बिहिबार , अषोज १, २०८३

नो डेमोक्रेसी वित्थ्आउट बीफ

‘राष्ट्रिय जनावर मार्न मिल्दैन’ तर के राष्ट्रिय जनावरलाई खुलेआम सडकछाप बनाउन चैँ मिल्छ ? भगवान्को नाममा डामेर छोड्दा चैँ उसलाई दुख्दैन ? गाईलाई भगवान् मान्नेहरूको कुरा र व्यवहार ठ्याक्कै विपरीत छ ।

image

– विनिता भण्डारी

भारतको हाइद्राबाद सहर बीफको राजधानीको रुपमा परिचित छ । हाइद्रावादको प्रमुख आकर्षण भनेको सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘कल्यानी बिर्यानी’ हो । बिर्यानी बीफको एउटा परिकार हो । बिर्यानी दलित र आदिवासीको भोजन संस्कृतिको अमूल्य हिस्सा पनि हो ।

सन् २०१२ मा सोही सहरको ओस्मानिया युनिभर्सिटीको फुड फेस्टिभलमा बीफ स्टल राखियो । सो बीफ स्टल दलित विद्यार्थीले आफ्नो संस्कृति प्रवर्द्धन गर्ने हिसाबले राखेका थिए । त्यसो त युनिभर्सिटीमाको फुड फेस्टिभल समवेशी  छैन भनेर उनीहरूले धेरै वर्ष अगाडिदेखि नै कलेज प्रशासनसँग गुनासो गरेका थिए । प्रशासनले उनीहरूको मुद्दालाई कहिल्यै पनि गम्भीर रूपमा हेरेको थिएन किनभने हाम्रा अधिकांश सार्वजनिक स्थलहरू ब्राह्मणिकल छन्, चाहे त्यो मन्दिर होस् वा विद्वानहरूको युनिभर्सिटी । त्यसैले दलित विद्यार्थी सङ्गठनले फुड फेस्टिभलमा आफैँ बीफ स्टल राख्ने निर्णय गर्यो । कार्यक्रम सुरु भएको केही समयमै अखिल भारतीय विद्यार्थी परिषद् (भारतीय जनता पार्टीद्वारा सञ्चालित एक विद्यार्थी युनियन) ले युनिभर्सिटीमा हमला गर्‍यो । कार्यक्रम संयोजकलाई हातपात गर्‍यो र करिब पाँच जना विद्यार्थीहरू घाइते भए ।

हाइद्रवादकै सेन्ट्रल युनिभर्सिटी (सन् २०१६) निकै चर्चामा आयो । कारण थियो, युनिभर्सिटीका दलित अधिकारकर्मी र अम्बेडकर स्टूडेन्ट असोसियसनका सदस्य रोहित भेमुल्लाको‌ आत्महत्या । रोहित सामान्य विद्यार्थी थिएनन् । युनिभर्सिटीमा रहेको ब्राह्मण प्रभुत्वलाई चुनौती दिन उनले निकै प्रयासहरू गरेका थिए । त्यही प्रयासहरूमध्ये एक थियो उनीहरूले आयोजना गरेको बीफ फेस्टिभल । अम्बेडकर जयन्तीको अवसरमा दलित, आदिवासी र मुस्लिमहरूको भोजन संस्कृतिमा पर्ने बीफको फेस्टिभल आयोजना गर्दा उनीहरू र बिजेपीको विद्यार्थी सङ्गठनबीच झडप भयो तर युनिभर्सिटी प्रशासनको नजरमा केबल रोहित र उनका पाँच जना साथी कसुरदार ठहरिए । कारणवश, उनीहरू सस्पेन्ड भए र होस्टेलबाट निकालिए । भनिन्छ, ‘बिजेपी मन्त्री स्मृति इरानीले उनीहरूलाई सस्पेन्ड गर्न कलेज प्रशासनलाई निरन्तर दबाब दिएकी थिइन् ।’ सस्पेन्ड भएको केही दिनमै रोहितले अम्बेडकर स्टूडेन्ट असोसियसनको ब्यानर झुन्ड्याएर आत्महत्या गरे । उनी त्यति सजिलै हार खाने विद्यार्थी त थिएनन् तर सानैदेखि भोगिआएको जातीवाद कलेजमा पनि जरो गाडेर बसेको कुराले उनलाई कमजोर तुल्यायो । उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए, ‘मेरो जन्म नै मेरो जीवनको घातक दुर्घटना हो ।’ उनको मृत्यु भएको पाँच वर्ष बितिसक्यो तर यस्ता हजारौँ रोहितको हत्या राज्यले अझै पनि गरिरहेकै छ ।

