सोमबार , भाद्र ८, २०८३

मानव सभ्यताको उदयसँगै उदाएको उराँव समुदाय

संसारमा रहेका आर्य, मंगोलियन, आग्नेय जस्तै द्रविड भाषा परिवारको आफ्नै पहिचान रहेको छ । भाषाको हिसाबमा नेपालको कुरा गर्ने हो भने द्रविड भाषा परिवार अन्तर्गत उराँव समुदाय मात्र पर्ने गरेको छ भने सांस्कृतिक, धार्मिक आस्था, परम्पारिक रितिरिवाजको रूपमा हेर्ने हो भने खडि़या, मुण्डा (मुडि़यारी), सन्थाल (सतार), किसान जातीसँग उराँव समुदाय मिल्न जान्छ ।

image

मेरो गाउँमा रहेका संस्कृति, समुदायबारे अरूले पनि थाहा पाउनुपर्छ, त्यहाँ रहेको भाषा तथा संस्कृति जोगाउनु पर्छ भन्ने मलाई सधैँ लागिरहन्छ । खासमा देशमा रहेका विभिन्न समुदाय तथा संस्कृतिसँग अन्तर्राष्ट्रिय जगत या देश नै परिचित हुनुपर्छ जस्तो लाग्छ । बेला—बेला सम्बन्धित समुदायका साथीलाई म तिमीहरूको भाषा तथा संस्कृति जोगाउनु पर्छ है भनेर झकझकाइरहन्छु । कुरा गरुन्जेल उनीहरू हुन्छ पनि भन्छन्, तर पछि बिर्सन्छन्, या जीवनमा आफ्नो समुदायको अस्तित्वभन्दा ठुला केही कुराहरूको महत्वले त्यसलाई रोक्दो हो । रविन्द्र उराँव र म सँगै खेलेर, पढेर हुर्किएका हौँ । उराँव समुदायसँग सम्बन्धित विभिन्न कुराहरू समेटेर केही लेख भनेर म उसलाई चिमोटिरहन्छु । उ हुन्छ भन्छ, भोलि या पर्सिबाट शुरु गर्छु भन्छ, तर लेख्दैन । रविन्द्रलाई यो काम गर्न लगाउनु अघि संसारमा रहेका अल्छीहरूमध्ये नेपालको प्रतिनिधित्व मैले गर्छु भन्ने भ्रम थियो, तर होइन रहेछ । अल्छ्याँइमा उसले मलाई पनि जित्ने रहेछ ।

यसपालि गाउँ गएको बेला मैले उसको कार्यालय नै पुगेर उसलाई भेट्ने बिचार गरेँ । यति नगर्ने हो भने उ सेलाइरहन्छ भन्ने मलाई थाहा थियो । मैले उसलाई आफ्नो समुदायसँग सम्बन्धित लेख भन्दा नलेखेकोमा गाली पनि गरेँ, त्यसपछि उ अलिक तात्तियो र भन्यो ‘जाऊँ हिँड बँकुलवा’ । सुनसरी जिल्लाको इनरुवामा रहेको बँकुलवा भन्ने ठाउँमा उराँव समुदायसँग सम्बन्धित धार्मिक स्थल केही वर्ष अघि मात्रै स्थापना भएको छ । रविन्द्रको बाइकमा बसेर म त्यतैतिर लागेँ । एउटा घरमा पुगेर उसले ब्रेक लगायो र मलाई उत्रिन भन्यो । बाइक छेउमा राखेर उसले घरभित्र प्रवेश गरायो, त्यहाँ नाइग (डोमन दास उराँव) नाइग्नी (राजकुमारी उराँव) (पण्डित/पण्डिताइन्) को परिवार मकै छोडाएर बसिरहेका थिए । रविन्द्रले उराँव भाषामै केही भन्यो र हामी त्यही घरपछाडि रहेको ‘चाला टोङका’(उराँव समुदायले पूजाआजा गर्ने पवित्र ठाउँ) तिर लाग्यौँ।

