शुक्रबार , जेठ ८, २०८३

रूरू क्षेत्र (रिडी) को धार्मिक तथा ऐतिहासिक महत्त्व

आदिमकालदेखि नै मानवजातीको विकास विस्तारसँग नदी या अन्य जलाशय जोडिएको छ । जीव र  जीवनसँग जोडिएको अनिवार्य श्रोत र सम्पत्तिको  प्राकृतिक श्रोत नै पानी हो ।

image

आदिमकालदेखि नै मानवजातीको विकास विस्तारसँग नदी या अन्य जलाशय जोडिएको छ । जीव र  जीवनसँग जोडिएको अनिवार्य श्रोत र सम्पत्तिको  प्राकृतिक श्रोत नै पानी हो । पानी पिउन मात्र नभएर अन्य आवश्यकतासँग पनि जोडिएको छ ।

खानपिन, खानपिनको जोहो, सरसफाई, उत्पादन र बसोबासलाई व्यवस्थापन गर्न पानीले सहयोग गर्छ । मानवीय अस्तित्व र जीवनकलाको पहिलो आधार ‘आरामको लागि ओत, खानका लागि शिकार र मानवीय आवश्यकता पूरा गर्न कसै न कस‌ैको साथ चाहिन्छ/चाहिन्थ्यो’, यो भन्न धेरै तर्कहरू भेटिन्छन् । यस्ता तर्कहरूले जल र स्थलसँग मानवीय सम्बन्धलाई परिभाषित  गरेको भेटिन्छ ।

बाँच्नु र खानुसँग जस्तै जैविक आवश्यकताभित्रका अन्य आवश्यकताहरू अरू जीवलाई जस्तै मानिसका लागि पनि अनिवार्य छन् । यही क्रममा मानिसले पनि एकपछि अर्को आवश्यकता पूरा गर्न थाल्यो । आवश्यकताको श्रृङखला बढ्दै जाँदा मानव समूह निर्माण भयो । यहि मानव समूहगण र कविला हुँदै राज्यमा परिणत भएको हो ।

गण र कविलामा बाँच्ने कुराले  मानवीय सहकार्य, रूचि र आवश्यकताहरू पनि सामुदायिक बन्न थाले । यी रूचि र आवश्यकताको प्राप्तिको उत्साह र प्राप्तिपछिको खुसी मनोरञ्जनसँग जोडियो । आवश्यकतासँग जोडिएका तर, एकको प्राप्तिभन्दा उत्तम विकल्प र विकल्पको निरन्तरता मानिसको जीविका, प्राप्ति र खुसीभित्र जोडिएका मनोवैज्ञानिक पक्षहरू गण या कविलाका संस्कृति बने । आधुनिक दृष्टिकोणमा हरेक धर्म र सम्प्रदायको अध्ययनमा भेटिएका मेल खाने विषयहरूको साझा अपनत्वको संस्कार नै संस्कृति हो भन्दा पनि फरक पर्दैन ।

विकास र आवश्यकताले हरेक मानवीय झुन्डहरूमा आ-आफ्नै विशेषताहरू जन्माए । तिनीहरूको अनुभूति र प्राकृतिक शक्तिबीचको तालमेलको रहस्यको परिकल्पना र प्राप्त गरेको वस्तुको रक्षाका लागि अदृश्य शक्तिको परिक्रमा गरियो । आगो, पानी र विपत्तिको समाधानका लागि निरञ्जन निराकारमा शक्तिशाली साथको परिकल्पना गरियो । त्यही परिकल्पनाको आधार धर्म र संस्कृतिलाई बनाइयो ।

“हिन्दु” सिन्धु सव्यताको हाराहारी/सिन्धु सभ्यताबाटै विकास र विस्तार भएको धर्म र सम्प्रदाय हो । सिन्धु र हिन्दुका धर्म र संस्कृतिसँग हिन्दुका धेरै  तिर्थस्थलहरू जोडिएका छन् । त्यसैभित्र  गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम रूरू क्षेत्र (रिडी) पर्दछ । यो अहिले लुम्बिनी प्रदेशको राजधानी बुटवलदेखि लगभग ७० किलोमिटर उत्तरमा रहेको एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र थियो र बन्दै छ ।

तस्बीर : गुल्मी न्यूज

रिडीक्षेत्र समुन्द्री सतहबाट न्यूनतम ५०० मिटरदेखि १,६३८ मिटरको उचाईमा रहेको छ । यो क्षेत्रलाई चारैतिरबाट पहाडले घेरेको छ । बीचको थोरै भू-भाग  समथर जमीन नदीहरूको संगमस्थल छ । उपत्यका जस्तो तर खेतीयोग्य भूमि खास नभए पनि यो  निकै महत्त्वपूर्ण धार्मिक पर्यटन प्रवर्द्धन गर्न सक्ने क्षेत्र रहेकाे छ ।  यो जलाशयको उपभोग बहुआयामिक देखिन्छ  । यसको भू-प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ ।

वि.सं. २०१८ सालको भीषण बाढीले यो क्षेत्रलाई प्रभावित निकै  पार्यो । त्यो समय बाढीले  रिढी बजार पूर्ण रूपमा ध्वस्त भएको थियो । बाढीले  ऐतिहासिक तथा धार्मिक महत्त्वका सम्पदाहरू र धनजनको क्षति गर्यो । त्यसपछि  संरचनाहरू (भवन, मन्दिर, पाटी, पौवा तथा बगैंचाहरू) बने । अहिले निर्माण भएका हरेक संरचना नयाँ हुन् ।