शाहकारी भारतको मिथ्या:

सामान्यतया, मूलधार मिडियामा भारत एक शाहकारी देशको रूपमा परिचित छ तर तथ्याङ्कअनुसार भारतका करिब ७० प्रतिशत जनता मांसाहारी हुन् । महात्मा गान्धीले विश्वभर नै अहिंसाको सिद्धान्तहरू फैलाएका कारणले पनि हुनसक्छ, भारत आज शाहाकारी देशको रूपमा चिनिन्छ । भनिन्छ, ‘गान्धीले शाहाकारी भोजनको प्रचार त गर्थे तर खासगरी मुस्लिम र दलित समुदायले गाईको मासु त्याग्नुपर्ने कुरा बढी जोड दिन्थे ।’ गान्धीका दुई चेहरा थिए र उनी एकदमै ठुलो जातिवादी थिए भन्ने कुरा कयौँ भारतीय बुद्धिजीवीहरूको किताबमा पढ्न पाइन्छ । अम्बेडकरले सन् १९५५ को बीबीसीसँगको इन्टरभ्यूमा ‘गान्धी कहिल्यै महात्मा थिएनन् र म उनलाई महात्मा कहिल्यै पनि मान्दिनँ’ भनेर भनेका थिए । सोहीकारण आजसम्म पनि अम्बेडकर भारतीय इतिहासमा एक खलनायकको रूपमा चिनिन्छन् ।

भारतको संविधान जारी गर्ने बेलामा गान्धी र उच्च जातका हिन्दू नेताहरूको मिलेमतोमा गाईको हक मौलिक अधिकारमा राख्नु पर्ने भन्ने बहस नै चलेको थियो (रे) ! अम्बेडकर संविधान मस्यौदा समितिका अध्यक्ष भएका कारणले यसो हुन सकेन, नत्र कुनै जनावरलाई मौलिक अधिकार दिने भारत पहिलो देश हुन्थ्यो होला !

गौ-हत्या सम्बन्धी एकदमै संवेदनशील देखिएको भारत बिजेपी सरकार अन्तर्गत रहे पनि बीफ निर्यात गर्ने देशमध्ये चौथो स्थानमा पर्छ । बीफ निर्यात गर्ने सबैभन्दा ठुलो कम्पनी हो -अलकवीर प्रा.लि. । यसका मालिक हुन- शतिस सबेरवाल, जो एक उच्च जातीय हिन्दूहरू मध्ये पर्छन् । यस्ता थुप्रै बीफ निर्यात गर्ने कम्पनीहरूका‌ मालिक हिन्दू नै छन् ।

भारतमा उत्पादन हुने अधिकांश बीफ निर्यात हुन्छ तर विज्ञहरूले भने बीफ सस्तो र प्रोटिनयुक्त भएका कारणले यसको खपत भारतमा बढी गर्नुपर्छ भन्ने सुझाव दिन्छन् । भारतका करिब ४५ प्रतिशत बालबालिकाहरू कुपोषित छन् । बोइलर कुखुरा र महँगो मासुभन्दा बीफ खानाले मध्यमवर्गीय परिवारका बालबालिकाहरूले स्वास्थ्यकर जीवन निर्वाह गर्न सक्छन् भन्ने विज्ञहरूको अनुमान छ ।

बीफको हिन्दू इतिहास:

अधिकांश हिन्दूहरुले गाईलाई भगवान्को रूपमा पुज्छन् र यो परम्परागत कालदेखि चलिआएको भन्ने दाबा पनि गर्छन् । तर प्राचीन समयमा हिन्दूहरुले गाईको बली दिने र मासु समेत खाने गरेको कुरा अम्बेडकरले आफ्नो अध्ययनको कर्ममा सार्वजनिक गरेका थिए । यो तथ्य उनले ‘को‌ हुन् अछुत र किन भए?’ भन्ने आफ्नो किताबमा उल्लेख गरेका छन् ।