त्यहाँ विशेषगरि प्रत्येक हप्ताको बिहीबार र चैत्र शुक्ल तृतीयाको दिन पूजाआजा हुने गरेको छ । उराँव समुदायले मान्ने धर्मलाई “सरना” धर्म भनिन्छ । उनीहरू आफूलाई प्रकृति पुजक भन्न पनि रुचाउँछन् । हाल नेपालमा तीन ठाउँमा बँकुलवाको जस्तो धार्मिक स्थल रहेको छ । एउटा इनरुवामा रहेको छ भने अर्को दुहबी –११, तनमुनामा रहेको छ र तेस्रो मोरङको बुढीगंगा–६, संधवा भन्ने ठाउँमा रहेको छ । इनरुवामा रहेको ‘चाला टोङका’मा सखुवा र करमको रुखलाई प्रतीक मानेर पुजा गर्ने गरिएको छ । सखुवा र करमको काठ बलियो हुने, त्यसबाट धूप पनि निस्किने र त्यसको पात, हाँगा समेत पूजाअर्चनामा प्रयोग हुने हुँदा उराँव समुदायमा सखुवा र करमको रुखलाई विशेष मान्ने गरिन्छ । इनरुवामा ‘चाला टोङका’ स्थापना भएको ८ वर्ष भएको छ, ‘चाला टोङका’ स्थापना हुनुअघि उराँव समुदायले घरमै प्रकृति तथा पितृलाई सम्झिएर पूजा गर्दै आउने गरेको नाइगले बताए । उराँव समुदायमा मन्दिर तथा मूर्ति पूजा गर्ने चलन रहेको छैन ।

नाइगले आफ्नै सम्पत्तिबाट एक कठ्ठा जग्गा उपलब्ध गराएर हाल रहेको चाला टोङका स्थापना गराएका हुन् । चाला टोङकामा विश्वास राखेर आउने गरेका बिरामीहरूले रोगब्याधबाट छुटकारा समेत पाउने गरेको नाइगले सुनाए ।

प्रकृति पुजक उराँव समुदाय

उराँव समुदायका पुर्खाहरू पहिला शिकार तथा अन्य कारणले जङ्गल जाँदा सखुवाको रुखलाई विशेष रूपमा पूजा तथा प्रार्थना गरेर आफ्नो कामको थालनी गर्ने गर्थे । जसले गर्दा जङ्गलमा आइपर्ने जस्तो सुकै कठिन परिस्थिति समाधान गर्न सजिलो हुन्थ्यो । प्रकृति तथा पितृहरूलाई काम शुरु गर्नु अघि प्रार्थना गर्ने र काम सकिसकेपछि धन्यवाद दिने चलन अहिले पनि उराँव समुदायमा पाइन्छ । सूर्य, चन्द्र, खोला लगायत प्रकृतिका सबै अङ्गलाई उनीहरू विशेष सम्मानका साथ अर्चना गर्ने गर्छन् । खेती शुरु गर्नु अघि घरमा प्रकृति तथा पितृको पूजा गरेर मात्र बिउ राख्ने गरिन्छ । साथै पहिलो अन्नबालीलाई पूजा गरेर मात्र घरभित्र भित्र्याइन्छ ।

‘पुना मन्ना’ यानिकी नयाँ हुने

‘पुना मन्ना’ यो एक पुजा विधि हो जसमा भदौ मास तिर नयाँ भदै धानको अरुवा चिउरा , मकै, काँक्रा, अम्बा लगायत बर्खायामको नयाँ फलफुल आदि पितृलाई चढाएर मात्र अन्नबाली घर भित्र्याइने गरिन्छ । साथै कसै-कसैको घरमा पितृलाई खुसी पार्न घरमै बनाएको शुद्ध रक्सी तथा जाँड पनि चढाइन्छ । नयाँ भित्रिएको अन्नबाली पूजा गरेर त्यसको सेवन गर्ने गरिन्छ, अनि बल्ल त्यसलाई बाँकीका दिनमा खपत गर्ने गरिन्छ । जसलाई उनीहरू नयाँ बन्ने पनि भन्छन् ।

