म त्यही मान्छे हुँ, जो बसको खलासी हुँदा ‘खाते’ नामले पुकारिन्थेँ । अहिले तिनै मान्छे मलाई ‘सर, नमस्ते’ भनिरहेका हुन्छन् । दिनरात नभनिकन एम्बुलेन्स चलाइरहेको छु, मलाई मेरो पेसाप्रतिको धर्म थाहा छ ।
मेरो घर धादिङ जिल्ला, सिद्धलेक गाउँपालिका वडा नम्बर-१ मा पर्छ । आज म, मेरै बारेमा लेख्न गइरहेको छु । यो आत्मसंस्मरण हो, आत्मको बोली । मलाई मेरै जिन्दगीले धेरै कुरा सिकाएको छ, अहिले लेख्न सिकाएझैँ । लेख्नु मेरो बुताको कुरा नै होइन, किनकि म स्कुल ड्रप आउट विद्यार्थी हुँ ।
मेरो घरमा हामी धेरै जना छौँ । सगोल परिवार त होइन तर, म ठुलोबुबा, काकाकाकी, फुपू दिदीहरू सबैसँग बरोबर हिमचिम राख्न मन पराउँथे, पराउँछु । कान्छो अङ्कलको परिवार काठमाडौंमा र ठुलोबुबाको परिवार चितवन भास्सिसक्दा पनि हामी नलाङकै पाखापखेरा स्याहारेर बस्यौँ, बसेका छौँ ।
अलिकता बचपनको कुरा उधारेर त्यसपछिको आफूलाई उदाङ्गो पार्ने छु । म सानोमा अलि चुलबुले थिएँ, घरमा एकछिन पनि नबस्ने । दिदीको घर (मैदी)मा धेरै बस्ने गर्थेँ । दिदीको छोराछोरीहरूसँग लास्ट मिल्थेँ । उनीहरूसँग कहिल्यै बारेमा जान्थे, काँक्रो चोर्थेँ । कहिले च्याडू दोभानमा डुबुल्की मारेर दिन बिताउँथे । माछा पनि कहिलेकाहीँ हत्केलाबिच च्याप्ने गर्थेँ । भुरा माछालाई ताओमा तताएर खाँदा मजा आउँछ । अलिकति नुन चाहिँ हाल्नुपर्छ !
मसँग त्यतिखेर पैसा हुँदैनथ्यो, तर पनि जिन्दगी रमाइलो थियो । अहिले अलिअलि पैसा छ, तर त्यो रमाइलो कहाँ छ ? त्यति खुसी खै अहिले म ? दाइहरू पनि आ-आफ्नै काममा हुन्छन्, भेट हुन्छ कहिलेकाहीँ यतै काठमाडौंमा पनि । तर, आफ्नै कामको कुरा मात्रै, आफ्नै जिम्मेवारीको कथा मात्रै । माछा मार्ने कुरा कसैले गर्दैन । घर फर्किएर बुढा हुँदै गएका आमाबुबालाई स्याहार्ने कुरा न म गर्छु, न उहाँहरू गर्नुहुन्छ ।
यसो गर्छु नि हुन्न ? म पढ्दापढ्दैको क्लास छाडेर गाउँदेखि सहर कसरी आइपुगेँ भन्छु ।
यो कथा होइन, वास्तविकता हो । म आठ कक्षा पढ्दै गर्दा ३ सय रूपे लिएर काठमाडौं पसेँ । कहाँ जाने, के खाने, के गर्ने, अत्तोपत्तो थिएन । काठमाडौंमा राम्रै अलमलिएँ । कामको खातिर कति होटेल चाहरे, कति दोकानहरू भौँतारिएँ, भनिसाध्यै छैन । बालाजु एरियाका कुकुरसरह म यताउता गरिरहेँ, उनीहरूसँगै ।
घर फर्किने पैसा सक्किसकेको थियो । भोको आँतलाई आँट चाहिएको थियो, तर खल्ती रित्तिइसकेको थियो ।
