मगर जातिको मूल थलो कहाँ हो, यिनीहरूको नेपालमा आगमन कहिले कहाँबाट भएको हो र सबभन्दा पहिले नेपालमा कुन ठाउँमा यिनीहरूको बसोबास भएको भन्ने कुराको निदान आजसम्म कसैले पनि गरेको पाइँदैन ।
– विजय सागर
एकआपसमा श्रृङ्खलाबद्ध रुपमा हिमाल, पहाड र तराई भएको प्रकृतिले हराभरा मनोरम देश नेपाल परापूर्वकालदेखि विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, कला र संस्कृति अँगालेका समूहहरूको आरक्षस्थल रहिआएको छ । प्राचीनकालदेखि नै नेपालको नाम महाभारत, स्कन्दपुराण, गरूडपुराण, वराहपुराण आदि विभिन्न ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।
करिब ई.पू. ८०० देखि ६०० मा लेखिएको ‘अथर्व परिशिष्टमा’ नेपालको उल्लेख कामरुप, विदेह, उदुम्बर, अवन्ती, उज्जैन र कैकेय जस्ता देशहरूसँग गासिएको छ । ई.पू. ३२५ देखि ३७५ को सम्राट समुद्र गुप्तको इलाहावादको स्तम्भ अभिलेखमा छिमेकी राज्यको रुपमा नेपालको उल्लेख भएको पाइन्छ । यसबाट पनि नेपालको स्वतन्त्र अस्तित्वको बोध हुन्छ । चौथो शताब्दीका भारतीय सम्राट समुद्र गुप्तको अभिलेखमा नेपालको नामलाई विशेष महत्व दिनुबाट पनि यसको प्राचीनता तथा गौरव झल्किन्छ (उपाध्याय, २०६८ : १३) ।
लिच्छविकालमा नेपालको सीमाना कति फैलिएको थियो भन्ने कुरामा स्पष्ट विचार अहिलेसम्म आउन सकेको छैन । समुद्र गुप्तको स्तम्भलेखमा कुमाउँदेखि पूर्वपट्टि र आसामदेखि पश्चिमपट्टिको भाग नेपाल हो भन्ने परेको छ । डिल्लीरमण रेग्मीले अंशुवर्माका समयमा नेपालको सिमाना पूर्वमा दूधकोसीदेखि पश्चिममा गण्डकीसम्म फैलिएको थियो भन्ने विचार व्यक्त गरेका छन् । धनबज्र वज्राचार्यको विचारमा नेपालको सीमाना करिव वर्तमान नेपाल जतिकै थियो (उपाध्याय, २०६८ : ११०) ।
मगर जातिको मूल स्थान भू-मध्य सागरीय क्षेत्र
पुराना इतिहासकारहरूकाअनुसार मगर जातिको पूर्व इतिहास खोज्दा यिनीहरूको मूल स्थान भू-मध्य सागरीय क्षेत्र देखा पर्दछ । लगभग ६ हजार वर्ष इसापूर्वतिर भू-मध्य सागरीय क्षेत्रमा बस्ने जातिहरू सभ्य बनिसकेका थिए । त्यस क्षेत्रमा बढी गर्मी हुने हुनाले खप्न नसकी ‘मंगोल’ नामका एक व्यक्तिका तीन भाइ छोरा लगभग ईसापूर्व छ हजार वर्षतिर त्यहाँबाट क्रमशः पूर्वतिर बढ्दै गए । तिनीहरूको नाउँ ‘मुनाइङवा, थोवोइङवा र योवोइङवा’ थियो । ती तीनै भाइ केही वर्षपछि आपसमा फुटी मुनाइङवाका सन्तानहरू हिन्द महासागर, पञ्जाब, नैनिताल, गढवाल हुँदै पश्चिमी भेकबाट नेपाल प्रवेश गरेका थिए । मुनाइङवाका सन्तानहरूनै सर्वप्रथम ईसापूर्व २,३०० तिर नेपाल प्रवेश गरेको पाइन्छ (श्रीस थापा, २०७१ : ६–७) ।
आसाम डिम्बापुर वा पाटक पतञ्जलीबाट एक समूह आएको इतिहासकारहरूको भनाइ छ । नेपाल प्रवेश गर्ने मगर जातिमा यो समूहको दोस्रो स्थान छ । यिनीहरू पाटक पतञ्जलीबाट लगभग ईसापूर्व १,३०० नेपाल आएका हुन (श्रीस थापा, २०७१ : ९) । पाटक पतञ्जली शाखा योवोइङवाका सन्तान हुन् र यिनीहरू चीन, बर्मा, श्याम, आसाम पाटक पतञ्जली हुँदै नेपालको मध्यपश्चिम भागमा प्रवेश गरेका हुन् । नेपालमा मगरहरूको तेस्रो समूह उत्तरी भेक अर्थात मुस्ताङ घाँटीबाट प्रवेश गरेको पाइन्छ । यी मगरहरू लगभग ई.पू. १ हजारदेखि १५ सयतिर नेपाल प्रवेश गरेका हुन् । मुस्ताङबाट प्रवेश गर्ने यी मगरहरू थोवोइङवाका सन्तानहरू हुन् (श्रीस थापा, २०७१ : ११–१२) । साथै, मगरहरूको चौथो समूह सिक्किमबाट र पाँचौ समूह दक्षिण भेकबाट नेपाल प्रवेश गरेका हुन् (श्रीस थापा, २०७१ : १५ – १९) ।
मगरहरू नेपालका आदिवासीहरूमध्ये एक हुन् भन्नेमा कसैको पनि दुईमत छैन । आजसम्म पनि मगर जातिको मूल थलो कहाँ हो, यिनीहरूको नेपालमा आगमन कहिले कहाँबाट भएको हो र सबभन्दा पहिले नेपालमा कुन ठाउँमा यिनीहरूको बसोबास भएको भन्ने कुराको निदान आजसम्म कसैले पनि गरेको पाइँदैन । नेपालमा मगरहरू समूह-समूह गरी प्रवेश गरेका थिए । पहिलो समूह पश्चिम भेकबाट आएका मुनवाङका सन्तानहरू नै सर्वप्रथम ई.पू. २,३०० तिर नेपालमा प्रवेश गरेका थिए । दोस्रो समूह आसामबाट, तेस्रो समूह उत्तरी भेकबाट, चौथो समूह सिक्किमबाट र पाँचौ समूह दक्षिण भेकबाट नेपालमा प्रवेश गरेका हुन भन्ने भनाई पनि पाइन्छ (बराल मगर, २०६८ : ११ – १२) ।
हुणहरूले उत्तरबाट प्रायद्वीपमा जुन समय बाटो खोले त्यसको पछि-पछि अर्को जाति पनि आयो । हुणहरूको लगत्तै पछि आएको हुँदा यिनलाई पनि लोकले हुण नै भन्यो । तर यी हुण नभएर ‘हेप्ताल’ थिए । हुणहरूले झै यिनीहरूले पनि हिन्दूधर्म अपनाएर वर्णव्यवस्थामा प्रवेश गरे । यस प्रकार वर्णव्यवस्थामा प्रवेश गरे पनि त्यसको प्रभाव पछिसम्म पूर्णतया कायम रहन सकेन । हुणहरूले जस्तै हेप्तालहरू पनि ‘आयुधजीवी’ थिए । ईसाको आठौं शताब्दीपछि हिन्दू धर्म अपनाउनेमा हेप्तालहरू पनि हुन् । यी हेप्तालहरू हुण जातिसँग यस प्रकार मिसिएका थिए जसले गर्दा यिनलाई हुणबाट अलग हुन् भन्न कठिन पर्दछ ।
हुणहरू उत्तर र दक्षिणबाट आएर पार्वत्य प्रदेशमा स–साना राज्य खडा गरे भने त्यसै समयमा हेप्तालहरूले पनि आफ्ना स–साना राज्य खडा गरे । हुणहरू यहाँ आएर ‘मगर’ कहलाए । ईसाको आठौं शताब्दीपछि हेप्तालहरू हिन्दूधर्ममा दीक्षित भएर क्षत्रिय भएपनि अघि भनिए जस्तै पछि त्यसलाई कायम राख्न असमर्थ भए । त्यसैकारण जाति भ्रष्ट भएका ठकुरीहरू नै पछि गएर मगर भएका हुन भन्ने जनविश्वास छ (शर्मा, २०५८ : २४३) ।