सरहुल खद्दी

चाला टोङकामा रातो र सेतो रङ्गको झण्डा समेत रहेको छ, जसलाई धर्मेस (सूर्य) को प्रतिक मान्ने गरिन्छ । चैत्र शुक्ल तृतीयाको दिनमा उक्त झण्डा फेर्ने तथा शाकाहारी खिचडी प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । त्यो दिनलाई सरहुल खद्दी पर्वको रूपमा चिनिन्छ । यो दिन सेतो फूल, अरुवा चामल, धूप, सिन्दुर, शुद्ध पानी, आदिले चाला टोङकामा पूजा गर्ने गरिन्छ । सो पूजामा नाइग–नाइग्नीलाई पनभरा (सहायक पुजारी)ले सहयोग गर्ने गर्छन् । सो दिन चाला टोङकामा विशेष पूजा अर्चना गरे पश्चात् त्यहाँबाट फूलप्रसाद आफ्नो घरमा लगेर त्यहाँको झण्डा फेर्ने काम गरिन्छ । चाला टोङकामा चोखोनितोको पनि विशेष ख्याल राखिने गरिन्छ ।

राजी पाडहा सरना प्रार्थना सभा नेपाल

उराँव समुदायको हकहितको लागि केही समय अघि राजी पाडहा सरना प्रार्थना सभा नेपाल भन्ने संस्था दर्ता गरिएको कुरा रविन्द्रले बताए । यस्ता संस्था पहिला दर्ता नभएका भने होइनन् तर राजनीतिक पूर्वाग्रहका कारण संस्था पथ विचलित भएको समुदायले देखेको छ । तर, पछिल्लो समयमा खुलेको राजी पाडहा सरना प्रार्थना सभा नेपाल नामक संस्थाले भने उराँव समुदायलाई आफ्नो अस्तित्वको लागि जगाउने काम गरिरहेको छ । उनीहरूकै पहलमा बुढीगंगामा पुजा स्थल तथा करम अखडा स्थापना गरिएको हो । उक्त पुजा स्थल स्थापना गर्ने समयमा भारतबाट उराँव समुदायका अभियन्ता राजी पाडहा सरना प्रार्थना सभा भारतकी राष्ट्रिय प्रचारिका लगायतको टोली नेपाल आएको थियो । चाला टोङकामा केही समय बिताएपछि रविन्द्र, उसको बाइक र म राम किसुन सरलाई खोज्न हिड्यौँ । उराँव समुदायका लागि अग्रसर भएर उनले विभिन्न काम गर्दै आएका छन्, त्यसैले यो भेट जरुरी थियो ।

त्यो दिन सरसँग हाम्रो भेट भएन, त्यसैले हामी फर्कियौँ । भोलिपल्ट बिहानै हामी राम किसुन निवास पुग्यौँ । राम किसुन सर मैले पढेको स्कुलको शिक्षक समेत हुन्, जुन कुरा मैले उनलाई भेटेपछि थाहा पाएँ । उनले उराँव समुदाय भनेको द्रविड भाषा परिवार अन्तर्गत पर्छ भन्ने कुराबाट आफ्नो कुरा थाले ।

उराँव समुदायको हकहितको लागि भनेर अहिलेसम्म १४/१५ वटा सघंसंस्था खुलिसकेका छन् । तर, सबै आ–आफ्नै विचार बोकेर हिँडेका हुनाले कुनै पनि संस्थाले समुदायका लागि उल्लेखनीय काम भने गर्न सकेका छैनन् । ती सबै संस्था एउटै छाता मुनि आए समुदायको हकहितको लागि काम गर्न सजिलो हुने राम किसुन सरको ठम्याई रहेको छ । प्राय खुलेका संस्थाहरूको कुनै पनि एजेन्डा रहने नगरेको र लहैलहैमा खुलेर बन्द हुने गरेको समेत पाइएको छ । कतिपय संस्थाहरूको काम राज्यबाट आर्थिक उपार्जन गर्नु मात्रै समेत रहेको छ । राम किसुन सर लगायतको सहकार्यमा खुलेको राजी पाडहा सरना प्रार्थना सभा नेपाल द्वारा राज्यका विभिन्न जिल्ला तथा क्षेत्रहरुमा उराँव जातीको धर्म, संस्कृति, संस्कार, भाषा, रितिरिवाज, लगायतका जातीय तथा धार्मिक पहिचान गराउने, यसको संरक्षण र सम्बद्र्धन गर्ने /गराउने, संगठनात्मक विकास गर्ने /गराउने काम गर्दै आइरहेको छ ।

