संसारको सबैभन्दा ठुलो आश्चर्य के होला त ? भन्ने प्रश्नको जवाफ खोज्दै जादाँ हजारौं बर्ष पहिले देखि अहिले सम्मको ईतिहास केलाउन पुगें ।
– महेन्द्र रावल
संसारको सबैभन्दा ठुलो आश्चर्य के होला त ? भन्ने प्रश्नको जवाफ खोज्दै जादाँ हजारौं वर्ष पहिलेदेखि अहिलेसम्मको इतिहास केलाउन पुगेँ । यसरी संसारको सबैभन्दा ठुलो आश्चर्यको खोजी गर्दै गर्दा मैले विभिन्न कालखण्डहरुको यात्रा गर्दै विभिन्न ऐतिहासिक घटनाक्रमसँग साईनो गाँस्दै ती इतिहासका बिर्सन नसक्ने घटनाहरुको एउटा पात्र बन्दै हिड्न पर्यो । विभिन्न कालखण्ड, ठूलाठूला घटनाहरू, मानिसका व्यवहार र उसले विकास गरेका धर्मसंस्कृति, रीतिथिति तथा रीतिथिति निर्माण गर्ने क्रममा घटेका र घटाइएका विभिन्न घटनाहरुको सुक्ष्म अध्यनन गरेपछि म एउटा निष्कर्षमा पुगेँ कि संसारको सबैभन्दा ठुलो आश्चर्य खोज्न व्यर्थैमा म दुनियाँका विभिन्न कालखण्ड र विभिन्न युगयुगान्तरका घटनाक्रमलाई केलाउन पुगेछु । व्यर्थैमा विभिन्न इतिहासका पन्नाहरू ओल्टाईपल्टाई गरेछु ।
मैले संसारको सबैभन्दा ठुलो आश्चर्यको खोजीमा त्यसरी विभिन्न देशदेशान्तर, विभिन्न कालखण्ड धाउनु पर्ने रहेनछ । न त विभिन्न इतिहासका पान्नाहरु नै उलटपुलट गर्नु पर्ने रहेछ । बस्, आफुलाई हेरेको भए म जान्ने रहेछु मैले खोजेको दुनियाँको सबैभन्दा ठुलो आश्चर्य । वास्तवमा म भित्र नै डेरा जमाएर बसेको रहेछ, मैले संसारका कुनाकाप्चा छानमारेको संसारको सबैभन्दा ठुलो आश्चर्य । दुनियाँ हेर्न भ्याएको मैले मलाई नै हेर्न भ्याएन छु र म भित्रको दुनियाँको आश्चर्यलाई देखेनछु ।
त्यसैले दुनियाँको सबैभन्दा ठुलो आश्चर्य म भित्र नै पाईसकेपछि मलाई गौतम बुद्धले एउटा वर्षौंसम्म ईश्वरको खोजीमा समय व्यतित गरेर ईश्वर भेट्न नसकेको मानिसलाई दिएको उपदेशको याद आयो । जहाँ एउटा मान्छे आफ्नो दु:ख मेटाउन, आफ्नो दरिद्रता मेटाउन र आफूलाई सर्वसम्पन्न बनाउन ईश्वरको खोजीमा विभिन्न देशका तिर्थहरु वर्षौसम्म यात्रा गर्छ तर कहीं पनि उसलाई ईश्वर नभेटेपछि ऊ निकै दु:खी भएर निरासजन्य भावमा रोइरहेको हुन्छ । त्यही बाटो हुँदै गइरहेका गौतम बुद्धले त्यसरी रोइरहेको मान्छेलाई देखेर उसको रुनुको कारण सोध्दा उसले सबै कारण बताउँछ । गौतम बुद्ध त्यस मान्छेलाई साँझ आफ्नो कुटीमा निमन्त्रणा गरेर आफ्नो बाटो लाग्छन् ।
साँझ बुद्ध केही खोजे जस्तो गर्छन् । यसरी बुद्धले केही खोजिरहेको थाहा पाएर उनका शिष्यहरुले ‘के खोज्नु भएको’ भनेर सोध्दा गौतम बुद्ध आफ्नो मणि हराएको बताउँछन् । त्यही बेला अघि बाटोमा वर्षौंसम्म ईश्वर खोजेर नभेटाएर रुँदै गरेको मान्छे पनि त्यहाँ आइपुग्छ । गौतम बुद्धको मणि खोज्न त्यो मान्छे पनि लागिपर्छ । धेरै बेरसम्म सबै मणि खोज्छन् तर, कतै पनि भेटाउदैनन् । मणि खोज्दा-खोज्दै झमक्कै रात पर्छ तर पनि मणि भेटिँदैन । मणि खोज्दा-खोज्दै थाकेर निरास भएको त्यो मान्छेले गौतम बुद्धलाई सोध्छ, “तपाईसँग मणि अन्तिम पटक कहाँ भएको याद छ, राम्रोसँग विचार गर्नुस् त?”