 

नामाङ्कन

‘रुरु क्षेत्र’ पौराणिक नाम हो । यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ । यसको नामाङ्कन व्यक्तिहरू बीच मतभेद रहेको छ । धार्मिक किंवदन्तीअनुसार रुरु क्षेत्र ‘रुरु अर्थात मृगले देवदत्त ऋषिकी छोरीलाई स्तनपान गराई हुर्काएको’ कारणले रहन गएको भन्ने छ । मृगको स्तनपान गरेको कारण ती ऋषि कन्यालाई ‘रुकन्या’ भनिएको थियो भन्ने पनि सुनिन्छ ।  तिनै कन्याले कठोर तपस्या गरी मुक्ती पाएकोले तिनैकन्याको नामबाट ‘रुरुक्षेत्र’ भनि चिनिन थाल्यो भन्ने मत पाइन्छ ।

रुरु क्षेत्र भन्ने शब्द अपभ्रंश भई ‘रिडी’ क्षेत्र बन्न गएको भन्ने मान्यता अलि आधिकारिक पाइन्छ । पौरत्स्य दर्शनको व्याख्याभित्र जोडिएको धार्मिक मान्यता अनुसार मानिस जन्मदै तीन वटा ऋण: देव ऋण, पित्री ऋण र ऋषि ऋण लिएर आएको हुन्छ । त्यो ऋणबाट मुक्ति पाउन हिमालयदेखी बग्दै आएको काली गण्डकीको संगम अर्थात् दोभान रुरु क्षेत्रमा स्नान गरेपछि मात्रै  पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनेर चिन्न थालियो भनेर भनिन्छ । ऋणी भन्ने शब्द अपभ्रंश भई ‘रिडी’ बन्न गएको भन्ने धारणा कोहीकोहीले गरेको पाइन्छ ।

यस्ता अनेकौं मान्यता र धार्मिक तर्कहरू भेटिन्छन् । त्यसमध्ये बसोबास गर्ने जातीय पहिचानसँग पनि  ‘रिडी’ क्षेत्रको परिचय जोडेर नामाकरण गरिएको पाइन्छ । जस्तै  मगर भाषामा ‘री’ भन्नाले कालो र ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात् कालो पानी बग्ने क्षेत्र (कालीगण्डकी) भएकोले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क पनि भेटिन्छ ।

पौराणिकता

धेरै समय पहिले रुरु क्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राह्मण बस्दथे । उनले कालीगण्डकीको किनारमा आश्रम बनाई तपस्या गर्न थाले । महात्माको तपस्या धेरै समयसम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देवराज इन्द्र सशंकित भई तपस्या भङ्ग गर्न लागे ।  उनले देवदत्तको आश्रममा प्रमालाेचना नामको अप्सरालाई तपस्या भङ्ग गर्न पठाए ।

देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थालेको समयमा ऋषिले टाढैबाट भकुन्डो खेलिराखेकी अत्यन्तै सुन्दरी प्रमालोचनालाई देखे । अप्सराको हाउभाउ कटाक्षले मुनि मोहित भए । उनको सुन्दरताप्रति वशीभूत भई विवाहको प्रस्ताव राखेपछि दुवै जना विवाह बन्धनमा बाँधिए र संसारिक सुखमा विलिन भए ।

केही समयको अन्तरालपछि प्रमालोचनाले एउटी कन्यालाई जन्म दिइन । ततपश्चात् उनले आफ्नो उद्देश्य पूरा भएको सम्झी ती कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन् । देवदत्तले ती कन्याको छल बुझेपछि उनी छाँगाबाट खसेझैं भए । उनको हृदयमा तिव्र बैराग्यता जागेर आयो । उनी उत्तरतिरको भृगु आश्रमतिर लागे र भगवान् शिवको कठोर तपस्या गर्न थाले । उनको तपस्यादेखि  शिव प्रशन्न भई  प्रत्यक्ष आशीर्वाद दिए- ‘जसले गण्डकीको नदीमा स्नानगरी शिवलिङ्ग (भृगुतुमको) को दर्शन गर्छ, उसले राम्रो योगफल तथा शिद्धी प्राप्त गर्नेछ’ । यति भनी शिव अन्तरध्यान भए । देवदत्तले पनि शिवजीबाट आशीर्वाद पाई आफू मुक्त भएको अनुभव गरे ।

प्रमालोचनाबाट जन्मेकी कन्यालाई पछि मृगले स्तनपान गराएर हुर्काए । त्यसपछि उनले नारायणको कठोर तपस्या गर्न थालिन् । उनको कठोर तपस्या देखी नारायण प्रशन्न भए । र, वरदानको रूपमा रुरु क्षेत्र नाम रहन गयो ।

यो क्षेत्रमा  स्नान गरेर तीन दिन चतुरबाहु ह्रिषीकेशको दर्शन गर्नेले मोक्ष पाउने धार्मिक कथा लेखियो । ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण ऋषिकेश मन्दिर रहेको छ । त्यो मन्दिर मणिमुकुन्द सेनद्वारा प्रतिस्थपित मूर्ति हो । रीडी गुल्मी र पाल्पाको व्यापारीक क्षेत्र पनि हो ।


सन्दर्भ अध्ययन 

१. रूरू क्षेत्र परिचय (अङ्ग्रेजी, ज्ञानपार्क अनलाईन )
२. रूरू क्षेत्र परिचय (नेपालीमा), चक्र ज्वाला
३. रूरूक्षेत्र स्थलगत भ्रमण र अध्ययन 

सम्बन्धित समाचार