नेपालका विभिन्न भूभागमा फैलिएर रहेका मगरहरू कताबाट नेपाल प्रवेश गरेका हुन् भन्ने कुरालाई मगरको जातीय अध्ययन (Ethnographic Study) गर्ने जन हिचकक् (John H. Hitchcock) तथा अन्य विद्वानहरूले पनि स्पष्ट गर्न सकेका छैनन् (भट्टराई, २०५४ : ९६) । मगर जाति र मग्वर विषयमा विभिन्न विद्वान्हरूका केही तर्कहरू निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

तस्बीर सौजन्य: विकिपीडिया
मगर जाति
नेपालमा विभिन्न जात जातिहरूको सन्दर्भमा किराँत, खस, ब्राह्मण, क्षत्री बाहेक मगरको प्रसङ्ग इसाको एघारौँ शताब्दीदेखि देखिन्छ । नेवारी शब्दहरू यसै शताब्दीतिरबाट अभिलेखहरूमा फाट्टफुट्ट पाउन सकिन्छ । नेवारी भाषा चौधौं शताब्दीबाट मात्रै लिखित रुपमा आउन थालेको देखिन्छ । ईसाको सत्रौं शताब्दीको प्रताप मल्लको अभिलेखमा पहिलोपटक ‘नेवार’ शब्द प्रयोग भएको पाइन्छ । त्यसैले यसै बेलातिर आउँदा नेपालका पहाडी क्षेत्रमा राई, लिम्बू, सुनुवार, गुरूङ, मगर, खस, मुर्मि (तामाङ), मुसलमान, सन्यासी, दमै, कामी, सार्की, गाइने जस्ता जातिहरू प्रचलनमा आइसकेको देखिन्छ । (कुँवर, २०७३ : २१६)
एउटा भनाइ छ, ‘मगर जाति एउटा झ्याङ हो ।’ यसैले झ्याङमा कति लहराहरू जेलिएका छन् छुट्याउन र गन्ती गर्न सकिन्न । हुन पनि अहिलेसम्म मगर जातिका थर र उपथरहरू यति नै छन् भनेर कसैले पनि ठोकुवा गर्न सकेका छैनन् । मगरहरूको थर भित्र सयौँ थर र उपथर भित्र पनि धेरै खलक र खलक भित्र पनि धेरै वंश तथा गोत्रहरू हुन्छन् । तिनको पनि नाउँ छुट्टाछुट्टै हुन्छ । हालसम्म देखा परेका निम्न मुख्य थरहरू राना, थापा, आले, घर्ती, बुढाथोकी र पुन हुन् । (श्रीस थापा, २०७१: २१ – ३२)
(१) रानाका उपथरहरू – १७९
(२) थापाका उपथरहरू – ३७७
(३) आलेका उपथरहरू – १६२
(४) बुढाथोकीका उपथरहरू – २७
(५) घर्तीका उपथरहरू – ५७
(६) पुनका उपथरहरू – ४९
मग्वर विषय
ने.सं. २२१ अर्थात ई. ११०१ को ताम्रपत्रमा “मग्वर विषय” का सामन्त रामदेवको उल्लेख छ । त्यसमा सताडे भन्ने ठाउँमा झाण्टेश्वर महादेवको पूजाआजाको बन्दोबस्तको लागि (?) – “श्री इदाभावो नायक”, “श्री धक्नप नायक” र “श्री सोहव राने” लाई गोष्ठी र पाञ्चालीका सदस्यहरूले नाइके छानिएको कुरा लेखिएको छ ।
माथि चर्चित “मग्वर विषय” स्पष्ट छ । मगर जातिसँग सम्बद्ध क्षेत्र हो । यो सन्दर्भबाट मगर बासिन्दाका नामबाट एउटा जिल्ला वा सामन्त क्षेत्रको नामकरण नै भइसकेको ई. १,१०१ को यो सन्दर्भले मगर जातिको अस्तित्व इतिहासबारे अनुमान गर्ने आधार दिएको छ ।
यो ताम्रपत्र कहाँबाट पाइएको हो थाहा पाइएको छैन । तर, यो मध्य पश्चिमी नेपालबाट पाइएको अनुमान गर्न सकिन्छ (कसैले यो ताम्रपत्र बन्दीपुरमा पाइएको हो भनेको पाइएको छ) । माथिको चर्चाबाट ई. ,११०१ सम्म मगरहरू पश्चिमी नेपालको कुनै पहाडी भेकमा बसोबास गर्न थालिसकेको र तिनले आफू बसेको ठाउँको नामकरण ‘मेग्वर’ को रुपमा गरिसकेको बुझ्न सकिने हुँदा उक्त समयभन्दा सय/पचास वर्ष अगाडिको मगरको यस भेकमा सम्पर्क भएको अड्कल गर्न सकिन्छ (रेग्मी, २०५३ : २०१) ।
मंग्वर वर्तमान मगरको पूर्वरुप थियो । मगरहरू ‘नागजाति’का रुपले परिचित छन् । सेन वंशावलीमा मगरजातिलाई नागजाति उल्लेख गरिएको छ । किराँतजाति सिंह, लिम्बुलाई महाव्याध्र भने जस्तै मगरलाई नागजाति भनेको कुरा यहाँ स्मरणीय हुन आउँछ । मंग्वर विषय वा पन्नग विषय भनेको मगरात प्रदेश भनेर बुझ्नु पर्दछ । पश्चिम नेपालको गण्डकी क्षेत्रभित्र पर्ने मंग्वर विषयमा, यस्तो ठाउँ सेती नदीको प्रस्रवण क्षेत्र पोखरादून देखिन्छ (नेपाल, २०५४ : ६६ – ६७) ।
बाह्र मगरात, मग्वर विषय र भुरे मगर राज्यका बारेमा विभिन्न विद्वान्हरूले आ–आफ्नै तरिकाले स्थलगत प्रभावको आधारमा ऐतिहासिक विश्लेषण गरिएको छ । यसै सन्दर्भमा – “हालको स्याङ्जा जिल्ला भित्र चारवटा चौबीसे राज्यहरू पर्दथे, जुन यस प्रकार छन् : गहौंकोट राज्य, भिरकोट राज्य, सतौंकोट राज्य र नुवाकोट (नयाँकोट) राज्य । मध्यकालमा आएर यस जिल्लाको पश्चिम क्षेत्रमा १२ मगराँत मध्येका केही भुरे राज्यहरू थिए भने जिल्लाको पूर्वीभागमा टाकुरे राज्य मध्येका राज्यहरू थिए । जसमा मगरात (भुरे) राज्य मगरहरूको राज्य थियो । टाकुरे राज्यहरू गुरूङहरूका राज्य थिए ।
मगरहरूको राज्यकालमा धातुहरूको विकास भएको थियो । तामा खानी, फलाम खानी आदिबाट धातुहरू निकाली प्रयोग गरिन्थ्यो । तामा खानीलाई ‘आग्री’ भनिन्थ्यो भने फलाम खानीलाई ‘किटीया’ भनिन्थ्यो । तर, कालान्तरमा मगर राज्यहरू टुक्रिदै गए । राज्यहरू साना र धेरै भए । अनि कमजोर बन्दै गए (खाण, २०६३ : ७४ – ७५) । रूद्र सिंहलाई चन्दवंश भन्दा अघिका प्यूठानका मगर राजाको सम्भावना देखाइए पनि मगरहरूको राज्यबारे प्रमाणित आधार उपलब्ध छैनन् ।
केवल मगरहरूको बाहुल्यता देखिनु र वंशावलीमा खाम राजाका देउता मान्न थाले भन्ने पाइनु र प्यूठान पनि बाह्र मगरात भित्र पर्ने हुँदा चन्द वंशको उदय पूर्व खसहरूको क्षेत्रमा हुँदा पनि स्थानीय शासनमा मगरहरूको हैकम भएको सम्भावना छ । किनभने यहाँको किम्वदन्तीमा पनि प्यूठानी राजा भागेर जाँदा विभिन्न जातका मानिसहरूमा मगर पनि साथै गएका थिए भनिन्छ । यसैलाई आधारमानी माझकोट र भित्रिकोटका मगरहरूले आफूलाई राज खलक भनी गौरव गर्दछन् (गिरी, २०६२ : १७) ।

तस्बीर सौजन्य: हिमालयन कल्चर, प्रदिप खम्बु राई
मगर भाषा