जसको जवाफमा गौतम बुद्द केही सोचे झैं गरि जवाफ दिन्छन्, “मसँग अन्तिम पटक मणि भित्र कोठामा भएको याद छ ।” त्यसपछि चिढिँदै त्यो मान्छे भन्छ, “अनि भित्र कोठामा भएको मणि अहिलेसम्म यहाँ बाहिर किन खोज्न लगाउनु भएको त ? मणि त भित्र नै खोज्नु पर्ने होईन र ?” जसको जवाफ गौतम बुद्ध मुस्कुराउँदै दिन्छन्, “हो भित्र भएको मणिलाई भित्र नै खोज्नु पर्छ, तपाईंले पनि आफू भित्र भएका ईश्वरलाई विभिन्न तिर्थस्थलमा खोजेर भेटाउनु हुँदैन । आफैं भित्र खोज्नुस् अवश्य भेटाउनु हुनेछ ।”
आज मैले पनि दुनियाँको विभिन्न देशदेशान्तर र कालखण्डको यात्रापश्चात् मैले आफूभित्र संसारको सबैभन्दा ठुलो आश्चर्य भेटाएको छु । संसारको सबैभन्दा ठुलो आश्चर्य भनेको त हामी भित्र रहेको सधैं जिउँदो रहने चाह पो रहेछ । जुन असम्भवभावी छ र अमिट्य पनि छ । हामीलाई पहिले नै थाहा हुने भनेको एउटा मात्र सत्य मृत्यु हो र यो नृत्य छ तर, पनि हामी सधैंभरि जिउँने चाह राख्छौँ । मान्छेको यहि असम्भवभावी कार्यलाई सम्भव बनाउन विभिन्न कालखण्डमा विभिन्न प्रयासहरु भए, ठूलाठूला युद्धहरू भए र भए इतिहासमै बिर्सन नसक्ने घटनाहरु तर पनि मान्छेले आफ्नो सधैंभरि जिउँन चाहने हठलाई त्याग्न सकेको छैन । यही हठले हजारौंको ज्यान जाँदा, इतिहासका पन्नाहरु बदलिदाँ, दुनियाँको भू-स्वरुप बदलिदाँ पनि मानिस निरन्तर लागिरहेको छ । उसलाई थाहा भएको एउटा मात्र सत्यलाई पनि असत्यमा परिणत गर्न यो भन्दा ठुलो आश्चर्य के हुन सक्छ दुनियाँमा !
मानिसलाई थाहा छ मृत्युबाट कोही पनि भाग्न सकेको छैन । दुनियाँमा जन्म लिने जो कोही पनि एक दिन निश्चय नै मर्छ भनेर अनि उसलाई यो पनि थाहा छ अहिलेसम्म जति ठूलै श्रेष्ठ र शक्तिशाली व्यक्ति पनि जिउँदो रहन सकेको छैन भनेर । दुनियाँमा मनुष्यले जिउँदो रहने विभिन्न उपायहरुको खोजी गरेको छ तर, अन्त्यमा मानिस सधैँ असफल साबित भएको छ । तर पनि मानिस दिनदिनै झनझन लागिपरेको छ- सत्यलाई मेटाउने असत्यको खोजीमा, यो भन्दा ठुलो आश्चर्य के हुनसक्छ दुनियाँमा ?