घरैघरको काठमाडौं सहरमा आफू ओत लाग्ने घर खोज्दै थिएँ । ओत लाग्न कुनै काम पाउनुपर्थ्यो । काठमाडौंमा सित्तैमा काम पाइँदैन, गाली र दुर्व्यवहार मात्रै पाइन्छ । यो सहरमा कोही कसैको छैन, आफ्नो पनि छैनन् । हतारो यहाँको चारित्रिक विशेषता हो, दौडधुप यहाँको नित्य दैनिकी हो । सहरमा रफ्तारलाई नसमाते आफू भीडमै कतै अलपत्र परिने कुरा मलाई बोध हुन् थाल्यो ।
जति काम खोज्दा पनि काम नपाएपछि बालाजुमै ‘खातेको जीवन’ बिताएँ । रोडमा सुत्ने, अरूले फ्यालेको खाने गर्न थालेँ । यसताका मेरा साथीहरू भनेकै तिनै चोकका कुकुरहरू थिए । पानी पर्दा बालाजुबाट सोह्रखुट्टे जाने बाटोको पुलमुनि बस्थे । हो, बालाजुमा प्रतीक्षालय थियो, मलाई त्यहाँ बस्न दिइएन । राती हुँदो झरी छल्दै त्यहाँ पस्न खोज्दा ‘खाते, उता जा’ भनेर मलाई धकेल्थे । कतिपटक कुटाइ पनि खाएँ । यसैप्रकार मानवीयता नभएको मानव मात्रै भएको, सभ्यता नभएको सभ्य काठमाडौंमा चार महिना बिताएँ । यो चार महिना मेरो लागि ४० वर्ष जतिको थियो ।
बाढी पनि किनार लाग्छ भने जिन्दगीले किनार नसमातेर धरै थिएन । जिन्दगीको नदीमा डुबिरहेको मलाई सो भेलदेखि उतार्न एक व्यक्ति भगवान्कै रूप लिएर मसम्म आइपुगे । उनी ड्राइभर रहेछन् । उनले ‘ओइ खाते, खलासी गर्छस्’ भनेर बोलाएको प्रथम वाणी मेरो कानमा आज पनि गुन्जिरहेकै छ । मैले ‘खान पाए गर्छु’ भनिदिएँ । भगवानरुपी सो ड्राइभरले मलाई ‘काम गरेपछि खान पाइहाल्छस् नि’ भने । यसपछि तिनै ड्राइभरको गाडीमा बसेर मैले जिन्दगीको आगामी यात्रा सुरु गरें । उनले मलाई चक्रपथको गाडीमा खलासी गर्न सिकाए । ४/५ दिनमा मैले काम सिकी पनि हालेँ । खाना र कपडा बाहेक मलाई अरू केही दिएका थिएनन्, तर त्यो पनि मेरो लागि ठुलो कुरा थियो ।
अलिपछि, ‘यतिका काम गरिसकेँ, अलिकता पैसा दिनु न’ भनेर मागे । तर, उनले उल्टै हप्कार्दै भने, “तँलाई मैले रोडदेखि उठाएर यहाँ ल्याएँ । खलासी सिकाएँ । एक सरो कपडा पनि दिएकै छु । खान पाएकै छस् । अब अरू के खोज्छस् ?’ उनी यतिमै रोकिएनन्, यसपछि तथानाम गाली गर्दै मलाई कुटे । उनले लगाएका सबै कपडाहरू धुने काम म नै गर्थे, त्यसपछि दिन हू टोकसो । मैले त्यो दाइको गाडी छोडेर हिँड्ने विचार गरेँ ।
त्यो गाडी छोडेको केही समयपछि अर्को गाडीमा पुगेँ । गाडीको नम्बर बा २ ख २३०४ थियो । गाडी साहुको नाम मीनबहादुर आले मगर थियो । उनले मलाई खाएर/बसेर १० हजार तलब दिन्थे । यहाँ काम गरिरहँदा मलाई अघिल्लो गाडीमा भन्दा धेरै सजिलो भयो । म खुसी पनि भएँ । तर, यतिबेलासम्म मैले म भागेर निस्किदा घरमा के बित्यो होला भनेर सोच्न भ्याएको थिइनँ । म गाडीकै काममा रमाइरहेको थिएँ ।