भाषा वैज्ञानिकहरूकाअनुसार मगर भाषा तिब्बत बर्मेली परिवार भित्र पर्दछ । मगर भाषालाई तीन भागमा विभाजन गरेर हेर्ने गरिन्छ । ती हुन् – मगर ढुट, मगर खाम/पाङ र मगर काइके । यीमध्ये मगर ढुटका वक्ताहरू अत्यधिक सङ्ख्यामा रहेको पाइन्छ । यो भाषा बोल्ने मगरहरू पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी हुँदै पूर्वमा उदयपुर, सिन्धुली, धनकुटा, दार्जलिङ र भुटान हुँदै पश्चिमतिर सुर्खेत जिल्लासम्म बोल्ने गरेको पाइन्छ । मगर खाम/पाङ विशेष गरी रोल्पा, रूकुम जिल्लाका मगरहरूले बोल्ने गर्दछन् ।
सबभन्दा कम मगरहरूले बोल्ने मगर भाषा काइके हो । जुन डोल्पाको सहरतारा, टुपतारा र ताराकोट तीन गाउँमा बोल्ने गरिन्छ (थापा मगर, २०६४ : ९८) । खस साम्राज्यकालमा गण्डकी प्रदेशकै तनहूँ, भिरकोट, पाल्पा, गुल्मी र प्यूठान भेखमा मगर जातिका मुखियाहरूले अधीनस्थ सामन्तका रुपमा स्थानीय शासन चलाएका थिए । खस साम्राज्यको सेना र प्रशासनमा मगरहरूको महत्वपूर्ण भूमिका थियो । पुण्यमल्लको वि.सं. १३९३ को कनकपत्रमा हुम्लादेखि दाङसम्मका प्रेक्ष्यक, अडै, अधिकारी, महर (मगर) र महतौ (थारू) समेतलाई सम्बोधन गरिएको छ । खस साम्राज्यको सैन्य व्यवस्थालाई सशक्त बनाउनमा खस र मगरहरूकै प्रमुख योगदान थियो ।
मगरका थरहरू सिञ्जाली, सिञ्जापति, थापा, राना, बुढाथोकी, खड्गा, भण्डारी, रोकाया आदिले सिञ्जा राजधानीमा उनीहरूको उपस्थिति र त्यहाँको सेना तथा प्रशासनमा उनीहरूको ऐतिहासिक योगदानलाई प्रष्ट पार्दछन् । खस साम्राज्यको अवसानपछि मात्र मगर सामन्त राजाहरूले खस, सेन, शाह आदिका रुपमा आ–आफ्नो थर परिवर्तन गरी आफूलाई स्वतन्त्र राजा घोषित गरेका थिए । थर र जात परिवर्तन गरी मगर शासकहरूले आफूलाई ठकुरी भनाए भन्ने सम्बन्धमा मानवशास्त्रीहरू पनि सहमत छन् (अधिकारी, २०६१ ः ८७ – ८८) ।
बाह्र मगराँत र अठार मगराँत
नेपालको इतिहासमा बाह्र मगराँत र अठार मगराँत सम्बन्धमा विद्वानहरूको आ–आफ्नै धारणाहरू छन् । केही धारणाहरू यहाँ समावेश गरिएका छन् ।
बाह्र मगराँत मगर जातिको राजनीतिक इतिहास मात्र होइन, सिंगो नेपालको राजनीतिक इतिहासमा बाह्र मगरातको विशेष महत्व छ । मगरहरूको मुख्य बसोबास रहेको क्षेत्र भेरी र मर्स्याङ्दी नदीको जलाधार क्षेत्रको मध्य पर्वतीय भू-भाग र यिनकै तल्लो हिस्साको अधिकांश क्षेत्रलाई बाह्र मगराँत भनिन्छ, जसअन्तर्गत सतहुँ, पैयुँ, भिरकोट, ढोर, गरहुँ, रिसिङ, घिरिङ, गुल्मी, अर्घा, खाँची, मुसिकोट र इस्मा क्षेत्र पर्दथे ।
अर्को शब्दमा हिमालय पर्वतको मध्य र तल्लो भाग, भेरी र मर्स्याङ्दी नदीबीचको भाग मगरात थियो (हज्सन, श्रीस, मल्ल) । यी राज्यहरू चौबीसे अन्तरगत पर्दथे । मर्स्याङ्दीदेखि प्यूठानसम्मको प्रदेशलाई बाह्र मगराँत, सल्यानदेखि पश्चिमका प्रदेश खसान्त र माथिल्लो भेग जुम्लालाई भोटान देश सुनकोसीदेखि टिस्टासम्म किराँत प्रदेश कहलाइएको पाइन्छ । गोपीनाथ शर्माकाअनुसार चौबीसी राज्यको इतिहासलाई हेर्दा प्राचीन बाह्र मगराँत रहेको गण्डकी क्षेत्रमै चौबीसी राज्यको स्थापना भएको उल्लेख गर्दै बलिहाङ राज्य, बल्ढेङगढी र गोरखा राज्यलाई पनि चौबीसी राज्यमा समावेश गरेका छन् (बुढा मगर, २०७१ : ७१) ।
लिच्छविहरूको आधिपत्यकालमा यस प्रदेशमा ठूलो बस्ती भएको देखिन्छ । यस भेखमा फैलिएको ‘बाह्र मगराँत’ को पाल्पा पनि एक अङ्ग थियो र यसलाई मगराँत भन्ने गरिएको थाहा हुन आउँछ । सेनहरू पाल्पा आउनुभन्दा अगाडि यहाँ यिनै मगरहरूको भुरे राजाहरू भएको बुझिन्छ । यी राजाहरू गाउँ-गाउँमा अलग-अलग रहने गर्दथे र आफ्नो गाउँमा उनीहरूको सर्वाधिकार कायम थियो । यस किसिमका भुरे राजाहरूले डाँडा-डाँडामा स्थानीय शासन चलाउने गरेको र उनीहरूमध्ये कसैले पनि आफ्नो अधिकार विस्तार गर्ने प्रयत्न नगरेकाले स्वतन्त्र राज्य बन्न सकेनन् । काठमाडौं उपत्यकाका शासकहरूकै अधीनमा रही स्थानीय प्रशासन मात्र संचालन गरी रहेको अनुमान गरिन्छ (सूचना विभाग, २०३१ : ७७३) ।
कर्णाली र गण्डकी प्रदेश बीचको भाग अनेक राज्यमा विभाजित रहँदासम्म मगरहरूको पनि आफ्नै राज्य थियो । अनि यस क्षेत्रलाई मगरहरूकै नामबाट बाह्र मगराँत आदि भन्ने चलन थियो भनी उल्लेख गरिएको पाइन्छ । मगराँत क्षेत्र भनी पश्चिम नेपालको पहाडी प्रदेशलाई किटानसाथ भन्ने गरिएको भए तापनि काली गण्डकीभन्दा पश्चिम कर्नालीभन्दा पूर्व चूरे वा शिवालिक पर्वतभन्दा उत्तर अति हिमपात हुने हिमाली भागदेखि दक्षिणको विशाल भू-भाग मगरहरूको मूल थलो हो भनी जनकलाल शर्माले उल्लेख गरेका छन् ।
यसरी मगराँत क्षेत्रले विशाल भू-भाग ओगटेको भए तापनि मगरात क्षेत्रको केन्द्रबिन्दुको रुपमा पूर्व-मध्यकालतिर पाल्पा राज्य मगरातको नामले सुप्रसिद्ध भएको थियो । विक्रमको १२औं शताब्दीमा नेपालका राजा इन्दुदेव शंकरदेवको शासनकालमा सामन्तहरूद्वारा शासित पश्चिमका कतिपय प्रान्तमध्ये गुल्म विषय, मग्वर विषय आदि पनि थिए । मग्वर विषय भनी मगराँतलाई सम्बोधन गरिएको र सो मगराँत पाल्पा भएको अनुमान विष्णुप्रसाद घिमिरेको छ ।