अम्बेडकरले लेखेका छन्, ‘ऋग्वेद’ कालमा आर्यनहरू मासु खान गाई मार्थे भन्ने कुरा वेदमै भनिएको छ । ‘ऋग्वेद’ ९१० ।८६ ।१४० मा इन्द्र भन्छन्, ‘आफूले एकपल्ट पाँच वटाभन्दा बढी गोरु पकाएको थिएँ ।’ सोही वेदको ९१० ।९१ ।१४० पृष्ठमा अग्निका लागि घोडा, गोरु, साँढे, बाझो गाई र भेडाको बली दिइने गरेको प्रसङ्ग उल्लेख छ ।’ अम्बेडकरले वेदका ऋचाको व्याख्या गर्दै हिन्दू धर्मका भगवान्लाई बली दिन गाई र गोरुबाट छान्ने गरेको बताएका छन् । यसले बलीप्रथा पनि हिन्दू परिपाटी भएको पुष्टि गर्छ । कुन भगवानलाइ गाईको र कसलाई गोरुको बली दिने भन्ने कुरा विधिबमोजिम हुने अम्बेडकरको उल्लेख छ । उनकाअनुसार भगवान् विष्णुलाई गोरुको बलि चल्ने, वृतासूरका लागि सिङधारी चमकदार साँढे, पुसनका लागि कालो गाई, रुद्रलाई रातो गाई बलिको रूपमा चढाइन्थ्यो ।

दलितले किन खान्छन् त बीफ ?

मुस्लिमहरूले त आफ्नो धर्मअनुसार बीफ खान थाले तर ‘अधिकांश दलितहरू हिन्दू भएको बाबजुद पनि किन बीफ खान्छन् त ?’ अधिकांश उच्च जातीय हिन्दूहरूले यो प्रश्न सोध्छन् वा ‘बीफ नै किन खानु पर्‍यो अरू मासु खाए हुन्न?’ भन्ने गर्छन् ।

यो प्रश्नको उत्तर दलितले भोगेको जातीय बहिष्कार र हिन्दू समाजको श्रम इतिहासको अध्ययनले पत्ता लगाउन सकिन्छ । हिन्दू समाजमा अधिकांश श्रमिक थिए ,दलित । सामान्यतः उच्च जातीय हिन्दूहरूको घरमा छिर्ने बाहेकका अन्य श्रमहरू दलितले गरेको पाइन्छ । मूर्ति कुद्ने, छालाका सामान बनाउने, फलामको सामान बनाउने आदि त उनीहरूले गर्थे नै, साथसाथै अस्वस्थकर र फोहोर मानिने काम पनि उनीहरूद्वारा गराइन्थ्यो ।

अरूको घरमा मरेको वा बिरामी भएको गाईबस्तुको ठेगाना लगाउने जिम्मा दलितहरूको थियो । घरमा अन्नको दाना पनि नहुने भएकाले उनीहरू मरेको गाईबस्तुको मासु खान बाध्य भए । यो पेसा उनीहरूले आफैँ रोजेको भने पक्कै थिएनन्, न त‌ उनीहरूमा गाईको‌ मासु खाने इच्छा नै थियो । यो त केवल भोकसँग जुध्ने निर्विकल्प एउटा संयन्त्र थियो । अन्ततः यसप्रकार बीफ उनीहरूको भोजन संस्कृतिको प्रमुख हिस्सा बन्न पुग्यो ।

यदि कोही उच्च जातीय ब्राह्मण भोको पर्थ्यो भने उसले पनि मरेको गाईको मासु खाने अवस्था आउन सक्थ्यो । भोको बेलामा मान्छे जे पनि खस्न तयार हुन्छ, यो प्राकृतिक नियम नै हो ।

उच्च जातीय हिन्दूहरू जसले कहिल्यै गाईको हेरचाह गरेनन् र जसले धर्मको नाममा गाईहरूमाथि अनेकौँ हिंसा गर्छन्, जो आफ्नो स्वार्थ पूरा भएपछि गाईबस्तुलाई सडकमा मरितुल्य जीवन बिताउन बाध्य बनाउँछन्; उनीहरूले गाईको पवित्रताकोबारे विभिन्न सिद्धान्त निर्माण गरेर अल्पसङ्ख्यकको हत्या गर्नु निकै आइरोनिकल (ironical) देखिन्छ ।

आज दलितहरूको थालमा भएको मासुले सयौँ वर्ष पुरानो उत्पीडन र शोषणको कहानी व्यक्त गर्छ । केही दलितहरूले यस मासुलाई आफ्नो भोजन संस्कृतिअनुरूप पुनः दाबी गरेर (reclaim) ब्राहमणिकल हेजेमोनीलाई चुनौती दिँदै छन् भने केही दलितहरू यू.पी.का केही क्षेत्रमा अझै पनि मरेको गाईको मासु खान बाध्य छन् ।