यसैताका, मलाई ममी र हजुरबुबाहरूले भेट्टाउनुभयो । ममीले रुँदै मलाई अँगालो मार्दै भन्नुभयो, “तँ कहाँ थिइस्, किन फोन नगरेको ?” उहाँले मलाई घर फर्किन र मैले जे चाह्यो, त्यो दिलाइदिने बोल/कबुल पनि गर्नुभयो । तर, मलाई यसै घर फिर्नु थिएन । केही भएर मात्रै घर फर्किनु थियो । ‘ममी म, जान्न, म यही काम गर्छु’ भन्दै मैले उहाँहरूलाई फर्काइदिएँ । बाबाले विदेशबाट पठाइदिएको सानो मोबाइल दिँदै ममीले भन्नुभयो, “फोन सधैँ गर्ने गरेस् । राम्ररी बसेस् ।”
५ महिनासम्म घर-परिवार राम्रो थियो । एकदिन ममीले फोनमा रुँदै भन्नुभयो, ‘तेरो बाउले पैसा नि पठाउँदैन । घरमा ऋण छ, साहू आएको आयै छ भन्नुभयो ।” मैले ममीलाई सम्झाउँदै भनेँ, ‘ममी चिन्ता नलिनु, म छु ।” यसपछि मैले गाडी साहूलाई ‘घरमा प्रबल्म छ, मलाई तलब कम भयो’ भनेँ ।
उहाँले ‘तँलाई खाना नखुवाईकन १५ हजार दिन्छु’ भन्नुभयो । मैले त्यहीँ भए पनि हुन्छ भनेँ । अनि यसपछि मैले बिहान चाउचाउ र साँझ खाना खाने गर्न थालेँ । बिस्तारै मैले घरमा १५ हजार नै पठाउन थालेँ । अलिअलि चोरचार पनि गर्थे, र त्यहीँ पैसाले खाने जोहो गर्थेँ ।
बिस्तारै जिन्दगी चलिरहेको थियो, यसैगरी नै ।
यसपछि एकजना दाइले ‘इन्डिया जाऊँ, पैसा कमाइन्छ’ भनेँ । ‘हुन्छ, जाऊ’ भनेर दसैँको टिकाको भोलिपल्ट भारत लागेँ । मलाई काम के हो, कता कमाइ हुन्छ, कुन ठाउँ हो, केही पनि थाहा थिएन । कपडा बेच्ने कम हो’ भन्ने सुनेको थिएँ । चिनेको दाइ थिए, म उनकै भरमा सिलगुढी पुगेको थिएँ । दाइले एक होस्टेलमा पुर्याए । म त हेरेको हेर्यै भएँ । त्यहाँ ६०/७० जना मानिसहरू थिए । मैले दाइलाई सोधेँ, ‘यी सबै मान्छे यही काम गर्ने हुन् ?’ उनले ‘हो’ भन्ने जनाउ दिन टाउको हल्लाएँ । यसपछि अर्को देशमा मेरो पहिलो रात बित्यो, हामी सुत्यौँ ।
दाइले ७ दिनको ट्रेनिङ हुने बताएका थिए । भोलिपल्ट अफिस पनि पुग्यौँ तर त्यहाँ कोही मान्छे थिएन । ट्रेनिङको लागि १६ हजार नेपाली लाग्छ भनेकाले ममीको सुन बेचेको थिएँ । पछि ट्रेनिङ नामको क्लास पनि सुरु भयो, मान्छेहरू पनि आए । ट्रेनिङको ७ दिनसम्म मोबाइल चलाउन दिइएन । यसपछि इन्टरभ्यु लिगियो । पास नै भएँ । त्यसपछिका दिनहरूमा पो थाहा पाएँ, ‘लुगा बेच्ने भनेर गएको काम त, यसैगरी मान्छे फसाएर यहाँसम्म ल्याउने पो रहेछ ।’ जति मान्छे ल्याउन सक्यो, उति पैसा हुने रहेछ । मैले मान्छे ल्याउन सकिनँ । ६/७ महिना पछि म नेपाल नै फर्किएँ ।