यसैगरी, विदेशी विद्वान हयामिल्टनले आफ्नो An Account of Kingdom of Nepal मा पाल्पा जिल्ला विशाल मगराँतको एक मुख्य भाग रहेको र यहाँ मगरहरूको ठूलो बस्ती रहेको उल्लेख गरेका छन् । यी विविध प्रसङ्गहरूबाट के कुरा प्रष्ट हुन्छ भने तात्कालिक बाईसी/चौबीसी राज्यहरूमा केही राज्यहरू मगर राज्य थिए । तात्कालिक मगराँत क्षेत्रभित्र हालका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, रूकुम, रोल्पा, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा, बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, नवलपरासी, तनहूँ र गोरखा जिल्लाहरू पर्दछन् र विशेषतः पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँचीमा तात्कालिक मगरहरूको निकै बाहुल्य रहेको बुझिन्छ । त्यसैले पाल्पाका राजा मुकुन्दसेनलाई ‘मगर राजा’ भन्ने उल्लेख केसर पुस्तकालयमा रहेको “नारद स्मृतिमा” पाइन्छ (पन्थी, २०५८ : ७५ – ७६) ।

Man from Magar Tribe
अठार मगराँत
नेपालको इतिहासमा मगराँत र बाह्र मगराँतको चर्चा पाइए पनि अठार मगरातको चर्चा भने नगण्यरुपमा पाइन्छ । बमकुमारी बुढा मगरकाअनुसार नेपालको इतिहासमा मगरहरूले राज्य गरेको बाह्र मगरात जस्तै अठार मगराँतको पनि राजनीतिक सीमा–संरचना थियो ।
बुढामगरकाअनुसार अठार मगराँत अन्तरगत धुरकोई (धुर्कोट, गुल्मी), घारकोई (अर्घाखाँची), पैया (पर्वत), सिङखङ (सिख, म्याग्दी), ढोरपाटन (बागलुङ), नारीकोई (नारीकोट, प्यूठान), बालुङबाङ (भालुबाङ, प्यूठान), जङकोई (रोल्पा), रूकुमकोई (रूकुम), इस्मा (सल्यान), छिलिकोई (दाङ), भाबा (दैलेख), बोरेकोई (जाजरकोट), ताराकोई (डोल्पा), तिमरकोई (जुम्ला), जुराल (डोटी), लु लान्य (डडेलधुरा) र रू पाल (डडेलधुरा) गरी अठार राज्य थिए । अठार मगराँतका मगर राज्यहरूको अस्तित्व भने जुम्ला सिञ्जा राज्यको स्थापना पछि विस्तारै समाप्त हुँदै गएको थियो । रूकुमको गोताम राज्यको अन्तिम मगर राजाको चित्रीपाटनस्थित ग्रीष्मकालीन दरबारको भग्नावशेषमा अहिले पनि जाँडरक्सी चढाएर पूजा गर्ने चलन कायमै छ ।
मगर इतिहासका लेखक एच.बी. थापाकाअनुसार इतिहासमा मगरहरूको राज्य कर्णालीसम्म फैलिएको थियो । भारतबाट आएका आर्यहरूको पहिलो आक्रमण अठार मगराँत भाषी (खाम भाषी) हरूले सामना गरेका थिए तर पराजित भए पछि त्यहाँको मगराँत राज्यको ठाउँमा सिञ्जा खस राज्य स्थापना भएको हो । उनै थापाको कथनअनुसार नेपालको इतिहासमा पाल्पाका मुकुन्दसेनहरू बहरा पन्थी मगर थिए भने पश्चिमका अठार पन्थी मगरराज्यहरू थिए (बुढामगर, २०७२ : ७२ – ७३) ।
बाइसी राज्य र चौबीसी राज्य
मध्यकालको सुरुसुरुसम्म नेपाल राज्य टुक्रिएको थिएन । नेपाल राज्य अनेक विषय (जिल्ला) मा विभक्त थियो । ‘गण्डकीगुल्मविषय’ (वर्तमान गुल्मीभेक) मा नरेन्द्रदेव + उदयदेवको पालामा ने.सं. ११९ (वि.सं. १०५६) मा लेखिएको ग्रन्थ पाइएको छ । ‘लम्जुगुङ’ (वर्तमान लमजुङ भेख) मा राजा शंकरदेवको पालामा ने.सं. १८९ (वि.सं. ११२६) मा लेखिएको ग्रन्थ पाइएको छ । यसैगरी, पूर्वतिर लेखिएका केही ग्रन्थ पनि भेटिएका छन् । तर, पछि गण्डकी र कोशी प्रस्रवण क्षेत्रभन्दा टाढाका प्रदेशमा केन्द्रको अधिकार छुट्दै गयो । यसैबीच उता कर्नाली प्रदेशमा खसहरूको प्रभाव फैलिन थाल्यो र विक्रमको बाह्रौँ शताब्दीको सुरुतिर त्यहाँ खस राजा नागराजले सिंजालाई राजधानी बनाई एक स्वतन्त्र राज्य खडा गरे । त्यसको लगत्तै पछि भनेजस्तै दक्षिण तराई भेकमा (तिरहुतमा) पनि अर्को स्वतन्त्र राज्य खडा भयो ।
वि.सं. ११५४ मा डोय राजा नान्यदेवले सिमरा–वनगढ (सिम्रौनगढ) लाई राजधानी बनाई उक्त राज्य स्थापना गरेका थिए । केन्द्रका शासकहरूमा कमजोरी आएको हुनाले उनीहरूले आत्मरक्षातिर मात्र ध्यान दिन थाले, नयाँ खडा भएका उक्त दुई राज्य भने अनेक दृष्टिले विकसित हुँदै गए । यसरी मध्यकालको पूर्वाद्धमा नेपाल राज्यभित्र तीन शक्ति देखा परे (वज्राचार्य, २०३२ : ७१) ।
बाईसी राज्य
कर्णाली प्रदेशमा नागराजले स्थापना गरेको खस राज्यपछि अनेक दृष्टिले महत्वपूर्ण हुँदै गएको थियो । पृथ्वी मल्लको समयमा पुगेर यस राज्यले एक सानो साम्राज्यकै रुप लिएको थियो । तर, अभय मल्लपछि यो राज्य पनि टुक्रियो । मेदिनीवर्मा, बलिराजहरूले जुम्ला भेकमा कब्जा जमाए । तल दुल्लु भेक संसार वर्माले कज्याए । यसरी यो राज्य टुक्रिन थाल्यो । सोह्रौँ शताब्दीको अन्त्यसम्ममा कर्णाली प्रदेश अनेक सानो-सानो राज्यमा परिणत भयो । यिनको संख्या पछि बाइस जति पुग्यो र यी राज्य बाईसी कहलाए (वज्राचार्य, २०३२ : ९८ – ९९) ।
यसरी बाईसी राज्यमा विभाजित हुनु अघि स्थापनाकालमा कर्णालीको खस मल्ल राज्य पूर्व मध्यकालीन नेपालमा बलियो केन्द्रीय शासनको अभावमा पश्चिममा कणाली प्रदेशको खसमल्ल राज्य निकै शक्तिशाली भएर आयो । त्यसबखत यसको सिमाना पूर्वमा त्रिशूली नदी, पश्चिममा गढवाल उत्तरमा मानसरोवर र दक्षिणमा तराईसम्म फैलिएको थियो (उपाध्याय, २०६८ : १२८) ।
नेपालको इतिहासमा कर्णाली प्रदेशको ठूलो शक्ति आर्जन गरेको खस मल्ल साम्राज्यको पतन भएपछि त्यस क्षेत्रमा मध्यकालीन सभ्यताको थालनी भएको थियो । खसमल्ल राजाहरूको पतनपछि कर्णाली प्रदेशमा बाईसी राज्यहरूको स्थापना भएको थियो । विस्तृत रुपमा कर्नाली प्रदेशको परिभाषा खोज्दै जाँदा राप्ती नदीदेखि कुमाउँको चम्पावतसम्मको क्षेत्रलाई जनाउँछ किनभने बाईसी राज्यको विस्तार कुँमाउसम्म फैलिएको थियो ।
आजकाल कर्नाली प्रदेश भन्नाले प्यूठान राप्ती नदीदेखि पश्चिम र महाकाली नदीदेखि पूर्वतर्फको भू–भागलाई जनाउँछ, जसलाई मध्यकालमा बाईसी क्षेत्रका नामले चिनिन्थ्यो । बाईसी नामकरणका कारणहरू विवेचना गर्न खोज्दा विभिन्न विद्वान्हरूका परिभाषा अध्ययनको आवश्यकता पर्दछ । त्यस्ता सामग्रीहरू अध्ययन गर्दा विद्वानहरूकै बीचमा मतान्तर रहेको पाइन्छ । कुनै निश्चित समय अवधिमा राप्ती नदी पश्चिम चम्पावत पूर्वतर्फको भू–भागमा स–साना गरी बाईसवटा स्वतन्त्र राज्यहरू थिए । ती राज्यहरू कुन-कुन थिए भनि स्पष्ट खाका दिन कठिन पर्दछ, तापनि तिनीहरूको सामूहिक चिनारी गर्ने नाउँ बाईसी नै रहन गयो ।
