आइतबार , भाद्र २८, २०८३

देश होइन, सत्ताधारीको दिमाग तथाकथित श्रीलंका

ढुङ्गा माटोमा काम गर्ने, आरनमा काम गर्ने, खेतमा काम गर्ने जस्ता अनेकौँ सर्वसाधारणका कारणले देश श्रीलङ्का बन्न लागेकोझैँ गरी एक-से-एक बोक्सी/बोक्साहरू आफै झाँक्री हुँदै ढोल पिट्दै हिँडिरहेका छन् ।

image

– केशवराज आचार्य

भनिन्छ, “शासन व्यवस्था जस्तो छ त्यही अनुसारको समाज हुन्छ ।”

श्रीलंकाले सायद अरू देशको त्यस्तो अवस्था देख्न नपाएका कारण सिक्न सकेन र देश अहिलेको अवस्थामा पुग्यो भनेर अनुमान गरौँ । तर हामीले त श्रीलंकाको अवस्था देख्न पाएका छौँ । त्यहाँबाट सिक्न सकिन्छ । तर सरकारमा जो छ, जसको नेताले अर्थ मन्त्रालय हाँकेको थियो त्यही दलको वरिष्ठ उपाध्यक्ष जस्तो मान्छेले सरम नमानी ढिलोचाँडो नेपालको नियति पनि श्रीलंका नै हो भन्दै हिँडिरहका छन् । जो राष्ट्र ब्याङ्कको गभर्नर छ, ऊ नै जनतालाई तर्साउँदै हिँडिरहका छन् । प्रायः राज्यका जिम्मेवार पदमा रहने पदाधिकारीहरू पनि जनतालाई तर्साउँदै हिँड्छन् ।

पढेलेखेको शहरिया जमात देश कहिले श्रीलंका होला र, घर घरमा गएर नेताहरूलाई थुत्दै र तिनका घरमा आगो लाउँदै हिँडौला भनेझैँ गरी अभिव्यक्ति दिइरहेको भेटिन्छन् । देशका कार्यकारी प्रधानमन्त्री कि त सुनिँदैनन्, कि देखिँदैनन् । देखिइहाले भने पनि भर्खर निद्राले वा नशाले छाडेको झैँ देखिन्छन् । अझै सत्ता छाड्न परेको तुसले नछोडेका विपक्षी दलका नेता कि त गाली प्रतियोगिता कि त हास्य प्रहसनमा बढी देखिन्छन् ।

ढुङ्गा माटोमा काम गर्ने, आरनमा काम गर्ने, खेतमा काम गर्ने जस्ता अनेकौँ सर्वसाधारणका कारणले देश श्रीलङ्का बन्न लागेकोझैँ गरी एक-से-एक बोक्सी/बोक्साहरू आफै झाँक्री हुँदै ढोल पिट्दै हिँडिरहेका छन् । जब देश तथाकथित श्रीलंका बन्दैछ भन्ने थाहा छ भने सरोकारवालाहरूले त्यसका विरुद्ध पहलकदमी गर्ने र देशलाई त्यतातिर जानबाट रोक्न प्रयास गर्नु पहिलो धर्म हो । देश आजको श्रीलंकाको स्थितिमा पुगेपछि नेताहरूलाई धपाउँदा, तिनको निजी भवनमा आगो लगाउँदा वा सार्वजनिक सम्पत्तिको विनाश गर्दा मात्र हामीले सुख पाइँदैन भन्ने चेत पलाउन तथा दलीय स्वार्थ र व्यक्ति पूजाबाट माथि उठेर समय छँदै हामी सबै सचेत नागरिकले आवाज उठाउन र सकारात्मक दबाब दिन पनि त्यत्तिकै जरुरी देखिन्छ ।

ए स्वाँरका साइँलो दाइ, छाड जुत्ता सिउँदै राजनीतिका गफ गर्न । ए तल्लाघरे माइलो दाइ, छाड आरनमा फलाम पिट्दै अमुक दलको गुलामी गर्न । ए ढोल्ठानाका कान्छा काका, छाड कमिज सिउँदै कुनै नेताको देवत्त्वकरण गर्न । ए साइँला भाइ छाड, हलो जोत्दै अर्को दलको भन्दै मलाई गाली गर्न । राज्यका जिम्मेवार पदाधिकारीहरूले भन्दै छन्- देश श्रीलङ्का हुन आँट्यो रे ! उनीहरू खुँद जिम्मेवार पदमा बसेर र देशको सारा ताला चाबी लिएर पनि केही गर्नुको साटो हामीलाई तर्साउँदै छन्।

त्यसैले तिनका नाममा एक अर्कासँग लड्न भिड्न भन्दा हिँड जाऊँ, सँगै मिलेर हामीले केही गरौँ । पछि गएर तिनका निजी भवन र सार्वजनिक सम्पत्तिमा आगो लगाउनु हाम्रो दु:खको समाधान होइन, वास्तविक सुरुवात हुनेछ । उनीहरू त कुनै देशमा पुगेर सुरक्षित र सुख-सयलका साथ बसी हाल्छन् । हाम्रो हालत झन् ‘मान माथि पनि भुक्तमान थपिदिया’ हुनेछ ।

सम्बन्धित समाचार