म काठमाडौं आएर पहिल्यैका काम गर्न थालेँ । खलासी भनेर दुनियाँको गाली सहनुपर्थ्यो, जुन गाली म यहाँ लेख्न चाहन्न । साहुको, ड्राइभरको, प्यासेन्जरको, ट्राफिक पुलिसको । सबैको गाली सुन्नुपर्थ्यो । म त्यो गाली सुन्दै रहें, कामलाई निरन्तरता दिँदै गएँ। यसपछिका दिनहरूमा मैले घरको ऋण तिर्नको खातिर कमाएको सबै पैसा ममीलाई पठाउन थालेँ । तर, पैसा जति भए पनि कहाँ पुग्ने चिज रहेछ र ? उता ब्याज पनि त मेरो तलबलाई ढड्नेसो सिकाउने गरी बढिरहेकै थियो ।
यसैबिच एउटा दाइले मलाई गाडी सिकाएँ, यो मेरो लागि कोसेढुंगा साबित भयो । बिस्तारै बिस्तारै गर्दै गाडी चलाउन सिकेँ । साना-मझौला गाडीहरू चलाउन सक्ने भएँ । गाडी चलाइरहँदा मलाई सधैँ एक किसिमको उत्साह जस्तो लाग्ने गर्थ्यो । ‘खलासी पनि मान्छे हो’ भन्ने कुरा मलाई स्टेरिङमा हात राखेको हरेक पल लागिरहने गर्थ्यो । अरू गाडीका खलासीलाई देखेर पनि दयाभाव रहन्थ्यो, एउटा विद्रोह पनि रहन्थ्यो । खलासी हुनु भनेको अरूको गाली खाने हुनु मात्रै हो र ? सहरका मान्छेहरू खलासीलाई किन नराम्रो नजरले मात्रै हेर्छन् ?
गाडी चलाउन सिकिरहेको थिएँ, लाइसेन्स निकाल्ने विचार गरेँ । ड्राइभिङ स्कुलमा भर्ना भएँ । हप्ता दिनमै म सानो गाडीका लागि परफेक्ट भएँ । लाइसेन्सको फर्म भरेको ३ महिनापछि मेरो पालो आयो । लिखित राम्रो भयो । लाइसेन्स लिनको लागि अलिअलि पैसा खर्च हुने रहेछ, जो तत्काल मसँग थिएन । वरपरका आफन्तजनहरूलाई पुकारे, आफ्नो समस्या सुनाएँ । तर, उनीहरूले मलाई पत्ताएनन् । म खलासी भएका भएर उनीहरूले नपत्ताएका हुन्, म ड्राइभर हुन्थे भने उनीहरूले मलाई पत्ताउँथे । ‘यो खलासीले तिर्न त के तिर्ला र ? पैसा लिएकै दिनदेखि भाग्ला’ भन्ने मेरा आफन्तजनहरूलाई लागेको हुँदो हो सायद । यसैबिच लकडाउन आयो । ट्रायलको दुई दिन अगाडी लकडाउन सुरु भइदियो । अभागी खप्पर भने चुपो लागेर बसेँ । लकडाउन ६ महिना लामो चल्यो । घर गएँ । त्यतिबेला बुबाले घर व्यवहार सम्हालिरहनु भएको थियो ।
जसै लकडाउन खुल्यो, काठमाडौं आएँ । गाडी चलाइरहेकै थिए,तर लाइसेन्स नभएकाले त्रास रहिरहन्थ्यो । दुई महिनापश्चात् ट्रायलको पालो आयो । ममीसँग ५ हजार उल्टो मागे, मैले कम गरिरहेको साहुसँग १० हजार मागे । जे होस्, ट्रायल पास गरें । मेरो हातमा लाइसेन्स प्राप्त भयो । यो खुसीलाई म यहाँ लेख्नै जान्दिनँ । माथि आकाशमा उडिरहेको कालो काग मै हुँ जस्तो पो लागेको थियो । हेहे.. ।