तर, कुनै समयमा बाईसका संख्यामा रहेका कर्णाली प्रदेशका राज्यहरू टुक्रिंदै गएर ३९ वटासम्म पुगेका थिए । त्यसरी बढेका राज्य घट्दै गएर १८ वटा मात्र पनि बाँकी रहेका थिए । तर, ती राज्यको सङ्ख्या बढ्दै गएर सङ्ख्या धेरै होस् वा घट्दै गएर बाइसभन्दा कम होस्, तापनि ती राज्यको सामूहिक चिनारी अटल रह्यो, कुनै परिवर्तन भएको पाइँदैन (सुवेदी, २०५४ :११८) ।
चौबीसी राज्य
कर्णाली प्रदेशका खस राजा आदित्य मल्ल, पुण्यमल्लहरूले गण्डकी प्रस्रवणक्षेत्रका नुवाकोट पूर्वका इलाकामा पनि आफ्नो अधिकार जमाएका थिए । तर, त्यो खसराज्य टुक्रिएर बाईसी राज्य खडा भएपछि त्यहाँका शासकहरूले गण्डकी प्रदेशलाई कज्याउन सकेनन् । यता उपत्यकाका राजामा यक्षमल्लले एकचोटी गोरखा, पाल्पासम्म आफ्नो प्रभाव फैलाएका थिए । तर, उनको मृत्युपछि मल्ल राजाहरूमा परस्परमा लुछाचुँडी चलेको हुँदा नुवाकोट भन्दा पर उनीहरूको प्रभाव रहेन ।
यस अवस्थामा गण्डकी प्रदेशमा सेन, शाह, चन्द, समाल आदिका अनेक साना राज्य खडा भए । यिनमा प्रसिद्ध मुकुन्द सेनले पाल्पालाई राजधानी बनाई एकचोटी निकै ठूलो क्षेत्रभित्र आफ्नो अधिकार जमाएथे । तर, उनको शेषपछि सो राज्य पनि टुक्रियो । यसैगरी पर्वत, घिरीङ, गलकोटमा समालहरूको, प्यूठानमा चन्दको, खाँची, धुरकोटमा मेघासीको, गुलमी, अर्घा, इस्मामा काला मकवानीको, ढोर, गरहुँ, भीरकोट, सतहुँ, नुवाकोट, कास्की, लमजुङ आदिमा शाहहरूको राज्य खडा भए ।
यी राज्यको सङ्ख्या लगभग चौबीस जति हुनाले यी राज्य चौबीसी कहलाएका थिए (वज्राचार्य २०३२: ९९) । यसरी नेपाल र पश्चिमका खसमल्ल जस्ता शक्तिशाली केन्द्रीय शक्तिहरू कमजोर बन्दै गएपछि विस्तारै विस्तारै राजाका आफ्नै भाइभारदारहरू, अघिनस्त सामन्तहरू, थुमपतिहरूले आ–आफ्नो अधिकारभित्र रहेका क्षेत्रहरूमा आ–आफ्नो स्वतन्त्र राज्यको घोषणा गर्न थाले । यसै समयको फाइदा उठाई मगरहरूको बस्ती भएको बल्ढेङगढी थुमका मगर नायक वलिहाङको वि.सं. १४४८ को आसपासमा स्वतन्त्र राज्य भएको र उनी त्यस राज्यको प्रथम राजा भएको घोषणा गरिएको हुनुपर्छ भन्ने ऐतिहासिक तथ्यहरूले जनाउँदछन् । यिनै तथ्यताहरूलाई पुष्टि गर्ने सन्दर्भहरूमा –
१. ऐतिहासिक कालक्रमको विचार गर्दा कर्णाली प्रदेशका मल्ल राजाहरूको शक्ति पतन भएपछि त्यो राज्यको अस्तित्व आरम्भ भएको बुझिन्छ । कर्णाली प्रदेशका अन्तिम मल्ल राजा अभय मल्लको शक्ति वि.सं. १४४८ सम्म म्याग्दीको सञ्जेलगाउँमा प्राप्त ताम्रपत्रबाट प्रमाणित हुन्छ । त्यसपछि मात्र बल्ढेङगढीको अस्तित्वमा आएको देखिन्छ (सुवेदी, २०५५ : ४५) ।
२. बल्ढेङगढी बलिहाङ राज्यको राजधानी थियो । बलिहाङ राज्यको संस्थापक राजाको नाम ‘बलि’ र राजा हुनाले ‘ह्वाङ’ वा हाङ भनिन्थ्यो । कर्णाली प्रदेशमा मल्ल राजाहरूको शक्ति क्षीण भएपछि बल्ढेङगढी लगभग वि.सं. १४४८ मा अस्तित्वमा आएको थियो । त्यहाँ मगरहरूका मुखिया बस्तथे । उनीहरूकै राजा बलिहाङले बल्ढेङगढीको निर्माण गरेर राज्यकै राजधानी गराएका थिए (शर्मा, २०७१ : २७३) ।
बल्ढेङगढी राज्य
नेपालमा बाईसी र चौबीसी राज्यहरू हुँदा बल्ढेङगढी चौबीसी राज्यअन्तर्गतको एक मगर राज्य थियो । यद्यपि धेरैजसो इतिहासकारहरूले बल्ढेङगढीलाई चौबीसी राज्यअन्तर्गत समावेश गरेका छैनन् । तर, टेकबहादुर श्रेष्ठले बल्ढेङगढीलाई बलिहाङ राज्य भनी मर्स्याङ्दीदेखि सखीका लेकसम्मका चौबीसी राज्यहरूको सूचीमा पेश गरेका छन् –१) लमजुङ २) घिरिङ ३) गजरकोट ४) रिसिङ ५) तनहुँ ६) कास्की ७) पैञ्यूं ८) सतहुं ९) नुवाकोट १०) ढोर ११) गरहुँ १२) भीरकोट १३) बुटवल १४) पाल्पा १५) गलकोट १६) पर्वत १७) मुस्ताङ १८) गुल्मी १९) बलिहाङ २०) खाँची २१) अर्घा २२) धुर्कोट २३) इस्मा २४) मुसिकोट २५) उदयपुर २६) खुंग्री २७) भिंग्री २८) प्यूठान (श्रेष्ठ, २०५९ :३०) ।
पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट बल्ढेङगढी ४७ कि.मि. दक्षिण – पश्चिम समुन्द्र सतहबाट पाँच हजार फिटको उचाईमा महाभारत पर्वतको टाकुरीमा पर्दछ । बल्ढेङगढीमा पहिले मगरहरूका मुखिया बस्दथे । पूर्वकालमा राजा बलिहाङले बल्ढेङगढीको निर्माण गरेका थिए । वास्तवमा बल्ढेङगढीको स्थापनाकालबारे त्यसको नामकरण ४००० सेनाको संगठनबाट बनेको अर्थ मगर भाषाबाट लाग्दछ (सुवेदी, २०५५: ४५) ।

बलिहाङगढी (बल्ढेङगढी)को दरवार वरिपरि रहेको रानीवन, तस्बीर सौजन्य : कमल रायमाझी
बलिहवाङ राज्यको संस्थापक राजाको नाम ‘बलि’ राजा हुनाले ‘हवाङ’ वा हाङ भनिन्थ्यो । कर्णाली प्रदेशमा मल्लराजाहरूको शक्ति क्षीण भएपछि बल्ढेङगढी लगभग वि.सं. १४४८ मा अस्तित्वमा आएको थियो । त्यहाँ मगरहरूका मुखिया बस्तथे । उनीहरूकै राजा बलिहाङले बल्ढेङगढीको निर्माण गरेर राजधानी गराएका थिए ।
बल्ढेङगढीमा मगरहरूले हुकुम चलाएर बसेको केही वर्षपछि मगरातमा धुर्कोट, अर्घा, खाँची, गुल्मी, पाल्पा, मुसिकोट र इस्मा जस्ता राज्यहरू खडा भए । बल्ढेङगढीको स्थिति त्यस क्षेत्रमा कमजोर भएको देखेर सातै राज्य मिली बल्ढेङ माथि ओइरिए । राज्य ध्वस्त भयो । त्यो राज्यले चर्चेको भू–भाग आपसमा बाँडेर लिए । पहाडी भाग पाल्पालाई, तराईको भाग खाँचीलाई तथा बल्ढेङगढी गुल्मीलाई पर्यो ।