भारत, बङ्गलादेश र भुटानसँग राजी पाडहा सरना प्रार्थना सभा जोडिएको छ । बेला–बेला यी चारै देशका प्रतिनिधिबिच विभिन्न छलफल समेत हुने गरेको छ । यी चारै देशमा रहेका संस्थाको सिद्धान्त समेत एउटै रहेको छ ।

द्रविड भाषा परिवार अन्तर्गत रहेको उराँव समुदाय

संसारमा रहेका आर्य, मंगोलियन, आग्नेय जस्तै द्रविड भाषा परिवारको आफ्नै पहिचान रहेको छ । भाषाको हिसाबमा नेपालको कुरा गर्ने हो भने द्रविड भाषा परिवार अन्तर्गत उराँव समुदाय मात्र पर्ने गरेको छ भने सांस्कृतिक, धार्मिक आस्था, परम्पारिक रितिरिवाजको रूपमा हेर्ने हो भने खडि़या, मुण्डा (मुडि़यारी), सन्थाल (सतार), किसान जातीसँग उराँव समुदाय मिल्न जान्छ । त्यसकारणले उराँव भाषा नेपालको एक्लो भाषा हो जुन द्रविड भाषा अन्तर्गत पर्छ । कुन काल खण्डबाट यो शुरु भयो भन्ने कुराको कुनै लिखित जानकारी भने छैन । तर, अनौपचारिक रूपमा भएका भेटघाटको आधारमा भन्ने हो भने, सिन्धु घाटीमा मानव सभ्यता विकाससँगै यसको जरो जोडिएको बुझिन्छ । सो ठाउँमा मुगल राजाहरूले हमला गरेपछि उराँव समुदाय त्यहाँबाट अन्यत्र लागेको हुन सक्ने राम किसुन सरले सुनाए । सोही हमलापछि उराँव समुदाय नेपाल लगायतका अन्य स्थानसम्म पुगेको हुनसक्ने अनुमान उनले लगाए ।

अहिले बिहारको रोहतासगढ भन्ने ठाउँमा उराँव समुदायको बाक्लो समाज रहेको छ, त्यस ठाउँलाई उराँव समुदायको गढ भन्दा फरक नपर्ला । कुनै समयमा त्यहाँ उराँव समुदायकै राजा रहेका थिए । त्यहाँ पनि मुगलहरूले हमला गरे र उराँव समुदाय विस्थापित भएर अन्यत्र बसोबास गर्न गए । यस्तै हमलाका कारण उराँव समुदायसँग सम्बन्धित पुराना दस्ताबेज तथा शिलालेखहरू नष्ट भइसकेका छन् ।

परापूर्वकालमै उराँव समुदायले नेपाल प्रवेश गरेर, यहाँको जङ्गल फडानी गरेर, बस्ती बसाएको बुझिन्छ । झापातिर रहेका उराँव समुदायले भने नागपुरी भाषा बोल्ने गरेको पाइन्छ, उनीहरूले आफ्नो भाषा बिर्सिएर अर्कै भाषालाई आफ्नो भाषा बनाएका छन् । राम किसुन सर लगायत केही अभियानकर्ता अहिले यससँग सम्बन्धित गहिरो अध्ययन गर्ने क्रममै रहेका छन् । उनीहरूको अध्ययनले एउटा स्वरूप पाएसँगै केही रहस्य तथा इतिहास खुल्नेमा म विश्वस्त छु ।

बेग्लै धार्मिक आस्था भएको समुदाय

‘उराँव समुदायको रीतिथिति, संस्कृति, भेषभुषा अरूभन्दा फरक छ भने पक्कै धार्मिक आस्था समेत फरक होला’ भन्छन् राम किसुन सर । उराँव समुदायका केही व्यक्तिहरूले हिन्दु धर्म माने तापनि आफूहरूको मूल धर्म हिन्दु नरहेको राम किसुन सर बताउँछन् । उनी भन्छन् “हिन्दु धर्म हाम्रो धर्म हो भने किन हामीले मान्ने संस्कृति तथा परम्पराहरू उनीहरूले मानिरहेका छैनन् त ?”