लाइसेन्स भएपछि काठमाडौंमा रोजिछाडी लोकल गाडीहरू चलाउन पाइन्छ । पैसा पनि ठिकै हुन्छ । तर, जुन व्यवहार खलासीलाई गरिन्छ, त्यो व्यवहार ड्राइभरमाथि पनि गरिन्छ । ट्राफिक प्रहरीको व्यवहार सधैँको उस्तै रहन्छ । उनीहरू हामी ड्राइभरहरूमाथि हरहमेसा खन्नीरहेका हुन्छन् । बिग्रिएका साँघुरो बाटो, टन्टलापुर पानी, मुसलधारे झरी, देशको बेथिति आदिआदिको रिस हामीमाथि खन्याइरहेका हुन् जस्तो लाग्छ ।
बिस्तारै मैले घर समाजमा पनि इज्जत पाएँ, जुन इज्जत खलासी हुँदा मलाई प्राप्त थिएन । तर, ड्राइभरमाथि गरिने व्यवहार पनि राम्रो चाहिँ छैन, कति ड्राइभरहरू पनि दुर्व्यसनीमा फसेका र फोहोर शब्दहरू बोल्ने गर्छन् । तर, सबै त्यस्ता छैनन्, म त्यस्तो छैन । म यति भन्न चाहन्छु, ‘ड्राइभर पनि मान्छे हुन्, गाली नगर्दिनुहोला । किनभने उनीहरू नभईकन केही कुरा पनि चल्दैन । हजुरको घरमा खाने चामलसम्म आउँदैन । तपाईं बिरामी हुँदा त्यही ड्राइभर नै हो, हजुरलाई हस्पिटलसम्म पुर्याउने । र,.. हजुर मर्दा त्यही ड्राइभर नै हो हजुरलाई मसान घर, मुर्दा घरसम्म लैजाने । ड्राइभर मान्छे हुन्, उनीहरू पनि सम्मानको लायक छन् ।”
यसपछि मैले बस चलाउन छाडेर एम्बुलेन्स चलाउन थालेँ । जसै एम्बुलेन्स चलाउन थालेँ, म अक्क-बक्क-छक्क परिगएँ । अरे यार, यहाँ त सम्मान नै सम्मान छ । एम्बुलेन्स चलाउने ड्राइभर भनेपछि त भगवान् सरह मानिएको छ । बस चलाउने पनि ड्राइभर, एम्बुलेन्स चलाउने पनि ड्राइभर ! तर, यो विधि भेदभाव किन ? बस चलाउनेलाई त्यो विधि गाली र दुर्व्यवहार गर्नेहरू एम्बुलेन्स चालक (अझ दाइ, सर ) जस्ता अति विशिष्ट सम्बोधनको पुष्प गुच्छाले पो पुकारिरहेका.. बाफरे ! स्वार्थी मान्छेको जात, आफ्नो मान्छे जोगाउँछ भनेर त्यो विधि इज्जत दिएका होलान् । तर, कहिलेकाहीँ ल्याउँदा ल्याउँदै बिरामीको अकस्मात् मृत्यु होइदिनुपर्छ, अनि देखिन्छ तिनै भद्र-भलाद्मीहरूको वास्तविक रूप । मान्छेको भित्रको राक्षसको रूप ।
खैर, म आफ्नो कथा बिसाउँछु अब,
म अहिले एम्बुलेन्स चलाइरहेको छु । म त्यही मान्छे हुँ, जो बसको खलासी हुँदा ‘खाते’ नामले पुकारिन्थेँ । अहिले तिनै मान्छे मलाई ‘सर, नमस्ते’ भनिरहेका हुन्छन् । दिनरात नभनीकन काम गरिरहेको छु, मलाई मेरो पेसाप्रतिको धर्म थाहा छ । मेरै कारण कसैले जीवन पाइरहेको छ भने त्योभन्दा ठुलो कुरा अरू के हुन् सक्छ र ? त्यसमा पनि मैले ‘मलाई खाते’ भन्नेहरूलाई बोक्दिनँ भनेको छैन । म धनी/गरिब नभनी सबै बिरामीलाई बोकेर काठमाडौंमा दगुरिरहेको हुन्छु । जीवन के रहेछ, मृत्यु के रहेछ बुझिरहेको छु ।
मैले जीवनको यो क्षणसम्म आइपुग्दा यति बुझे,’हरेक मान्छेको दिन आउँदो रहेछ किनभने ‘एउटा खातेको त दिन आयो ।’