अर्घा, इस्मा र मुसिकोटलाई केही हात परेन । बलिहाङ राज्यको अस्तित्व वि.सं. १८०९ सम्म भेटिएको छ । अन्तिम राजा रनबीर राना मगर भएको बुझिन्छ । पाल्पा, रिसिङ, घिरिङ र गर्जकोटले समयको अन्तरालमा आफू स्वतन्त्र भएको घोषणा गरेपछि १२ मगरातको संगठन टुट्यो । भीरकोटे राजाको मगरहरू माथिको सर्वाधिपतित्व (वडा राजा) पनि टुट्यो । हिन्दु धर्ममा प्रभावित भएर त्यतैतिर ढल्कनु अघि ती मगरहरू पोखरा देखि गोरखपुरसम्म विस्तृत राज्य बलिहाङ राजाका अधीनमा थिए (शर्मा, २०७१ :२७३ – २७५) ।
बल्ढेङगढीमा पहिले मगरहरूका मुखिया बस्तथे । पूर्वकालमा राजा बलिहाङले बल्ढेङगढीको निर्माण गरेका थिए । बलिहाङ राजा मृत्युको मुखमा पुगेको बेलामा सारा जनताले नाचगानगरी द्यौसी खेलेर आफ्नो राजाको प्राण रक्षा गरेका थिए । त्यही स्मरणमा आजकाल पनि हरेक तिहारमा द्यौसी खेल्ने परम्परा रही आएको छ । बल्ढेङगढी त्यो राज्यकै राजधानी थियो । त्यो राज्यका संस्थापक पनि बलिहाङ थिए भने अन्तिम राजा रनबीर राना मगर भएको संकेत पाइन्छ ।
पाल्पामा सेनवंशीय राजाहरूको राज्य स्थापना हुनु भन्दा पूर्वकाल समय बल्ढेङगढी राज्य शक्तिशाली थियो । तर, त्यस अवधिको प्रामाणिक वर्णन नपाइएकोले यसै भन्न सकिने अवस्था छैन । तर, वि.सं. १४४३ मा गुल्मी, १५५० मा पाल्पा, १४९० मा अर्घा, १४९२ मा खाँची, १४६५ मा धुर्कोट, १५५० मा मुसिकोट र इस्मा राज्यको स्थापना भएपछि बलिहाङ राज्य स्वभावतः एक्लो र कमजोर बन्न गएको बुझिन्छ (सुवेदी, २०५५ :४५) ।
गोपाल शिवाकोटीले नेपालमा सामन्तवाद, हत्या र षडयन्त्रको इतिहास बलिहाङ राज्य चौबीसी राज्यमध्ये मध्यमशक्तिको रुपमा थियो । यो राज्यको स्थापना सन् १४०० तिर गरिएको उल्लेख गरेका छन् । यो राज्यको स्वतन्त्र अस्तित्व सन् १५०० मा पाल्पा राज्यले आफ्नो अधीनमा लिए पछि समाप्त भएको उल्लेख छ ।
पाल्पाका राजा मुकुन्दसेनले यो राज्यको राजधानी बल्ढेङगढीलाई आफ्नो अधीनमा पारेपछि समाप्त भएको बताएका छन् । यसमा लडाकु मगरसेनालाई राज्यले आफ्नो सेनामा समायोजन गरेको थियो । स्वतन्त्र हुँदा यो राज्यका राजाहरू चन्द्रवंशी, भारद्वाज गोत्र, राना, राने थर, महारजिक खानदान्का बलिहाङ, अभय राना, रणबीर राना आदि थिए भनी उल्लेख गरेका छन् । उनको यस्तो कथनले पनि बलिहाङ त्यस समयको शक्तिशाली मगर राजाका रुपमा रहेको प्रमाण मिल्दछ (बुढामगर, २०७२ :८०) ।
न्यायप्रेमी राजा बलिहाङ रानामगर आफ्ना प्रजाका निकै लोकप्रिय र प्यारा राजा थिए । यिनको मृत्यु भन्ने शब्द त्यहाँका प्रजाहरूले सुन्न चाहान्नथे । एक दिन राजालाई मृत्युको दिव्य ज्ञान भएपछि उनले आफ्ना प्रजालाई बोलाएर भने छन् – अब म कार्तिकको औंसीको रातमा परलोक हुनेछु । तिमीहरू अहिले जस्तै मिलेर बस्नु, दुःख र सुख आपसमा साटासाट गर्नू ।” राजाको मुखबाट यस्तो अशुभ वाणी सुनेपछि सारा जनता शोकमग्न हुँदै रुदै कराउँदै यमराजलाई हाम्रा राजा बचाई दिनुस भन्दै गाइने गीत फाइलो (मगर भाषामा बचाई दिनुस् हो) बलिराजाले पठाएको गाएको गीत नै अहिलेको देउसी भैलो हो । फाइलो नै आज भोलि भैलो भएको हो । बलिराजाले पठाएको भन्ने शब्द पनि बलिहाङ राजाको प्यारो नाम हो (रायमाझी, २०७२ : ६७ – ६८) ।
गन्धर्व सेनले गुल्मी, अर्घा र खाँचीका राजाहरूलाई समेत साथमा लिएर बल्ढेङगढका सामन्तलाई परास्त गरी बुटवलको तलहट्टीमा समेत अधिकार गरी आफ्ना सहयोगी राजाहरूलाई केही भाग दिएको कुरा ह्यामिल्टनले लेखेका छन् । यसमा उनले “यो युद्ध अठारौं शताब्दीका उत्तरार्धताका राजा गन्धर्व सेनका पालामा भएको थियो भनी रामबहादुरबाट सुनेको हुँ” भन्ने पनि लेखेका छन् । तर, मुकुन्दसेनका बाजे चन्द्रसेनका समयमा बुटवल भन्दा पश्चिमतर्फ पर्ने भित्री मधेश र तराईका लागि प्यूठानी राजा धुरचन्द्रसँग भएको युद्धमा यी प्रदेशहरू पाल्पाको हात आएको प्रसङ्ग माथि नै परेको छ ।
यसका अतिरिक्त गन्धर्व सेन भन्दा छैठौं पुस्ता अगाडिका राजा विनायकसेनले बुटवलभन्दा पश्चिम दक्षिणका धेरै जसो भू–भागमा अधिकार जमाई आफ्नो राज्यको नाम विनायकपुर राखेका हुँदा ह्यामिल्टनको उक्त भनाईसँग सहमत हुन सक्ने कुनै आधार देखिदैन । तसर्थ बाबुराम आचार्यले पनि अठारौं शताब्दीमा आएर पाल्पालीले गुल्मी, अर्घा र खाँचीका राजाहरूलाई मिलाई बल्ढाङ्गगढ नामक रियासतको पहाड र तलहट्टि समेतका भू–भागहरू दखल गरी लिएका हुन् भन्ने हेमिल्टनको कथन भ्रममूलक छ भनी लेखेका छन् (खनाल, २०६१ ः ५८) ।
पूर्व मध्यकालमा अर्घा र खाँची क्षेत्र बल्ढेङगढीको अधीनमा रहेको जन इतिहास पाइन्छ ।बल्ढेङगढीका अन्तिम राजा रणवीर रानाको समयमा पाल्पा, गुल्मी, अर्घा, खाँची, धुर्कोट, ईस्मा, मुसिकोट, बंघा जस्ता राज्यका राजाहरूले संगठन गरी बल्ढेङगढी राज्य नष्ट गरेका थिए (भूसाल, २०६६ : १७) ।
गण्डकी प्रदेशमा मगरहरूको प्रभुत्वलाई बल्ढेङगढीले पछिसम्म आरक्षण गरेको बुझिन्छ तापनि विक्रमको बाह्रौ शताब्दीको आरम्भमा कर्णाली प्रदेशको सिंजामा चल्ल, मल्ल जस्ता पद भएका खस शासकहरूले विशाल साम्राज्य चलाउन थाले । उनीहरूको प्रभाव समस्त गण्डकी प्रदेशमा मात्र नरही काठमाडौ खाल्टोमा समेत रह्यो । त्यस साम्राज्यका संस्थापक नागराज र उनका उत्तराधिकारीहरू साह्रै पराक्रमी थिए । परिणामस्वरुप पूर्वमा काठमाडौं खाल्टो पश्चिममा गढवाल, काश्मीर, उत्तर गूगे, स्तपराङ, खोटान र दक्षिण भागीरथीसम्म विस्तार गरे ।