उनको आफ्नै समुदायलाई यो कुरा बुझाउन गाह्रो परेको छ । नेपालमा हिन्दु धर्मको बाहुल्यता भएकोले उराँव समुदायमाथि हिन्दु धर्म लादिएको बुझिन्छ । उराँव समुदायको जन्मदेखि मृत्यु संस्कारसम्मको आफ्नै नियम रहेको छ । उराँव समुदायले प्राकृतिक नियमलाई आफ्नो धार्मिक नियम र प्राकृतिक शक्तिलाई देवताको रूपमा पुज्ने गरेका छन् । निकै लामो समयको अन्यौलता पछि केही वर्षअघिबाट मात्र उराँव समुदायको धर्मलाई ‘सरना धर्म’ भन्न थालिएको छ । सरना ‘सारना’ भन्ने शब्दबाट आएको हो, जसको अर्थ उराँव भाषामा महसुस, एहसास, अनुभव गर्नु हुन्छ । अरू धर्ममा संस्कार तथा रीतिरिवाज धर्मबाट उत्पत्ति भएको हुन्छ भने उराँव समुदायमा त्यसको ठिक उल्टो संस्कार तथा रीतिरिवाजबाट धर्मको जन्म भएको बुझिन्छ र प्रकृति नै यो धर्मको ग्रन्थ रहेको छ ।

समुदायले पूजापाठ गर्ने क्रममा चढाउँदै आएको जाँडरक्सी लगायतका कुराको विरोध राम किसुन गर्छन्, त्यसले गर्दा पनि समुदायको छवि समाजमा नराम्रो बनिरहेको छ भन्ने उनलाई लाग्छ । आफ्नो समुदायमा रहेका यस्ता विभिन्न कुरीतिहरू बारे जनचेतना फैल्याउने आवश्यकतालाई बुझेर राम किसुन सर खटिरहेका छन् ।

उराँव समुदायको आर्थिक अवस्था

उराँव समुदायको आर्थिक अवस्थाको कुरा गर्ने हो भने पहिलाको दाँजोमा वैदेशिक रोजगारले धेरै सहयोग पुगेको देखिन्छ । सरकारी तथा गैरसरकारी संस्थाहरूमा पनि उराँव समुदायका व्यक्तिहरूको उपस्थिति राम्रै पदमा देखिन थालेको छ । समुदायले शिक्षामा राम्रो उन्नति गरिरहेको छ, जसले आर्थिक उपार्जनमा सहयोग पुर्याउँदै गइरहेको छ । कृषि पेसामा संलग्न रहेका उराँव समुदायले त्यसैलाई व्यवसायीकरण गर्न सके राम्रो हुने थियो भन्ने राम किसुन सरलाई लाग्छ । जग्गा भएर पनि हालसम्म आफूलाई चाहिने जति मात्र अन्न उब्जनी गर्ने गरेकाले यसले आर्थिक पाटो सम्हाल्न नसकिरहेको उनको बुझाइ छ ।

शिक्षा

पहिलाको दाँजोमा अहिले उराँव समुदायका व्यक्तिहरू धेरै शिक्षित भएका छन् । शिक्षाको आवश्यकतालाई समुदायले बुझीसकेको छ । उराँव भाषाको पाठ्यक्रमको कुरा गर्ने हो भने एक पटक फिनल्यान्ड सरकारबाट सहयोग ल्याएर औपचारिक शिक्षा अन्तर्गत पठनपाठन शुरु गरिएको थियो । ९५ प्रतिशत उराँव विद्यार्थी रहेको गढी गाउँपालिकाको एउटा प्रावि विद्यालयबाट बहुभाषी शिक्षा अन्तर्गत उराँव भाषाको पाठ्यक्रम बनाएर कक्षा १ र २ मा अध्यापन थालिएको थियो । तर, उक्त प्रोजेक्ट रहुन्जेल मात्र त्यसले काम गर्यो, त्यसपछि बन्द जस्तै भयो । हाल राम किसुन सर लगायतका अभियानकर्ताले आफूहरूले खोलेको संस्थामार्फत उराँव, अङ्ग्रेजी र नेपाली भाषा गरेर तीन भाषालाई माध्यम बनाएर एउटा विद्यालय नै सञ्चालन गर्ने उद्देश्य लिएका छन् र त्यसको लागि पहल समेत भइरहेको छ ।

