुनै विघ्न वाधा सफलतापूर्वक सम्पन्न भएमा समयमा वर्षा भई अन्न बाली राम्रो हुने जनविश्वास रहेको छ । मछिन्द्रनाथको जात्रा अवधिभर उपत्यकाको साथमा देश भरीका विभिन्न स्थानबाट दर्शन र पूजाको लागि मानिसहरू पुग्ने गरेका छन् ।

सांस्कृतिक पक्ष

काठमाडौंको सेतो मच्छिन्द्रनाथ, पाटनको रातो मच्छिन्द्रनाथ, मीननाथ आदिको जात्रा सम्पन्न भएपछि प्यन्हु बिचाः जाने परम्परा रहेको छ । यस्तै काठमाडौंमा पाहाँचःर्‍हे सकिएपछि कंग अजिमा, भद्रकाली अजिमा तथा बालाचःर्‍हेमा लुँति अजिमाको जात्रा सकिएपछि लुँति अजिमा (इन्द्रायणी) कहाँ र अझै अरू ठाउँमा पनि प्यन्हु बिचाः जाने परम्पराहरू रहेको पाइन्छ । यस्तै विभिन्न समयमा विभिन्न देवस्थलहरूमा पनि यही जनविश्वासमा आधारित भएर हालखबर बुझ्न प्यन्हु बिचाः जाने परम्परा अझै पनि कायम रहेको देख्न सकिन्छ ।

परम्परा/रीतिरिवाज

काठमाडौं उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरू छन् । यही संस्कृतिले यहाँको सभ्यता र परम्परासँग जोडिएको जीवन दर्शनलाई दर्साउँछ । हरेक पूर्णिमा र औँसीमा भिन्न–भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसाथ गर्दै लानु नेवा: संस्कृतिको एउटा अङ्ग हो । यसैमा पर्ने एउटा भिन्न र अनौठो लाग्नसक्ने संस्कृति हो प्यन्हु बिचाः ! सामान्यतः कुनै पनि जात्रा पर्व सकिएपछि देवतालाई पुनः मन्दिरमा राखिएको चौथो दिनमा दर्शन गर्न जानु नै प्यन्हु बिचाः हो ।

व्यक्तिगत/विचार

यो परम्परा आफैँमा रोचक छ जहाँ भक्तजनहरू भगवानको हालचाल सन्चो बिसन्चो बुझ्न जाने गर्दछन् । यो परम्पराले तत्कालीन समयमा देवता र मानिस बिचको आत्मीयता, सामीप्यता तथा भगवान प्रतिको श्रद्धा र आस्था कति माथि थियो भन्ने कुरा प्रस्ट बनाउँछ । यस्ता स–साना परम्परा धेरै छन् र यी परम्परा नै हाम्रो आस्थाको धरोहर हो । यस्ता परम्परालाई मात्र कर्मकाण्डी मात्र बनाउने र औपचारिकतामा सीमित राख्ने हो समयसापेक्ष नदेखिन सक्छ ।

परम्परासँग जोडिएका जीवन दर्शन, यसको सामाजिक मूल्य मान्यताको चर्चा नगर्ने हो भने कति संस्कारलाई निरन्तरता दिनुपर्दाको कारण थाहा नहुन सक्छ । तर यी परम्पराहरूमा भित्र पक्कै पनि केही न केही जीवन दर्शन त लुकेको छ नै ! यस्ता अनगिन्ती संस्कृति र परम्परा जोगाउनु हामी सबैको धर्म र कर्तव्य हो ।

समाचारडेस्कबाट

Tags:

सम्बन्धित समाचार