विकट प्रदेशमा शासन गर्ने खस राजाहरूले आफ्नो बलिष्ट सेना सर्वगामिनिवाहिनिको सहयोगले पुगनपुग तीन शताब्दी राज्य गरे पछि त्यो शक्ति संगठनको विखण्डन आरम्भ भयो । त्यसको परिणति कर्णाली तथा गण्डकी प्रदेशमा अनेकौं टुक्राहरू भए जसलाई बाईसी चौबीसी राज्यहरू भनिन्छ । खस राज्यको विखण्डनपछि मध्यकालका उत्तरार्ध आरम्भ हुन्छ । इतिहासमा अन्धकारको युगले चिनिने त्यो समयमा भुरे राजाहरूले पहाडका किल्लामा दरबार लगाएर शासन गर्न थाले । त्यसको कारण सुरक्षा गर्नु नै थियो । हरेक जस्तो टाकुरामा भुरे राजाका किल्ला देख्न पाइन्छ (सुवेदी, २०६० :२४ – २५) ।

ऐतिहासिक पाल्पाको बलिहाङगढी दरबार, तस्बीर सौजन्य : कमल रायमाझी
बल्ढेङगढी राज्यको स्वतन्त्रता
काठमाडौं उपत्यकाको नेपाल राज्य र पश्चिममा नागराजद्वारा स्थापित खस राज्यको शक्ति क्षिण हुन थालेपछि कर्णाली प्रश्रवण क्षेत्रमा बाईसी र गण्डकी प्रश्रवण क्षेत्रमा चौबीसी राज्यहरू स्थापना भएका तथ्यहरू निर्विवाद सत्य हुन् । केन्द्रीय नेपाल राज्य र खस राज्य जस्ता शक्ति केन्द्रहरूद्वारा आ–आफ्ना क्षेत्राधिकार भित्रका भू–भागहरूको संरक्षणको निम्ति पहाडका थुम थुम र टाकुरा टाकुराहरूमा स्थानीय समुदायका शक्तिशाली व्यक्तिलाई सामन्तको रुपमा प्रशासक नियूक्त गरिएका हुन्थ्ये । जब तालुकी शक्तिकेन्द्रको शक्ति कमजोर हुन थाल्यो त्यही मौकामा स्थानीय सामन्तहरू बाईसी र चौबीसे राज्य खडा गरी स्वतन्त्र शासक भएको घोषणा गरे ।
यसै समय वि.सं. १४४८ तिर बल्ढेङगढी टाकुराका बलिहाङ नामका स्थानीय मगर सामन्तले पनि बल्ढेङगढीलाई स्वतन्त्र राज्य घोषणा गरी त्यस राज्यका प्रथम संस्थापक राजा आफूलाई घोषणा गरे । बल्ढेङगढी मगरहरूको बस्ती भएको हुँदा बल्ढेङगढी राज्यका यिनी पहिलो स्वतन्त्र मगर शासक भए । यी वीर थिए । शाहसी योद्धा थिए । प्रजाका प्यारा थिए । त्यसैले यिनीप्रति प्रजाहरूको अगाध आस्था र विश्वास थियो । गोपीनाथ शर्माकाअनुसार राजा बलिहाङको समयमा बल्ढेङगढी राज्य पोखरादेखि गोरखपुर फैलिएको थियो ।
वि.सं. १४४८ तिर बल्ढेङगढी राज्यको स्थापनापश्चात् यो राज्यको अस्तित्व वि.सं. १८०९ सम्म थियो भनी धेरै जसो इतिहासकारहरूले लेखेका छन् । तर, यथार्थ त्यो नहुन सक्छ । किनभने वि.सं. १५५० मा पाल्पामा रूद्र सेनले सेनवंशी राज्य स्थापना गरे । वि.सं. १५७५ मा राजा रूद्र सेनको मृत्युपश्चात यिनका जेठा छोरा मुकुन्द सेन प्रथम (वि.संं. १५७५ – १६१०) पाल्पाको राजागद्दीमा बसे । यिनी अत्यन्तै कुशल प्रशासक र वीर योद्धा थिए ।
विष्णु प्रसाद घिमिरेकाअनुसार यिनले पाल्पा राज्यलाई विस्तार गरी पश्चिममा कुमाउसम्म, पूर्वमा बराह क्षेत्रको अन्त्य अर्थात् वर्तमान नेपालको मोरङ, झापा, भारतको जलपाईगुडी, पूर्णिमासम्म, उत्तरमा मुक्तिक्षेत्रसम्म र दक्षिणमा गंगा नदीसम्म पुर्याएका थिए । शक्तिशाली मुकुन्दसेन प्रथमले नेपाल उपत्यकाका राज्यहरू माथि वि.सं. १५८० देखि १५८२ सम्म तीन पटक आक्रमण गरेका थिए । उनले काठमाडौं उपत्यकाबाट उठाएर ल्याएका भैरवमूर्ति अहिलेसम्म पाल्पालीहरूको आराध्यदेवको रुपमा पूजित छन् । यस्ता शक्तिशाली राजा मुकुन्दसेन प्रथमको राज्यको कुइनोमा टाँसिएको बल्ढेङगढी राज्य पक्कै पनि स्वतन्त्र रुपमा नरही बलिहाङका उत्तराधिकारीहरू बल्ढेङगढी राज्यमा मुकुन्दसेन प्रथमका सामन्तको रुपमा शासन चलाएर बसेका हुन सक्छन् ।
बल्ढेङगढीका अन्तिम शासक रनवीर रानामगरको पालामा धुर्कोट, अर्घा, खाँची, गुल्मी, पाल्पा, मुसिकोट र इस्मा जस्ता सातराज्य मिली बल्ढेङगढी माथि विजय गरी त्यस राज्यको भू–भाग आपसमा बाँडेर लिए भन्ने कुरा स्वभाविक देखिन आउँदैन । रनवीर रानामगरको केही हरकतले पाल्पाका राजा गन्धर्व सेन (वि.सं. १७५८ – १८०९) ले रनवीर रानामगरलाई बल्ढेङगढीको शासक पदबाट हटाई बल्ढेङगढी माथि पाल्पाको प्रत्यक्ष शासन गरिएको हुनुपर्दछ ।
समुन्द्र सतहबाट पाँच हजार फिटको उचाइमा महाभारत पर्वतको टाकुरीमा रहेको ऐतिहासिक बल्ढेङगढी राज्यको अवशेषको रुपमा बल्ढेङगढी टाकुरीमा राजदरबारको खण्डहर, ध्वस्त गढीका किल्ला, राजदरबार भित्रको इनार, कुवाँरीदेवीको मन्दिर तथा कालीकादेवीको मन्दिर, पाँच पन्ने ढुङ्गा र कुवाँरीदेवीका पुजारी सोम बहादुर पल्ली जिम्मा गोलाकार ताम्रपत्र सुरक्षित र संरक्षित रहेका छन् ।
वर्तमान अवस्था
विश्वमा विरलै पाइने ठाउँहरूमध्ये पश्चिम पाल्पाको बल्ढेङगढी एक स्थान हो । २१ औं शताब्दीको आजको विश्वव्यापीकरणको युगमा बल्ढेङगढीले पाएको प्राकृतिक सौन्दर्यतालाई वैज्ञानिकढङ्गले व्यवस्थापन गर्न सकिएमा विश्व पर्यटन बजारमा यसको महत्व अग्रपंत्तिमा हुने देखिन्छ । हवर्ड विश्वविद्यालय अमेरिकाबाट पाँचवटा विषयमा स्नातकोत्तर गरेका प्रा. डा. क्वाकले लुम्बिनी विश्व शान्तिग्रामको गुरुयोजना तयार गर्ने क्रममा अध्ययन अनुसन्धान गर्दै जाँदा विश्वमा लुम्बिनी र हिमाल देखिने एक मात्र ठाउँ बल्ढेङगढी भएको पत्ता लगाए । धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वले भरिपूर्ण बल्ढेङगढीलाई पर्यटनको त्रिवेणी बनाउन सकिने आधारहरू धेरै छन् । विश्वपर्यटनको केन्द्र लुम्बिनीमा आउने पर्यटकहरूलाई सालझण्डी हुँदै सवारीमार्फत बल्ढेङगढी पुर्याउन सकेमा त्यहाँको कला र संस्कृतिको विकासको ढोका खुल्नेछ । (के.सी., २०७२ :१९ – २२) ।