उराँव समुदायको आफ्नो बेग्लै लिपि समेत रहेको छ, जसलाई प्रयोगमा ल्याउन र जोगाउन अभियानकर्मीहरू विभिन्न किसिमका योजना ल्याइरहेका छन् ।

चाडबाड

भदौ पूर्णिमामा मनाइने कर्मा धर्मा उराँव समुदायको विशेष चाडबाड मध्ये एक हो । यो एक प्राकृतिक पर्व हो । करमको रुखको हाँगालाई अखडा (धार्मिक महत्वको विशेष स्थान) मा गाडेर, पूजा गरेर रमझम गरिने चाड नै कर्मा धर्मा हो । कर्मा धर्मा भनेको हिन्दुहरूको दसैँ जस्तै हो । मुख्यतः कर्मा धर्मा भदौ एकादशीबाट मनाउन शुरु गरिने गरिन्थ्यो तर समय अनुसार यो परिवर्तन भएर अहिले भदौ पूर्णिमामा मनाउने गरिन्छ । दसैँ जस्तै पहिलो दिन जमरा राखेर, त्यसलाई ८ दिन सम्म उमारेर त्यसलाई ग्रहण गरेर कर्मा धर्मा खुसीयालीका साथ मनाइन्छ ।

कुनै खोलाको किनारबाट त्यहाँको धरतीसँग अनुमति मागेर माटो ल्याइ अखडामा जमरा राख्ने गरिन्छ । र, त्यसैलाई समुदायमा बाँडिन्छ । हालसम्म उराँव समुदायको आधिकारिक अखडा भने छैन, त्यसको स्थापनाको लागि पहल भने भइरहेको छ ।

त्यसैगरि उराँव समुदायको अर्को पर्व सरहुल हो । वसन्त ऋतुसँगै बदलिएको प्रकृतिले दिएको पहिलो फललाई धरतीमा समर्पित गर्ने चाड नै सरहुल हो । ‘आमाले दिएको बस्तुको पहिलो अंश आमालाई दिनु नै यो चाडको मुख्य विशेषता रहेको छ’ भन्दै राम किसुन सरले बुझाए । उक्त पूजा नगरुन्जेल उब्जनी भएको पहिलो फल खान मिल्दैन ।

नयाँ वर्षको समयमा मनाइने जतरा पर्व पनि उराँव समुदायले मनाउने गरेका छन् । जसमा सेतो पृष्ठभूमिमा चन्द्र र सूर्य अङ्कित तीनकुने झण्डा गाडेर खुसीयाली साटासाट गर्ने गरिन्छ । निश्चित ठाउँ (जतरा टोङका) मा सो झण्डा गाडेर सांस्कृतिक नाचगान गर्ने गरिन्छ ।

जनसङ्ख्या

उराँव समुदायको जनसङ्ख्या ३ लाख हाराहारी रहेको हुन सक्ने राम किसुन सरले विभिन्न ठाउँको अवलोकन गर्दा थाह पाएका हुन् । यद्यपि कसैले आफ्नो जातको वर्गीकरणमा उराँव, कसैले झाँगड त कसैले आफ्नो गोत्र लगायत अन्य केही लेखाउने गरेकाले जनगणनामा कम देखिएको राम किसुनले सरले बुझाए ।

कर्मा नाँच

नेपालमा रहेका विभिन्न किसिमका सांस्कृतिक नाँचहरुमध्ये कर्मा नाँच राजाहरूलाई निकै प्रिय थियो । राजाहरूको कुनै पनि किसिमको मनोरञ्जनात्मक कार्यक्रममा उराँवहरूको कर्मा नृत्य अनिवार्य जस्तै हुने गर्थ्यो । समुदायका मान्छेहरू देशको विभिन्न ठाउँमा गएर आफ्नो सांस्कृतिक नाँच देखाउने गर्थे । राजा महेन्द्र, विरेन्द्र समेतलाई उराँव नाचगान तथा संस्कृति खुबै मन पर्थ्यो ।

अहिले राम किसुन सर लगायतका केही अभियानकर्मीको हातेमालोमा उराँव समुदाय आफ्नो अस्तित्वसँग सबैलाई परिचित गराउन पहल गरिरहेका छन् । आफ्नो भाषा, संस्कृति जोगाउन खटिरहेका छन् ।

Tags:

सम्बन्धित समाचार