अहिंसकको हिंसा र हिन्दूत्वको राजनिति :

अहिंसाको नारा लगाउने हिन्दूहरुले बीफको निहुँमा हजारौँ हिंसा गरिसकेका छन् । त्यसो त मोदी’जी ‘अहिंसा परमोधर्म’को ढोल बजाउँदै देश-विदेश विहार गरिरहेका छन् तर तिनका कार्यकर्ता र मन्त्रीहरू त्यसको ठ्याक्कै उल्टो गर्छन् । मोदीका परममित्र र यू ।पी ।का मूख्यमन्त्री योगी आदित्यनाथ ‘गौ-हत्या गर्नेलाई मार्नुपर्छ’ भन्दै खुलेआम मिडियामा भन्दै हिँड्छन् । हिन्दूत्वको रट्टान रटेर सत्तामा पुगेको बिजेपीको प्रभुत्व रहेको राज्य जस्तै: गुजरात, यू ।पी, राजस्थान आदि क्षेत्रमा दलित र मुस्लिमहरूले आफ्नै घरमा मरेको गाईको मासु खाँदा मृत्यु वरण गर्नुपरेको घटना असङ्ख्य छ । इस्वीको २०१९ को तथ्याङ्कअनुसार गौ सम्बन्धित एक सय २८ वटा हिंसा भएका छन् । स्वभावत: त्यस हिंसाका पीडित गरिब दलित र मुस्लिमहरू नै हुन् । यसप्रकारको हिंसा न मिडियामा आउँछ, न त पुलिससम्म नै पुग्छ । यस्ता असङ्ख्यक हिंसा ‘गोदी मिडिया’ले कभर पनि गर्दैन ।

Pew survey finds what Indian Hindus and Muslims care most about — Quartz India

बिजेपीको आगामी योजना पनि यस्तै छ । गरिब र अल्पसङ्ख्यक जातिको व्यक्तिगत स्वतन्त्रताको हत्या गर्नु ! त्यसो त भारत एक धर्म निरपेक्ष राष्ट्र हो तर उनीहरूले सरकारमा आउने बित्तिकै हिन्दूत्वलाई राजनीतिकरण गर्न इस्वीको २०१७ मा सार्वजनिक स्थलमा गौ-हत्या गर्न नपाउने कानुन भारतको सबै राज्यमा लागू गरिसकेको छ । बीफको किनबेचको अनुमति त कानुनले दिन्छ तर यो कानुन सीमित फाइभ स्टार होटेलको पक्षमा मात्र रहेको देखिन्छ । सबैभन्दा विडम्बना त के हो भने यस्ता होटेलहरूका अधिकांश मालिक उच्च जातीय हिन्दूहरू हुन्, जो आफू व्यक्तिगत जीवनमा बीफ त खाँदैनन् तर पैसाका लागि लुकिछिपी बीफको व्यापार भने गर्छन् । बिडम्बना ! उनीहरूको अनुगमन खातिर कोही बिजेपीका कार्यकर्ता त्यहाँ पुग्दैनन् । केबल अल्पसङ्ख्यकहरूमाथि आफ्नो बल प्रयोग गरेर उनीहरू आफ्नो हिन्दूवादी अहङ्कारको अभिव्यक्ति गरिरहेका छन् । बिजेपी सरकारकाले हिन्दूहरूलाई भावनात्मकरूपमा जित्नको लागि यो औजार धेरै वर्षदेखि प्रयोग गरिआएको छ । उनीहरू हिन्दूत्वको राजनीति गर्छन् र सफल पनि भएका छन् । इस्वीको २०१९ मा नागरिकता ऐन ल्याएर लाखौँ मुस्लिम र अल्पसङ्ख्यकलाई अनागरिक घोषणा पनि गरिसकेका छन् ।

भारतको हिन्दूत्व र नेपाल:

उसो त नेपालमा पनि बीफ खाने भोजन संस्कृति भएका जातिहरू छन् । मुस्लिम र केही तामाङ, राई, दलितले पहिलेदेखि नै गाईको मासु खाने गरेका छन् । बीफ उनीहरूको भोजन संस्कृतिमा पर्छ । भारत जस्तै नेपाल पनि उच्च जातीय हिन्दूहरूको प्रभुत्व रहेको देश हो । जहिलेदेखि हिन्दू राजाहरूले नेपालमा राज गर्न थाले त्यहीबेलादेखि नै अल्पसङ्ख्यक आदिवासी, जनजाति र दलितहरूको अधिकार मिचिँदै आएको देखिन्छ । जो शक्तिशाली छ, त्यसैको पक्षमा इतिहास लेखिन्छ र नेपाली इतिहासमा त्यही नै भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा काठमाडौं र कीर्तिपुरका नेवारको नरसंहार गरे, यद्यपी इतिहासमा उनी नायकको रूपमा दह्रिएका छन् । आदिवासी, जनजातिहरूको जीवनमा उनले खेलेको खलनायकको भूमिकाको चर्चा भने कहिले पनि गरिँदैन र गर्न पनि दिइँदैन ।

नेपालमा परापूर्वकालदेखि नै रहिआएको यो ब्राह्मणिकल राष्ट्रवाद र ब्राह्मणिकल प्रभुत्व हाम्रो कानुनमा पनि हाबी भएको पाइन्छ । नेपालको कानूनमा सबै समान छन् भनेर त लेखियो तर यी कानूनी निकायमा जसको प्रभुत्व छ, उसैको पक्षमा काम हुने गर्छ । चाहे त्यो वडा कार्यालय होस्, वा पुलिस चौकी । बलात्कारको मुद्दा होस् वा जातीय भेदभावका मुद्दा, त्यस्ता मुद्दाहरू दर्ता गर्न धेरै आनाकानी हुन्छ । यी निकायहरू जानाजान एकै खालका मान्छेहरूको विशेषाधिकारको संरक्षणको निम्ति सञ्चालित रहन्छन् । गाईलाई राष्ट्रिय जनावर घोषित गर्नुको पछाडि पनि यही कारण देखिन्छ ।

What's your beef with my freedom to eat it? | Free Speech Debate

सडकमा डुलिरहेका गाईहरू

अब भन्नुहोला ‘राष्ट्रिय जनावर मार्न मिल्दैन’ तर के राष्ट्रिय जनावरलाई खुलेआम सडकछाप बनाउन चैँ मिल्छ? भगवान्को नाममा डामेर छोड्दा चैँ उसलाई दुख्दैन? गाईलाई भगवान् मान्नेहरूको कुरा र व्यवहार ठ्याक्कै विपरीत छ । यसप्रकार गाईलाई राष्ट्रिय जनावरको रूपमा घोषित गर्नुको कुनै तुक देखिँदैन । गाई कुनै लोपोन्मुख जनावर पनि होइन, जसलाई संरक्षणको आवश्यकता छ । यदि गाईको संरक्षण गर्ने त्यति नै इच्छा छ भने र संरक्षणकै लागि राष्ट्रिय जनावर घोषित गरिएको हो भने सरकारले उसको संरक्षणको निम्ति ठोस कानुन ल्याउनुपर्छ । आफ्नो स्वार्थ पूरा भएपछि सडकमा छोडेर बिच्चली पार्ने कामहरू रोकिनुपर्छ । र, आफ्नो धार्मिक आस्थाको‌ निम्ति अरू कसैको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्ने काम पनि रोकिनुपर्छ, अन्यथा गणतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र भएको कानूनी अक्षरहरू शब्दहरूमा सीमित हुनेछ, शब्दहरूको थुप्रो हुनेछ ।नेपालमा भारतमा जस्तो कट्टर हिन्दूवाद त अझै देखिएको छैन तर आगामी दिनहरूमा यस्तो अवस्थामा नेपाल पुग्न सक्दैन भन्ने यकिन छैन । नेपालका प्रधानमन्त्री केपी ओलीले ढिलोचाँडो मोदीकै रवैया देखाउँदै छन् । चितवन जिल्लाको माडीमा राम मन्दिर बनाउनका लागि बजेट पनि छुट्टाइसके । कहिलेकाहीँ उग्र राष्ट्रवादको कुरा गर्न पछी परिरहेका छैनन् । आगामी दिनहरूमा हिन्दूहरूको भोट उनको पक्षमा आउँछ भन्ने कुरामा उनी ढुक्क छन् ।

(सन्दर्भस्रोत : बीफ, ब्राहमीनस एण्ड ब्रोकन म्यान )

सम्बन्धित समाचार