पाल्पा जिल्लामा साठी गा.वि.स. रहेकोमा हाल कायम दश क्षेत्र मध्ये दुई न.पा. र आठ गाउँपालिका कायम भएका छन् । रैनादेवी छहरा गाउँपालिकाअन्तर्गत बल्ढेङगढी पर्दछ । जातजातिअनुसार बल्ढेङगढीको जनसंख्या यस प्रकार छ –
जम्मा मगर क्षेत्री कामी कुमाल ब्राहमण (प.) सन्यासी/सिनामी
२०४३ ११६२ ५६१ २४० ३३ २९ ११
पुरूष ९६१ ५४२ २६४ ११५ १९ १० ७
महिला १०८२ ६२० २९७ १२५ १४ १९ ४
मातृभाषा अनुसार जनसङ्ख्या :
जम्मा पुरूष महिला
जम्मा २०४३ ९६१ १०८२
नेपाली २०४२
अन्य १ ० ०
(जिल्ला वस्तुगत विवरण, पाल्पा, २०७१ : १३१, १४१)
यसप्रकार माथिको जातजातिको जनसङ्ख्या तालिकाअनुसार २०४३ मध्ये मगरहरू ११६२ जनसङ्ख्या भएको, मगरहरूको पुरानो राज्यको राजधानी भएको बल्ढेङगढीमा एकजना पनि मगर भाषा बोल्न जान्दैनन् । पढ्दा सुन्दा विश्वासै नलागे पनि यथार्थ यही नै हो । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासको सम्बन्धमा नेपाल सरकार दरिद्र छ । यसकारण यहाँका रैथाने युवाहरू संगठित भएर मगर भाषाको उत्थान र विकास गरी यहाँका मगर समुदायलाई मगर भाषा बोल्न, लेख्न, सिकाउन नितान्त आवश्यक छ । आदिवासी मगरहरूको बस्तीमा मगरभाषा नबोलिनु खोलामा माछा नहुनु जस्तै उदेकलाग्दो कुरा हो ।
नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष, मगर संघ हङकङका निवर्तमान अध्यक्ष एम.वी. थापाको संयोजकत्वमा ऐतिहासिक बल्ढेङगढी अध्ययन अवलोकन भ्रमण कार्यक्रममा भैरहवाबाट संचारकर्मी नरेश के.सी र कमल रायमाझीले विजयसागर, भरत पोखरेल, सूर्यकुमार सारूमगर तथा चन्द्रबहादुर थापा समेतलाई बिहानै गुडाएर बल्ढेङगढी पुर्याएका थिए ।
संयोजक एम.वी. थापाको मण्डलीमा क्यानडा, अष्ट्रेलिया आदि देशहरूमा बसोबास गर्ने तर नेपाललाई अति माया गर्ने मगर दाजुभाइ – दिदीबहिनीहरूको सहभागिता थियो । २०७३ मंसिर १३ गते सोमबार भएको सो कार्यक्रमको साँझ चार बजे बल्ढेङगढीको भग्न राजदरबारको प्राङ्गणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । त्यस कार्यक्रममा देहाय बमोजिमको निष्कर्ष निस्कियो –
-ऐतिहासिक पुरातात्विक महत्वले भरिएको यस बल्ढेङगढी क्षेत्रलाई सरकारको तर्फबाट संरक्षण र संवर्द्धनतर्फ चासो राखेको पाइएन । यस्ता पुरातात्विक महत्वका ऐतिहासिक गढीलाई सरकारबाट पूर्ण रुपमा संरक्षण र संवर्द्धन गरिनुपर्दछ । यस क्षेत्रका आम जनताको तर्फबाट माग गर्दछौं ।
-ऐतिहासिक, पुरातात्विक यस बल्ढेङगढी क्षेत्रको जग्गा अतिक्रमण भएको छ । सरकारले अविलम्ब समिति गठन गरी छानबिन गर्नुपर्दछ ।
-छानबिन पछि यथार्थ क्षेत्रको नाप नक्सा गरी पर्खालले घेरिनुपर्दछ ।
-पर्यटकीय क्षेत्र भएको हुँदा पाल्पाको तानसेनबाट र रूपन्देहीको सालझण्डीबाट बल्ढेङगढीसम्म आउन जान मिल्ने गरी दुई लेनको पक्की मोटरबाटो सरकारबाट व्यवस्थापन हुनुपर्दछ ।
-बाटो तयार भएमा सिद्धार्थ यातायात बस व्यवसायी समितिबाट भैरहवा – बल्ढेङगढी पर्यटनको निम्ति बस सञ्चालनको व्यवस्था गर्न सकिन्छ ।
-यस क्षेत्रका जनसाधारण स्तरबाट पनि ऐतिहासिक, पुरातात्विक बल्ढेङगढीको संरक्षण र संवर्द्धनको पहल गर्ने ।

बलिराजाको दरवार छेउमा रहेको पाचपन्ने विशाल ढुङ्गा अवलोकन गर्दे जनजाती नेता सुर्य कुमार सारुमगर, तस्बीर सौजन्य : कमल रायमाझी
निष्कर्ष
परापूर्वकालदेखि अति सुरम्य रहेको नेपालमा विभिन्न जात जातिहरूको प्रवेश गर्ने क्रममा लगभग ईसापूर्व २,३०० मगर जातिको प्रवेश मानिन्छ । यस जातिले बसाइको क्षेत्रलाई “मग्वर विषय”, “बाह्र मगरात” र “अठार मगरात” भनी प्रसिद्धि दिलाएका थिए । यस जातिले बाईसी र चौबीसी राज्य अन्तर्गत कतिपय राज्य खडा गरी बल्ढेङगढी जस्तो शक्तिशाली राज्य स्थापना गरेको ऐतिहासिक तथ्य देखापर्दछ । गण्डकी प्रश्रवण क्षेत्रअन्तर्गत चौबीसी राज्य मध्ये वि.सं. १४४८ तिर राजा बलिहाङ राना मगरद्वारा स्थापना गरिएको शक्तिशाली विशाल मगरराज्य बल्ढेङगढी जस्को अस्तित्व वि.सं. १८०९ मा अन्तिम राजा रनवीर राना मगरको पालामा समापन भएको विश्वास गरिएको छ ।
हाल यो ऐतिहासिक बल्ढेङगढीको राजधानी बल्ढेङगढीको टाकुरा पाल्पा तानसेनको ४७ कि.मि. दक्षिण पश्चिम रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ७ बन्न पुगेको छ । यहाँ ऐतिहासिक पुरातात्विक महत्वका अस्तित्व बोकेको राजदरबारको भग्नावशेष, ध्वस्त गढीको किल्ला, राजदरबार भित्रको इनार, कुँवारीदेवीको मन्दिर तथा पाँच पन्ने ढुङ्गा, कालिकादेवीको मन्दिर आदि अस्तव्यस्त रुपमा रहेपनि स्थानीय जनताहरूको आस्थाका रुपमा रहेका छन् । साथै यहाँ तत्कालीन मगर राजवंशको गोलो ताम्रपत्र पनि कुँवारीदेवीका पुजारी सोमबहादुर पल्ली मगरको जिम्मा संरक्षित र सुरक्षित रहेको छ ।
कमल रायमाझीका अनुसार – राजदरबारको भग्नावशेष क्षेत्रमा रहेको कुँवारीदेवीको मन्दिरमा वैशाख पूर्णिमा, आषाढ पूर्णिमा, वडादसैंको अष्टमी तथा मंसिरको न्वागीमा हजारौं भक्तजनहरूद्वारा भव्य रुपमा पूजा आजा गरिन्छ । यस ऐतिहासिक पुरातात्विक बल्ढेङगढी क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो । तर, कर्तव्य निभाउन सरकारले जाँगर देखाएको छैन । कनिका छर्दैमा दायित्व पूरा हुँदैन । विश्वास लिनुपर्दछ भविष्यमा स्थानीय निकायका पदाधिकारीहरूको समितिले यस्ता क्षेत्रतर्फ चासो लिएर संरक्षण र संवर्द्धनतर्फ जागरुक रहनेछन् । अस्तु ! (फेयर नेपालबाट ।)