जब-जब मानिस सधैं जिउँने अर्थात् मृत्युको उपचारको खोजीको अन्तिम चरण पुग्ने गर्छ, तब दुनियाँले आफ्नो रुप र स्वरुप बदलेको छ, विभिन्न जातिप्रजातिको अस्तित्व मेटिएको छ । आज पनि सदियौंदेखि निरन्तर रुपमा भइरहेको विभिन्न अध्यनन, अनुसन्धानबाट असफल साबित भएता पनि सधैं जिउँने मार्गको खोजीमा मानव लागिरहेको छ । समुन्द्रको तल्लो पिँधदेखि सगरमाथाको चुचुरोसम्म पुगिसकेको मानव दिनदिनै विभिन्न यन्त्र, उपकरण र विज्ञान, प्रविधिको विकासमार्फत विभिन्न चमत्कारहरु गर्दै गएको छ । जसक्रममा मानवले आज अन्तरीक्ष तथा विभिन्न ग्रह र उपग्रहमा आफ्नो पहुँच कायम गर्न सफल भएको छ । जसले मानवलाई आफू मृत्युलाई पनि जित्न सक्छु तथा सधैंभरी जिउँन सक्छु भन्ने हौसला प्रदान गरेको छ । यो असम्भव छ ।
आज हाम्रो विज्ञानले जति उपलब्धि हासिल गरेपनि हामी ज्ञानले हासिल गरेको उपलब्धी भन्दा निकै पछि छौँ । ऊ बेला पनि मानिस, दानव तथा देवताहरुले विभिन्न उपकरणको उत्पति गरेका थिए, जसबाट उनीहरू केही समयमा नै सारा दुनियाँको फन्को लगाउन सक्थ्ये, काटिएका घाँटी जोड्न सक्थ्ये, जनावर उडाउँन सक्थ्ये, आफू उड्न सक्थे, सारा दुनियाँ एकै अस्त्रले ध्वस्त बनाउन सक्थ्ये, हावा पानी अग्नि र दुनियाँका प्रत्येक चक्रमा उनीहरुको पहुँच थियो । सारा ब्रहमाण्ड र ब्रहमाण्ड बाहिर पनि उनीहरुको पहुँच थियो भन्ने कुरा इतिहासका पन्नाहरूमा छरपष्ट छन् ।
यसरी हेर्दा त्यसरी विकसित दुनियाँ समेत असफल साबित भएको कार्य गर्न हरेक पिढी लाग्नु दुनियाँको सबैभन्दा ठुलो आश्चर्य नभए के हुनसक्छ ? जो शाश्वत् छ, जो एकमात्र सत्य हो, जो अमिट्य छ, जो नित्य छ, त्यस्तो असम्भवभावी चिजलाई सम्भव तुल्याउन हरेक पिढी लाग्नु नै त एउटा आश्चर्य हो र यो नै त दुनियाँ बिनासको कारक बनेको छ तथा बन्ने छ । आज म जानकार भएको छु, दुनियाँको सबैभन्दा ठुलो आश्चर्यबारे अनि जानकार भएको छु, यो दुनियाँको अस्थित्वको अन्तिम क्षणको बारेमा । जब मृत्युको उपचार भेटिएर मानिस सधैं जिउँन सक्ने मार्गको नजीक हुनेछ त्यही दिन दुनियाँको अन्तिम दिन हुनेछ । यसलाई प्रमाणित गर्न धेरै कुरा गर्नै पर्दैन, जसरी पृथ्विले सुर्यको उल्टो परिक्रमा गर्ने छैन । जसरी समयको चक्र चल्न रोकिने छैन । त्यसरी नै मानिस मर्न छोड्ने छैन र यस सत्यलाई असत्य साबित गर्न खोज्नु नै संसारको सबैभन्दा ठुलो आश्चर्य हो ।